मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


विमानस्थल भन्सारले लिलामी बिक्रीमा राख्यो जफत गरिएका १५१ मोबाइल

प्रकाशित मिति । २३ पुस, २०७९ ।

काठमाडौँ — त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यात्रुबाट जफत भएका १५१ वटा मोबाइल सेट लिलामी बिक्रीमा राखेको छ । यात्रु जाँचपासका क्रममा अवैध ल्याइएका मोबाइल फोनहरु विमानस्थलले नियन्त्रणमा लिएपछि तोकिएको समयभित्र सम्बन्धित धनी सम्पर्कमा नआएमा त्यस्ता मोबाइल भन्सारले लिलामी बिक्रीका लागि राख्ने गरेको छ ।

मोबाइलधनी समयमै भन्सार शुल्क बुझाउन नआएपछि विमानस्थल भन्सारको मुद्दा तथा लिलामी शाखाले मोबाइलहरु लिलामी बिक्रीका लागि सूचना जारी गरेको हो । ‘भन्सार नियमावली २०६४ को नियम ३५ को उपनियम २ मा भएको व्यवस्थाअनुसार शिलबन्दीको माध्यमद्वारा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक संस्थाद्वारा यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र गोप्य शिलबन्दी दरभाउपत्र आहृवान गरिएको छ’ भन्सार कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

लिलामी बिक्रीका लागि राखिएका ती १५१ मोबाइलको न्यूनतम मूल्य ९३ लाख ५४ हजार रुपैयाँ तोकिएको छ । लिलामीको ती मोबाइल खरिद गर्न चाहनेले भन्सार कार्यालयमा गई हेर्न सक्नेछन् । विदेशबाट फर्किने नेपाली नागरिकले आफूले चलाइरहेको मोबाइल मात्र ल्याउन पाउने व्यवस्था छ ।

सोभन्दा बढी ल्याएमा भन्सार शुल्क तिर्नुपर्दछ । तर तोकिएको समयमा भन्सार शुल्क तिर्न नगएमा र सम्पर्कमा नरहेमा भन्सार कार्यालयले सूचना सार्वजनिक गर्दै नियन्त्रणमा लिइएको मोबाइल लिलामी बिक्रीमा राख्ने गरेको छ । गोप्य शिलबन्दीमार्फत बढी मूल्य तिर्ने फर्म तथा संस्थाले ती फोन खरिद गर्न पाउने छन् ।

‘समाज बुझ्न किताब मात्रै अपर्याप्त’

लेखक तथा प्रतिनिधिसभा सदस्य (भोजपुर) सुदन किरातीको आत्मसंस्मरण ‘पलपलको मृत्यु’ प्रकाशित छ । उनले सशस्त्र द्वन्द्वमा भोगेका दुःख, जेल–नेल र यातना किताबको विषय हो । किरातीसँग किताब–वार्ता :

आत्मकथाको कुरा

जीवनका केही तीतामिठा अनुभव म साथीभाइ र केही सार्वजनिक कार्यक्रममा सुनाउँथे । सामान्यतया जीवनको उत्तरार्द्धतिर आत्मसंस्मरण लेख्ने प्रचलन देखिन्छ । यद्यपि केही प्रेरणावश मैले अहिले नै लेखेँ आत्मसंस्मरणात्मक किताब– ‘पलपलको मृत्यु’ ।

बुबा ब्रिटिस सेनामा हुनुभएकाले म उता हङकङमै जन्मिएँ । ब्रुनाईमा सरुवा हुनुभएपछि त्यतै हुर्किएँ । बुबाको पेन्सनपछि हामी नेपाल फर्कियौं । बुबा चाहनुहुन्थ्यो धरानमा घर बनाउने, मधेसमा खेत लिने । आमा चाहनुहुन्थ्यो पहाडमै बस्ने । आमाले जित्नुभो र हामी गाउँ फर्कियौं । त्यसपछि ब्रुनाईको सुविधासम्पन्न जिन्दगी र मेरो गाउँ चेवाको कष्टकर दैनिकीबीचको अन्तर देख्न–भोग्न थालियो । एकातिर बुबाको पैसा सकिँदै जाँदा, अर्कोतिर परिवारको संख्या बढ्दै जाँदा दुःख त पहाडजस्तो हुन थाल्यो । त्यो कठिन अनुकूलन नै मेरो जीवनमा ठूल्ठूला संघर्ष थाम्न सक्ने जग बनिदियो ।

म पाँच कक्षा पढिरहँदा बहुदल आयो । अब गाउँमा कांग्रेस र कम्युनिस्ट हुन्छ भन्ने हल्ला चल्न थाल्यो । एक दिन हाम्रो परिवारमा कांग्रेस र कम्युनिस्ट कुन राम्रो भन्ने छलफल चल्यो । राजनीति कति पनि नजान्ने मेरो बुबाले भन्नुभो, ‘कम्युनिस्ट राम्रो । म हङकङ र चीनको सिमानामा ड्युटी बस्दा देखेको माओत्सेतुङको चीनतिर मान्छेहरूले कमिलाजसरी काम गर्थे, सप्पैले बराबरी खान्थे । धनी र गरिब कोही थिएन, सप्पै बराबरी थिए ।’

मलाई पनि कम्युनिस्ट शासन चाहिने रहेछ भन्ने महसुस भयो र कम्युनिस्ट आन्दोलनतिर आकर्षित भएँ । विद्यालयदेखि नै अखिलको विद्यार्थी राजनीतिमा जोडिएँ र अन्ततः माओवादी जनयुद्धमा होमिएँ । ती आँधीहुरीमय जीवनका भोगाइ सम्झिँदा अहिले भावुक पनि हुन्छु, गम्भीर पनि बनाउँछ । यस्तै भोगाइमध्ये प्रतिनिधि सन्दर्भलाई मैले आत्मसंस्मरणमा उतारेको छु ।

युद्धमा पुस्तक

के पढ्ने, कुन पुस्तक या लेखक प्रिय लाग्छ भन्ने विषय पनि सापेक्ष नै हुँदोरहेछ । जनयुद्धमा होमिएपछि स्वाभाविक रूपमा वर्गसंघर्ष, युद्ध र सत्ताविरुद्ध सशस्त्र क्रान्तिका राजनीतिक–दार्शनिक पुस्तक पढिन्थ्यो र ती प्रिय लाग्थे ।

जनयुद्धकालमा हामीसँग सीमित किताब र सीमित समय हुन्थ्यो । कुनै पनि किताब फेला परेपछि अथवा पढ्ने पालो आएपछि त्यसलाई अक्षर–अक्षर केलाएर पढ्थ्यौं । साँझ या अनुकूल समयमा त्यसमाथि छलफल चलाउँथ्यौं । त्यसरी किताब पानीपानी बनाउँथ्यौं ।

त्यस समय मेरो प्रिय पुस्तक थियो– मेक्सिम गोर्कीको उपन्यास ‘आमा’ । लेनिनले भनेका रहेछन्– ‘गोर्कीले ‘आमा’ नलेखेको भए, रुसमा क्रान्ति नहुन पनि सक्थ्यो ।’ यो भनाइबाट थप उत्साहित हुँदै कठिन अवस्था आइलाग्दा आफूलाई ‘आमा’ उपन्यासको पावेलमा रूपान्तरण गरेर जनता र क्रान्तिका लागि अझ दृढ हुने प्रयास गर्थ्यौं ।

मेरा थुप्रै प्रिय पुस्तकमध्ये थियो– माओत्सेतुङका संकलित रचनाहरू । खगेन्द्र संग्रौलाले अनुवाद गर्नुभएको ‘माओका छानिएका रचनाहरू’ का पाँच भागले हामीलाई यति तागत दिन्थ्यो कि त्यो नभएको भए हामी युद्धमा टिक्नै कठिन हुन सक्थ्यो ।

