
कांग्रेस सभापति देउवाले गरे राप्रपालाई प्रधानमन्त्रीको अफर
प्रकाशित मिति । २२ पुस, २०७९ ।
काठमाडौं– सत्ता गठबन्धन भत्काउन नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई प्रधानमन्त्रीसहित एक मुख्यमन्त्रीको अफर गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको ७ दलीय सरकारलाई समर्थन जनाएको राप्रपालाई विश्वासको मत दिनुअघि उक्त प्रस्ताव गरिएको हो।
राप्रपाका महामन्त्री भुवन पाठकका अनुसार प्रस्ताव आएपनि त्यस विषयमा कुनै निर्णय भने भइसकेको छैन। उनका अनुसार अध्यक्ष लिङ्देनलाई प्रधानमन्त्री र बागमती प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेसले प्रस्ताव गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले निकटस्थमार्फत् राप्रपा अध्यक्ष लिङ्देनसमक्ष उक्त प्रस्ताव पठाएका हुन्। जसका विषयमा बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकमा समेत अनौपचारिक छलफल भएको थियो।
नेकपा एमाले सहितको वर्तमान सत्ता गठबन्धनलाई सुरुवाती समर्थन दिएको राप्रपाले अझै सरकारमा जाने विषयमा निर्णय गरिसकेको छैन। सुरुमा बाहिरैबाट समर्थन गर्ने जनाएको राप्रपाले सांसदहरुको दबाबपछि सरकारमा जाने तयारी भने गरेको छ।
बुधबार सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकमा अध्यक्ष लिङ्देनले उपप्रधानसहित ४ मन्त्रालय मागेका छन्। तर सत्ता गठबन्धनका दलहरु भने पर्यटन तथा संस्कृतिसहित ३ मन्त्रालय दिन तयार छन्।
देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग समेत भेटवार्ता गरेका थिए। जसपाले पनि प्रचण्डलाई समर्थन जनाएको छ, तर सरकारमा जाने निर्णय लिइसकेको छैन।
अहिले सत्ता गठबन्धनबाहिर कांग्रेस ८८, एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टी ४ र राष्ट्रिय जनमोर्चा एक गरी १०३ सिट छ। सरकारमा नगएका तर समर्थन गरेका राप्रपा १४, जसपा १२ र नागरिक उन्मुक्ति पार्टी ३ गरी २९ सिट रहेको छ। यो सवैगरी १३२ सिट हुन्छ। कांग्रेसले यी सवै दल आफूतिर तान्दा बहुमतका लागि थप अभ्यास गर्नुपर्ने हुन्छ।
श्यामश्वेत शाहरूख खान
बलिउडका हिन्दी सिनेमाहरू फिका बन्दै गएको विश्लेषण प्रचारमा छ । दक्षिण भारतका चलचित्रमा भइरहेका परीक्षण धेरै रुचाइँदै गएकाले बलिउडमा चलेका कथा, सिनेमा निर्माणका तौरतरिका, स्थापित कलाकार, निर्देशक र निर्माता सबै बिस्तारै विस्मृत हुने आकलन सुनिन्छ ।
