
अझैपनि देउवाले चिया चुरोट खाएको २ मोहोर तिर्न बाँकी छ ‘विष्ट बा’ को चिया पसलमा…
प्रकाशित मिति । २८ पुस, २०७९ ।
काठमाडौ । नानीकाजीको सानो चिया पसलका अधिकांश ग्राहक त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू छन्। हामी पुग्दा चिया पसलमा नेविसंघका परिचित नेता थिए। जो विष्टले उमालिरहेको चियाको प्रतीक्षा गरिरहेका थिए।
६ दशकको इतिहास बोकेको विष्टको चिया पसलमा नानीकाजीसँग थुप्रै स्मृति छन्। यहीँ चिया पिएका विद्यार्थीहरू ठूला नेता भए, मन्त्री भए, प्रधानमन्त्रीसम्म भए। तर उनीहरूले उधारो पिएको चियाको पैसा कहिल्यै पाएनन् विष्टले। ‘मेरो पसलमा उधारो खानेको नाम कान्तिपुर पत्रिकामा छापियो। अहिले त उधारो गर्न डराउँछन् विद्यार्थीहरू,’ नानीकाजी हाँस्दै सुनाउँछन्।
उधारो खानेहरूको नाम उनले डायरीमा टिप्नै छाडिसके। र पैसा माग्न पनि। तर नतिर्नेहरूको सम्झना भने आइरहँदो रहेछ नानीकाजीलाई। उनले कहिल्यै नबिसर्ने नाम हो पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा। शेरबहादुर त्यतिबेला त्रिविमा विद्यार्थी राजनीति गर्थे।
उनको नियमित चिया अड्डा थियो विष्टको पसल। विष्ट र देउवाबीच मित्रता नै थियो त्यतिबेला। तर पसलमा उधारो पिएको चियाको पैसा देउवाको अझै बाँकी रहेछ। नानीकाजी सम्झन्छन्, ‘शेरबहादुरको उधारो सात मोहोर थियो। पाँच दिए, दुई अझै बाँकी छ।’
देउवाको चुरोट तान्ने लत थियो। एक खिल्ली नसकिँदै उनी अर्को खिल्ली माग्थे। कहिल्यै नहाँस्ने, गजधम्म परेर बस्ने देउवाको स्वभावलाई नानीकाजीले प्रायः नियाल्थे। देउवा नानीकाजीलाई ‘विष्ट जी’ भन्थे। नानीकाजी ‘देउवा सर’ भनेर सम्बोधन गर्थे।
देशमा राजनीतिक परिवर्तन तीव्र भइराखे। उनको चिया पसलमा आउने विद्यार्थीहरू पनि बदलिरहे। त्यही क्रममा पहिलो पटक उनले देउवा प्रधानमन्त्री बनेको समाचार रेडियोमार्फत् सुने। आफ्नै साथी प्रधानमन्त्री हुँदा उनी गद्गद् भए। त्यसपछि त देउवा पटक–पटक प्रधानमन्त्री भए। तर नानीकाजीले आफूजस्तै मानिसहरूको जीवनमा चाहिँ कहिल्यै परिवर्तन देख्न पाएनन्।
नानीकाजीलाई धेरै कुरा स्मरण छैन। जति छन्, त्यो पनि चिया जस्तै धमिलो। उनले देउवाको निजी स्वकीय सचिव भानु देउवाको नम्बर राखेका छन्। कहिलेकाहीँ फोन दबाउँछन्। एकपटक टियुले उनलाई पसल उठाउने उर्दी दियो। नानीकाजीले भानुलाई फोन गरेर भने, ‘म कतै जान्न भनेर देउवालाई सुनाइदिनू।’
तर कुनै प्रतिक्रिया आएन। भानुले देउवालाई सुनाए, सुनाएनन् थाहा छैन। तर टियुले उनले टहरो उठाउन चाहिँ उठाएको छैन। देउवा पछिल्लो पटक ललितकलाको उद्घाटन गर्न पुगेका थिए। देउवा भेट्न चाहनेहरूको बाक्लो लाइनमा मिसिएका थिए नानीकाजी। उनलाई देउवासँग हात मिलाउँदै भन्न मन थियो, ‘बरु मलाई उधारो बाँकी राखेको पैसा चाहिन्न। यहाँबाट कतै नउठाइयोस्।’
तर त्यो रहर पूरा भएन। ०१६ सालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भयो। ०२१ मा पहिलो पटक टियुको हातामा विष्टले चियापसल खोले। तत्कालीन त्रिविका रेक्टर त्रैलोक्य नाथ उप्रेतीले उनलाई चिया पसल खोल्न दिएका थिए।
त्यो बेला एक मात्र विष्टको चियापसल थियो। र कालान्तरमा यो चियापसल नेपालको विद्यार्थी राजनीतिको साक्षी बनिरह्यो। उनले सधैँ सम्झिरहने प्रसङ्ग अर्को पनि छ। तत्कालीन युवराज दीपेन्द्र शाह त्यतिबेला त्रिभुवन विश्वविद्यालयमा भूगोल विषय लिएर पढ्थे। उनी पनि चुरोटको अम्मली। ‘दीपेन्द्र सधैं गार्डलाई मेरोमा लालीगुँरास चुरोट लिन पठाउँथे,’ उनी सम्झन्छन्, ‘अनि म खुसी भएर दिन्थेेँ।’
दीपेन्द्र युवराज घोषित हुने दिन नारायणहिटी दरबारमा विष्ट जान खोजे। बुबाको निधन भएकाले उनी सेतो पोशाकमा थिए। सेतो पहिरनकै कारण उनलाई गेटबाट भित्र प्रवेश गर्न दिइएन।
कीर्तिपुरस्थित भाजंगलमा ०५ सालमा जन्मे नानीकाजी। अहिले पनि त्यहीँ छ उनको घर। जग्गा बेचेर, ऋण गरेर तीन तलाको घर जोडेका छन् नानीकाजीले।घरमा श्रीमती कमला विष्ट बिमार भइरहन्छिन्। नानीकाजी पनि बेला बेलामा बिरामी भइरहन्छन्।
एकताका झाडापखाला लागेर दुई महिना पसल बन्द भयो। उच्च रक्तचापको विरामी छन् उनी। चिया बेचेर उधारो गएकै कारण पैसा कहिल्यै बचत भएन। कहिलेकाहीँ त लाग्दो रहेछ, ‘अन्त काम गरेको भए जीवन अर्कैै भइसक्थ्यो होला।’
विष्टको सानो चिया पसलमा पनि ८ पटक चोरी भयो। जोरजाम गरेर थपेको सामान पनि पटक पटक चोरीले रित्तिँदा उनी निराश बन्न पुगे। तर पनि उनी चिया बेच्न छाड्दैनन्। उनी यसैमा रमाएका छन्। जतिले चिने, चिया बेचेकै कारण चिने।
जति साथी बने, चिया पसलमै बने। त्यसकारण उनी सकुन्जेल यहीँ बसेर विद्यार्थीहरूलाई चिया पिलाउन चाहन्छन्। ‘तर उधारोचाहिँ अब कसैले नराखिदिए हुन्थ्यो,’ नानीकाजी उम्लिरहेको चिया गिलासमा हाल्दै भन्छन्।
नेपाली क्रिकेटलाई जोगाऊ
मुलुकको क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको नेपाल टी–२० लिग जसोतसो सम्पन्न भएको छ । तर यो पहिलो गाँसमै ढुंगा भनेजस्तो भएको छ ।प्रतियोगिताका क्रममा भएका ‘बेटिङ’, ‘स्पट फिक्सिङ’, ‘म्याच फिक्सिङ’, पारिश्रमिक विवाद र आयोजकमध्ये एक पक्ष फरार हुनुजस्ता प्रकरणले नेपाली क्रिकेटको अँध्यारो पाटोलाई सतहमा ल्याइदिएका छन् ।
यसका कारण बाहिरी विश्वमा मुलुकको छवि धूमिल भएको छ । यी घटना यति गम्भीर छन्, दोषीहरूमाथि कारबाही प्रक्रिया अघि बढाई नेपाली क्रिकेटको साख जोगाउनका लागि सम्बद्ध निकायले यथाशीघ्र पहल थाल्नु जरुरी छ ।
विश्व वर्ष उत्कृष्ट खेलाडीको मनोनयन सूचीमा परेका जिम्बावेका सिकन्दर राजादेखि इंग्ल्यान्डका एलेक्स ब्लेक, प्याट ब्राउन, मलेसियाका वीरनद्वीप सिंहसम्म समावेश प्रतियोगिताले राम्रो चर्चा पाउनुपर्थ्यो, सकारात्मक सन्देश प्रवाह गर्नुपर्थ्यो । तर यी अनपेक्षित घटनाक्रमसँगै ती खेलाडी प्रतियोगिताको बीचमै स्वदेश फर्किए । आफ्ना चारै विदेशी खेलाडी घर फर्किंदा काठमाडौं नाइट्सले एउटा खेल ११ नेपाली खेलाडीका भरमा मात्र खेल्नुपर्यो ।
प्रतियोगिता सकिए पनि अझै खेलाडीहरू पूरा पारिश्रमिक पाउनेमा विश्वस्त हुन सकेका छैनन् । फिक्सिङ काण्डपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टोली आएर छानबिन गरीवरी फर्किएको छ । गृह मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले समेत छुट्टाछुट्टै छानबिन समिति बनाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टी–२० लिगको घटना विवरण एक साताभित्र बुझाउन राखेपलाई निर्देशन दिएको छ ।
नेपाली क्रिकेट यति दयनीय अवस्थामा कहिल्यै पुगेको थिएन । नेपाली खेलाडीले ५ लाखदेखि १५ लाख तथा विदेशी खेलाडीले ५० लाख रुपैयाँसम्म पारिश्रमिक पाउने भएकाले क्यानले यसलाई एसोसिएट राष्ट्रकै उत्कृष्ट लिग बनाउने उद्घोष गरेको थियो । तर त्यस अनुसारको गम्भीरता क्यानमा देखिएन ।
क्यान खेलाडीको पारिश्रमिकलाई मुख्य एजेन्डा बनाउँदा नराम्रोसँग चिप्लिएको छ । यही कारण भोलिका दिनमा अर्को राम्रो फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्दा कुनै पनि विदेशी खेलाडीले नेपालमा खेल्न आउनुअघि दुईपल्ट सोच्नुपर्ने अवस्था बनेको छ । यसबाट अन्तर्राष्ट्रिय जगत्मा नेपाली क्रिकेटबारे थप नराम्रो प्रचार भएको छ ।
कमर्सियल एन्ड स्ट्राटेजिक पार्टनरका रूपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाएर वार्षिक ४ करोड रुपैयाँजति दस्तुरबापत आउने भएपछि क्यान आफू मुख्य आयोजकभन्दा पनि ‘सेरेमोनियल’ भएर बस्दा नेपाली क्रिकेट यति ठूलो दुर्घटनामा परेको हो । सेभेन थ्री स्पोर्ट्स भित्रिनेबित्तिकै नेपाल टी–२० लिग विवादमा मुछिएको थियो ।
सार्वजनिक खरिद ऐनलाई बेवास्ता गर्दै क्यानले बिनाटेन्डर भारतीय कम्पनीलाई साझेदार बनाएको थियो । क्यानभित्रकै एउटा समूहले त्यसविरुद्ध आवाज नउठाएको होइन तर उक्त आवाजलाई संस्थापन पक्षको हठले थिच्दै नेपाल टी–२० लिग भित्र्याइएको थियो । त्यही सेभेन थ्री स्पोर्ट्स क्यानको दस्तुर र खेलाडीको पारिश्रमिकको विषयलाई अन्योलमै छाडेर प्रतियोगिताबीचमै फरार भएको थियो । यसैले त्यस्तो निर्णय गर्ने क्यान पदाधिकारीलाई मुख्य रूपमा छानबिनको दायरामा ल्याउनुपर्ने देखिन्छ ।
भनिन्छ, क्रिकेट भलादमीको खेल हो र यो सफा हिसाबले खेलिनुपर्छ । बेटिङ, स्पट फिक्सिङ र म्याच फिक्सिङ लगायत यो भलादमी खेलका ऐंजेरु हुन्, जसलाई बेवास्ता गर्दा नेपाली क्रिकेटको यो हविगत भएको हो । नेपाल टी–२० लिगमा कमेन्ट्री गरिरहेका सचिन तिमिल्सेनाले खुल्लमखुला ‘लाइभ बेटिङ’ र ‘स्पट फिक्सिङ’ भइरहेको आक्षेप लगाउँदै आफू प्रतियोगिताबाट अलग भएको घोषणा गर्नु, काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई सट्टेबाजले प्रस्ताव गरेपछि एन्टी–करप्सन युनिट (एसीयू) मा उजुरी दिनुले यो काण्डले जरा कति फैलाएको थियो भन्ने छर्लंग हुन्छ ।
प्रायः सबैतिर खेलाडीहरूलाई सट्टेबाजले बेटिङ र स्पट फिक्सिङको प्रस्ताव राख्ने गर्छन्, जुन खेल जगत्मा सामान्य नै मानिन्छ । सम्बद्ध खेलाडीले आईसीसी र स्थानीय आयोजकमा उजुरी गरेपछि सट्टेबाजमाथि कारबाही अगाडि बढ्ने गर्छ । तर, केही खेलाडीले नेपाल टी–२० लिगमा आयोजकले नै बेटिङ र स्पट फिक्सिङको प्रस्ताव राखेको संगीन आरोप लगाएका छन् ।
यही आरोप र आईसीसीको ‘इन्टिग्रिटी युनिट’ को दुईसदस्यीय टोली छानबिनका लागि नेपाल आउनु ठीक अगाडि सेभेन थ्री स्पोर्ट्सका दुई प्रमुख व्यक्ति नेपालबाट फरार भएका थिए । अझ डरलाग्दो पक्ष हो— नेपाली खेलाडी पनि स्पष्ट फिक्सिङ र लाइभ बेटिङमा मुछिनु । आईसीसीले म्याच फिक्सिङ, बेटिङ र स्पट फिक्सिङमा शून्य सहनशीलता अपनाउने गरेको छ । नेपालका निकायहरू पनि यसबारे बढी गम्भीर हुनुपर्छ ।
क्रिकेटबाट पाएको सफलताले मुलुकलाई धेरै पटक गौरवान्वित तुल्याएको छ । ट्वान्टी–२० विश्वकप खेल्दा होस् वा एकदिवसीय मान्यताका लागि विश्वकप छनोटमा खेल्दा, नेपाली क्रिकेटले मुलुकलाई एकजुट बनाउने गरेको छ ।
सामूहिक हिसाबमा खेलिने खेलमा क्रिकेटबाहेक अन्य खेलमा नेपाली खेलकुदले विश्वकपको कल्पना गर्नसम्म गाह्रो छ । क्रिकेट खेलाडीलाई जसरी राम्रो खेल्दा पुरस्कृत गर्ने गरिन्छ, नेपाली क्रिकेट बचाउनका लागि नेपाल टी–२० लिगमा जानाजानी गरिएका गल्तीमा पदाधिकारीलाई पनि त्यसरी नै सजायको भागीदार बनाउन आवश्यक छ । नत्र नेपाली क्रिकेटको अधोगति रोकिने छैन ।