
पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता
दोस्रो स्थान हासिल गर्दै डीआरएस गेमिङले जित्यो झण्डै ३ करोडभन्दा बढीको पुरस्कार राशी
काठमाडौँ — पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टोली डीआरएस गेमिङ उपविजेता बन्न सफल भएको छ । इन्डोनेसियाको जकार्तामा भएको अन्तिम चरणको प्रतिस्पर्धामा दोस्रो हुँदै नेपाली टोलीले २ लाख ९२ हजार अमेरिकी डलर जितेको छ । नेपालबाटै फाइनलमा पुगेको अर्को टिम, टीटुकेले १३ औं स्थान प्राप्त गर्दै १ लाख ३२ हजार ५ सय अमेरिकी डलर पाएको छ ।
विभिन्न देशका १६ टोली सहभागी यो च्याम्पियनसिपमा टर्कीको एसटुजी ईस्पोर्टस विश्व विजेता बन्न सफल भएको छ । उसले ५ लाख १० हजार डलर पुरस्कार राशी प्राप्त गरेको छ ।
जकार्ताको इन्टरनेसनल एक्स्पोमा आयोजित तीन दिने उक्त ग्र्यान्ड फाइनल प्रतियोगितामा विभिन्न देशका १६ टिमले १५ लाख डलर राशीको पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए । त्यसमा चीनका ३, ब्राजिलका ३, नेपालका २, टर्कीका २, मंगोलियाका २, थाइल्यान्डका २ र मलेसिया तथा इन्डोनेसियाका एक एक टोली सहभागी थिए ।
नेपाली विजयी टोलीलाई बधाइ दिँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् । केही दिनअघि मात्रै उनी अनौपचारिक भ्रमणको क्रममा नेपाली खेलाडीहरूलाई हौसला दिन इन्डोनेसिया गएका थिए ।
नेपाली टिमको सफलतामा खुशी मनाउन नेपालका अनलाइन गेमिङ समुदायले भोली (२५ पुस) काठमाडौंमा र्याली आयोजना गर्ने भएका छन् । ‘नेपाली समूहले दक्षिण एसियाकै सबैभन्दा उत्कृष्ट खेल प्रदर्शन गरेकोमा हामी खुशी छौं,’ नेपाली अनलाइन गेमर प्रदीप अधिकारी भन्छन्, ‘यो नेपाली अनलाइन गेमर मात्र नभएर देशकै लागि गर्वको कुरा हो ।’
सेनाको एकीकरण मार्ग पदयात्रा नुवाकोटबाट काठमाडौंका लागि प्रस्थान
नुवाकोट — नेपाली सेना एकीकरण दीपज्योतिसहित सातदिने एकीकरण मार्ग पदयात्राको चौथो दिन आइतबार पुरानो सदरमुकाम नुवाकोटबाट काठमाडौंका लागि प्रस्थान गरेको छ ।
विदुर नगरपालिका-२ स्थित नुवाकोट पुरानो सदरमुकाम साततले दरबार नजिकै रहेको भैरवी मन्दिरको प्रांगणमा विदुर नगरपालिका-२ ले स्वागत कार्यक्रम राखेको थियो । पदयात्रामा पृथ्वीनारायण शाहको जन्मोत्सवको अवसरमा तत्कालीन फौजले नेपाल एकीकरणको क्रममा प्रयोग गरेका पोसाक, हातहतियारबाट सुसज्जित भई नेपालको झन्डासहित त्यस बेलाका ५ वटा पल्टन र एकीकरण दीपज्योति साथ लिई प्रदर्शन गरेको थियो ।
सेनाको टोलीलाई स्थानीय, जनप्रतिनिधि, पूर्वसैनिक, राष्ट्रिय सेवा दलका क्याडेट, बुद्धिजीवीले स्वागत गरेका थिए । साथै नुवाकोटमा ६ नम्बर बाहिनीपति र जबरजंग गणका गणपतिको पनि उपस्थिति थियो ।
३०१ औंं पृथ्वी जयन्तीको अवसरमा चार वर्षदेखि नेपाली सेनाले एकीकरण मार्ग पदयात्रा गर्दै आएको छ । नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाह र उनका गोर्खाली सेनाद्वारा विजय अभियानका लागि प्रयोग भएका पदमार्गलाई प्रयोग गरेर नेपाली सेनाले २०७६ सालदेखि एकीकरण दीपज्योतिसहित पदयात्रा गर्दै आएको हो ।
यही पुस २१ गतेबाट गोरखाबाट सुरु भएको यस पटकको पदयात्रा आइतबार बिहान नुवाकोट आइपुगेको छ । । आइतबार साँझ चतुराले, सोमबार ककनी हुँदै मंगलबार नुवाकोट र काठमाडौंको सिमानाको कालीध्वज गणलाई दीपज्योति हस्तान्तरण गर्ने कार्यतालिका छ ।
पदयात्रा यही पुस २७ गते जंगीअड्डामा आयोजना हुने ३०१ औं पृथ्वी जयन्तीको विशेष समारोहबीच समापन गर्ने कार्यक्रम छ ।
सप्तरीमा रोकिराखेको टिपरमा ठोक्किएर दुई मोटरसाइकल चालकको मृत्यु
राजविराज — रोकिराखिएको टिपरमा ठोक्किएर आइतबार सप्तरीमा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा खडग नगरपालिका-११ बनौलीका २० वर्षीय बैजु भनिने बैजनाथ चौधरी र डाकनेश्वरी नगरपालिका-१० का २२ वर्षीय रमाकान्त चौधरी रहेको प्रहरीले जनाएको छ ।
खडग नगरपालिका-११ को वडा कार्यालयदेखि पूर्वहुलाकीमार्ग खण्डमा बिग्रेर रोकिराखिएको स १ ख ९२८ नम्बरको टिपरमा राजविराजतर्फ आउँदै गरेको बा ८९ प ३२१५ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल पछाडिबाट टिपरमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।
दुवै मोटरसाइकलमा पछाडि सवार रहेका सुमन चौधरी र बुधन चौधरी घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।