
प्रकाशित मिति । शनिबार, माघ ७, २०७९
काठमाडौ
रवि लामिछानेले कारवाही गर्छु भनेको २४ घण्टा नबित्दै खुल्यो मन्त्री अर्याल संलग्न म्यानपावरको अर्को पोल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले श्रममन्त्री बनाइएका आफ्ना नेता डोलप्रसाद अर्याल वैदेशिक रोजगार व्यवसायी नरहेको जिकिर गरेका छन्। ‘त्यस्तो पाए कारबाही गर्ने’ अभिव्यक्तिसमेत दिएका छन्।
तर, बिहीबारसम्म श्रृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिको वेबसाइटमा अर्यालको नाम अन्तर्राष्ट्रिय बजार निर्देशकका रूपमा थियो। म्यानपावर व्यवसायीलाई मन्त्री बनाएको र यसमा स्वार्थ बाझिने कुरा व्यापक भएपछि उक्त साइट दिउँसो बन्द गरियो। त्यहाँ भएका अर्यालका नाम र तस्बिर हटाइयो। पुनः खुलाइयो।
यसलाई मन्त्री अर्यालले ‘त्यहाँका साथीहरूले सल्लाहकारका रूपमा राखिदिएको’ प्रस्टीकरण दिएका छन्। तर, त्यही कम्पनीका एक सञ्चालकले उनले अन्तर्राष्ट्रिय बजार निर्देशकका हैसियतमा थुप्रै देशमा डिल गर्दै आएको जानकारी दिए।
जापान बसेर फर्किएको, भाषा र सम्पर्कसमेत भएको कारण उनले मुख्यतः जापानको रोजगारी ‘ह्यान्डिल’ गरेका थिए। ती सञ्चालकका अनुसार अर्यालले जापानबाट ‘जिट्को’ मार्फत श्रमिक विदेश लैजान एजेन्टसँग सम्पर्क र समन्वय गर्थे। तर, सृष्टिबाट कामदार लिने जापानको कम्पनीले बढी शुल्क उठाएको भन्दै जापान सरकारले कामदार लैजान प्रतिबन्ध लगाएपछि सृष्टिले जिट्कोअन्तर्गत कामदार पठाउन बन्द भएको थियो।
भामहपूर्वको काव्यचिन्तन
नेपाली समालोचनामा सङ्कलन–सम्पादनको परम्परा कृष्णचन्द्रसिंह प्रधानद्वारा सम्पादित ‘साझा समालोचना’ (२०२५) देखि भएको हो । त्यसयताका पाँच दशकमा यस किसिमका समालोचना कृति एक दर्जनभन्दा केही बढी मात्रै प्रकाशित भएका छन् । यस क्षेत्रमा समालोचकद्वय प्रा.राजेन्द्र सुवेदी र प्रा.डा. लक्ष्मणप्रसाद गौतमले बृहत् आकारका तीनवटा यस्ता समालोचना कृति दिएर विशिष्ट योगदान पुर्याएका छन् ।
राजेन्द्र सुवेदी र लक्ष्मणप्रसाद गौतमद्वारा ‘रत्न बृहत् नेपाली समालोचना’ (सैद्धान्तिक खण्ड) (२०६८) र ‘रत्न बृहत् नेपाली समालोचना’ प्रायोगिक खण्ड (२०६८) गरी सम्पादन गरेका दुई ठूला भीमकाय कृति प्रकाशित भइसकेका छन् । करिब एक दशकपछि बृहत् आकारको अर्को समालोचनाकृति ‘रत्न बृहत् नेपाली समालोचना’ (भाग ३, २०७९) प्रकाशित भएको छ । पाश्चात्य सैद्धान्तिक परम्परालाई सूक्ष्म अध्ययन गरी नेपाली साहित्यमा प्रवेश गराएर सम्पादन गरिएको पछिल्लो समालोचनात्मक किताब ‘रत्न बृहत् नेपाली समालोचना’ (भाग ३) पनि एउटा गहन र महत्त्वपूर्ण कृति हो । किताब विविध विषयक सात खण्डमा विभाजित छ ।
समालोचनात्मक आलेखहरू विषयगत विविधता, सिद्धान्तनिष्ठता, अनुसन्धानात्मकता, विषयवस्तुमा नवीनता, पूर्वीय एवम् पाश्चात्य मान्यता, विश्वसाहित्यमा देखिएका नवीन सिद्धान्त एवम् पद्धतिलाई आत्मसात् गरेर लेखिएका छन् । अघिल्ला सङ्ग्रहमा प्रायः नपरेका बत्तीस जना समालोचकका समालोचना यसमा समावेश छन्, जुन यसको ऐतिहासिक पक्ष हो ।
यस कृतिको पहिलो खण्डमा सम्पादकको भनाइ छ भने दोस्रो खण्डमा ‘पूर्वीय वाङ्मय र सौन्दर्यविमर्श’ अन्तर्गत भामहपूर्वको काव्यशास्त्रीय चिन्तन, समालोचनामा पौरस्त्य दर्शनका मानदण्ड र नेपालीमा तिनको प्रयोग, वैदिक वाङ्मयको स्वरूप र स्फोटवाद : भाषिक र साहित्यिक अध्ययनको उपजीव्य सिद्धान्त आदि पूर्वीय सैद्धान्तिक मान्यतासँग सम्बद्ध आलेखहरू छन् ।
‘पाश्चात्य नवीन सौन्दर्यविमर्श’ शीर्षकको तेस्रो खण्डअन्तर्गत पाश्चात्य सैद्धान्तिक मान्यतासँग सम्बद्ध आलेख छन् । यसभित्र विनिर्माणवादी चिन्तन, डायस्पोराको सैद्धान्तिक स्वरूप, विधाविघटन र विधामिश्रण, साहित्यमा मनोविश्लेषणको समकालीन सन्दर्भ, भौगोलिक समालोचनाको सैद्धान्तिक स्वरूप, साइबर समालोचना : मान्यता र प्रारूप, अधिआख्यानको सैद्धान्तिक निरूपण, सङ्केन्द्रीकरणको सैद्धान्तिक पक्ष र कृतिविश्लेषणका आधार आदि पाश्चात्य नवीन सिद्धान्त एवम् मान्यतामा केन्द्रित भई लेखिएका विभिन्न विद्वान्हरूका आलेख छन् ।
चौथो खण्डमा ‘अन्तविर्षयक विमर्श’ भित्र नेपाली साहित्यमा कुसङ्केतना र अपाङ्गता, सीमान्तीकरणको अवधारणा र भारतीय नेपाली कवितामा यसको प्रयोग, उत्तरवर्ती नेपाली निबन्धको समाजशास्त्रीय पठन, लैङ्गिक समालोचनाका सैद्धान्तिक आधार र विश्लेषण आदि विभिन्न विद्वान्का अन्तर्विषयक समालोचना समावेश छन् । ‘लोकसाहित्य विमर्श’ खण्डअन्तर्गत लोकसाहित्यसँग सम्बन्धित विभिन्न विद्वान्हरूका लेखहरू समावेश छन् । छैटौँ ‘विधागत विमर्श’ खण्डमा विविध विधासम्बद्ध आलेखहरू छन् ।
आत्मवृत्तान्तको सैद्धान्तिक स्वरूप, नाटकको रङ्गशिल्प सिद्धान्त, समकालीन नेपाली समालोचना : स्वरूप र प्रयोग, कविताका आधारभूत मानक र तिनको मूल्याङ्कनका प्रमुख आधार, उत्तरवर्ती गीतिनाटकमा मञ्चनीयता, नेपाली आख्यान र कविताको नाट्यायन, जीवनीको सैद्धान्तिक स्वरूप आदि विभिन्न विद्वान्हरूका समालोचना केन्द्रित छन् ।
अन्तिम ‘विविध विमर्श’ खण्डमा विभिन्न विद्वान्हरूका सांस्कृतिक चेतना, पाठालोचन सिद्घान्त, अलङ्कार र फिगर अफ स्पिच, पाठनिर्माणका युक्ति : संसक्ति र संयुक्ति, स्वैरकल्पनाको सिद्धान्त, साहित्येतिहास लेखनका सिद्धान्त, आनुभविक विश्लेषण आदि विविध विषयवस्तुसँग सम्बद्ध आलेख समावेश छ ।
नेपाली समालोचना जगत्मा नवीन सैद्धान्तिक एवम् प्रायोगिक सिद्धान्तको यो प्रयोगले एउटा इतिहास थप्ने काम मात्र गरेको छैन, बलियो खम्बाको निर्माण पनि गरेको छ । सम्पादकद्वयको अथक प्रयास र साधनाको प्रतिफलपछि तयार पारिएको यस ‘रत्न बृहत् नेपाली समालोचना’ (भाग ३, २०७९) नेपाली समालोचनाको विशिष्ट ग्रन्थ बनेको छ ।
यस ग्रन्थले परम्परागत मान्यता एवम् सिद्धान्तका स्थानमा नवीन मान्यतालाई नेपाली समालोचनामा भित्र्याउन विशिष्ट दृष्टिकोण प्रस्तुत गरेको छ । ‘रत्न बृहत् नेपाली समालोचना’ (भाग ३) सात सय चवन्न पृष्ठ (करिब चार लाख शब्द) को रहेकाले यो नेपाली समालोचनामा अहिलेसम्मकै बृहत् आकारको ग्रन्थसमेत हुन पुगेको छ ।