
रास्वपा संसदीय दलको बैठक : मन्त्री छान्ने जिम्मा लामिछानेलाई
प्रकाशित मिति । २ माघ २०७९
प्रत्यक्षबाट निर्वाचितलाई प्राथमिकता दिन सुझाव पाएका लामिछानेले भने- जोसुकैले पनि मन्त्रीको जिम्मेवारी पाउन सक्नेछ, सबैले स्वीकार गर्नुहोला
काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री छनोट गर्ने अधिकार पार्टी सभापतिसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई दिएको छ । लामिछानेले सोमबार पार्टीको संसदीय दलको भर्चुअल बैठक बोलाएर सरकारमा पठाउने मन्त्री छान्ने जिम्मेवारी लिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल निवास बालुवाटारमा सोमबार साँझ बस्न लागेको सत्ता साझेदार दलहरूको बैठकले मन्त्रिपरिषद् विस्तारबारे टुंगो लगाउने बताइएको छ । प्रधानमन्त्री दाहालले बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर लामो कुराकानी गरेका थिए ।
साँझ सत्ता साझेदार दलहरूको बैठक बस्ने र मन्त्रीहरूको टुंगो लाग्ने भएपछि सभापति लामिछानेले संसदीय दलको बैठक बोलाएर उक्त निर्णय गराएका थिए ।
रास्वपाका सांसद मनिष झाले पार्टीको तर्फबाट निर्णय लिने अधिकार यसअघि नै सभापति लामिछानेलाई दिइएको र त्यसलाई आज बसेको संसदीय दलको बैठकले निरन्तरता दिएको बताए । ‘यो पहिले नै भइसकेको कुरा हो । त्यसैका विषयमा आज नयाँ निर्णय भएको होइन,’ उनले भने, ‘पाँच बजे सत्तारुढ दलको बैठक बस्दैछ ।
त्यो हुँदा हाम्रो संसदीय दलका एक हप्ता अगाडि पनि कुन मन्त्रालय पायो भने कसलाई विज्ञताका आधारमा अवसर दिने भन्ने कुरा भएको थियो । त्यसै कुरालाई फेरि सभापतिले हाम्रो छलफल भएको आधारमा यस्तो भएको थियो है भन्नुभयो । तपाईंहरूको व्यक्तिगत विज्ञताको आधारमा जोसुकैले पालो पाउन सक्नुहुन्छ भनेर जानुभयो ।’
सत्ता गठबन्धनको तेस्रो ठूलो दल रास्वपाले उपप्रधानमन्त्री र गृहमन्त्री यसअघि नै लिइसकेको छ । रास्वपाले ४ मन्त्रालयमा दाबी गरेको छ । सरकारमा सहभागी हुन दलको संख्या बढेमा कम्तीमा ३ मन्त्रालय पाउनुपर्ने उसको दाबी छ ।
त्यस्तै उपसभामुख र एक राज्यमन्त्री पाउनुपर्ने पनि रास्वपाको दाबी छ । सांसद झाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय लगायतका मन्त्रालयमा दाबी प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीसँग राखेको जानकारी लामिछानेले संसदीय दलमा जानकारी गराएका थिए ।
रास्वपाका सांसदहरूले पार्टीबाट मन्त्री चयन गर्दा प्रत्यक्ष निर्वाचित भएर आएकालाई प्राथमिकतामा राख्नुपर्ने माग उठेको अर्का एक सांसदले बताए । ‘सरकारमा मन्त्री पठाउँदा प्रत्यक्ष निर्वाचित, महिला, समावेशीलाई प्राथमिकता दिनुपर्ने सुझाव सभापतिलाई दिएका छौं ।
मलाई यै मन्त्रालय पाउनुपर्छ कसैले भनेको छैन । सांसदको व्यक्तिगत विज्ञताको आधारमा जनताबाट निर्वाचित भएर आएकोलाई प्राथमिकता दिनुपर्छ भनेका छौं,’ ती सांसदले भने, ‘जनताबाट प्रत्यक्ष म्यान्डेट लिएर आएको भएकाले र काम गरेर देखाउनुपर्ने हुँदा त्यसलाई प्राथमिकता दिनुपर्छ भनेको हो ।’
सभापति लामिछानेले भने जोसुकैले पनि मन्त्रीको जिम्मेवारी पाउन सक्ने भएको बताएका थिए । त्यसरी जिम्मेवारी पाएपछि सबैले स्वीकार गर्नुपर्ने उनले सांसदहरूलाई निर्देशन दिएको ती सांसदको भनाइ थियो ।
रास्वपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पार्टीको भागमा परेमा काठमाडौं– ६ बाट निर्वाचित शिशिर खनाल दाबेदार रहने बताइएको छ । उनी ‘टिच फर नेपाल’ संस्थापक हुन् । उनले शिक्षा क्षेत्रमा काम गरेको अनुभवका आधारमा उक्त मन्त्रालयमा दाबेदारका रूपमा हेरिएको स्रोतको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्राप्त भएमा ललितपुर– ३ बाट निर्वाचित डा. तोसिमा कार्कीसँगै समानुपातिक सांसदहरू डा. ढाकाकुमार श्रेष्ठ र डा. चन्दा कार्की दाबेदार रहनेछन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पाएमा काठमाडौं– २ बाट निर्वाचित सोविता गौतमलाई पठाउने बताइएको छ । उपसभामुखमा पनि उनीसहित समानुपातिक सांसद सुमना श्रेष्ठको चर्चा रहेको रास्वपाका सांसदहरूले जानकारी दिएका छन् ।
समानुपातिक सांसद मनीष झाको विगतको अनुभवका आधारमा युवा तथा खेलकुद मन्त्रालयमा चर्चा रहेको बताइएको छ । पूर्वखेलाडीसमेत रहेका उनी ‘फ्याक्ट्स नेपाल’ का संस्थापक हुन् ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पार्टीको भागमा आउँदा संस्कृतिको क्षेत्रमा काम गरेका काठमाडौं– ८ बाट निर्वाचित विराजभक्त श्रेष्ठ र पर्यटन व्यवसायमा संलग्न समानुपातिक सांसद डोलप्रसाद अर्यालको विज्ञता पुग्ने बताइएको छ । संसदीय समिति सभापति र उपसभामुखमा पनि त्यसरी नै टुंगो लगाउने सहमति भएको रास्वपाका नेताहरूको भनाइ छ । प्रतिनिधिसभामा रास्वपाका २० सांसद छन् ।
पोखरा विमान दुर्घटनाप्रति चीनद्वारा दु:ख व्यक्त
बेइजिङ — चीनले नेपालमा आइतबारको विमान दुर्घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ । सोमबार बेइजिङमा पत्रकार सम्मेलन गर्दै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिङले पत्रकारहरुको जिज्ञासामा उक्त घटनाप्रति दुःख प्रकट गरे।
‘नेपालको परम्परागत र इमानदार मित्रको नाताले यस दुःखको घडीमा हामी नेपाली जनतासँगै रहेका छौं, उनले भने, ‘विमान दुर्घटनाका पीडितप्रति गहिरो समवेदना र मृतकका परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।’
स्थानीय समयअनुसार माघ १ गते (जनवरी १५) मा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त भई आगलागी भएको थियो। दुर्घटनामा विमानमा सवार सबै ७२ जनाको मृत्यु भएको पुष्टि भएको थियो।
यसैबीच नेपालस्थित चिनियाँ दूतावासले दुर्घटनाग्रस्त विमानमा कुनै पनि चिनियाँ नागरिक नरहेको पुष्टि गरेको चिनियाँ संचारमाध्यमहरूले जनाएका छन्। यसअघि आइतबार नै उक्त घटनाप्रति भारतीय, चिनियाँ र अमेरिकी दूतावासले दु:ख व्यक्त गर्दै मृतकका परिवारजनलाई समवेदन व्यक्त गरेका थिए ।