शुक्रबार १० चैत्र २०७९


स्कुलको लापरबाहीले छात्राको मृत्यु भएपछि प्रदर्शन, ३ राउण्ड हवाइफायर

प्रकाशित मिति । २४ पुस,२०७९ ।

सिरहा — सिरहामा विद्यालयको लापरबाहीका कारण शनिबार एक छात्राको मृत्यु भएपछि विद्यार्थी र स्थानीय अभिभावकहरूले प्रदर्शन गरेका छन् । आक्रोशित विद्यार्थीहरुले आइतबार बिहान १० बजेबाट पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया खण्डमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले प्रदर्शन गर्दै मिर्चैयास्थित इलाका प्रहरी कार्यालयसमेत घेराउ गरेका थिए ।

सिरहाको मिर्चैयास्थित सगरमाथा हाइयर सेकेन्डरी स्कुलमा अध्ययनरत सिरहा नगरपालिका–११ पदमपुरकी १६ वर्षीया सिर्जना कुमारी महराको औषधि खाने क्रममा पानीको बोतलमा रहेको स्प्रिट पिउँदा मृत्यु भएको हो ।

स्प्रिट पिएर शुक्रबार बिरामी परेकी महराको सिरहाको कर्जन्हास्थित फूल कुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा शनिबार राति १२ बजेतिर मृत्यु भएको थियो । विद्यालयको चरम लापरबाहीले सिर्जनाको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेपछि खुलाउन प्रहरीले तीन राउण्ड हवाइफायर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरी बहादुर वलीले जानकारी दिए ।

उनका अनुसार राजमार्ग अवरोध खुलाउने क्रममा ढुंगामुढाबाट पाँच प्रहरी घाइते भएका छन् । महिनावारीका कारण पेट दुखेपछि सिर्जनालाई शुक्रबार विद्यालयकै एक शिक्षिकाले दिएको औषधि खाने क्रममा पानीको सट्टा स्प्रिट पिउँदा बिरामी भएको अभिभावक र विद्यार्थीको आरोप छ । विद्यालयले ह्वाइट बोर्ड सफा गर्न स्प्रिटको प्रयोग गर्थ्यो । विद्यालयका संस्थापक प्रिन्सिपल प्रदिप तिवारीले आफैंले विद्यार्थीको उपचार नगराएर केही भएको छैन भन्दै घर ल्याइदिएको सिर्जनाका वुवा धर्मेन्द्र महराले गुनासो गरेका छन् ।

‘प्रिन्सिपल तिवारीले सिर्जनाले थोरै स्प्रिट खाएकाले नशा लागेको छ, केही बेर सुताएपछि ठीक भइहाल्छ भनेर घरमा छाडेर गए,’ धर्मेन्द्रले भने, ‘सरले थोरै स्प्रिट खाएको भनेपछि हामीले विश्वास गर्‍यौं, तर पछि अस्पताल लैजाने बेलासम्म अवस्था खराब भइसकेको थियो ।’ शिक्षकको विश्वास गरेर अस्पताल लैजान हतार नगर्दा छोरी गुमाउनु परेको भन्दै धर्मेन्द्रले विद्यालयको लापरबाहीले छोरीको ज्यान गएको आरोप लगाएका छन् । साथै उनले विद्यालयलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेर दिएका छन् ।

कर्जन्हास्थित फूल कुमारी मेमोरियल अस्पतालका डा. श्याम कुमार साहले सिर्जनाको फोक्सो पूरै सेतो भइसकेको र अक्सिजनको कमीका कारण मृत्यु भएको जानकारी दिए । एक्सरेमा फोक्सो कालो देखिनुपर्नेमा सबै सेतो देखिएको र फोक्सो सेतो हुनको कारण फोरेन्सिक जाँचबाट मात्र खुल्ने उनले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरि बहादुर वलीले सिर्जनाको हातमा पानीको सट्टा कसरी स्प्रिट पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । विद्यालयले घटना स्वीकार गरेको र औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रिन्सिपल प्रदिप तिवारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

बैंकहरूलाई राष्ट्रपतिको आग्रह : नाफासँगै सामाजिक उत्तरदायित्वमा ध्यान दिनुस्

काठमाडौँ — नाफासँगै संस्थागत सामाजिक उत्तरदायित्वमा पनि ध्यान दिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन् । लगानी गरेपछि उचित नाफाको अपेक्षा स्वभाविक भएपनि नाफासँगै सामाजिक उत्तरदायित्वमा ध्यान दिन उनले आग्रह गरिन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै आइतबार राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । ‘स्वावलम्बी एव् आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय पुँजी निर्माण र त्यसको विवेकशिल परिचालन अपरिहार्य छ,’ उनले भनिन्, ‘यसका लागि उद्यमशिलता विकासमा अझैं धेरै काम गर्नुपर्नेछ ।’

स्वदेशी उत्पादन बढाएर आयात घटाउने र निर्यात प्रवर्द्धनमा जोड दिनु पर्ने उनको भनाइ थियो । केही समय यता बैंकहरुले भोगिरहेको समस्याबारे आफू जानकार रहेको बताउँदै सम्बन्धित निकायलाई समस्या समाधानका लागि पहल गर्न पनि उनले आग्रह गरिन् । ‘समस्या समाधानका लागि सरकारले सहयोग गर्न जरुरी छ,’ उनले भनिन्,‘सरकार र निजी क्षेत्र एक अर्काको परिपुरक बन्नु पर्छ ।’

पूर्व अर्थमन्त्री युवराज खतिवडाले पछिल्लो एक दशकमा वित्तीय प्रणालीमा तीव्र विकास भएको बताए ।

नेपालको वित्तीय प्रणाली मजबुत र सुरक्षित रहेको पनि उनको दाबी छ। ‘पछिल्ला महिनाहरुमा डिजिटल बैंकिङमा पनि धेरै प्रगति भएको छ,’ उनले भने, ‘लाइसेन्समा गरिएको कडाइले बैंक सबल बनेका छन् । वित्तीय सारक्षता कार्यक्रमले बैंकिङ पहुँच बढेको छ । सानो निक्षेप बीमा कार्यक्रमले महत्त्वपूर्ण काम गरेको छ । कृषि क्षेत्रमा जाने कर्जा बढेको छ । पुँजीवृद्धिको कारण बैंकहरु लगानी गर्न सक्षम भए ।’

अझै पनि वित्तीय प्रणालीमा मूल्य स्थिरता, वाहृय क्षेत्र र वित्तीय स्थिरता कायम गर्नुपर्ने चुनौति कायमै रहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । विगतको अप्ठेरो अवस्थाबाट केही सुधार हुँदै गएको भए पनि चुनौति अझै पनि प्रयाप्त रहेको उनको भनाइ छ ।


Last Updated on: January 8th, 2023 at 4:57 pm


तपाईको प्रतिक्रिया