माओका रचनामध्ये मलाई खुबै प्रिय लाग्थ्यो– ‘अन्तरविरोधबारे’, ‘जनतासँगको अन्तरविरोध सही ढंगले सञ्चालनबारे’, ‘छापामार युद्धबारे’, ‘नयाँ जनवादबारे’ । किनभने तिनले हाम्रो दैनिक राजनीतिक संघर्षलाई ज्यादै नजिकबाट मार्गदर्शन गर्थे । हाम्रा लागि थप दुईवटा पुस्तक पनि अति प्रिय थियो– मार्क्स–एङ्गेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ र लेनिनको ‘राज्य र क्रान्ति’ ।

‘कम्युनिस्ट घोषणापत्र’ को गुदी कुरा हो– आजसम्मको मानव–समाजको इतिहास वर्गसंघर्षको इतिहास हो र समाजवाद ल्याउन वर्गसंघर्ष जरुरी छ । लेनिनले चाहिँ राज्यलाई दमनकारी संयन्त्रका रूपमा व्याख्या गर्दै त्यसलाई उल्ट्याउन सशस्त्र संघर्ष जरुरी छ भन्नुभएको छ । यी दुई सूत्र समातेर हामी ‘जनयुद्ध’ गरिरहेका थियौं ।

त्यसो त त्यसबेला हामीले पढेका पुस्तकमध्ये पारिजातको ‘अनिदो पहाडसँगै’, आहुतिको ‘नयाँ घर’ उपन्यास, कृष्णसेन इच्छुक र पूर्णविरामका कविता पनि प्रिय थिए, जसबाट हामी वैचारिक–मनोवैज्ञानिक ढाडस प्राप्त गर्थ्यौं ।

संसदीय राजनीतिमा पुस्तक

‘समाजवादउन्मुख’ संसदीय व्यवस्थातिर राजनीतिक बाटो मोडिएपछि मेरो पठनको प्राथमिकता पनि बदलिएको छ । अहिले म नेपाली समाजलाई गहिरोसँग चिन्न मद्दत पुर्‍याउने इतिहास, संस्कृति, राजनीति, अर्थशास्त्र र साहित्यका किताबहरूमा बढी ध्यान दिन थालेको छु ।

संविधानसभादेखि व्यवस्थापिका–संसद्सम्म भोजपुरबाट तीन पटक प्रत्यक्ष निर्वाचित हुँदासम्म मैले घरदैलोमा पुगेर जनताको कुरा अधिकतम सुन्ने प्रयास गरेँ । त्यसबाट मलाई महसुस भएको छ– किताब राम्ररी बुझ्न गाउँका जनतासम्म पुग्नुपर्ने रहेछ, जनतालाई राम्ररी बुझ्न किताबसम्म पुग्नुपर्ने रहेछ । म यसरी जनता र किताबलाई जोड्ने प्रयास गरिरहेको छु । मैले डोरबहादुर विष्टको ‘भाग्यवाद र विकास’ अथवा महेशचन्द्र रेग्मीका भूमि र आर्थिक इतिहाससम्बन्धी पुस्तक त्यतिखेर अझ बढी बुझेँ, जब मेरो संगत गाउँका किसानसँग हुन थाल्यो ।

साहित्यका जति पुस्तक पढेको छु, तीमध्ये भूपी शेरचन र विमल निभाका कविताको व्यङ्ग्यात्मक तोड सांसद भएपछि मैले राम्ररी बुझ्न थालेको छु । खगेन्द्र संग्रौलाको कथा र कवि भूपाल राईको हालसालै प्रकाशित ‘यारी’ कवितासंग्रहको बुलन्द आवाज गाउँका दलित र भाषिक–सांस्कृतिक रूपमा उत्पीडित समुदायसँग नजिकबाट संगत बढाएपछि बुझ्न थालेको छु ।

अर्को कुरा, अब राजनीतिक दलहरूभित्र पनि आ–आफ्ना प्राज्ञिक अनुसन्धान विभाग निर्माण गर्नुपर्छ । त्यसो भयो भने समाजअनुसार सही नीति निर्माण गर्न सम्भव हुने छ । त्यसमा पनि अबका युवाहरूले नेपाली समाजलाई विभिन्न कोणबाट बुझ्नुपर्नेछ । त्यसका लागि पढ्नुपर्ने केही किताबहरू छन्– ‘मैले देखेको नेपाल’ (हर्क गुरुङ), ‘त्यसबखतको नेपाल’ (सरदार भीमबहादुर पाँडे), ‘खस जातिको इतिहास’ (बालकृष्ण पोखरेल), ‘कर्णाली लोकसंस्कृति’ (पाँच भाग), ‘हाम्रो समाज : एक अध्ययन’ (जनकलाल शर्मा), ‘पुँजीवाद र नेपाल’ (चैतन्य मिश्र), ‘हिस्ट्री एन्ड कल्चर अफ् किरात पिपल’ (इमानसिंह चेम्जोङ) अनि ‘जननायक रामप्रसाद राई’ (भोगीराज चाम्लिङ) ।

यद्यपि नेपाली समाज बुझ्न किताबहरू मात्रै पढ्नु अपर्याप्त लाग्न थालेको छ । जनताको साहित्यका रूपमा रहेका मौखिक ज्ञान पनि संकलन, अध्ययन गर्नुपर्ने भएको छ । यस क्षेत्रमा खासगरी इमानसिंह चेम्जोङ, बैरागी काइँला र पछिल्लो समयमा भोगीराज चाम्लिङसम्मले संकलन तथा प्रकाशन गरेका मुन्दुम/मुन्धुमसम्बन्धी पुस्तक ज्यादै उपयोगी छन् ।

हालै मैले युवल नोह हरारीको ‘ट्वान्टी वान लेसन्स फर ट्वान्टी फर्स्ट सेन्चुरी’ पुस्तक पढें । पुस्तकले भन्छ– प्रविधिको चरम प्रतिस्पर्धात्मक विकासले मान्छेलाई बेरोजगार बनाउनेतिर लैजानेछ । मानवीय हितविरोधी प्रविधि विकासलाई मानवीय हितमा उपयोग गर्ने व्यवस्था र विचारधारा के होला भनेर सोच्न सचेत गराएको छ । घुमाउरो भाषामा यो पुँजीवादमाथिको गम्भीर प्रश्न हो ।

अहिले म इतिहासमाथि ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट लेखिएका केही पुस्तक तथा रचना अध्ययनमा लागिरहेको छु । पुष्पलालको नेपालमा मातृसत्ता तथा राजतन्त्रको उत्थान, पतन र भविष्यसम्बन्धी रचनाहरूबाट सुरु भएको इतिहासलेखनको यो धारामा अहिले थप काम हुँदै छ । प्रा. केदारनाथ प्रधानको ‘नवीन दृष्टिमा नेपालको इतिहास’, सीताराम तामाङको ‘नेपाल ः समाज विकासको ऐतिहासिक भौतिकवादी निरुपण’ अथवा रामराज रेग्मीको ‘नेपालको इतिहास ः एक मार्क्सवादी अध्ययन’ जस्ता पुस्तक नेपाली समाजलाई वर्गसम्बन्ध र वर्गसंघर्षका दृष्टिले बुझ्न अत्यन्तै उपयोगी रहेका छन् । अक्षरको आविष्कारपछि हामीले बाँचिरहेको सभ्यताको युग सुरु भएको हो ।

तर, वामपन्थी आन्दोलनभित्रै पनि पठन–संस्कृति कमजोर हुँदै गएको छ । बौद्धिक कुपोषण बोकेर वामपन्थी आन्दोलनले समाजको सबल नेतृत्व गर्न सक्दैन ।


Last Updated on: January 7th, 2023 at 6:50 pm


८४९० पटक हेरिएको

तपाईको प्रतिक्रिया