
उपत्यकाका सडक भत्किरहने समस्या हल गर्न उपप्रधानमन्त्री श्रेष्ठ र सरोकारवालाबीच छलफल
प्रकाशित मिति । २८ पुस, २०७९ ।
काठमाडौँ — उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकाका सडकहरू पटक-पटक भत्काउने समस्या समाधानबारे सम्बन्धित निकायका अधिकारीसँग छलफल गरेका छन् । बनिसकेका सडक विभिन्न निकायले भत्काउने र टाल्ने गरेको भन्दै आलोचना भइरहेका बेला उपप्रधानमन्त्री श्रेष्ठले त्यस्ता समस्या दोहोरिन नदिन भन्दै बिहीबार मन्त्रालयमा सरोकारवाला निकायका पदाधिकारी बोलाएर छलफल गरेका हुन् ।
बैठकमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मेलम्ची खानेपानी आयोजनाका निर्देशक राजेन्द्र सापकोटा, काठमाडौं उपत्यका खानेपानी लिमिटेका प्रबन्ध निर्देशक ज्ञानेन्द्र कार्की, नेपाल दूरसञ्चार संस्थानकी उपमहानिर्देशक विनिता प्रधान तथा मन्त्रालय र मातहतका सहसचिवहरूको उपस्थिति थियो ।
बैठकमा उप्रधानमन्त्री श्रेष्ठले सरकारी निकायहरूबीच नै समन्वय अभावले सडक भत्किरहने समस्या समाधानका लागि सबै निकायले एकीकृत योजना बनाउनुपर्नेमा जोड दिए । ‘भविष्यमा सबै निकायले एकीकृत योजना बनाउनुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘एकले अर्कालाई दोष दिएर होइन परिणाम आउने गरी काम गर्नु जरुरी छ ।’
एउटा निकायले बनाएको सडक अर्को निकायले भत्काउँदा जनतामा नकारात्मक असर परेको भन्दै उनले अबदेखि त्यस्तो समस्या आउन नदिन सबै निकाय जिम्मेवार हुनुपर्ने बताए । ‘काठमाडौंका विभिन्न कार्यालयहरूका कारण सडक भत्किने समस्या रोक्न सरकारले के गर्नुपर्ने हो त्यसका लागि हामी तयार छौँ,’उनले भने, ‘विभिन्न निकायले पटक-पटक बाटो भत्काउने कुराले जनतामा नकारात्मक सन्देश गएको छ । अबदेखि समस्या नआउने गरी सबै कार्यालयहरूले जिम्मेवार भएर सोचौं।’
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले समन्वयमा काम गर्न आफूहरू तयार रहेको बताएका थिए । ‘कहाँ-कहाँ समस्या छ हामीबीच समन्वय गरेर काम गरौं। हामी तत्काल समस्या समाधान गर्ने हिसाबले तीव्रतर काम गर्छौं,’ घिसिङले भने ।
केयूकेएलका प्रबन्ध निर्देशक कार्कीले पुरानो पाइपको नेटवर्कबाट पानी गएकाले समस्या आएको बताए । लिकेज भएका ठाउँको तीव्रगतिमा समस्या समाधान गर्न आफूहरू तयार रहेको उनले प्रतिबद्धता जनाए ।
मेलम्ची आयोजनाका निर्देशक सापकोटाले पनि अहिले पुरानै च्यानलबाट पानी गएकाले समस्या आएको भन्दै आगामी असारसम्म समस्या समाधान गरिसक्ने बताए । ‘असारसम्ममा सबै परीक्षण गरिसक्छौं। त्यसपछि नयाँ पाइपबाट पानी पठाएपछि पानीका कारण समस्या आउने छैन,’ उनले भने ।
दूरसञ्चार संस्थानकी उपमहानिर्देशक प्रधानले भविष्यमा सहर निर्माण गर्दा सडक विभागलाई युटिलिटी डक्ट प्रयोग गरिदिन आग्रह गरिन् । त्यसको लागत व्यहोर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।
विभागका महानिर्देशक थापाले सडक विभागले बनाएका सडकहरू भत्काएपछि त्यस्तै गुणस्तरको नबनाइदिने गरेको भन्दै गुनासो पोखे । ‘जहाँ-जहाँ भत्काइएको छ । त्यसपछि बनाउँदा गुणस्तरीय भएन । भत्काएर बनाउँदा गुणस्तरीय भएन विभागसँगको सम्झौताअनुसार गुणस्तरीय बनाइदिनुपर्यो,’ उनले भने ।
यसैबीच, शुक्रबार बिहान ८ बजे उपप्रधानमन्त्री श्रेष्ठसहित मेलम्ची र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको टोलीले सडक अनुगमन गर्ने भएको छ । लैनचौरबाट सुरु हुने अनुगमन बुढानिलकण्ठ, जाउलाखेल र भैंसेपाटीसम्म पुग्ने उपप्रधानमन्त्री श्रेष्ठको सचिवलायले जनाएको छ ।
भक्तपुरमा एस टी-२० क्रिकेट लिग : पुल्चोक र १३ होप्स विजयी
भक्तपुर — भक्तपुरमा बिहीबारदेखि सुरु भएको एस टी-२० क्रिकेट लिगमा पुल्चोक क्रिकेट क्लब र १३ होप्स विजयी भएका छन् । सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा भइरहेको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको किंग्स क्रिकेट क्लब १९.५ ओभरमा ९० रनको योगफलमा समेटियो ।
जवाफी ब्याटिंगमा उत्रिएको पुल्चोक क्रिकेट क्लबले १०.५ ओभरमा ९२ रन बनाउँदै ७ विकेटले विजयी बन्यो । उक्त खेलको म्यान अफ द म्याच दीपक भण्डारी घोषित भए ।
दोस्रो खेलमा भने टस जितेर ब्याटिङ गरेको १३ होप्सले निर्धारित २० ओभरमा १३४ रनको योगफल बनायो । १३५ रनको लक्ष्य पछ्याएको नेपाल क्रिकेट स्कुलले २० ओभरमा १२३ रनमात्र बनाउन सक्यो । १३ होप्सले ११ रनले जित हात पार्यो । यो खेलको म्यान अफ द म्याच सुमित श्रेष्ठ घोषित भए ।
एस स्पोर्टस् एन्ड इभेन्ट्सले आयोजना गरेको प्रतियोगितामा ८ टिम सहभागी छन् । नगद पुरस्कार र विभिन्न पदक राखिएको प्रतियोगिता माघ ४ सम्म चल्ने आयोजक प्रमुख सर्वोच्च बस्नेतले जानकारी दिए । यो टुर्नामेन्टमा राष्ट्रिय खेलाडीसहित हरेक टिममा नयाँ खेलाडी सहभागी छन् ।
ओलम्पिक २०२४ छनोट : नेपाली महिला टिमले भियतनामविरुद्ध खेल्ने
काठमाडौँ — नेपाली राष्ट्रिय महिला फुटबल टिमले पेरिस ओलम्पिक २०२४ छनोटको प्रारम्भिक चरणमा एसियामा राम्रै मानिएको भियतनामविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) को क्वालालम्पुरस्थित मुख्यालयमा बिहीबारको ‘ड्र’ अनुसार नेपाल प्रारम्भिक चरणमा भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँगै समूह ‘सी’ मा परेको हो ।
नेपाली महिलाले ओलम्पिक छनोट पहिलोपल्ट टोकियो ओलम्पिक २०२० मा खेलेको थियो, त्यसमा नेपाल दोस्रो चरणसम्म पुगेको थियो । पेरिस ओलम्पिकका लागि एसियाली छनोटको प्रारम्भिक चरणका खेलहरू अप्रिल ३ देखि ११ सम्म हुनेछ । नेपालले पहिलो खेलमा प्यालेस्टाइनविरुद्ध प्रतिस्पर्धा गर्नेछ । त्यसपछि अफगानिस्तानवरुद्ध खेल्नेछ । समूहको अन्तिम खेलमा नेपालले फिफा वरीयतामा ६९ स्थानमाथि रहेको भियतनामको सामना गर्नेछ ।
नौपल्ट एसियन कप खेलेको भियतनामले फिफा महिला विश्वकप २०२३ पनि खेल्दै छ । गत वर्ष भएको एसियन कपमा भियतनाम तेस्रो भएको थियो । उक्त संस्करणमा नेपाली टिम छनोटबाटै बाहिरिएको थियो । पेरिस ओलम्पिक छनोटको आयोजनास्थलबारे निर्णय नभइसकेको एएफसीले जनाएको छ ।
प्रारम्भिक छनोटमा सहभागी २६ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष टिम दोस्रो चरणमा प्रवेश गर्नेछन् । उनीहरूले दोस्रो चरणमा सिधै प्रवेश पाएका उत्तर कोरिया, जापान, अस्ट्रेलिया चीन र दक्षिण कोरियासँगै तीन समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन् । समूहका शीर्ष टिमसँगै दोस्रो हुनेमध्ये उत्कृष्ट एक टिम छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् ।