मंगलबार १४ चैत्र २०७९


जुत्ता सिलाउदै क्याम्पस पढ्छिन् गुल्मीकी सम्झना, कुनै पनि काम सानो हुन्न’ भन्छिन् ।

प्रकाशित मिति । ३० पुस, २०७९ ।

१७/१८ वर्ष उमेर समुहको देखिने एउटी किशोरी गुल्मीको सदरमुकाम तम्घासको व्यस्त बजार भिमचोकको सडक छेउको पसलमा छालाको जुत्ता सिलाउनमा व्यस्त देखिन्छिन्। पहाडी भेगमा नेपाली समुदायका मानिसहरुले छालाको जुत्ता सिलाउने पेशालाई परम्परागत अर्थात जातिगत पेशाका रुपमा लिने गर्दछन्।

पाहडी भेगको हाटबजार बाहेक गाउँमा उक्त पेशा लोप भईरहेको छ र त्यस समुदायका पुरुषहरु अन्य विभिन्न पेशामा पलायन भईरहेका बेला उनी भने छालाको जुत्ता सिलाउने पेशा अंगालेको देख्दा मानिसको सोचमा परिवर्तन आएको अनुभूत गर्न सकिन्छ । उनि हुन सम्झना नेपाली। जसले सदरमुकाम तम्घासमा उच्च शिक्षासँगै छालाका जुत्ता सिलाउने पेशालाई अगाडि बढाउँदैछिन्।

उनका बाबु चन्द्रबहादुर नेपाली गाउँमा जुत्ता सिलाउने पेशा लोप हुँदै गएपछि गुल्मीकै इस्मा गाउँपालिका-२, हस्तिचौरबाट आज भन्दा १३ वर्ष अघि तम्घासमा आई जुत्ता सिलाउने पेशालाई निरन्तरता दिन सुरु गरेका थिए। उनले जुत्ता सिलाएरै छोरा-छोरी पढाउनेदेखि तम्घासमा दुई तल्ले पक्की घर पनि बनाई सके।

छोरी सम्झना पनि बाबु संगै १२/१३ वर्षको उमेरदेखि जुत्ता सिलाउन सिकिन्। तम्घासकै शिद्धबाबा माध्यमिक विद्यालयमा पढ्दै खाली समयमा जुत्ता सिलाउने सम्झना अहिले दक्ष भई सकेकी छन्। त्यस विद्यालयमा कक्षा १२ को पढाई सकाएकी उनी अब ब्याचलर पढ्ने तयारीमा रहेको बताउँछिन् ।

चाहेमा आफूले भोलिका दिनमा एक्लै पनि जुत्ता पसल राख्न सक्ने उनले सुनाईन। आफ्नो समुदायका अधिकांश मानिसहरु उक्त पेशाबाट पलायन भई रहेको बेला एउटी छोरी मान्छेले जुत्ता सिलाउन लागेको देख्दा त्यही समुदायका पुरुषहरु सोही पेशामा फर्किन उनले प्रेरणा दिएको पाईन्छ। कुनै पनि काम गरेर खान लजाउन नहुने बताउँदै जुत्ता सिलाउने पेशा र उच्च शिक्षा अध्ययनलाई सँगै अगाडी बढाउने उनको सोच छ।

त्यसो त सम्झनाले झै तम्घासमा उनकी आमा सहितका अन्य महिलाहरुले पनि जुत्ता सिलाउने गरेका छन्। त्यस्तै तम्घासका केहि पसलहरुमा महिलाहरुले कपाल काट्ने पेशा समेत गर्दै आएका छन्। हुन त पछिल्लो समय मानिसमा शिक्षा र चेतना वृद्धिसँगै पेशा कुनै पनि जातिगत न लैङ्गिक हुन छाडेको छ। यो निकै सकारात्मक विकास हो।

कथा सुनाइरहेका घरहरू

इतिहासको स्मृति जोगाएर राख्ने चिन्तन र अभ्यास भएका देशमा शताब्दियौंपछि पनि घर हरुले कथा भनिरहेका छन्

त्यसो त हरेक घरका आफ्नै कथा हुन्छन् । त्यस घरका मालिक र उसको परिवारले देखेको सपना । त्यो सपना पछ्याउँदा चाहिने पुँजी र त्यो पुँजी जम्मा गर्न गरेको मिहिनेत । अनि सिकर्मी–डकर्मीहरूको परिश्रमले ठडिएको संरचना । र, त्यो संरचनामा समयक्रमसँगै लेखिएका अनेकन् गाथा । त्यसैले प्रत्येक घर केवल चार दिवारमा कैद भौतिक आकार मात्रै होइन, बरु अनगिन्ती गाथाले भरिएको कथा हो ।

मानवीय क्षमताको सीमा नै हो सायद हरेक ती कथा सीमित मानिसको लघुस्मृतिमै संकुचित हुन्छन् । थोरै मात्र घरले फराकिलो वृत्तको दीर्घकालीन स्मृतिसम्म जाने अवसर पाउँछन् । शासकसँग सम्बन्धित वा कीर्तिमानी व्यक्तिका घर मात्रै त्यस्तो भाग्यशाली हुन्छन्, जो दीर्घकालीन स्मृतिसम्म पुग्छन् ।

आमजनले ‘महाकवि’ भनी पुकारेका लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएर नयाँ संग्रहालय बनाउने अभ्यास भएको नेपालमा त्यस्तो अवसर पाउने भाग्यमानी घर विरलै हुन्छन् । तर, इतिहासको स्मृति जोगाएर राख्ने चिन्तन र अभ्यास भएको देशमा भने घरहरू पनि कथा सुनाइरहेका हुन्छन् । त कतिपय घर भने कथा सुनाउनकै लागि बनाइएका हुँदारहेछन्, जसले शताब्दियौंसम्म पनि आफ्नो समयको कथा भनिरहेका छन् ।

त्यस्तै घरहरू घुम्ने र तिनका रोचक कथा सुन्ने अवसर मिल्यो– जर्मनीको अरफोर्ट सहर घुम्दा । एउटा यस्तो सहर, जहाँ हरेक घरका आफ्नै किस्सा–कहानी छन् । ती कथाले तिनका मालिकका सपना, रहर, कामना र आकांक्षा वर्णन गर्छन् । यो लेखमा म तिनै केही घरहरूको कथा कहन्छु ।

पाँच महिला उभिएका घर

अरफोर्ट सहरको मुख्य बजार ‘माछा बजार’ को चोकमा पूर्व फर्किएर खडा छ– एउटा पुरानो रंगीन घर । त्यस भवनको दोस्रो तलामा पाँचवटा झ्याल छन् । बाहिरी भित्तामा हरेक झ्यालको मुनिपट्टि छन्– विभिन्न मुद्रामा उभिएका पाँच महिलाको आकृति । बायाँबाट दायाँ हेर्दै जाँदा यस्तो दृश्य देखिन्छ– पहिलो महिला चिलनजिक बसेर आफ्नो सुन्दर मुहार ऐनामा हेरिरहेकी छन् ।

दोस्रो महिला चञ्चल मृगसँगै लुथेरिअन गितार बजाइरहेकी छन् । तेस्रो महिला कुकुरनजिकै बसेर फूलको सुगन्ध लिइरहेकी छन् । चौथो महिला फल–फूलको टोकरीसँगै फलको रस वा मदिरापान गरिरहेकी छन्, उनको नजिकै छ बाँदर । पाँचौं महिलाले हातमा बाज बोकेकी छन् र उनको नजिकैबाट एउटा कछुवा समुद्रतिर गइरहेको छ । कसले बनाउन लगायो यस्तो घर ? किन कुँदियो यी पाँच महिलाका आकृति ? जिज्ञासाको जवाफमा सुन्नपाइयो यो कहानी ।

कथा हो इसाको सोह्रौँ शताब्दीको । त्यतिबेला उक्त सहरका म्याजिस्ट्रेट एवं काउन्सिलर थिए हेइनरिच वोन डेन्स्तेद्त । औपचारिक रूपमा उनको कुनै पनि महिलासँग विवाह भएको थिएन, तर पाँच जना महिलासँग सुखी र आनन्दित जीवन बिताइरहेका थिए । सन् १५८४ तिर काउन्सिलर हेइनरिचलाई आफ्नो सुखी जीवन प्रतित हुनेगरी एउटा नयाँ घर बनाउन मन लागेछ ।

आफ्नो मनोकामना पूरा गर्न उनले अहिले बेल्जियममा पर्ने ‘अन्त्वेर्प’ सहरका आर्किटेक्ट फ्रान्स फ्लोरिसलाई बोलाए । उनको इच्छाअनुसार, फ्लोरिसले एक विशाल भवन बनाए, जसमा ती पाँच महिलाको आकृति कुँदिएको छ । आर्किटेक्ट फ्लोरिसले ती पाँच महिलाको आकृतिबाट मानव शरीरका पाँच ज्ञानेन्द्रियको चित्रण गरेका छन् ।

पहिलो महिलाको आकृतिले आँखालाई जनाउँछ । उनीसँगै कुँदिएको पक्षी चिल निकै टाढासम्म देख्न सक्ने जीव हो । दोस्रो महिला संगीत श्रवणमा लीन छिन्, जसले कानलाई जनाउँछ । उनीसँगै चञ्चलपनको रूपमा मृगको आकृति कुँदिएको छ । तेस्रो महिलासँगै कुकुर उभिएको छ । संसारैभरि गन्ध पत्ता लगाउन प्रयोग गरिने कुकुर नाकको प्रतीक हो । चौथो महिला मदिरापान गरिरहेकी छन्, जसले जिब्रोलाई संकेत गर्छ ।

उनीसँगै रहेको बाँदरले भने मदिरापानले हाम्रो इन्द्रियलाई बाँदरजस्तै अराजक बनाउँछ भन्ने जनाउँछ । पाँचौँ महिलाको हातमा बाज छ । बाज अत्यन्तै चलाख सिकारी हो । उनको नजिकबाट एउटा कछुवा समुद्रतिर गइरहेको छ । समुद्री कछुवाले समुद्रबाट अलि पर गएर फुल पार्छ । ती फुल कोरलेर जन्मिएका कछुवाका बच्चाहरू समुद्रबाट बहने हावाको चिसोपन महसुस गर्दै समुद्रसम्म पुग्छन् । यो मूर्तिमा कुँदिएको कछुवा स्पर्शको प्रतीक हो ।

पाँचवटा ज्ञानेन्द्रियलाई पाँच महिलासँग जोडेर आर्किटेक्ट फ्लोरिसले घरलाई सुखको प्रतीकको रूपमा प्रस्तुत गरेका छन् । हाम्रा पाँचओटै ज्ञानेन्द्रिय सुखी भएपछि मात्रै सुख पूर्ण हुन्छ भन्ने सन्देश उनले दिएका छन् । साथै काउन्सिलर हेइनरिचको जीवनसँग जोडिएका पाँच महिलाले उनलाई ज्ञानेन्द्रियहरूले दिने सुख दिएको देखाएका छन् ।

व्यापारीहरूको पुल

मध्यजर्मनीको थुरिङ्गजिया प्रान्तको राजधानी अरफोर्ट सहर मध्ययुगको बिसौनी हो । पश्चिम युरोपबाट बाल्टिक देशहरू र मस्कोसम्म व्यापार गर्न जाने व्यापारी यहीँ बास बस्ने गर्थे । मस्कोमा हमला गर्न आउँदा नेपोलियन पनि यहाँ महिनौंसम्म बसेका थिए । यो सहरको अर्को एउटा आकर्षण हो, बेनेदिक्त्स्पल्ज र वेनिगेमर्क्त सहर–बजार जोड्ने एउटा ऐतिहासिक पुल ।

‘कामरब्रुक्चे’ अर्थात् व्यापारीहरूको पुल नाम दिइएको यो पुल युरोपकै पुरानामध्ये एक पुल हो । सन् १३२५ मा काठका मुढाहरूको बार बनाएर निर्माण गरिएको यो पुलले उच्च भार थेग्न सक्छ । १२५ मिटर लामो यो पुललाई ६ वटा आर्कले थेगेका छन् । पुलमा चुनढुङ्गा र बलौटे ढुङ्गा बिछ्याइएको छ । सबैभन्दा आश्चर्यमा पार्ने कुरा के भने यो पुलका दुवै किनारमा लहरै घरहरू बनाइएका छन् । ३२ वटा मुढाहरूको फ्रेममा बनाइएका यी घर सात सय वर्षदेखि उभिइरहेका छन् ।

सन् ११७५, ११७८, १२१३, १२२२, १२४५, १२६५ र १२९३ गरी सात पटक आगलागीबाट क्षतिग्रस्त भएको ‘कामरब्रुक्चे’ मा अहिले पनि बजार र व्यापार मध्ययुगको जस्तै जीवन्त छ । अहिले पनि वार्षिक पाँच लाख पर्यटकलाई स्वागत गर्ने यो पुल र यहाँका व्यापारिक भवनले आजम्म करोडौं यात्रुलाई आतिथ्य प्रदान गर्‍यो होला ।

रमाइलो त यो पुलमाथिको बजारको बनोट हो, जुन सयौं वर्षदेखि उसैगरी बसिरहेको छ । पाँच सय वर्षअघि यो पुलमाथि ६४ घर थिए । अहिले ती घर जोडेर ३२ ओटा बनाइएको छ । तर, घरहरूमा रहने पसलको लहर भने त्यतिबेला जस्तो थियो अहिले पनि उस्तै छ । पुलको उत्तरबाट दक्षिणतिर जाँदा पहिलो पसल छ सेरामिक्सको । अनि कागजका कलाकृति हुँदै अन्तिममा छ चकलेटको पसल ।

१२५ मिटर लम्बाइ र कतै पाँच त कतै आठ मिटर चौडाइ भएको यो पुलमुनि बग्ने गेरा नदीको पानीलाई पिउनयोग्य बनाइएको छ । नदी किनारको हरियाली, पानीमा माछा र हाँसहरू खेलिरहेको दृश्यले ‘कामरब्रुक्चे’ लाई अनुपम बनाएको छ । यो नदी सधैँ यस्तै स्वच्छ थिएन । दोस्रो विश्वयुद्धसम्म पनि यो नदीको पानी सफा थिएन । वनस्पतिबाट निलो रङ प्रशोधन गर्दा निस्कने फोहोर मिसाइएकाले नदी निकै प्रदूषित थियो ।

सन् १९५० को दशकपछि पूर्वी जर्मनीमा आएको वृक्षारोपणको लहरले अरफोर्ट सहर वरपर जंगल बन्यो । त्यसपछि नदीमा फोहोर मिसाउने काम रोकियो । नदी संग्लो भयो । कामरब्रुक्चेमा उभिएर नदी हेरिरहँदा र त्यसको इतिहास थाहा पाउँदा मनमनै कल्पना गरेँ, कुनै दिन हाम्रो वाग्मती र हनुमन्ते पनि यसैगरी स्वच्छ होला । हामी पनि फोहोरबाट स्वच्छ बनेको नदीको कथा सुनाउन पाउँला ।

रातो गोरु घर

अरफोर्ट सहरका अनेकन् कथा कहने घरमध्ये अर्को एउटा हो, ‘हाउस जुम रोटेन् ओच्सेन्’ । सन् १३९२ मा बनेको यो घरले सिंगो सहरको समृद्धिको इतिहास बताउँछ । नीलो रङको कारोबार र स्थानीय बियरको उत्पादनले सोह्रौं शताब्दीमा अरफोर्ट सहरलाई युरापकै व्यापारिक केन्द्र बनाएको थियो । त्यतिबेला स्थानीय व्यापारीहरू समृद्धिको शिखरमा थिए । तीमध्ये एक थिए, जाकोब नफ्जेर । उनैले बनाउन लगाएका थिए– हाउस जुम रोटेन ओच्सेन । यो भवनको विशेषता हो, यसको बाहिरी भित्तामा कुँदिएको सुनौलो सिङ भएको रातो गोरु र सिंगो सौर्यमण्डलको आकृति ।

सौर्यमण्डलका नौओटा सदस्य सूर्य, चन्द्रमा, मंगल, बृहस्पति र शनि ग्रहको आकृति कुँद्न लगाएर नफ्जेरले आफू सौर्यमण्डललाई घरैमा ल्याउन सक्नेसम्मको सम्पन्न भएको देखाएका थिए । पुनर्जागरणकालको पूर्ण प्रतिविम्ब बोकेको यो भवनमा कुँदिएको सुनौलो सिङधारी रातो गोरुको आकृतिले भने नफ्जेरको सम्पन्नता गोरुको सिङलाई पनि सुनको लेप लगाउन सक्नेगरी भएको अर्थ दिन्छ ।

कुनै समय सिनेमाहलसमेत बनिसकेको यो भवन अहिले प्रदर्शनी केन्द्रका रूपमा सञ्चालित छ, जहाँ अनेकौं कलाकारले आफ्नो सृजना प्रदर्शन गर्छन् । गत सेप्टेम्बरमा म त्यहाँ पुग्दा प्राकृतिक संग्रहालयमा संग्रहित उत्कृष्ट सय सामग्रीको प्रदर्शनी चलिरहेको थियो ।

थर नराखेको प्रमाण घर

नेपालीको जस्तै रहेछ जर्मनहरूको चलन पनि, विवाहपछि पत्नीले पतिको थर राख्ने परम्परा । तर, परम्परा त परिवर्तनशील हुन्छ । नेपालमा फरक थरका महिलाले विवाहपछि पनि थर परिवर्तन नगर्ने चलन सुरु भइसकेको छ । अरफोर्ट सहरमा भने थर नराख्ने यो चलनको सुरुआत सन् १५६१ तिरै सुरु भएको रहेछ । यो इतिहास सुनाउँछ त्यहाँको एक घरले ।

पतिको थर नराखेर आफ्नै थर राख्ने ‘अन्ना स्च्वा न्फ्लोगेलिन’ र उनका पति ‘इल्गेन मिल्विक्ज’ को नाममा बनेको त्यो भवन हो– ‘इल्गेन मिल्विक्ज र अन्ना स्च्वा न्फ्लोगेलिन’ । ती दम्पती त्यतिबेला जौ र त्यसबाट बन्ने बियरका सफल व्यापारी थिए । परम्परा तोडेर नयाँ संस्कार सुरु गरेको स्मृतिमा बनाइएको त्यो घर अहिले एक संग्रहालयका रूपमा संरक्षित छ । उक्त संग्रहालयमा पुराना भवनका संरचना, बियर बनाउने पुरानो प्रविधि र त्यतिबेलाको वेशभूषा अवलोकन गर्न पाइन्छ ।

योग्य वर कुरिरहेको ढोका

अरफोर्ट सहरका हरेकजसो घरमा एउटा साझापन छ । घरको मूलढोकाको दायाँबायाँ मानिस बस्न मिल्ने स्थायी कुर्सी बनाइएको हुन्छ । यी कुर्सीले सहरको प्रेम र प्रेमिकाको प्रतीक्षाको कथा कहन्छन् ।

१३ औंदेखि १८ औं शताब्दीसम्म युरोपकै व्यापारिक केन्द्र बनेको अरफोर्ट सहरमा पूर्व–पश्चिम व्यापार गर्ने सबै व्यापारी तीनदेखि ६ महीनाको अन्तरमा अनिवार्य आउने गर्थे । उनीहरू कम्तीमा तीन दिन त त्यो सहरमा बस्थे नै । व्यापारका मालसामान, घोडा, दासदासी र प्रशस्त धनदौलत बोकेर यात्रा गर्ने ती व्यापारी स्थानीयका आकर्षणका केन्द्र हुनेगर्थे । तीमध्ये कतिपय त विवाह गर्ने उमेरका कुमार केटा पनि हुन्थे ।

ती युवकहरूसँग अरफोर्टका अविवाहित युवतीको मायापिरती बस्थ्यो । पिरती गाँसेका व्यापारी युवक केही दिनमै फर्किहाल्थे । र, व्यापारको सिलसिलामा घुम्दैफिर्दै फेरि त्यस्तै तीन–छ महिनामा आइपुग्थे । त्यसरी महिनौंपछि आएको प्रेमी भेट्ने ठाउँ हुन्थ्यो, त्यही ढोकानेरैको कुर्सी । प्रेमी आउने दिन नजिकिन थालेपछि प्रेमिकाहरू त्यही कुर्सीमा हरेक साँझ पर्खिबस्थे ।

प्रेमी नबनाइसकेका युवतीहरू आफ्नो घरको मूलढोकामा भएको कुर्सीमा बसेर योग्य प्रेमीको प्रतीक्षा गर्थे । अरफोर्ट सहरको आफ्नै चलन थियो । प्रेमी वा सम्भावित प्रेमीलाई घरभित्र सोझै लगिँदैनथ्यो । युवा–युवती तिनै कुर्सीमा बसेर बातचित गर्थे । ढोकाभित्रबाट युवतीका परिवारजनले बातचित सुनिरहेका हुन्थे । कान थापिबसेका परिवारजनलाई युवकले कुरैले आकर्षित गर्न सके त्यो जोडीलाई आफ्नो सम्बन्ध अघि बढाउने अनुमति मिल्थ्यो ।

अरफोर्ट सहरले आजसम्मका दिनमा के मात्रै भोगेन ? नेपोलियनको युद्धदेखि दोस्रो विश्वयुद्धको त्रासदीसम्म ! मान्छेले मान्छेको संहार गरिरहेको त्यो समयमा पनि ती ढोकानेरका कुर्सीले प्रेमको गीत गाउन छोडेनन् । आज पनि अरफोर्ट सहर घुमिहेर्दा आभास हुन्छ– यो सहरकी सुन्दर युवती कुनै अमुक सुन्दर युवकको प्रतिक्षामा बसिरहेकी छन् । प्रेम त आखिर निरन्तर छ, युद्ध मात्रै हो सुरु र अन्त्य हुने ।


Last Updated on: January 14th, 2023 at 1:56 pm


तपाईको प्रतिक्रिया