यसै बेला दिल्लीबाट निस्कने ‘द क्याराभान’ पत्रिकाले अभिनेता शाहरूख खानको श्यामश्वेत तस्बिर राखेर उनीमाथि कभर स्टोरी प्रकाशन गरेको छ । लामो समय हिन्दी सिनेमा संसारमा छाएका शाहरूखको रंगैरंगको जिन्दगी यस पटक ओझेल परेको छ तर उनको श्यामश्वेत अवतार बलिउडको व्यापारसँग नभई, भारतको राजनीतिसँग जोडिएको छ । भारतीय राजनीतिमा अरू सबै रंग विलुप्त भएर गेरु रंग हावी भएपछि, शाहरूखको सादा तस्बिर अर्थपूर्ण बनेको हो ।
सन् २०१५ मा उनले भारतीय समाजमा असहिष्णुता व्याप्त हुन थालेकामा सार्वजनिक चिन्ता व्यक्त गरेका थिए । त्यसको करिब एक वर्षअघि मात्र भारतीय जनता पार्टी (बीजेपी) सत्तामा आएको थियो, नरेन्द्र मोदी प्रधानमन्त्री बनेका थिए । दक्षिणपन्थको हावा बाक्लिन थालेपछि मुस्लिम, दलित र धेरै अल्पसंख्यक समुदायले सकस भोग्न सुरु गरे । सत्ताका आलोचकहरू बोल्न र लेख्न हच्किने अवस्था आइलाग्यो ।
बोलेका वाक्य र शब्दलाई समग्रताबाट विमुख तुल्याएर सामाजिक भनिने विद्युतीय सञ्जालमा दुष्प्रचार गर्ने क्रम सुरु भयो । साथै, ह्वाट्स्यापजस्ता विद्युतीय संयन्त्र प्रयोग गरेर हिन्दु समुदायलाई अपमान गरिएको भन्ने अफवाहहरू फैलाउन थालियो । केही समयपहिले मात्रै मुस्लिमले ‘लभ जिहाद’ छेडेको अफवाह ह्वाट्स्यापबाटै फैलाएर हिन्दु र मुस्लिम समुदायबीच हिंसा मच्चाइएको थियो । सम्भवतः यी सबै परिस्थितिप्रति चिन्तित हुँदै उनले असहिष्णुता बढेको भनाइ राखेका थिए ।
शाहरूखको सो भनाइ सार्वजनिक भएको सात वर्षपछि, भनाइमा प्रयुक्त ‘इन्टोलरेन्स’ (असहिष्णुता) शब्दले आम भारतीयको मन दुखाएको र दुनियाँका सामु भारतीय समाजको अपमान गरेको भनेर उनको खेदो खनियो । साथै, शाहरूख र दीपिका पादुकोण अभिनीत ‘पठान’ सिनेमाको प्रचारका लागि ‘बेशरम रंग’ नामको गीत सार्वजनिक भएपछि कलाकारले लगाएका गेरु र हरियो रंगका पहिरनलाई औंल्याउँदै भारतीय समाज र हिन्दु धर्मकै अपमान गरेको आरोप लगाइयो ।
आरोप मात्रै नभई, मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले त सिनेमाहलमा ‘पठान’ चलाउन नदिने उर्दी पनि जारी गरे । यसै मेसोमा केही समयपहिले दीपिकाले जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का विद्यार्थीको आन्दोलनलाई समर्थन गरेकामा पनि क्षुब्धता व्यक्त गरियो । उनले ‘टुकडे टुकडे ग्याङ’ अर्थात् मुलुक टुक्य्राउनुपर्छ भन्ने जत्थाप्रति सहानुभूति देखाएको आरोप लगाइयो ।
यसअघि पनि शाहरूखले प्रयोग गरेको ‘असहिष्णुता’ शब्दलाई नै औजार बनाएर उनी अभिनीत सिनेमा ‘जीरो’ विरुद्ध प्रचार गरिएको क्याराभानले उल्लेख गरेको छ । बलिउडका धेरै सिनेमाजस्तै यसमा पनि थुप्रै समस्या थिए होलान् र आलोचनाका अनेक विन्दु पक्कै फेला पर्लान् ।
सिनेमा हेरेर विषयवस्तु, अभिनय, कथा भन्ने शैली, वा निर्माण र निर्देशनका विभिन्न पक्षमा सम्यक् आलोचना हुन जरुरी हुन्छ । तर सिनेमै नहेरी, कुनै अभिनेताको नाम/थर वा समुदायको आडमा, उसले राखेको कुनै विचारका आधारमा, वा भनाइमा प्रयुक्त एउटा कुनै शब्द टिपेर सिनेमाविरुद्ध विषवमन गरिनुले नै समाजमा असहिष्णुता व्याप्त भएको संकेत गर्छ । यही दुष्प्रचारका कारण कतिपय सिनेमाहलमा ‘जीरो’ प्रदर्शन नै हुन सकेन भने, प्रदर्शन भएका कतिपय सिनेमा हलसम्म कोही दर्शक पुगेनन्
यस पटक पनि ह्वाट्स्याप नै प्रयोग गरी सिनेमा नहेर्न दर्शकलाई उक्साइएको थियो । क्याराभानका अनुसार दुष्प्रचारका लागि प्रयोग भएको ह्वाट्स्याप मेसेज यस्तो थियो, ‘यिन को पैसे देते हो, इस्लामियों को, जिहादियों को पैसे देते हो, यह बाहर जाकर बोलते हैं- इन्डिया इज इन्टोलरेन्ट ।’
त्यति मात्र नभई, शाहरूखलाई हतोत्साही तुल्याउन उनी अभिनीत विज्ञापनले प्रचार गरेका सामग्रीहरूको प्रयोग गर्न नहुने हल्ला मच्चाइयो । राज्य संयन्त्र नै प्रयोग गरेर बिनाप्रमाण उनका छोरा आर्यन खानलाई लागूऔषध प्रयोग र ओसारप्रसार गरेको आरोपमा करिब एक महिना कस्टडीमा राखियो ।
लामो झन्झट र हैरानी दिएपछि कुनै ठोस प्रमाण फेला नपरेको भन्दै उनलाई रिहा गरियो । त्यसअघि नै उनी बास बसेको होटलअघिल्तिर नाराबाजी गर्ने, उनी चढेको गाडीमा ढुंगा बर्साउने लगायतका काम भइसकेका थिए । पछिल्ला वर्षहरूमा प्रत्येक पटक शाहरूख सम्बन्धी कुनै समाचार सार्वजनिक भएपछि, उनले २०१५ मा बोलेको सोही असहिष्णुता शब्दको स्मरण गरिन्छ, र सो शब्दले सिंगो समाजको कसरी अपमान गरेको थियो भनेर व्याख्या हुन थाल्छ । यही सिलसिला जोडिँदै जाँदा, भारतीय गायिका लता मंगेसकरको मृत्युपछि, उनको पार्थिव शरीरमा आफ्नो धार्मिक रीत अनुसार शाहरूखले सम्मान जनाउँदा पनि उनको आलोचना गरियो । मंगेसकरको पार्थिव शरीरमा थुकेको आरोप लगाएर उनीविरुद्ध दुष्प्रचार गरियो ।
शाहरूख र उनी अभिनीत सिनेमाविरुद्ध जस्ता प्रचार भए, ती सबैले उनको सात वर्षपहिलेको भनाइलाई नै प्रमाणित तुल्याउँछन् । त्यति मात्रै होइन, आम दलित र मुस्लिममाथि भएका सबै प्रहारलाई एक ठाउँ राखेर हेर्दा असहिष्णुता शब्द स्वयं फिका हुन पुग्छ । असहिष्णुताको यसभन्दा ठूलो प्रभाव र परिणाम सुन्न सकिने हिंसा हुँदैन । लेखक र चिन्तकहरू मारिएका र उनीहरूलाई हतोत्साही तुल्याउन विद्युतीय सञ्जालमार्फत गरिएका ‘बुलिइङ’ हेर्दा सहजै बुझिन्छ, भारतीय समाजमा खुलेर आफ्ना मत अभिव्यक्त गर्न सकिने अवस्था छैन ।
त्यसैले आफूले बुझेको यथार्थ बोल्ने साहस जुटाउने बलिउडका स्थापित कलाकारमा शाहरूख करिबकरिब एक्लै छन् । केही दिनपहिले कोलकातामा आयोजित एक कार्यक्रममा अमिताभ बच्चनले करिब शाहरूखकै भाकामा आफ्ना असहमति प्रकट गरेका खबरहरू प्रकाशित छन् । तथापि, शाहरूखको एक्लोपनाको पूर्णतया अन्त्य भइसकेको छैन ।
त्यसो त जतिसुकै चर्को बदनामी भए पनि, अत्यन्त चर्चित कलाकार भएकाले, गौरी लङ्केश र गोविन्द पन्सारेजस्ता सत्ताविहीन बौद्धिकजसरी मारक प्रहार उनले खेप्नुपरेन । यथार्थको अर्को पाटो पनि उत्तिकै पेचिलो छ- अन्य कतिपय ठूला कलाकारले झैं आफ्नो मुस्लिम परिचय छोप्न अर्को नाम नराखेका र सगर्व मुस्लिम परिचय अघि सार्ने उनले आफू हुर्केको हिन्दुमिश्रित परिवेशबारे उति नै खुलेर बताउने गरेका थिए ।
साथै, आफ्नो ‘सेक्युलर’ विश्वदृष्टिकोणबारे बोल्न पनि उनी कहिल्यै जिब्रो चपाउँदैनन् । त्यसो त उनले अभिनय गरेका सिनेमाको गम्भीर आलोचनाबाट भयभीत भएर अनर्गल टिप्पणी गरेको पनि देखिएको छैन । यसरी हेर्दा, उनका अडान र कामले लोकतान्त्रिक समाजले माग गर्ने खुलापनको पैरवी गरेको बुझिन्छ ।
यसो भन्दै गर्दा, के उनले अभिनय गरेका सिनेमामा भारतीय राष्ट्रवाद, पितृसत्ता र अन्य धेरै आलोचनायोग्य विचारधाराको प्रभाव छैन त ? पक्कै छ । त्यसैले बलिउडका अध्येताहरूले ती सिनेमाको सम्यक् आलोचना अघि सारेका छन् । कतिपयले उनको अभिनयमा समेत थुप्रै खोट औंल्याएका छन् । पछिल्ला केही वर्षमा उनले गहकिला काम गर्न नसकेका टिप्पणीहरू पनि प्रशस्त लेखिएका छन् ।
उनको सृजनात्मक क्षमतामा ह्रास आएकामा टिप्पणी गर्नु र बलिया तर्कका आधारमा उनका कामको आलोचना गर्नु जति जरुरी छ, त्यति नै जरुरी छ उनले लिएको साहसिलो लोकतान्त्रिक अडानको अर्थ बुझ्नु । साथै, उनका भनाइ र गराइलाई समग्रतामा नहेरेर, सन्दर्भबाट बिलकुल काटेर हुने गालीगलौजको अन्तर्य थाहा पाउनु पनि उति नै आवश्यक छ । सन् २०१५ यता बलिउडका अन्य ठूला हस्तीले खुला रूपमा सत्ताको मोलाहिजा गरिरहँदा उनले आफूलाई ती सबैभन्दा अलग्ग उभ्याएका थिए । त्यसैले उनी एक्ला देखिए ।
एक्ला शाहरूखको साहस र अडानको अर्थ बुझाउन नै सायद क्याराभानले उनलाई कभर स्टोरीको विषय बनाएको हो । उनको एक्लोपनालाई इंगित गर्न उनको कलाकारिता र जीवनले प्रतिनिधित्व गर्ने विविध रंग कभरमा राखिएन । पत्रिकाको कभर हेर्दा यस्तो लाग्छ, मानौं केही बेरअघिसम्म भएका रंगहरू कसैले मिहिनेतपूर्वक पुछिदियो र बलजफ्ती श्यामश्वेत बनाइदियो ।
भारतको गेरुवा राजनीतिको हर्कतसमेत कभरमा चित्रित छ । तर, के उनी सदैव एक्लै होलान् ? गहिरिएर सोच्यो भने बुझिन्छ, खासमा उनी अहिले पनि एक्ला छैनन् । संकटमा एक्लै हिँड्न साहस गर्ने, यथार्थ बोल्न र सत्यमा अडिन सक्ने संसारका धेरै लेखक र कलाकारका हारमा उनी पनि समावेश भएका हुन् । श्यामश्वेत शाहरूखले अहिले जगेर्ना गरेकै रंगको विविधता हो ।