
उपत्यकामा बढाइयो ट्राफिक जरिवाना : १६ वटा कसुरमा १५ सय रुपैयाँ जरिवाना हुने
यी कसुरमा यसअघि ट्राफिकले एक हजार जरिवाना लिने गथ्र्यो
प्रकाशित मिति । २३ पुस, २०७९ ।
ट्राफिक नियम पालनामा कडाइ गर्न भन्दै उपत्यकामा ट्राफिक प्रहरीले जरिवाना बढाएको छ । ट्राफिक नियम उल्लंघनसम्बन्धी विभिन्न १६ कसुरमा १५ सय रुपैयाँसम्म जरिवाना लिन थालेको छ । ३ पुसदेखि ट्राफिक प्रहरीले जरिवाना बढाएको हो ।
सवारी चलाउँदा कागजपत्र साथमा नबोके (सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी दर्ता किताब) लगायतका कसुरमा १५ सय तिराउन थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए । ट्राफिक नियम पालना बढ्ने र यसबाट दुर्घटना घट्ने अपेक्षाले अधिकतम जरिवाना लिन थालिएको उनको भनाइ छ ।
त्यस्तै, रेड लाइटमा सवारी नरोक्दा, निषेधित ठाउँमा पार्किङ गर्दा, गलत ठाउँबाट सवारी मोडेमा, सडकको गलत साइडबाट चलाएमा, एकतर्फी सडकमा चलाएमा, अवस्था ठीक नभएको सवारी चलाउँदा अधिकतम जरिवाना १५ सय लिन थालिएको प्रहरी बताउँछ । रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा, सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाएमा, नम्बर प्लेट नराखी चलाएमा, गाडी चालकले बेल्ट तथा मोटरसाइकल चालकले हेल्मेट नलगाई चलाएमा, सार्वजनिक सवारीका चालकले यात्रु लिन इन्कार गरेमा र लापरबाहीका साथ सवारी चलाउँदा पनि अधिकतम जरिवाना हुन थालेको छ ।
सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा, ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाउँदा र निषेधित क्षेत्रमा हर्न बजाउँदा पनि १५ सय जरिवाना हुने एसएसपी भट्टले बताए । यसअघि यस्ता कसुरमा ट्राफिकले हजार रुपैयाँ जरिवाना गर्दै आएको थियो । सवारी तथा यातायात व्यवस्था ऐनमा ट्राफिक प्रहरीले पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना गर्न सक्ने प्रावधान छ । जसमा ट्राफिकले अधिकतम जरिवाना गराउने निर्णय गरेको छ ।
लामो समयदेखि नेपालमा ट्राफिक जरिवाना नबढेकाले यसलाई बढाएर ट्राफिक नियम पालनामा कडाइ गर्नुपर्ने विज्ञहरूले बताउँदै आएका छन् । एक हजार पाँच सयभन्दा धेरै जरिवाना भने यातायात व्यवस्था विभागमा मात्र हुने गरेको छ ।
‘०७५ मा नै यातायात व्यवस्था विभागबाट अधिकतम जरिवाना गर्न सक्ने अधिकार ट्राफिक प्रहरीलाई प्रत्यायोजन भएको रहेछ,’ एसएसपी भट्टले भने, ‘त्यसलाई अहिले कार्यान्वयन थालिएको हो ।’
जरिवाना बढाइएकोमा यातायात व्यवसायीले भने असन्तुष्टि जनाएका छन् । तर, ट्राफिक प्रहरी अधिकारी भने जरिवाना न्यून हुँदा नियम उल्लंघन बढेको बताउँछन् । अन्य देशको तुलनामा नेपालमा ट्राफिक जरिवाना ज्यादै न्यून भएको उनीहरूको भनाइ छ । ट्राफिक नियम पालनामा कडाइ गराउन प्रहरीले एउटै कसुरमा पाँचपटकसम्म कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बन गराउनसमेत थालेको छ ।
जरिवाना बढाइएका कसुर
१. रेड लाइटमा सवारी नरोक्दा । २. निषेधित ठाउँमा पार्किङ गर्दा । ३. गलत ठाउँबाट सवारी मोडेमा । ४. सडकको गलत साइडबाट चलाएमा ।
५. एकतर्फी सडकमा चलाएमा । ६. अवस्था ठीक नभएको सवारी चलाउँदा । ७. रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा । ८. सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाएमा । ९. नम्बर प्लेट नराखी चलाएमा ।
१०. गाडीचालकले बेल्ट तथा मोटरसाइकलचालकले हेल्मेट नलगाई चलाएमा । ११. सार्वजनिक सवारीका चालकले यात्रु लिन इन्कार गरेमा । १२. लापरबाहीका साथ सवारी चलाउँदा । १३. सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा ।
१४. सवारीचालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब साथमा नराखी चलाएमा । १५. ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाएमा । १६. निषेधित क्षेत्रमा हर्न बजाएमा ।
ट्राफिक नियम पालना गर्ने प्रवृत्ति बढाउन खोजेका हौँ
राजेन्द्रप्रसाद भट्ट, एसएसपी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय
०७५ मा नै यातायात व्यवस्था विभागबाट अधिकतम जरिवाना गर्न सक्ने अधिकार ट्राफिक प्रहरीलाई प्रत्यायोजन भएको रहेछ । त्यसैलाई अहिले कार्यान्वयन थालिएको हो । यसले ट्राफिक नियम पालना गर्ने प्रवृत्ति बढ्ने हाम्रो विश्वास छ ।
१५औं चरणको मतदानमा अमेरिकी सभामुख चुनिए म्याककार्थी
काठमाडौँ — अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा केभिन म्याककार्थी निर्वाचित भएका छन् । १४ पटकको मतदानमा हार बेहोरेका उनी १५औं पटकमा निर्वाचित भएका हुन् ।
सभामुख चयनका लागि ४२८ भोट खसेको थियो त्यसमध्ये म्याककार्थीले २१६ मत प्राप्त गरे । डेमोक्रेटिक उम्मेदवार हकीम जेफ्रिजले भने २१२ मत प्राप्त गरे । मतदानमा उपस्थित तर कतै पनि भोट नहाल्ने सांसद भने ६ जना थिए जसलाई पक्ष/विपक्षमा नलिई ‘प्रिजेन्ट’ मा गनिन्छ ।
नवनिर्वाचित सभामुख म्याककार्थीले नान्सी पेलोसीलाई प्रतिस्थापन गर्नेछन् । हाउस अफ रेप्रिजेन्टेटिभ्समामा रिपब्लिकनका २२२ र डेमोक्रेटिकका २१२ सांसद छन् । समाभुख चुनिनका लागि २१८ भोट चाहिए पनि केही रिपब्लिकन उम्मेदवार म्याककार्थीको विपक्षमा उभिएकाले १५औं चरणसम्म मतदान गर्नुपरेको हो । यसअघि रिपब्लिकन सांसद म्याट गेजलगायतका प्रभावशाली नेता म्याककार्थीको विपक्षमा उभिए पनि अन्तिममा उनलाई मत दिन तयार भएका हुन् ।
अमेरिकी सभामुखको निर्वाचनको इतिहासमा १६४ वर्षयताकै लामो चुनाव हो । सन् १९२३ मा सभामुख चयन गर्न ९ पटक मतदान गरिएको थियो भने त्यसअघि १८५६ मा १३३ पटक मतदान भएको थियो ।
सभामुख नभएकाले नोभेम्बरमा निर्वाचित भएका सांसदले शपथ समेत लिन पनि पाएका थिएनन् । उनीहरू अहिले पनि ‘रेप्रिजेन्टेटिभ्स इलेक्ट’ का रूपमा रहेका छन् । अमेरिकामा तल्लो सदनका रूपमा रहेको प्रतिनिधिसभा कानुनहरू निर्माण गर्नुका साथै संघीय सरकारलाई बजेट विनियोजनलगायतका महत्त्वपूर्ण काम गर्छ ।