मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


प्रहरीमा ‘सरप्राइज’ सरुवा : १७ डिआइजी र २४ एसएसपीको एकैपटक सरुवा, सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिए

प्रकाशित मिति । ३० पुस, २०७९ ।

काठमाडौ – नयाँ सरकार बनेपछि प्रहरीको उच्च तहका अधिकृतको जिम्मेवारी हेरफेर भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिहीबार १७ प्रहरी नायब महानिरीक्षक (डिआइजी) र २४ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)को काजसरुवा गरेका छन् ।

सरुवामा सातै प्रदेशका प्रहरी प्रमुख तथा काठमाडौं जिल्लाका प्रमुख रहेका एसएसपीको सरुवा भएको छ । सरुवा कार्यक्षमतालाई आधार बनाएर गरिएको गृह मन्त्रालयको दाबी छ ।

१७ जना डिआइजीको सरुवा हुँदा सातै प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । प्रदेश १ मा श्यामलाल ज्ञवाली, मधेसमा वसन्तबहादुर कुँवर, बागमतीमा दीपक थापा, गण्डकीमा बुद्धिराज गुरुङ, लुम्बिनीमा टेकप्रसाद राई, कर्णालीमा भीमप्रसाद ढकाल र सुदूरपश्चिममा अशोक सिंहको प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा भएको छ । प्रदेश प्रमुखमा सरुवा गरिएका सबैजसो डिआइजी वरीयतामा अगाडि छन् ।

त्यस्तै, दुर्गा सिंहलाई नेपाल प्रहरी शिक्षालय भरतपुर र किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखमा सरुवा गरिएको छ । कार्यसम्पादनमा अब्बल मानिएका उमेशराज जोशी र टेकबहादुर तामाङले भने इन्चार्जको अवसर पाएनन् ।

सरुवा भएका डिआइजीहरू एआइजी बढुवाका लागि दौडधुपमा लागेका थिए । तर, एक्कासि सरुवा भएपछि उनीहरू आफैं आश्चर्यमा परेका छन् । प्रदेश इन्चार्जहरू विगतमा सत्तारुढ दलका उच्च नेताको सिफारिसमा सरुवा हुन्थे । यसपटक राजनीतिक सिफारिसअनुसार कोही पनि सरुवा नभएको स्रोत बताउँछ ।

गृहमन्त्री रवि लामिछाने, गृहसचिव विनोदप्रकाश सिंह र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहबीच भएको छलफलअनुसार डिआइजी र एसएसपीको सरुवा भएको स्रोत बताउँछ ।

धेरैजसो आइजिपीकै सिफारिसअनुसार सरुवा भएका छन् । ‘यो सरप्राइज सरुवा हो,’ प्रहरी उच्च अधिकारी भन्छन्, ‘अहिले सरुवा हुन्छ भन्ने धेरैले अनुमान नै गरेका थिएनन्, सरुवा हुनेले पनि पछि मात्र थाहा पाए ।’

गृहमन्त्री लामिछानेले आफूले प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताउँदै आएका छन् । मन्त्री भएपछि उनले गरेको सरुवासम्बन्धी यो पहिलो निर्णय हो । ‘पहिलो निर्णयमा उहाँको व्यक्तिगत स्वार्थ देखिएन,’ मन्त्रालयका एक अधिकारी भन्छन्, ‘प्रहरीमा यसरी आइजिपीकै सिफारिसका आधारमा उच्च पदमा सरुवा भएको धेरै वर्ष पछि हो ।’ राजनीतिक हस्तक्षेपले सरुवा–बढुवामा राजनीतिक नेतृत्व हावी भएका बेला बिहीबारको सरुवाले प्रहरीमा सकारात्मक सन्देश दिएको छ ।

काठमाडौंमा कार्की, ललितपुर परिसरमा शाह

२४ जना एसएसपीको काजसरुवा हुँदा विभिन्न महत्वपूर्ण कार्यालयका प्रमुख फेरिएका छन् । काठमाडौं परिसरमा एसएसपी दानबहादुर कार्की तथा ललितपुरमा सिद्धिविक्रम शाहको सरुवा भएको छ ।

शाहले भने बढुवापछि लगातार दोस्रो इन्चार्ज पाएका छन् । बढुवालगत्तै उनको नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, भैरहवामा प्रमुखका रूपमा पदस्थापन भएको थियो । काठमाडौं परिसर सरुवा भएका कार्की यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।

काठमाडौं परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा करिब सात महिनामै इन्चार्जको सरुवा भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसएसपी डा. मनोजकुमार केसीलाई पठाइएको छ ।

मानव बेचबिखन अनुसन्धान ब्युरोमा एसएसपी जीवनकुमार श्रेष्ठ, दुधौली तालिम केन्द्रमा कृष्णहरि शर्मा पोखरेल, सुशीलसिंह राठौरलाई सुर्खेत तालिम केन्द्र, दिपायल तालिम केन्द्रमा गणेश चन्द, धनुषा तालिम केन्द्रमा ईश्वर कार्कीको सरुवा भएको छ ।

एआइजी बढुवा दुई महिनापछि – आइजिपी सिंह भन्छन्– अब कार्यदक्षता हेरेर पदोन्नति हुन्छ

नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआइजी)का चार दरबन्दी रिक्त भए पनि त्यसमा तत्काल बढुवा नहुने भएको छ । बढुवाका आकांक्षीलाई प्रदेशमा सरुवा गरेपछि बढुवा तत्काल रोकिएको हो ।

‘अब दुई महिनापछि मात्र एआइजी बढुवा हुन्छ,’ प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले भने, ‘उनीहरूको कार्यदक्षता हेरेर जसको राम्रो हुन्छ, उनीहरूकै पदोन्नति हुन्छ, कार्यदक्षता हेर्नकै लागि प्रदेश पठाएका हौँ ।’

उनका अनुसार तस्करी नियन्त्रण, शान्ति सुरक्षाको अवस्था, प्रहरीको मनोबलमा सुधार र रचनात्मक कार्यको मुख्य चार म्यान्डेट दिएर डिआइजीलाई प्रदेशमा पठाइएको छ ।

यिनै म्यान्डेटलाई आधार बनाएर मूल्यांकन गरेर बढुवा गरिने आइजिपी सिंहले बताए । एआइजीको दरबन्दी भएका कार्य विभाग, प्रशासन विभाग, मानव स्रोत विकास विभाग र प्रदेश समन्वय विभागमा एआइजीको दरबन्दी रिक्त छ ।

कांग्रेसले राष्ट्रपति र सभामुखमा दाबी गर्छ : सतार

पाल्पा — नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सतारले कांग्रेसले राष्ट्रपति र सभामुखको निर्वाचनमा दाबी गर्ने बताएका छन् । उनले एमाले अध्यक्ष केपी ओलीले संसद्मा पहिलो पटक गरेको भाषणले देशलाई पुनः प्रतिगमनतर्फ धकेल्न सक्ने देखिएकाले कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताए ।

नेपाल प्रेस युनियन पाल्पाले शनिबार तानसेनमा राखेको अन्तरक्रियामा बोल्दै सतारले मुलुकलाई प्रतिगमनबाट जोगाउनका लागि मात्र विश्वासको मत दिएको दाबी गरे ।

‘ठूलो दल र प्रमुख पद एमालेले लिने प्रयास गरेको देखिएको थियो,’ उनले भने, ‘पुनः केपी ओलीको मनोमानी रोक्नका लागि नै विश्वासको मत दिएको हो ।’ उनले सत्तालोलुपताका लागि कांग्रेस सत्तामै जानका लागि विश्वासको मत नदिएको बताए ।

केपी ओलीले पहिलो पटक संसद्मा बोलेका शब्द र कांग्रेसले विश्वासको मत दिएपछिको बोली फेरिएको उनले बताए । नेता सतारले कांग्रेसका समग्र कार्यकर्ता र मुलुकका लागि हित हुने गरी विश्वासको मत दिएको बताए । फरक प्रसंगमा उनले कांग्रेस बलियो अवस्थामा रहँदारहँदै पनि नेतृत्वको पदलोलुपताका कारण कांग्रेस प्रतिपक्षमा पुगेको बताए ।

‘केन्द्रीय कार्यसम्पादन समितिको अदूरदर्शिताले हजार अवसर गुमाउनु परेको छ,’ उनले भने, ‘सही समयमा गोल गर्न नसकेकाले अहिलेको परिस्थिति आएको छ ।’


Last Updated on: January 14th, 2023 at 12:58 pm


१४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया