
जब फुटबल खेलिरहेको मैदानमा हेलिकोप्टर उत्रियो
प्रकाशित मिति । ६ माघ २०७९
पोखरा — स्याङ्जाको वालिङ मैदानमा बिहीबार वालिङ गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल भइरहेको थियो । वालिङ फुटबल क्लब र क्यामरुन एफसीबीच भइरहेको खेल हेर्न मैदान वरपर झन्डै ५ सय दर्शक थिए । खेलाडीबीच बल खोसाखोस चलिरहेकै बेला दिउँसो २.३५ बजे एक्कासि प्रभुको हेलिकोप्टर अवतरण गर्यो, खेल मैदानमै ।
खेल रोकियो, खेलाडी र दर्शक भागाभाग गर्न थाले । खेलाडी, आयोजक र दर्शकले ठाने– कुनै बिरामी लिएर आएको वा आकस्मिक केही परेको हुन सक्छ । दर्शकमध्येका केही युवक हेलिकोप्टर नजिक गए ।
इन्जिन बन्द भएको थिएन । ३ यात्रु झरे, एक जना भित्रै बसिरहे । उत्रिएकालाई पाइलटले ‘अलि टाढा जानुस्’ भनेर हेलिकोप्टर उडाउन लागेका थिए । स्थानीय युवा नजिकै पुगे, हेलिकोप्टर कुनै आकस्मिक कारणले अवतरण नभएको थाहा पाए ।
त्यसपछि आक्रोशित उनीहरूले पाइलट रानेश डंगोलमाथि हातपात गर्न थाले । घटनाले उग्र रूप लिने देखिएपछि सशस्त्र र नेपाल प्रहरीका दुई सुरक्षाकर्मी आए, हातपात गर्नेलाई रोके र पाइलट डंगोललाई ‘तुरुन्त उड्न’ भने । आँखा, नाक, कञ्चट र छातीमा चोट लागेका डंगोलले घाइते अवस्थामै हेलिकोप्टर चलाए र एक जना यात्रु लिएर पोखरा फर्किए ।
हेलिकोप्टर वालिङकै चार युवक विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी र सुशील थापाले ७० हजार रुपैयाँमा पोखराबाट चार्टर गरेर वालिङ लगेका थिए । तीमध्ये सुशील थापा मैदानमा नओर्लिई पोखरा नै फर्किएका थिए । उनीहरू ढुंगा, गिट्टी, बालुवा कारोबारी, ठेक्कापट्टामा संलग्न रहेकाहरू भएका प्रहरीका एक अधिकृतले बताए ।
स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले खेल चलिरहेका बेला हेलिकोप्टर अवतरण गरिएको घटना गम्भीर रहेको बताएका छन् । हेलिकोप्टर कसले किन ल्यायो र खेल चलेकै ठाउँमा किन ल्यान्ड गर्नुपरेको भन्ने केही नखुलेको उनको भनाइ छ ।
‘यात्रुले मादक पदार्थ सेवन गरेको भन्ने पनि छ,’ उनले भने, ‘भीडभाड भएको स्थानमा एक्कासि हेलिल्यान्ड हुँदा स्थानीय आक्रोशित हुन पुगे । हेलिकोप्टरलाई तुरुन्तै पोखरा फर्काइयो । ठूलो दुर्घटना पनि टर्यो । अनुसन्धान भइरहेको छ ।’
मैदानमा पाइलटको परिचयपत्र भेटिएको छ । हेलिकोप्टरबाट उत्रिएकाहरू फरार भएकाले खोजी भइरहेको प्रजिअ क्षत्रीले बताए । ‘घटना छानबिन गरी आवश्यक कारबाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरण पोखरा कार्यालयलाई पत्राचार गरेका छौं,’ उनले भने ।
बिहीबार बिहानैदेखि पोखराको मौसम सफा थिएन । यही कारणले कुनै पनि फ्लाइट नहुनेजस्तो लागेर पाइलट रानेश डंगोल घरमै बसिरहेका थिए । दिउँसो १ बजेतिर उनलाई अफिसबाट ‘एउटा ड्रप गर्ने फ्लाइट आयो गरिदिनुपर्यो’ भनेर फोन आयो । डंगोलले विदेशी पाइलटलाई पठाइदिन भने ।
तर अफिसबाट ‘ब्याड वेदर भयो भने विदेशी पाइलट उड्न मान्दैन’ भनेर डंगोललाई नै आउन भनियो । त्यसपछि उनी पोखराको पुरानो विमानस्थल पुगे । आधा घण्टापछि ४ जना आए । उडानसम्बन्धी कानुनी प्रक्रिया पूरा भएपछि डंगोलले उनीहरूलाई लिएर उडे ।
वालिङ घटनापछि पोखरा फर्किएका डंगोल उपचारार्थ पद्मा नर्सिङ होममा पुगेका छन् । उनले घटनाबारे जिल्ला प्रहरी कार्यालय कास्कीलाई जानकारी गराएका छन् । उनले पोखराबाट लिएर गएका यात्रुलाई वालिङ पुगेपछि ‘कहाँ ल्यान्ड गर्ने ?’ भनेर सोधेका थिए । यात्रुले ‘फुटबल ग्राउन्डमा’ भनेपछि आफूलाई सुरुमा फुटबल खेल भइरहेको भन्ने थाहा नभएको डंगोलले बताएका छन् ।
‘मौसम अलि धमिलो थियो । फुटबल भइरहेकाले ल्यान्ड गर्न मिल्दैन, मलाई अवगाल आउँछ, अर्को ठाउँमा ल्यान्ड गर्दिन्छु भनेर ४/५ पटक भनेको थिएँ,’ पोखरा फर्किएपछि डंगोलले भने, ‘यात्रुले हामी लोकल हो, हाम्रै खेल हो । केही समस्या पर्दैन भनेर फोनसमेत गरेपछि उनीहरूकै दबाबमा मैदानको एउटा कुनामा ल्यान्ड गरेको हुँ ।’
उनका अनुसार ‘खोलापारिको ग्राउन्डमा ल्यान्ड गरिदिन्छु तपाईंहरू एकछिन हिँडे भइहाल्छ नि’ भन्दा नमानेर खेल आयोजकलाई फोन गरेपछि ल्यान्ड गर्न तयार भएका थिए । उड्ने बेलामा ४ मध्ये ३ जना वालिङ झर्ने र एक जना फर्किने भनेका थिए । उनीहरूले हेलिकोप्टरबाट पाइलटलाई वालिङको आफ्नो घर, बालुवा र रोडा देखाउँदै आफूहरू ठेकेदार पनि रहेको बताएका थिए । उनले खेलाडीले नभई बाहिरका व्यक्तिले आफूमाथि हातपात गरेको बताए ।
प्राधिकरणको पोखरा प्रमुख विक्रमराज गौतमले अनुमतिसहित उडेको हेलिकोप्टर किन खेल मैदानमा ल्यान्ड गर्यो भन्ने अनुसन्धान भइरहेको बताएका छन् । ‘घटनाको अनुसन्धान सुरु भएको छ, दोषी देखिए पाइलटमाथि कारबाही हुन्छ,’ उनले भने । उता जिल्ला प्रशासन कार्यालय स्याङ्जाले हेलिकोप्टर ल्यान्ड गर्दा मैदानबाट खेलाडीहरू भागेकाले दुर्घटना हुनबाट भने जोगिएको जनाएको छ ।
खेल आयोजक वालिङ नगर खेलकुद विकास समितिका अध्यक्ष लालबहादुर ज्वारचनले ‘मादक पदार्थ सेवन गरेका युवकहरूले चार्टर गरेको हेलिकोप्टर खेल चलिरहेको मैदानमा जबर्जस्ती ल्यान्ड गर्न लगाएको’ बताएका छन् । उनले भने, ‘नियत के थियो, थाहा भएन तर यो गलत हो ।’ खेलाडी र दर्शकलाई नै जोखिम हुने गरी एक्कासि हेलिकोप्टर ल्यान्ड गराएर अपराध गरेकाले कारबाहीका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको उनले बताए ।
माइकल फिलिप्सले बुद्ध प्रतिमा नेपाल फर्काउने
‘पाटन, रत्नेश्वर मन्दिरबाट चोरिएको टुँडाल सम्पदा निजी संग्रहमा’
काठमाडौँ — अमेरिकी प्रतिष्ठित फिल्म निर्माता माइकल फिलिप्सले आफ्नो संग्रहमा रहेको बुङमतीस्थित मच्छिन्द्र बहालमा रहेको पुरातात्विक बुद्ध प्रतिमा (स्टेन्डिङ बुद्ध) नेपाल फर्काउने भएका छन् । चोरी भएको झण्डै आधा शताब्दीपछि गत साता फिलिप्सको निजी संकलनमा फेला परेको समाचार सार्वजनिक भएपछि यो प्रतिमा घरफिर्तीको पहल सुरु भएको थियो ।
हराएका सम्पदाको खोजबिनमा सक्रिय ‘लस्ट आर्टस् अफ नेपाल’ले पहिल्याएको तथ्यमा बुङमतीमा रहेको यो सम्पदा अमेरिकी फिल्म निर्माता फिलिप्सको संकलनमा (सप्रमाण) पाइएपछि न्यूयोर्कस्थित ‘आर्ट क्राइम’ विषयकी प्राध्यापक एरिन एल.थोम्सनले नेपालको सम्पत्ति घर फर्काउने पक्षमा आवाज उठाएकी थिइन् ।
‘मैले हाल क्यालिफोर्नियामा रहेका फिल्मनिर्माता फिलिप्ससँग फोनवार्ता गरेर नेपालको सम्पदाका बारेमा चासो राखेकी थिएँ,’थोम्सनले कान्तिपुरसँग भनिन्,‘कतिसम्म भने निर्माता फिलिप्सलाई यो प्रतिमा (स्टेन्डिङ बुद्ध) नेपालबाट झण्डै ५० वर्षअघि चोरिएको थियो भन्ने पनि थाहा रहनेछ ।’ फिलिप्सले यो प्रतिमा तत्काल नेपाललाई फिर्ता गर्ने प्रतिबद्धता जनाएको थोम्सनले जानकारी दिइन् ।
फिलिप्सले यो प्रतिमा स्वेच्छामा नेपाललाई फिर्ता दिने भएपछि यसको ‘उत्पत्तिको पहिचान’ पहिल्याउन जरुरी नभएकाले अब अमेरिकामा रहेको नेपाली कूटनीतिक नियोगले देखाउने तदारुकता आधारमा बुद्ध प्रतिमा चाँडै घर फर्कन सक्नेछ ।
सन् १९७३ मा प्रदर्शनमा आएर विभिन्न ७ विधामा ओस्कार पुरस्कार जित्न सफल फिल्म ‘द स्टिङ्ग’का एकजना निर्मातासमेत रहेका माइकल फिलिप्सको संग्रहमा ‘स्टेन्डिङ् बुद्ध’ प्रतिमा पाइएकोबारे ‘लस्ट आर्टस् अफ नेपाल’ले सूचना बाहिर ल्याएको थियो । ‘द स्टिङ्ग’को उत्कृष्ट कथा र निर्माणशैलीका कारण यो फिल्मलाई लाइब्रेरी अफ कंग्रेसको आफ्नो संरक्षणको सूचीमा राखेको छ ।
‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, ‘आर्टस् अफ एशिया’ म्यागजिन (२०१३, जनवरी–फेब्रुअरी)मा प्रकाशित विवरणमा पहिलोपटक फिल्म निर्माता फिलिप्सको निजी संग्रहमा रहेका प्रतिमाको जानकारी आएको थियो । यस्तै, स्वीस अध्येता उर्लिच भोन स्क्रोडरले तयार पारेको ‘नेप्लीज स्टोन स्कल्पचर’ पुस्तकमा पनि बुङमतीका उभिएका बुद्धको प्रतिमा प्रकाशित छ ।
५० वर्षअघि चोरिएको सालभन्जिका भेटियो
पाटनको सुलिमा टोलस्थिथ रत्नेश्वर मन्दिरबाट ५० वर्षअघि चोरिएको सालभन्जिका यक्ष टुँडाल (काष्ठकला) अमेरिकी आर्ट डिलर छिनो रोनकोरोनीको संकलनमा पाइएको छ ।
रत्नेश्वर मन्दिरबाटै चोरिएका अरु दुई टुँडाल यसअघि न्यू साउथ वेल्स आर्ट ग्यालरी (अस्ट्रेलिया) र लन्डनको एक निजी संग्रह (म्याक कुलुग)मा पाइएको थियो । हराएका सम्पदाको खोजविन र घरफिर्तीमा सक्रिय अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’का अनुसार, १३औं शताब्दीको सिर्जना मानिने टुँडाल सन् ७० दशकको सुरुवातमा हराएको थियो । आर्ट डिलर रोनकोरोनीको सम्पर्क कार्यालय अमेरिका, फ्रान्ससहितका मुलुकमा रहेको वेबसाइटमा देखिएको छ ।