
धरान २० मा बेसार उद्योग स्थापना गर्ने निर्णय
प्रकाशित मिति । ३० पुस, २०७९ ।
धरान:धरानको कार्यपालिका बैठकले वडा नं २० मा बेसार उद्योग स्थापना गर्ने निर्णय गरेको छ ।
आज (बिहिबार) बसेको कार्यपालिका बैठकले वडा नं २० मा उपयुक्त स्थान खोजेर उद्योग स्थापना गर्ने निर्णय गरेको हो । मेयर हर्क साम्पाङले वडा २० मा बेसार उद्योग बनाउने योजना अघि सारेका छन् ।
उनले यसअघि नै वडा अध्यक्ष पदम लिम्बुसँग उद्योग स्थापनाको लागि स्थलगतरुपमा जग्गा पनि हेरिसकेका छन् । वडा २० को कटहरेमा स्थानीयले उद्योग स्थापना हुने भए जग्गा दिन सहमत पनि भइसकेका छन् ।
भञ्ज्याङ निवासी समाजसेवी ओम सुच्चा राईका अनुसार कटहरेमा शेरबहादुर लिम्बु र सुरेन्द्र लिम्बु दाजुभाईले उद्योगको लागि जग्गा दिने भएका छन् । उनीहरुले आफ्नो बाजेको नाममा भएको जग्गा उद्योगलाई दिने सहमति जनाएको राईले बताए । प्राविधिकहरु पुगेर नापजाँच गर्दा ७ कट्टा बढी जग्गा देखिएको पनि उनले जानकारी दिए ।
मेयर साम्पाङले वडा २० मा नै यसअघि माया धराने साबुन उद्योग पनि स्थापना गर्ने योजना अघि बढाएका थिए । साबुन उद्योगको लागि छनौट गरिएको जग्गामा वन कार्यालयसँग स्वामित्वको विवाद भएको थियो ।
गिट्टी कुट्ने श्रमदान अभियान चलिरहदा वन कार्यालयले भोगाधिकर नलिई काम गरेको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको थियो । आदालतबाट भोगाधिकार प्राप्त नभएसम्म काम नगर्नुं भन्ने अन्तरिम आदेश जारी भएपछि उक्त जग्गाभित्र श्रमदानको काम स्थगित भएको छ ।
धरानको आन्तरिक आय वृद्धि गर्न विज्ञलाई अध्ययन गराइने, आगामी दुई आर्थिक बर्षको यस्तो छ बजेट प्रक्षेपण (भिडियोसहित)
धरान: धरान उपमहानगरपालिकाले आन्तरिक आय बढाउनको लागि सम्भाव्यताहरुको अध्ययन गराउन विज्ञ परामर्शदाता नियुक्त गर्ने भएको छ ।
आज (बिहिबार) भएको कार्यपालिका बैठकले राजश्व सम्बन्धी विज्ञ परामर्शदाता नियुक्त गरी अध्ययन गराउने निर्णय गरेको हो । उपमहानगरपालिकाको आन्तरिक आय एकदमै न्युन भएकोले यसका सम्भावित स्रोतहरु र क्षेत्र पहिचान गरि उचित प्रतिवेदन पेश गर्न अध्ययन गराउने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाको आफ्नो आन्तरिक आय २५ करोड पुग्न सकेको छैन । उपमहानगरपालिका हुनको लागि २५ करोड आन्तरिक आय हुनुपर्ने भएपनि केन्द्र र प्रदेश सरकारसँगको राजश्व बाँडफाँड हुँदा प्राप्त हुने आयले मात्र यो मापदण्ड पुग्ने गरेको छ । त्यसैले आफ्नै आन्तरिक आय २५ करोड कटाउनको लागि सम्भावित स्रोतहरु खोजी गर्न विज्ञ नियुक्त गर्ने निर्णय गरेको हो ।
कार्यपालिका बैठकमा यो प्रस्ताव पेश गरिदा २ जना कार्यपालिका सदस्यहरुले प्रश्न उठाएका थिए । कार्यपालिका सदस्य विकास भाटीले आफ्नै जनप्रतिनिधिहरु राजश्व सम्बन्धी जानकार हुँदाहुदै विज्ञ ल्याएर अध्ययन किन गराउनु भन्दै प्रश्न गरेका थिए भने वडा नं १० का वडाअध्यक्ष विवेक राईले विज्ञ नियुक्ती गर्न छुट्याइएको ५ लाख बजेट एजेण्डामा किन उल्लेख नगरिएको भन्ने प्रश्न गरेका थिए ।
मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले दुवैको जवाफ दिदै विज्ञहरुसँग ज्ञानको दायरा फराकिलो हुने र फरकढंगले अध्ययन गरेर प्रतिवेदन दिने भएकोले महत्वपुर्ण हुने बताएका थिए । यस्तै, सम्भाव्यता अध्ययन गराउनको लागि बजेटमा नै ५ लाख विनियोजन गरिएको पनि एजेण्डामा बजेट उल्लेख नगरिएको उपमेयर बेघाले जानकारी दिएका थिए ।
सोही बैठकले आगामी दुई बर्षको लागि राजश्व परामर्श समितिले निर्णय गरेको आय व्ययको प्रक्षेपणलाई पनि पारित गरेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा १८ (१) वमोजिम यो प्रक्षेपण पुष मसान्त भित्र अर्थ मन्त्रालयमा पेश गर्नुपर्ने हुन्छ ।
आर्थिक बर्ष २०८०/०८१ को कुल बजेट १ अर्ब ८६ करोड ४७ लाख ७० हजार १ सय प्रक्षेपण गरिएको छ भने २०८१/०८२ को बजेट २ अर्ब ८ करोड १४ लाख ५१ हजार प्रक्षेपण गरिएको छ । आर्थिक बर्ष २०८०/०८१ मा आफ्नो स्रोतबाट प्राप्त हुनसक्ने अनुमानित राजश्व ३१ करोड २१ लाख २१ हजार प्रक्षेपण छ भने आर्थिक बर्ष २०८१/०८२ मा ३७ करोड ३७ लाख ९६ हजार प्रक्षेपण गरिएको छ ।
राजश्व बाँडफाँडबाट २०८०/०८१ आर्थिक बर्षमा ४० करोड ११ लाख ८२ हजार १ सय प्राप्त हुने अनुमान गरिएको छ भने २०८/०८२ आर्थिक बर्षमा ४४ करोड १३ लाख २१ हजार प्राप्त हुने अनुमान छ । यस्तै, आर्थिक बर्ष २०८०/०८१ मा अनुदानबाट १ अर्ब १४ लाख ६७ हजार प्राप्त हुने अनुमान छ भने आर्थिक बर्ष २०८१/०८२ मा १ अर्ब १० करोड १३ लाख ३४ हजार प्राप्त हुने अनुमान छ ।
भिडियो: