सोमबार २३ माघ २०७९


लामो समय पछि नेपाल आइपुगिन् अभिनेत्री जल शाह, के अभिनयमा फर्कलिन् ?

प्रकाशित मिति । २२ पुस, २०७९ ।

काठमाडौं – कुनै समयकी चर्चित अभिनेत्री जल शाह नेपाल आएकी छन् । कैयौ हिट फिल्ममा काम गरेकी जल शाह अमेरिकाबाट नेपाल आएकी हुन् ।डेढ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएकी उनी एक महिनामा नेपालमा नै रहने नेपाल बसाइमा घुमघाम गर्ने, लङड्राइभ गर्नेदेखि फिल्म क्षेत्रका साथीभाइलाई भेट्ने योजना उनले बनाएकी छन् ।

यसअघि आउँदा जलले फिल्ममा फर्कन र अभिनेता रमेश उप्रेतीसँग पुनः सहकार्य गर्न आफूलाई इच्छा लागेको बताएकी थिइन् । अब फिल्ममा फकृन के गछिृन त्यो भने हेर्न नै बाँकी रहेको छ ।

अवतार, ईश्वर, शंकर, घुम्टो, ठूल्दाइ, नेपाली बाबु, एक नम्बरको पाखे, नाता रगतको, नेपाल प्यारो छ, बुहारी, आशिर्वाद, बादलपारि, यो मायाको सागर, सन्यास, जे भो राम्रै भो, जस्ता हिट फिल्म दिउकी उनको डेब्यु फिल्म भने श्रीस्वास्थानी रहेको छ । यति बेला मैतिदेवीस्थित घरमा रहेकी उनलाई फिल्मप्रतिको माया र मोहले भने छाडेको छेन् ।

वामपन्थी पार्टी र मध्यम वर्ग

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुस ४ गते नगरपालिका संघको राष्ट्रिय अधिवेशनमा बोल्नुभएको क्लिप भाइरल भयो । क्लिपमा पोखरेलले संघीयता र प्रदेशका पक्षमा बोल्ने क्रममा नगरपालिकाहरूको नेतृत्वमा नयाँ पार्टी, नयाँ मेयर र पुरानै पार्टीका पनि नयाँ अनुहार चुन्ने प्रवृत्तिलाई सहरिया मध्यम वर्गमा आएको विचलन भन्नुभएको छ ।

देशको प्रमुख वामपन्थी पार्टीका महासचिवले यति बोलिसक्नुभएपछि, नेपाली मध्यम वर्गका बारेमा केही चर्चा गर्नैपर्ने हुन्छ ।

को हो मध्यम वर्ग ?

आर्थिक वर्गको कुरा गर्दा सुरुमा मार्क्स नै आउने भए । उनका अनुसार पुँजीवादी समाजमा श्रमिक (सर्वहारा) र बुर्जुवा गरी दुई वर्ग हुन्छन् । बुर्जुवासँग उत्पादनका साधन हुन्छन्; जस्तै- जग्गा, कल–कारखाना र पैसा । श्रमिकसँग उत्पादनमा चाहिने एक मात्र साधन हुन्छ- श्रम । मार्क्सका पालामा बुर्जुवा र श्रमिकबीच मध्यम वर्ग उल्लेख्य मात्रामा थिएन । थोरै नै भए पनि, मार्क्सले मध्यम वर्गलाई खासै वास्ता गरेनन् ।

उनको भविष्यवाणीमा पुँजीवादको विकासका क्रममा दुई वर्गबीच ध्रुवीकरण (पोलराइजेसन) हुन जान्छ । अर्थात्, धनी अझै धनी हुँदै जान्छन्, गरीब अझै गरिब । यस क्रममा सीमित मध्यम वर्ग पनि श्रमिक वर्गमा परिणत हुन पुग्छ ।

मार्क्सलाई वर्गकै विश्लेषणमा चुनौती दिने अर्का जर्मन विद्वान् हुन्- म्याक्स वेबर । उनले मध्यम वर्गको विशिष्ट खालको विश्लेषण गरे- ह्वाइट कलर वर्कर, साधारणतया शारीरिक श्रम होइन, बरु बुद्धिबाट जीविका आर्जन गर्ने तप्का मध्यम वर्ग हो । यसले श्रमिक वर्गभन्दा बढी ‘लाइफ चान्स’ (जीवनमा चाहिने सरसुविधा) प्राप्त गर्छ, किनभने यसको तलब पनि श्रमिकभन्दा बढी हुन्छ ।

अर्थात्, तलब बढी हुनासाथ स्वास्थ्य, शिक्षा तथा अरू सेवामा मध्यम वर्गको औसत श्रमिकभन्दा बढी पहुँच भयो । त्यस्तै, मध्यम वर्गसँग बुर्जुवाको जस्तो आर्थिक पुँजी नभए पनि, फ्रेन्च लेखक बोर्डुवाले पहिचान गरेको सांस्कृतिक पुँजी भने हुन्छ; जस्तै- चिनजान, बोलीचाली, पढाइ, भाषा, गीत–संगीत, रेस्टुराँमा काँटा–चम्चा चलाउने तरिका इत्यादि । वेबरले मार्क्सभन्दा ठीक उल्टो अर्को पनि दृष्टिकोण राखे- मध्यम वर्ग हराउँदै जाँदैन, बरु यसको आकार बढ्दै जान्छ । वा, श्रमिक वर्गको ठूलो हिस्सा कालान्तरमा मध्यम वर्गमै समाहित हुन्छ ।

मार्क्स वा वेबरमा को ठीक भन्ने कुरो ठूलै प्राज्ञिक विमर्शको विषय हो । तर विगत डेढ सय वर्षको पुँजीवादको इतिहास सरसर्ती हेर्ने हो भने, मध्यम वर्गको आकार भने बढेकै देखिन्छ । कम से कम, नेपालको परिवेशमा मध्यम वर्ग बढेकै छ । यसको मुख्य कारण भनेको चाहिँ प्राकृतिक तवरमै नेपाली जनताको वर्ग उत्थान हुनु हो । यहाँ खान–लाउन संकट हुने किसान वर्गको महत्त्वपूर्ण तप्काले २०४६ सालपछि खाडी–मलेसियामा गएर श्रम बेच्न थाल्यो ।

त्यहाँबाट पठाइएको पैसाका कारण नेपालका सहरबजार र गाउँहरूमा डिस एन्टिनासहितको एकतले पक्की घर बनाउन, आँगनमा एउटा मोटरसाइकल राख्न र छोरा–छोरीलाई नजिकको अंग्रेजी बोर्डिङ स्कुलमा पढाउन सक्ने क्षमता बढेको देखिएको छ । सन् २०२२ सम्म आइपुग्दा तिनै खाडी–मलेसियाका मजदुरले पठाएको पैसाले देशको कुल गार्हस्थ्य उत्पादनको एकचौथाइ धानेको छ ।

त्यही पैसाको ‘मल्टिप्लायर इफेक्ट’ का रूपमा सहरबजारभरि लुगा, खाद्यान्न, स्वास्थ्य, शिक्षा र मनोरञ्जन सम्बन्धी अनेक व्यापार–व्यवसाय चलेका छन् । त्यसैले, खाडी–मलेसियाको मजदुर वर्गले नेपालमा पठाएको पैसाबाट एउटा ठूलो मध्यम वर्गको उदय भएको छ । यसका साथै, नेपालमा पक्का ह्वाइट कलर वर्करहरू – जस्तै: गैरसरकारी संस्थाका कर्मचारीहरू, सरकारी कर्मचारीहरू, शिक्षक, डाक्टर, इन्जिनियर इत्यादि – को संख्या पनि बढेकै छ ।

अवसरवादी कि क्रान्तिकारी ?

मजदुर–किसान वा सर्वहारा वर्गका सम्बन्धमा मार्क्सले ‘गुमाउनका लागि (शरीरमा बाँधिएको) साङ्लोबाहेक केही नभएको’ भनेका थिए । त्यही केही नभएका सर्वहाराले जस्तोसुकै बलिदान दिन सक्ने र समाज बदल्नका लागि क्रान्ति गर्न सक्ने भन्ने अभिप्राय थियो उनको । उन्नाइसौं शताब्दीको औद्योगिक क्रान्ति भैसकेको युरोपमा धनी र गरिबबीच एकदमै ठूलो खाडल थियो एवं मध्यम वर्ग एकदमै सीमित थियो । त्यति बेला क्रान्तिको स्वाभाविक नायक गरिबहरू नै थिए ।

मध्यम वर्गलाई भने मार्क्सवादीहरूले ‘ढुलमुले’ र अवसरवादी भएको आरोप लगाउँदै आएको अहिलेदेखि होइन । तर बीसौं शताब्दीको उत्तरार्द्धको लोकतन्त्रीकरण विषयका ज्ञाता डायट्रिक रोसिमेयरले मध्यम वर्गलाई न क्रान्तिकारी न पुरातनवादीका रूपमा हेरेका छन् । देश, काल, परिस्थिति अनुसार यसले कहिले श्रमिकको त कहिले बुर्जुवाको साथ दिन्छ । नेपालका पछिल्ला दुई दशक हेर्दा चाहिँ यहाँको मध्यम वर्गले मजदुर–किसानसँग मिलेर राजसंस्था फालेकै हो । तर अहिले आएर मध्यम वर्गको राजनीतिक चेतलाई एक महत्त्वपूर्ण वामपन्थी राजनीतिज्ञले विचलनको संज्ञा दिनुभएको छ ।

शंकर पोखरेल यस अर्थमा सही हुनुहुन्छ कि, सहरिया मध्यम वर्गले बोलेको छ अहिले । ‘पोलिटिक्स इज अ डर्टी गेम’ भन्ने सहरिया मध्यम वर्ग यसपालि संसदीय निर्वाचनमा पनि जबर्जस्त रूपमा अगाडि आएको छ । पत्रकार पत्रकारिताको खोल च्यातेर अगाडि आए, अस्पतालमा मात्र देखिने डाक्टरहरू भोट माग्दै घर–घर हिँडे र सुनसरी क्षेत्र नम्बर १ मा यौनिक अल्पसंख्यक अधिकारवादी गोमा तामाङ ‘सरिन’ ले १६ हजार ६ सय ६ मत प्राप्त गर्दै झन्डै चुनाव जितिन् ।

जे होस्, एउटा सकारात्मक ऊर्जा अगाडि आएको छ । ठ्याक्कै यति–उति मध्यम वर्गको भोटले जित–हार भयो भन्ने रिसर्च त अहिले हामीसँग छैन, त्यही पनि, देशको प्रमुख पार्टीका महासचिव पोखरेलको विश्लेषणजस्तै, नयाँ अनुहारहरूलाई जिताउनमा मध्यम वर्गको हात देखिन्छ ।

बल वामपन्थीहरूकै कोर्टमा

कुनै पनि वर्ग आफैंमा अवसरवादी वा क्रान्तिकारी हुँदैन । मजदुर वर्ग गलत दिशामा गयो भने फासीवादमा कसरी होमिन सक्छ भनेर दोस्रो विश्वयुद्धअगाडिको युरोप हेरे पुग्छ । त्यस्तै, अहिलेको सहरिया मध्यम वर्गलाई आफैंमा क्रान्तिकारी कदापि भन्न सकिँदैन । यसमा सीमान्तीकृत जात–जातिलाई हेर्ने नजरमा संकीर्णता देखिन्छ । यसले सुरुदेखि नै संघीय प्रणालीमाथि शंका गरेको छ । यसमा वस्तुगत विश्लेषण र योजनाभन्दा पनि लोकप्रियतावाद हावी देखिन्छ । यद्यपि सहरिया मध्यम वर्गको अहिलेको राजनीतिक आवाज पुराना पार्टीहरूको तौरतरिकाविरुद्धको प्रतिक्रिया नै हो ।

तर नयाँ ढाँचामा अगाडि बढ्न खोजे पनि, सहरका मध्यम वर्गको ठूलो हिस्सा अझै पनि वामपन्थी रुझान राख्छ । यो भोट बैंकसँगसँगै सम्पूर्ण सहरिया मध्यम वर्गलाई आफ्नो पकडमा राखिराख्न वामपन्थीहरूले के गर्नुपर्छ त ? एउटा राजनीतिक दल, त्यसमाथि पनि वामपन्थी दलले सर्वहारा र मध्यम वर्गलाई सँगै राखेर वैचारिक नेतृत्व दिनु उसको जिम्मेवारी होइन र ? यस्तो खालको नेतृत्वका लागि अब वामपन्थीहरूले आफ्नो पार्टीगत दृष्टिकोणलाई शास्त्रीय मूल्यमान्यताबाट माथि उठेर परिष्कृत बनाउँदै लानुपर्ने देखिन्छ । वास्तवमा धेरै पछि कुनै वामपन्थी नेताले देशको राजनीतिक वातावरणको विश्लेषणमा ‘वर्ग’ को भूमिका अगाडि ल्याएको सुनियो । यो आफैंमा स्वागतयोग्य विषय हो ।

सायद राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र सामान्यतः मध्यम वर्गको राजनीतिक हस्तक्षेपले फुकुयामाको ‘इन्ड अफ हिस्ट्री’ लाई नेपाली सन्दर्भमा आत्मसात् गरेको देखिन्छ । र सायद अब नेपाली जनताको एउटा महत्त्वपूर्ण हिस्साले परम्परागत वामपन्थ र दक्षिणपन्थको राजनीतिक आयाम चिरेर अहिले वर्तमानमा सर्भिस डेलिभरीलाई प्राथमिकतामा पो राखेको हो कि ?

अहिले बिदेसिनुपर्ने बाध्यताको विकल्प पो खोजेको हो कि ? बिदेसिँदै गर्दा पनि, राहदानी बनाउँदा लामो लाइन घटाउन खोजेको हो कि ? सस्तोमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा खोजेको हो कि ? त्यसैले बढ्दै गएको सहरीकरणसँगै बढेको मध्यम वर्गको आकार, अनि यस वर्गसँगै बढेको शैक्षिक स्तर र त्यसबाट जन्मेका आकांक्षाहरूलाई वामपन्थीहरूले गम्भीरताका साथ सम्बोधन गर्नैपर्छ ।

यदि वामपन्थीहरूले सहरिया मध्यम वर्गको नयाँ प्रवृत्तिलाई ‘विचलन’ नभनी, यसलाई सही वैचारिक नेतृत्व दिन सकेनन् भने, नेपाली राजनीतिमा गैर–ऐतिहासिक प्रवृत्ति हावी भएर अन्त्यमा पुँजीवाद नै सर्वेसर्वा हो भन्ने भाष्य अघि बढ्न सक्नेछ । र त्यस्तो भएमा, नेपाली कांग्रेसले त आफ्ना भोटरहरू मात्र गुमाउला तर वामपन्थीहरूले चाहिँ ठूलो वैचारिक चुनौतीको पनि सामना गर्नुपर्नेछ । अहिलेसम्म चाहिँ, बल वामपन्थीहरूकै कोर्टमा छ ।


Last Updated on: January 6th, 2023 at 10:08 am


तपाईको प्रतिक्रिया