मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


अपहरणमा संलग्न ३ पाकिस्तानी पक्राउ

प्रकाशित मिति । ३ माघ २०७९

काठमाडौँ — अपहरण तथा शरीर बन्धक गरी फिरौती रकम लिने ३ जना पाकिस्तानी नागरिकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले पक्राउ गरेको छ । पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई पाकिस्तानबाट भिजिट भिसामा नेपाल झिकार्ई अपहरण गरी बन्धक बनाउँदै फिरौती लिने निज पाकिस्तानीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीका लागि क्यानडा जान नेपालबाट सजिलो हुने काठमाडौंमा नै पूरा हुने भन्दै पाकिस्तानबाट नागरिक बोलाएका थिए । पक्राउ पर्नेहरुमा पाकिस्तान कसुर घर भई हाल काठमाडौं बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद फिदा हुसैन छन् ।

खानलाई नेपाल बोलाएर ठमेलस्थित एक होटलमा बस्न लगाई बायोमेट्रिकलगायतका प्रक्रिया गर्न होटलबाट ट्याक्सीमा राखी पुस २४ गते (आइतबार) दिउँसो साढे २ बजे बूढानीलकण्ठस्थित भाडाको घरमा पुर्‍याई आँखामा पट्टी बाँधी हातखुट्टामा प्लास्टिकको डोरीले बाँधी बोल्न कराउन नदिई बन्धक बनाएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

पीडित खानलाई बन्धक बनाएर राखी पाकिस्तानमा रहेका पीडितका भाइलाई ‘अब मेरो क्यानडाका लागि फ्लाइट छ, ३० घण्टा मोबाइल अफ हुन्छ, सम्पर्क हुँदैन भन्ने म्यासेज पठाउन लगाएर ३० घण्टापछि पुनः म क्यानडा पुगें, इमिग्रेसनमा रोकेको छ, पैसा दिएपछि मात्र प्रवेश दिन्छ भन्ने म्यासेज पठाउन लगाएपछि पीडितको भाइले पाकिस्तानबाट ३० लाख पाकिस्तानी रुपैयाँ र २४ हजार यूएई दिरामसमेत गरी जम्मा नेपाली २५ लाख ६६ हजार ६९७ रुपैयाँ फिरौती रकम बुझाएपछि पीडितलाई दई दिनपछि (पुस २६ गते राति साढे १० बजे) ट्याक्सीमा राखेर सिनामंगलस्थित सडकमा स्वदेश फर्कनू भनी छाडेर फरार भएको एसपी कोइरालाले बताए ।

दुई दिनसम्म अपहरण तथा बन्धक बनाई फिरौती तिरेपछि मात्र छोडेर अलपत्र परेपछि पीडितले पर्यटक प्रहरीमा घटनाका सम्बन्धमा निवेदन दिएको र कार्यालयबाट काठमाडौं प्रहरी परिसरलगायतको समन्वयमा ती ३ पाकिस्तानी नागरिकलाई पक्राउ गरेको जनाएको छ । उनीहरु तीनै जनालाई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–४ स्थित भाडाको घरबाट दुई दिनपछि पक्राउ गरेको एसपी कोइरालाले बताए । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २११ अपहरण गर्न नहुने र २१२ शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त, महाराजगन्ज पठाएको छ ।

स्ववियु निर्वाचनसम्बन्धी पूर्वतयारी अघि बढाउन त्रिवि रजिस्ट्रार कार्यालयको सर्कुलर

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । त्रिवि रजिस्ट्रार कार्यालयले आंगिक सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसलाई तोकिएकै मितिमा निर्वाचन गराउन पूर्वतयारीसमेत अघि बढाउन आग्रह गरेको छ । विद्यार्थी भर्ना, लगत संकलन, परीक्षालगायतका विषय पूर्वतयारीअन्तर्गत पर्छन् ।

त्रिवि कार्यकारी परिषद्ले गत शुक्रबार चैत ५ मा स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा रजिस्ट्रार कार्यालयको जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले निर्वाचनसम्बन्धी पूर्वतयारी अघि बढाउन सर्कुलर गरेका हुन् ।

कार्यकारी परिषद्ले विद्यार्थी कल्याण तथा खेलकुद परिषद्को प्रस्तावमा निर्वाचनको मिति तय गरेको थियो । खेलकुद परिषद्ले मिति प्रस्ताव गर्नुअघि विद्यार्थी संगठनका केन्द्रीय प्रतिनिधिसँग परामर्श गरेको हो । त्रिवि क्लालेन्डरमा फागुन १४ मा निर्वाचन गर्ने उल्लेख भए पनि परीक्षा, विद्यार्थी भर्नालगायतका काम प्रभावित हुने भएकाले चैत पहिलो साता निर्वाचनको मिति तोकिएको हो ।

परिषद्को निर्णयपछि केन्द्रमा रेक्टरको अध्यक्षमा निर्वाचन समिति गठन गरेर तयारी अगाडि बढाउने व्यवस्था छ । रजिस्ट्रार पेशल दाहालले आंगिक क्याम्पसमा तोकिएकै मितिमा निर्वाचन हुने र सम्बन्धन प्राप्त सामुदायिक/निजी क्याम्पसले आन्तरिक तयारीको आधारमा निर्वाचन गराउन सक्ने बताए । ‘कार्यकारी परिषद्ले मिति घोषणा गरेपछि निर्वाचन गराउने बाटो खुलेको छ,’ उनले भने, ‘केन्द्रीय निर्वाचन समिति र क्याम्पसले विद्यार्थीसँग समन्वय गरेर स्वच्छ, निष्पक्ष तरिकाले निर्वाचन सम्पन्न गराउनुपर्छ ।’

त्रिविमा ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । विगतमा आंगिक र सामुदायिक क्याम्पसमा स्ववियु निर्वाचन हुने गरेको थियो । त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा समेत स्ववियु निर्वाचन हुनेछ ।

क्याम्पस प्रमुखले निर्वाचन अधिकृत र सहयोगी नियुक्त गरेर निर्वाचन गराउन सक्ने व्यवस्था छ । क्याम्पस प्रमुख स्ववियुको संरक्षकसमेत हुनेछन् । २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते निर्वाचन भएको थियो ।

त्यतिबेला देशैभर त्रिविका ६२ आंगिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा ९ वटा आंगिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । उपत्यकाका १३ र उपत्यकाबाहिर २३ आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ ।


Last Updated on: January 17th, 2023 at 2:41 pm


३०३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया