मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


पाकिस्तानबाट काठमाडौं बोलाइयो, अपहरण गरी २५ लाख फिरौती असुलियो

प्रकाशित मिति १ माघ २०७९

काठमाडौ

नेपाललाई आधारभूमि बनाएर पाकिस्तानीहरूले अपहरण तथा मानवतस्करी धन्दा चलाउन थालेका छन् । क्यानडा पठाइदिने भन्दै एक युवकलाई पाकिस्तानबाट नेपाल बोलाएर पाकिस्तानी समूहले नै बन्धक बनाई करिब २५ लाख रुपैयाँ फिरौती असुली गरेको छ ।

अपहरण र फिरौती असुलीमा संलग्न तीन पाकिस्तानी शुक्रबार काठमाडौंमा पक्राउ परेका छन् । यस्तो घटना काठमाडौंमा विगतमा पनि भएकाले पाकिस्तानी आपराधिक समूहको सक्रियता बढेको प्रहरी निष्कर्ष छ ।

पाकिस्तानको एक कम्पनीमा प्रबन्धक पदमा कार्यरत थिए सामी खान । दुबईमा समेत केही वर्ष काम गरेका उनी पढेलेखेकै हुन् । उनलाई एक व्यक्तिले ह्वाट्सएपमार्फत सम्पर्क गरेर क्यानडा लैजाने आश्वासन दिए ।

‘मेरा साथीहरू नेपालमा छन्, त्यहाँ गएर भेट, उनीहरूले तिमीलाई सजिलै क्यानडाको भिसा लगाइदिन्छन् । पैसा पनि केही खर्च हुँदैन,’ ह्वाट्सएपबाटै चिनेका ती व्यक्तिको आश्वासनमा उनी सजिलै विश्वस्त भए ।

पैसा खर्च नहुने सर्तले उनी विश्वासमा परेका थिए । क्यानडाको सपना बोकेर २४ पुसमा सामी नेपाल आइपुगे । ठमेलको होटेलमा बसे । त्यहाँ उनलाई एक होटेलअगाडि जान भनियो, जहाँ अन्य तीन पाकिस्तानी पहिलेदेखि नै प्रतीक्षामा थिए ।

क्यानडाको भिसा प्रक्रियाका लागि बायोमेट्रिक संकलनका लागि जाने भन्दै उनलाई ट्याक्सीमा राखेर तीन पाकिस्तानीले बुढानीलकण्ठस्थित एक घरमा पुर्‍याए ।

जुन घर उनलाई बन्धक बनाउने उनीहरूको गोप्य ‘अखडा’ थियो । घरभित्र पुगेलगत्तै आँखामा पट्टी लगाई हातखुट्टासमेत बाँधेर उनलाई बन्धक बनाए । त्यसपछि फिरौतीको धन्दा सुरु गरे ।

पाकिस्तानमा रहेको खान परिवारसँग फिरौती माग्न थाले । सामीका भाइलाई उनकै मोबाइलबाट फोन गरेर सुरुमा प्लेन उड्न लागेको आवाज सुनाए । क्यानडाको फ्लाइट सुरु हुन लागेको र अब ३० घन्टा मोबाइल अफ हुने भन्दै सामीलाई नै भाइसँग भन्न लगाए । भनेअनुसार नबताए मारिदिने धम्की दिए ।

त्यसको ठीक ३० घन्टापछि सामीका भाइलाई म्यासेज पठाएर ‘आफू (सामी) क्यानडा पुगेको र पैसा दिएपछि मात्र त्यहाँको अध्यागमनले प्रवेश दिने भएकाले ३० लाख पाकिस्तानी रुपैयाँ (करिब १७ लाख नेपाली) र २४ हजार युएई दिराम (करिब आठ लाख नेपाली) पाकिस्तानकै एक व्यक्तिलाई दिन’ भनियो । यसरी फिरौती असुलेपछि उनीहरूले २६ पुसमा सामीलाई ट्याक्सीमा राखेर सिनामंगलस्थित सडकमा पुर्‍याई पाकिस्तान फर्कनु भन्दै फरार भए ।

आफू अपराधीको चंगुलमा फसेको थाहा पाएपछि सामी सहयोगका लागि नेपाल प्रहरीमा पुगे । घटनाको अनुसन्धानपछि दुई दिनमै काठमाडौं अपराध अनुसन्धान कार्यालयले पाकिस्तानी नागरिकहरूलाई पक्राउ गरेको छ ।

३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र मुहम्मद फिदा हुसैनले सामीको अपहरण गरेको र उनीहरूलाई पक्राउ गरिएको एसपी कृष्णप्रसाद कोइरालाले बताए । उनीहरूमाथि अपहरण र मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान सुरु भएको छ ।

‘सजिलै क्यानडा पठाउने भन्ने आश्वासनमा काठमाडौं ल्याएर अपहरण गरेको देखिन्छ,’ एसपी कोइरालाले भने, ‘ह्वाट्सएपमा चिनजान भएकै आधारमा विश्वासमा पर्दा यसरी फस्न पुगे ।’

पक्राउ परेका तीन पाकिस्तानी करिब एक महिनाअघि नेपाल आएका थिए । उनीहरूले अपहरणकै योजनाअनुसार बुढानीलकण्ठमा घर भाडामा लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रहरीसँगको सोधपुछमा पाकिस्तानमा एक साथी रहेको र उनकै आग्रहमा आफूहरूले उनलाई भाडाको घरमा राखेको बताएका छन् । तर, उनीहरू पेसेवर अपराधी भएको आशंकामा प्रहरीले विस्तृत अनुसन्धान थालेको छ ।
यसअघि पनि भएको थियो यस्तै घटना

क्यानडा पठाइदिन्छु भनेर नेपालमा बोलाई पाकिस्तानीले पाकिस्तानीलाई नै अपहरण गरेको यो पहिलो घटना भने होइन । ०७८ असोजमा पनि ललितपुरमा यस्तै घटना भएको थियो ।

क्यानडाको भिसा लगाइदिने भन्दै फैजन अहमदलाई पाकिस्तानबाट बोलाई बन्धक बनाएर २० हजार डलर फिरौती असुल्ने प्रयास भएको थियो । अपहरणमा संलग्न जेसन मोहम्मद र ताज रिसवालाई प्रहरीले पक्राउ गरेको थियो । पीडितलाई धापाखेलको एक घरमा बन्धक बनाइएको थियो, तर उनी बन्धक बनाइएको घरबाट भाग्न सफल भएका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीका अनुसार यस्ता घटना ५–६ वर्षअघि पनि भएका थिए । अपराध शैली उस्तै भएकाले यसमा पेसेवर समूहकै संलग्नताको आशंका गरिएको छ ।

पाकिस्तानीले मानव तस्करीमा पनि नेपाललाई ट्रान्जिट देशका रूपमा दुरुपयोग गर्दै आएका छन् । पाकिस्तानी नागरिकले नेपालमा अनअराइभल भिसा पाउने भएकाले पनि यसरी उनीहरूले ट्रान्जिट बनाएका हुन् ।

कतिपय पाकिस्तानी नेपाल आएर शरणार्थीको रूपमा युएनएचसिआरको सहयोगमा बस्दै आएका छन् । गृह मन्त्रालयको तथ्यांकअनुसार एक सय ८२ पाकिस्तानी नेपालमा शरणार्थीको रूपमा बस्दै आएका छन् । विदेशी पर्यटकमाथि नियमन प्रणाली नहुँदा नेपालमा विदेशी अपराधीको चलखेल बढेको प्रहरी अधिकारी बताउँछन् ।

माघ भाका ‘दुःख दर्दमे जिन्गी, बिटल बरस हजार’

पश्चिम तराईका थारु गाउँहरुमा माघको रौनक छ, चाडको मेसोमा ढमार र मघौटाका भाका सुनिँदै छन्

काठमाडौँ — मगराके हाँठ जिनी डिहस बाबा
डिन डिन छिटुवा बेचटी डिन जाइ
सोलराके हाँठ जिनी डिहस बाबा
डिन डिन कुकरा भुक्टी डिन जाइ

छोरीले बाबुलाई अरू कसैको हातमा नसुम्पिनु भनेर बिलौना गर्दै गाएको ढमार गीत हो यो । छोरीले बरु दिनभरि छिटवा बेच्न परोस्, कुकुर भुकोस् तर अरूसित बिहे नगराइदिनु भनेर मघौटा गीतमार्फत बिलौना गरिरहेकी छन् ।

माघको आगमन भएसँगै लुम्बिनी र सुदूरपश्चिमका थारू गाउँ यस्तै गीतहरूले चैनार (उमंग) छ । बर्दिया गुलरियाका मित्रलाल चौधरी यही ढमार गीत सुनेर हुर्किए । उमेरले प्वाँख हाल्दै गर्दा गीत गुनगुनाउन र नाच्न थाले । ‘थारूहरूले हरेकजसो चाड उत्सवमा फरक गीत गाउँछन्,’ उनी भन्छन्, ‘गीत सुन्दा यसले कुन चाडको संकेत गर्‍यो भन्ने बुझिन्छ । त्यसले बेग्लै उत्साह ल्याउँछ ।’

माघ पर्वको आगमनमा रमाएका पश्चिम तराईका थारू बस्तीहरूमा गीतका भाका विस्तारै फेरिँदै छन् । कमलरी, कमैया प्रथा उन्मूलन गरेर अघि बढेको समाजमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकाससँगै गाउँघरको भाकामा परिवर्तनका स्वर मिसिएका छन् ।

पुरानो ढमारमा प्रेम, सुखदुःख, पुर्खाका इतिहास, समाज–संस्कृति, मनोरञ्जनका भाव बढी भेटिन्थे भने आधुनिक भाकामा शोषण, अत्याचार, वितृष्णालगायतका भावहरू भेटिने गरेका छन् । थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले आधुनिक ढमारको रचना गरेका छन् :

सुनो सुनो हे गोचाली, सुनो जीवनी हमार

कहटी रोवै मोरे मनवा हो

दुःख दर्दमे जिन्गी, बिटल बरस हजार

कब अइही सुखकै डिनवा हो

पाँच बरस बुडु कजियै सघैनै, दशहे बरसटक मुखियै

१५ बरस जिमदरवक घरमे टबही लेहनै विश्राम हो ।

अर्थात् साथीभाइ जीवनको हजारौं वर्ष दुःखमा बित्यो । कहिले आउला सुखको दिन ? हजुरबुबाले पाँच वर्ष काजीलाई, १० वर्ष मुखियालाई अनि १५ वर्ष जिमदारलाई सघाएपछि बल्ल विश्राम पाएको गीतले भन्छ । गीतले कमैया बस्नुपरेको दुःखदायी कहानी बोल्छ ।

थारू समुदायमा प्रचलित लोकगीतको आफ्नै मौलिकता छ । थारूहरू विभिन्न स्थानमा बसोबास गर्ने भएकाले पनि रहनसहन र सामाजिक मूल्य मान्यता फरक पाइन्छ । तर, कृषि पेसामा आधारित जीवनशैली, सोझोसँग गरिखाने आनीबानी गीतका भाकाबाट पनि झल्किन्छ ।

बाबा कि सगरम, मुरिया लहान गैनु हाँ, बाबा कि सगरवा

सखियै हो, माठकी टिकुलिया मछुरी लुटी लैगैल ।

अर्थात् माघको अवसरमा नुहाउन जाँदा सिउँदोको टीका माछाले लुटेर लग्यो । नुहाएर आएपछि नुन, चामल, दाल छोएर ढोगभेटपछि बरघर/महटावाको घरमा टीका थाप्न जानुपर्ने उर्दी गीतमा यसरी गाइन्छ :

हाँकी हाँकी पारल, गाउँक् कटवलिया रे हाँ

सखियै हो, सबहु मिली टिकका लिहन चली आओ ।

सुन कही सुनल, सबहुँ सखिया रे हाँ

सखियै हो, चोलो जाई सबहु टीका लिहन ।

माघमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि अरू अवसरमा लोकप्रिय छ । माघका विशेष पकवान ढिक्री, अनदीको जाँड, सुँगुरको मासु, ढमार तथा मघौटा नाचको धुनले पहिले माघ महिनाभरि माघ लागेको भन्दै मनाउने गरे पनि अहिले आएर साता दिनमै यो पर्व खुम्चिएको छ ।

माघ पर्वमा ढमार (ढुमरु/डफ), मघौटा गीत विशेष रूपमा गाइन्छ । यो गीत पुस महिनाको अन्तिम दिन बरघरको घरमा गाउँलेहरू भेला भएर बैठाकुर (बसेर गाइने गीत) हो । माघको दोस्रो बिहान नयाँ कार्ययोजना बनाउनका लागि बरघर अर्थात् महटौंको आँगनमा छलफल, बैठक हुन्छ । बैठकका अवसरमा बैठाकुर गीत गाइन्छ । जस्तैः

महटौंक आगनाम खररा बिछाइ रे हाँ

महटौंक आगनाम गोंडरी बिछाइ रे हाँ

सखिए हो महटौंक आगनाम बैसना बखेर

महटौंक आगनाम हाँसली ओ खेलली रे हाँ

सखिए हो इह रि आगनवा छुट्टी मैयाँ लाग

महटौंक आगनाम हाँसली ओ खेलली रे हाँ

सखिए हो इह रि बहरिया छुट्टी मैयाँ लाग

महटौंक आगनाम हाँसली ओ खेलली रे हाँ

सखिए हो इह रि आगनाम सोन फुला फूल

महटौंक बहरियाम डरिया बिछाइ रे हाँ

सखिए हो महटौं जे डरहीं हजार रूपडान

आझुक डिनम हाँसबी ओ खेलबी रे हाँ

सखिए हो काल्हिक डिनवाम हुइबी जोरा फुट ।

(स्रोतः मानबहादुर चौधरी)

अर्थात् महटौंको आँगनमा गुन्द्री ओछ्याइएको छ । यही आँगनमा हाँसेको र खेलेको अब यो छोड्नुपर्दा दुःख लागेको छ । यो घरको पिँढी छोड्दा दुःख लागेको छ । यो आँगनमा सुन फूल फुलोस् । महटौंको पिँढीमा कम्बल ओछ्याइएको छ । महटौले हजार रुपैयाँ दान दिए । आजको दिन त सँगै हाँस्यौं खेल्यौं, भोलिको दिन त छुट्नैपर्छ ।

यो गीतको भावार्थमा बरघर पुनः छनोट नहुने संकेतले उनको घरको आँगन छुट्ने संकेत छ । राम्रो काम गरेकाले आँगनमा सुन फूल फुल्ने आशीर्वाद दिइएको छ । मघौटा नाचपछि भैलो खेल्दा रकम दिनु परेझैं महटौंसँग हजार रुपैयाँको आशा गरिएको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा बसाइँसराइ गरेर गए भोलिको दिन भेट हुन नसक्ने मर्म बोकेको छ ।

ढमार साँझ धुनी जगाइ इष्टमित्रसँग रात जाग्राम बसी खानपान गर्दै मादल र डफको तालमा गीत गाइन्छ । महिला र पुरुष दुवैले गाउने ढमार गीत विशेष गरी पुरुषले नै बढी गाउने चलन छ । रातभरि ढमार गाएपछि बिहान नजिकैको कुलो, खोला, नदीमा नुहाउन जाने र ठूलाबडाको आशीर्वाद लिने चलन छ । माघ १ लाई थारूहरूले नयाँ वर्षका रूपमा मनाउँछन् । ठाउँ विशेषअनुसार माघ पर्वलाई माघ, माघ डेवानी, खिचरी, तिला संक्राइका नामले चिनिने भए पनि लगभग उस्तै–उस्तै तरिकाले मनाइन्छ ।

बर्दियाको बढैयाताल–७ बोकटियामा माघको नाचगानपछि टोलीलाई दान दिइँदै

मौलिक माघको थारू गीत भने पश्चिमा थारूहरूले गाउने र नाच्ने गरेका छन् । थारू संस्कृति अध्ययनकर्ता रामसागर चौधरी पहिले पहिले पूर्वका थारूले माघमा झुमरा गीत गाउँदै नाच्ने गरे पनि अहिले चलनमा परिवर्तन आएको बताउँछन् । उनका अनुसार पूर्वीया थारूहरूमा माघकै लागि भनेर छुट्टै मौलिक गीतहरू छैनन् । माघमा ढमार गीतसँगै मघौटा नाचले विशेष अर्थ राख्छ । ठाउँअनुसार कतै मघौटा गीत मात्र गाइन्छ भने कतै गाउँदै नाचिन्छ ।

सेन्डुराले मग्नु बाबा सेन्डुरा नै लेहलो रे हाँ

सेडुरका कारण बाबा छोरी डेबुँ देशवा टोहाँर सखियै हो

टिकुली ले मग्नु बाबा टिकुली नै लेहलो रे हाँ

टिकुलिक करण बाबा छोरी डेबुँ देशवा टोहाँर सखियै हो

अर्थात् सिन्दुर र टीका किनिमाग्दा बाबाले नकिनिदिएपछि गाउँ नै छाडेर जाने छोरीले घुर्की लगाएको गीतको भावले बुझाउँछ ।

लोप हुने संघारमा

माघ मनाउने शैलीमा जिल्ला र भेगअनुसार पनि फरक देखिन थालेको छ । मादलको तालमा गुञ्जायमान रहने गाउँमा अहिले डिजे तथा आधुनिक गीतहरू बढी सुनिन्छन् । मौलिकता बोकेका थारू गीतहरू बुढापाकामा सीमित भइरहेको देखिन्छ । थारू तथा नेपाली मिश्रित गीतहरू अहिले बढी युवापुस्ताले रुचाएको देखिन्छ । जस्तैः

कता हिँडेउ साली जुल्फी लर्काउँदै

ठमठम साली कम्मरै मर्काउँदै

लाल रेबन भाटु मेलामा किनेको

ढकिया बोकी भाटु बजारमा हिनेको

रेशम चौधरीको यो गीत अहिले टिकटकमा भाइरल भइरहेको देखिन्छ । गैरथारूहरूको पनि मुखमा झुन्डिएको यो गीतमा थारू र नेपाली भाषा मिश्रित भएकाले पनि रुचाएको पाइन्छ । समयसँगै युवाहरूको रुचि र फ्युजन संगीत मन पराउनु नौलो नभए पनि मौलिकपन हराइरहेकामा दुःख व्यक्त गर्छन् थारू लेखक सोम डेमनडौरा ।

उनी भन्छन्, ‘हिजोआज मुस्किकले केहीले मात्र मौलिक गीतहरू गाउँछन् । सामूहिक लहान गर्न जाने बेला नाच्दै गाउँदै रमाउने चलन कम हुँदै गएको देखिन्छ । युवाहरू जाँड खाएर सांस्कृतिक कार्यक्रममा रमाइरहेका छन् । आधुनिक गीतमा फ्युजन नै भए पनि मौलिकता भुल्नुभएन ।’

उनले माघको अवसरमा आयोजना हुने महोत्सवमा परम्परागत गीत र नाचको प्रवर्द्धनभन्दा पनि व्यापारिक ध्येयले जाँडरक्सीमा सीमित हुन पुगेको बताए । ‘मादल, डफ जस्ता बजाउन सिकाउन आवश्यक छ । मादल नै बजाउन आएन भने गीतको के काम ? यसमा बरघरले नेतृत्व लिन सक्छन्,’ उनले भने ।

दाङका गायक माधव चौधरी थारू बूढा मादलेहरू हराउँदै गएको तथा युवाहरूले मादल बजाउन नसिक्नाले थारू मौलिक नाच पनि संकटमा परेको बताउँछन् । उनी भन्छन्, ‘कतिपय गाउँमा थारू युवतीहरू नाच्न इच्छुक छन् । तर, गाउँमा मादले नभएर मघौटा त टाढाको कुरा दसैंमा महिना दिन नाचिने संख्या नाच पनि लोप हुन थालेको छ ।’

गायक चौधरीको विचारमा थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभा (थाकस), थारू जनप्रतिनिधि तथा थरूहटका स्थानीय निकायले थारू गीतको संरक्षण संवर्द्धनमा ध्यान दिनु जरुरी छ । थारू अगुवा दिलबहादुर चौधरी पनि थारू मौलिक गीत संकलन र संरक्षणको अभावमा लोप हुने अवस्थामा रहेको बताउँछन् । ढमार गीतसमेतका सर्जक उनी माघ र माघको मौलिक गीत जोगाउन ढमार, मघौटा गीत तथा नाचको प्रतियोगिता गर्न सकिने बताउँछन् ।

परम्परागत पोसाकमा थारू युवती र ढिकरी पकाइँदै।

उनका अनुसार ढमारजस्ता गीतको संकलन तथा अनुसन्धान हुन जरुरी छ । भन्छन्, ‘हामीले गाउँमा यससम्बन्धी पुनर्जागरणका लागि ढमार नाच्न तथा गाउनका लागि केही सहयोग वडाबाट पनि मागेका छौं । ४० कटेकाले मात्र अहिले यो गीत गाउने गरेको देखिन्छ । पुस्ता हस्तान्तरणको आवश्यकता देखिन्छ,’ उनले भने ।

दाङ देउखरी, मानपुरकी १९ वर्षीया विद्यार्थी प्रज्ञा चौधरीले नयाँ पुस्ताहरूलाई मौलिक गीतमा तान्न अभिभावकहरूले पनि मुख्य भूमिका खेल्न सक्ने बताउँछिन् । उनलाई थारूहरूको मौलिक गीतबारे धेरथोर मात्र थाहा भएको र बिहेमा गाइने मौलिक गीतमात्र गुनगुनाउन जानेको बताइन् । ‘मलाई पुराना गीतहरू मन पर्छ, सिक्न पनि मन छ । हजुरआमा र आमाहरूले गाएको सुनेको छु । आधुनिक गीतसँगै हामीले मौलिक गीतलाई पनि प्राथमिकता दिनुपर्छ,’ उनी भन्छिन्, ‘अभिभावकहरूले पनि सुनाउनु र सिकाउनुपर्छ, सिक्न प्रेरित गर्नुपर्छ ।’

विगतमा १० वर्ष थारू गाउँको अगुवा बरघरसमेत रहिसकेका मित्रलाल चौधरी सांस्कृतिक पहिचान बचाउन लागिपरेका छन् । माघको अवसरमा उनले आफ्नो गाउँमा यही माघमा मघौटा नाचको प्रतियोगिता आयोजना गरेको बताए । ‘संरक्षण आवश्यक छ । म गीत र नाचलाई कसरी संरक्षण गर्ने भनेर लागिपरेको छु । अहिले बरघर नभए पनि अरूलाई सल्लाह सुझाव दिन्छु,’ उनले भने ।


Last Updated on: January 15th, 2023 at 10:03 am


१८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया