मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


मन्त्री किरातीको निर्देशन : खादा–मालाको पैसा दान गर्नू, मन्त्रालयका कुनै सामान नफेर्नू

प्रकाशित मिति । ४ माघ, २०७९ ।

४ माघ, काठमाडौं । मंगलबार शितल निवासमा मन्त्रीहरुको शपथ समारोह सकिएको खबर पाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीहरु गेटमा लामबद्ध भए ।

नवनियुक्त पर्यटनमन्त्री सुदन किराती शितल निवासमा शपथ लिएसँगै पार्टी कार्यालय पेरिस डाँडामा पुगे । उनी शहीदलाई माल्यार्पण गरेर मात्र मन्त्रालय आए । मन्त्रालयका सचिव सुरेश अधिकारी, सहसचिवहरु र मन्त्रालय अन्तर्गतका निकायका प्रमुखहरुले गेटमै स्वागत गरी मन्त्रीको कार्यकक्षमा पुर्‍याए ।

मन्त्री पुग्नासाथ कर्मचारीले उनलाई आसनका लागि कुर्सीतर्फ इशारा गरे । तर, मन्त्री किराती बसेनन् । उनी उभिएकै अवस्थामा सचिव अधिकारीले प्रस्तावित पहिलो निर्णयको मस्यौदाबारे जानकारी गराउन खोजे । कार्यकक्ष कर्मचारी र सञ्चारकर्मीहरुले खचाखच थियो ।

मन्त्री किरातीले सचिवसँग गोप्य कुरा गर्न चाहे । त्यसपछि मन्त्रीको आसन पछाडि रहेको गोप्य कोठामा मन्त्री किराती र सचिव अधिकारीबीच छलफल भयो । कोठाको ढोका बन्द गरियो ।

करिब ३ मिनेटपछि मन्त्री किराती र सचिव बाहिर आए । मन्त्री किरातीले आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गरे । त्यसपछि सचिव अधिकारीले पहिलो निर्णयबारे सञ्चारकर्मीलाई जानकारी गराए ।

तर, दुईबीच के कुरा भयो भन्ने कुरा खुलाएनन् । मन्त्री किरातीले गत आइतबार भएको जहाज दुर्घटनापछिको उत्पन्न परिस्थितिबारे केही निर्णय गर्न सकिन्छ कि भन्ने सम्बन्धमा सचिवसँग जिज्ञासा राखेको हुन सक्ने स्रोतको भनाइ छ ।

मन्त्री किरातीले पर्यटन मन्त्रालय र यस मातहतका निकायको १० प्रतिशत दरबन्दी कटौती गर्ने प्रस्तावमा हस्ताक्षर गरे । अब यो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्‍मा जानेछ ।

‘मन्त्रालय जहाज हो, म ककपिटमा छु’

मन्त्री किरातीले मन्त्री हुनुको श्रेय जन्मदिने बुबाआमादेखि यो भूमिकामा पुर्‍याउने नेकपा माओवादी पार्टी रहेको स्मरण गरे। उनले पर्यटन मन्त्रालयलाई जहाजको संज्ञा दिए र आफू जहाजको ककपिटमा रहेको बताए । ‘जहाजको ककपिटमा म बस्ने भएपनि इन्जिनहरु त सचिवज्यू लगायत कर्मचारी नै हो,’ उनले भने, ‘हामीले जहाज एकैचोटी स्टार्ट गर्ने छैनौं, जहाज चेक गर्नेछौं, गन्तव्य निर्धारण गर्नेछौं र त्यसपछि मात्र जहाजलाई स्टार्ट गर्नेछौं ।’

मन्त्री किरातीले कर्मचारीलाई पहिलो सन्देश दिए, ‘नातागोता र सोर्सफोर्सबाट कोही व्यक्ति आउँछ भने त्यो मबाट हुँदैन ।’ जातीय, क्षेत्रीय र लैङ्गिक हिसाबले भेदभाव नगर्ने भन्दै उनले कार्य सम्पादनका आधारमा कर्मचारीको मूल्यांकन हुने बताए ।

मन्त्री किरातीले आइतबार पोखरामा भएको जहाज दुर्घटनाको छानबिन गर्न गठित जाँच आयोगलाई काम गर्न सहज वातावरण बनाउने बताए । हवाई सुरक्षामा कडाइ गर्न सबै सरोकारवालासँग सहकार्य गर्दै यस क्षेत्रलाई जोखिममुक्त बनाउन पहल गर्ने पनि उनले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुसँग नेपालको हवाई सुरक्षाका विषयमा आजैदेखि छलफल थाल्ने पनि मन्त्री किरातीले बताए । ‘के कारणले यति ठूलो दुर्घटना भयो, नेपाली आकाश किन सुरक्षित छैन, विश्वमा आज किन नेपालको आकाशप्रति शंका गर्छन्’, उनले भने, ‘मापदण्डलाई किन पुरा गर्न सकेका छैनौं, भन्नेबारे जानकारी लिदैछौं ।’

खादाको पैसा दान लिने

पर्यटनमन्त्री किरातीले आफूलाई बधाई दिन आउनेहरुलाई खादा र माला नलिई आउन आग्रह गरे । त्यसको साटो अब मन्त्री निवास र आफ्नो कार्यकक्षमा सहयोग पेटिका राख्ने घोषणा उनले गरे ।

‘खादा, माला, फूल किन्ने पैसालाई संकलन गर्न हामी एउटा सहयोग पेटिका बनाउँछौं,’ उनले भने, ‘यो रकम दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्यमा लगानी गर्नेछौं, मेरो तर्फबाट एक महिनाको सुविधा यहाँ लगाउने छु, मेरो सचिवालयको तर्फबाट १५ दिनको सुविधा दिन लगाउने घोषणा गर्छु ।’

मन्त्रालयका कुनै पनि चिज (पर्दा, कुर्सी, कार्पेटतर्फ संकेत गर्दै) नफेर्न समेत उनले कर्मचारीसँग आग्रह गरे । मुलुकको अर्थतन्त्र दर्दनाक रहेको भन्दै जे छ, त्यसमै काम चलाउन समेत मन्त्री किरातीले आग्रह गरे ।

मन्त्री किरातीले पर्यटन मन्त्रालय, मातहतका निकाय र देशभरका सबै कार्यालयको शौचालय मन्त्रीको जस्तै बनाउन निर्देशन दिए । काम गर्ने वातावरण राम्रो हुनुपर्ने भन्दै उनले शौचालय सफा हुनुपर्ने बताए । मन्त्रालयका विसंगती हटाउने उनको प्रतिबद्धता छ ।

‘सम्पदालाई प्रकृतिसँग जोड्ने अभियान चलाउँछु’

मन्त्री किरातीले पर्यटन प्रबर्द्धनको अभियान चलाउने बताए । सम्पदालाई प्रकृतिसँग जोड्ने र प्रकृतिलाई मानवसँग जोड्ने गरी अभियान चलाउने उनको भनाइ छ ।

केही ठाउँमा पाइलट प्रोजेक्टका रुपमा यस्तो काम सुरु गर्ने उनले बताए । यो सांस्कृतिक पर्यटनको अवधारणा हुने उनको भनाइ छ । नेपालमा रहेका र विश्वले फोटोकपी गर्न नसक्ने तीनवटा सम्पदालाई सम्बर्द्धन र विकास गर्ने आफ्नो योजना रहेको उनले बताए ।

उनले पशुपतिनाथ, लुम्बिनी र सगरमाथालाई प्रबर्द्धन गर्न प्राथमिकता दिने पनि बताए ।

उनले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको गेमचेन्जर आयोजना भएको पनि बताए । ‘यो जरुरी छ, यसलाई तीव्र गतिमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सम्पूर्ण बल लगाउने छौं’ उनले भने ।

नेपाल वायुसेवा निगमबारे भने ठूलो चूनौती रहेको उनले स्वीकार गरे । नेपाल एयरलाइन्सको सुधारबारे सरोकारवालासँग सल्लाह गरेर निर्णय लिने उनले बताए ।

‘निगमको परिस्थिति हेर्दा हात्तीको घोडा धेरैले चढे, बाघको घोडा चढेजस्तै अनुभूति मैले गरेको छु, यसलाई हामी सम्पूर्ण शक्ति लगाएर नेपालको जहाज ध्वजाबाहकलाई गौरवमय बनाउने छौं’ किरातीले भने ।

सत्ता साझेदार दलको सहमतिमा दृढ छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिसहित संवैधानिक पदहरुको बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरुमा भएको सहमतिमा आफू दृढ रहेको बताएका छन् । प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा दाहालले संवैधानिक पदहरुमा दलहरुबीच सहमति जुट्ने अवस्था भए आफू त्यसका लागि सहजिकरण गर्न तयार रहेको जानकारी गराएका छन् ।

‘प्रधानमन्त्रीले सरकारका सन्दर्भमा सत्ता साझेदार दलबीचको सहमति नै लागू हुने स्पष्ट गर्दै संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे चासो राख्दै दलहरूको धारणा र सुझाव माग्नुभएको थियो,’ प्रधानमन्त्री दाहालका सचिवालय सदस्य सूर्य किरणले भने, ‘उहाँले आफू सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको र सोहीअनुसार नै मंगलबार मन्त्रिपरिषदले पूर्णता पाएको बताउँदै संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने धारणा राख्नुभएको थियो।’ बैठकको सुरुवात गर्दै दाहालले विश्वासको मत दिने सबै दललाई धन्यवाद दिएका छन् ।

पुस २६ गतेको संसदमा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री दाहालले मंगलबार दिउँसो बालुवाटारमा बोलाएका थिए । बैठकमा दाहालले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितमा फरक भएको बताएका थिए ।

‘बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिएकोमा सबै दलहरूलाई धन्यवाद दिनुभयो। उहाँले सरकारलाई दिएको विश्वासको मतलाई सम्मान गर्नु र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बताउँदै प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक भएको र त्यसले राष्ट्रिय सहमतिको सन्देश दिएको बताउनुभयो,’ सूर्य किरणले भने ‘प्रधानमन्त्रीले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै बदलिएको परिस्थितिमा के–कसरी अगाडि बढ्न सकिएला भन्ने विषयमा नेताहरूको सुझाव माग्नुभएको थियो।’

बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शंकर पोखरेल, एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रबि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायत उपस्थित रहेको थियो।


Last Updated on: January 18th, 2023 at 10:15 am


१५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया