
इन्द्रेणी कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राख्ने फरार आरोपित पक्राउ
प्रकाशित मिति । ३० पुस, २०७९
काठमाडौ
काठमाडौंको बिजुलीबजारस्थित इन्द्रेणी कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राखेर फरार आरोपित पक्राउ परेका छन्। ललितपुरको गोदावरी नगरपालिका-१०बाट प्रहरीले आरोपित ३३ वर्षीय महेश केसी खत्रीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंले ललितपुर प्रहरीसँग समनव्य गरी सोमबार साँझ पक्राउ गरेको हो।
उनीमाथि २०६८ साल वैशाख १३ गते दिउँसो इन्द्रेणी कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राखेको आरोप छ। उनले कम्प्लेक्सका सञ्चालकलाई फोन गरी फिरौती मागेका थिए।
फिरौती नदिए घर र व्यापारिक भवन विस्फोट गर्ने धम्की दिएका थिए। धम्कीपछि पनि रकम नपाएपछि उनले समूह बनाएर विस्फोटक पदार्थ राखेका थिए। विस्फोटकपदार्थ राखेको थाहा पाएपछि त्यसबेला प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोली र नेपाली सेनासँगको समन्वय गरी डिस्पोज गरेको थियो।
विस्फोटक पदार्थ ऐन अनुसार वृत्तले अनुसन्धान गरिरहेको थियो। त्यसअनुसार उनीमाथि थप अनुसन्धान अघि बढाएको छ। उनलाई सात दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ।
यसैगरी झापाको शिवसताक्षी नगरपालिकामा हात्तीले हिजोआज आतंक मच्चाउन थालेको छ। हात्तीको बथान गाउँ पसेपछि स्थानीय ज्यान जोगाउन घर छाडेर भाग्ने गरेका छन्।
शिवसताक्षी नगरपालिका वडा नम्बर ८ सम्झना चोकको दक्षिण क्षेत्रका ५ घर हात्तीले मंगलबार राती भत्काएको छ भने किसानले भण्डारण गरेको अन्न नष्ट गरिदिएको छ।
चार वटा हात्तीले एक महिनादेखि शिवसताक्षी नगरपालिकाका विभिन्न ठाउँमा घर भत्काउने, भण्डारण गरेका अन्न खाने, नष्ट गर्ने गरेको वडा अध्यक्ष सन्तकुमार फेउदिनले बताए। हात्तीले गत साता एक जना महिलाको ज्यान लिएको थियो।
स्थानीय अनिस तामाङ, तिलबहादुर तामाङ, हस्तबहादुर लामा, राजकुमार राई र कृष्ण इजमको घर हात्तीले भत्काएको हो।
बेलुकी ११ बजेदेखि गाउँ पसेका हात्ती बुधबार बिहान ४ बजे जंगल फर्किएका थिए। रतुवामाई वृक्षारोपण आयोजनाको जंगल हातामा दिनभर बस्ने र रात परेपछि मानव बस्तीमा हात्ती पस्ने गरेका छन्।
जंगलबाट हात्ती गाउँ पसेपछि कतिपय स्थानीयले घर छोडेर हिँड्ने गरेका छन्। ‘राति हात्तीका बथानले घर भत्काउन थाल्यो’, स्थानीय तारा लावतीले भनिन्, ‘हात्ती आएको थाहा पाएपछि भागेर बालबच्चा जोगाउन सक्यौं।’ स्थानीय राजकुमार राईले हात्तीले आफूहरूको घर र पसल भत्काइदिएको बताए।
यसैबीचमा नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ।
प्रहरी प्रधान कार्यालयमा मंगलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो। जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धमा छलफल भएको र वर्तमान आवश्यकतानुसारको पाठ्यक्रम परिमार्जन गरिने प्रहरीले जनाएको छ।
पदपूर्ति समितिमा पाठ्यक्रम समयानुसार परिवर्तनका लागि अध्ययन गरी सुझाव दिन बनेको समितिले आफ्नो प्रतिवेदनसमेत बुझाएको समितिका सदस्य प्रहरी नायब महानिरीक्षक दीपक थापाले जानकारी दिए।
विज्ञसहितको उक्त समितिले छ महिनाभन्दा बढी लगाएर अध्ययन गरी प्रतिवेदन बनाएको हो। मुख्यगरी प्राविधिक पदमा सेवा, संविधान तथा कानुनका पाठ्यक्रम बढी रहेकाले प्राविधिक क्षेत्रका र विषयविज्ञ अपुग हुने अवस्था आएकाले त्यसलाई सम्बोधन हुने गरी र प्राविधिक विषय बढी राख्ने गरी प्रतिवेदन तयार भएको जनाइएको छ।
यस्तै प्रहरीको परीक्षामा अङ्ग्रेजीमा ६० र नेपालीमा ४० प्रतिशत अङ्क दिने व्यवस्था रहेको तर अन्य सुरक्षा निकायमा ५०–५० प्रतिशतको व्यवस्था भएकाले त्यसलाई समेत एकरुपता दिने गरी प्रतिवेदन पेस भएको छ।
पाठ्यक्रमको अध्ययन गरी परिमार्जनको लिखित प्रतिवेदनसहित सुझाव दिने गरी लोकसेवा आयोगका विज्ञ डा खगेन्द्रप्रसाद सुवेदीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको थियो।
छलफलमा लोकसेवा आयोगका सदस्य माधव बेल्वासे, गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षक, लोकसेवा आयोगका सहसचिव, प्रहरी नायब महानिरीक्षकलगायतको सहभागिता रहेको थियो।
बैठकमा प्रहरी नायब महानिरीक्षक थापाले पाठ्यक्रम निर्माण तथा परिमार्जन समिति गठन, पाठ्यक्रम परिमार्जनसम्बन्धी कानुनी प्रावधान, नेपाल प्रहरीमा जनपद तथा प्राविधिक प्रहरी समूहतर्फ विभिन्न पदहरूको पाठ्यक्रमसम्बन्धी सङ्ख्यात्मक विवरण, मौजुदा पाठ्यक्रममा भएका र परिमार्जन गरिएका व्यवस्थालगायतका विषयमा जानकारी गराएका थिए।
उनले लोकसेवा आयोगको ‘सुरक्षा निकाय, अन्य सङ्घीय सरकारी र सङ्गठित संस्थाका पदपूर्तिका लागि दिइने परीक्षाको पाठ्यक्रमसम्बन्धी मापदण्ड, २०७९’ मा व्यवस्था भएबमोजिम सबै पदहरूको पाठ्यक्रमको ढाँचालाई एकरूपता कायम गरिएको बताए। अहिले नेपाल प्रहरीमा नयाँ भर्नाका लागि प्राविधिकसहित ८० पद रहेका छन्।
बसका कर्मचारीलाई प्रशिक्षण
काठमाडौँ — पूर्व अरनिको यातायात कम्पनीले दुर्घटना न्यूनिकरण र सेवाग्राहीसँग गर्ने व्यवहारमा सुधार ल्याउन आफ्ना मजदुरलाई प्रशिक्षण सुरु गरेको छ ।
दुर्घटना न्यूनिकरण, ट्राफिक नियम र यात्रुप्रतिको दायित्वबारे जानकारी दिन कम्पनीले आफ्ना सवारी चालक, परिचालक तथा सहयोगीलाई अभिमुखीकरण तालिम दिन थालेको हो । कम्पनीले पहिलो दिन आइतबार १ सय ७० जनालाई प्रशिक्षण दिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीको टोली र प्रालिका विज्ञहरुले मजदुरलाई प्रशिक्षण दिन थालेका हुन् । ५ सयभन्दा बढी सार्वजनिक सवारी रहेको प्रालिले आफ्ना सवारी साधन चलाउने कर्मचारीलाई ट्राफिक नियम पालनामा कडाई नगर्दासम्म दुर्घटना कम नहुने भन्दै ठहर गर्दै हरेक महिना प्रशिक्षण दिने जनाएको छ।
१ हजार २ सय यातायात कर्मचारीलाई कम्पनीले यात्रुलाई दिने सेवा, दुर्घटना कम ती कर्मचारीको भूमिकालाई बुझाउने गरी कम्पनी र ट्राफिक प्रहरीले कार्यक्रम तय गरेको छ ।
‘हामीले दिन खोजेको सेवा के हो ? कसरी दिने हो ? यात्रुसँग हाम्रो व्यवहार कस्तो हुनुपर्छ भन्ने हाम्रा कर्मचारीले थाहा पाउनु जरुरी ठान्यौं,’ कम्पनीका अध्यक्ष केदार क्षेत्रीले भने,‘सरकारले तोकेको भाडादरमा यात्रुलाई खुसी हुने गरी हामीले सेवा नदिएसम्म हाम्रो कर्तव्य पूरा हुँदैन । ट्राफिम नियमको पालना गरेर सुरक्षित यात्रा गराउनु नै हाम्रो दायित्व हो भन्ने हामीले बुझाउन खोजेका छौं ।’
कम्पनी अन्तर्गत चल्ने बसका कर्मचारीका छोराछोरी १० कक्षासम्म पढाउने व्यवस्था गरेको छ । कर्मचरीका छोराछोरीलाई आउँदो वर्षदेखि १२ कक्षासम्म निःशुल्क पढाउने योजना रहेको अध्यक्ष क्षेत्रीले बताए । ‘बसका कर्मचारीलाई खुसी राखेपछि यात्रुलाई मर्यादित व्यवहार र सुरक्षित यात्रा गराउनेमा हामी ढुक्क छौं,’ उनले भने ।