सोमबार २३ माघ २०७९


‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षमा प्रियंका, एक भाग सुटिङ

प्रकाशित मिति । २१ पुस, २०७९ ।

काठमाडौ । नायिका प्रियंका कार्की अब कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्ष बनेकी छिन् । माघको दोश्रो साताबाट नेपालको कुनै एक टेलिभिजनबाट प्रशारण हुने यो रियालिटी शोको अध्यक्ष भएर प्रियंकाले एक भाग छायांकन पनि गरिसकेकी छिन् ।

यो शोका संचालक जितु नेपालले एक भाग छायांकन भएको पुष्टी मेरो फिल्मसँग गरेका छन् ।

यसअघि यो शोको अध्यक्षमा दीपाश्री निरौला र करिश्मा मानन्धर थिए । तर, यी दुबै शोमा दोहोरिएनन् । करिश्माले दोश्रो सिजनको ‘मुन्द्रेको कमेडी क्लब’मा अध्यक्षको जिम्मा सम्हालेकी थिइन् ।

आधा दर्जन फिल्मले ल्याएको उत्साह र आसा

काठमाडौँ — कोभिडपछि कस्ता फिल्म बन्नुपर्छ ? एक पत्रकार सम्मेलनमा निर्देशक नवीन सुब्बाले यो प्रश्नको जवाफमा भनेका थिए, ‘महामारीपछिका फिल्म मौलिक, गुणात्मक र प्रतिस्पर्धी हुनुपर्छ ।’

नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्न नसके नेपाली फिल्मको अस्तित्त्व नै नरहनेसमेत भनाइ सुब्बाले राखेका थिए । के महामारीपछिका फिल्ममा यी तत्त्वहरु भेटिन्छन् त ? अंग्रेजी वर्ष २०२२ लाई फर्केर हेर्दा आधा दर्जन फिल्म यी गुणहरुले भरिएको भेटियो ।

यो वर्ष प्रदर्शनमा आएका दर्जन बढी फिल्महरुमा केही फिल्महरुले भने नेपाली फिल्मको नयाँ पहिचान बनाउने प्रयास गरेको देखिन्छ । यी फिल्महरुमा कमजोरी पक्कै थिए । तर फिल्म निर्माणका केही त्रुटीहरुकाबीच पनि व्यवसायिक बजारलाई चुनौति दिँदै फरक धारका फिल्महरु बन्नु फिल्म क्षेत्रका लागि साँच्चै यो वर्ष उत्साह र आसाको वर्ष बन्यो ।

व्यवसायिक रुपले करोडौं कमाउने ‘कब्बडी ४’देखि ‘ऐना झ्यालको पुतली’जस्ता फरक शैलीका फिल्मले पनि दर्शक पाइरहनु यो वर्ष फिल्म नगरीमा देखिएको आसलाग्दो दृश्य हो । आसा गरिएका फरक धारका केही फिल्महरुले बक्स अफिसमा पानीसमेत भन्न नपाउनु लगानीकर्ताका लागि दु:खको कुरा होला तर यी फिल्महरुले दर्शकमा रोपेको नयाँ स्वादले पक्कै फिल्म लिट्रेसीमा टेवा पुर्‍याउनेछ ।

अन्तर्राष्ट्रिकरणकै हिसाबले हेर्ने हो भने लघु फिल्म ‘लोरी’को कान्स जीत, अनि ‘ऐना झ्यालको पुतली’ले ‘ढाका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा उचालेको अवार्डले पनि फिल्महरुमा नयाँ उत्साह थपिदिएको छ ।

त्यस्तै, सन्तोष सेन निर्मित ‘प्रेमगीत ३’ले छिमेकी राष्ट्र भारतको ठूलो बजारमा टेकेको कदमले वैकल्पिक बाटोको सम्भावना पनि देखाइदियो । यो वर्ष बलिउड फर्मुलाका फिल्महरु नबेका होइनन् तर फरक धारका फिल्महरुको पाएको प्रतिक्रिया, दर्शक अनि अनेक उपलब्धिहरुले वर्ष २०२२ फिल्म क्षेत्रका लागि फलदायी रह्यो भन्दा फरक नपर्ला । २०२३ मौलिक, गुणात्मक र प्रतिस्पर्धी फिल्महरुको वर्ष बनोस् ! अब फर्केर हेरौं २०२२ का फरक शैलीका फिल्महरु:

ऐना झ्यालको पुतली

२० औं ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ यो वर्ष नेपालबाट ओस्कारमा सिफारिस गरिएको फिल्म हो । फरक विषयवस्तु, फरक कथ्य शैलीका यस्ता फिल्महरु महोत्सव लक्षित गरी बनाइएका हुन्छन् ।

तर निर्देशक बिडारीले यो फिल्मलाई नेपाली बजारमै प्रदर्शन गर्नका लागि बनाए । फर्मुला फिल्म, दुईअर्थी संवादले भरिएका कमेडी फिल्म मन पराइरहेको बजारमा बिडारीले ‘ऐना झ्यालको पुतली’ प्रदर्शन गरेर चुनौति मोल्नु आफैंमा सकारात्मक विषय हो । यही फिल्ममार्फत नेपाली फिल्म क्षेत्रले एक सुन्दर कथ्यवाचक प्राप्त गर्‍यो ।

दिदीभाइको सम्बन्धमाथि बनाइएको ‘ऐना झ्यालको पुतली’मा खासै ठूला मुद्दा समेटिएको छैन । तर त्यही सम्बन्धहरुको सुक्ष्मताबीच बिडारीले देखाइदिएको नेपाली समाज, गरिबी अनि महिलाका चित्रणले भने बहसको सुरुवात गरिदियो ।

दिदीभाइको सम्बन्ध, उनीहरुले बाँचेको समय र भूगोलमार्फत धेरै दर्शक आफ्नो बाल्यकालमा फर्किए । केन्द्रीय द्वन्द्वमा प्रष्ट पटकथा, बाल मनोविज्ञानलाई केन्द्रमा राखेर बुनिएको संवाद, चरित्रहरुको स्थापनादेखि अवतरणमा गरिएको मिहेनत, एस्पेक्ट रेसियोको खिचाइ, ध्वनीमा देखाएको चलाखी थुप्रै पक्षहरुले यो फिल्मलाई बलियो बनाएको छ ।

प्रकाश

दिनेश राउतजस्ता व्यवसायिक फिल्मकर्मीहरुमा फरक शैलीका फिल्म बनाउने चाह थपिनु नेपाली फिल्म क्षेत्रले २०२२ मा पाएको राम्रो सफल्ता हो । हुन त यसअघि ‘प्रसाद’मार्फत नै राउतले फिल्म निर्माणमा केही नयाँ गर्ने आभास दिलाएका थिए । तर ‘प्रकाश’ले भने राउतबाट अझ परिस्कृत कामहरुको आसा जगाइदिएको छ ।

प्रदीप खड्का अभिनित ‘प्रकाश’ विभेद, हली जीवन, द्वन्द्वमा आफ्नालाई गुमाउनेहरुको पीडा समेटिएको थियो । दुर्गम गाउँमा जन्मिएका एक पात्रले आफ्नो गरिबीबीच शिक्षक बन्ने सपना पूरा गर्न कस्तो आर्थिक, सामाजिक अनि राजनैतिक समस्याहरुको सामना गर्नुपर्छ भन्ने कथा फिल्ममा समेटिएको थियो । जुम्ला को लवज, भाषा अनि त्यहीँका पात्रहरुमार्फत देखाउन खोजिएको संसारमा दर्शकले मौलिकपना भेटे ।

यही फिल्ममार्फत ‘सिंक साउन्ड’मा उत्तम न्यौपानेले गरेको नयाँ अभ्यासा तारिफलायक थियो । ध्वनिले पनि फिल्ममा कथा वाचनको लय पक्रेको कुरा पात्रहरूको तनाव बढ्दै जाँदा गड्याङगुडुङ गर्ने आकाशको बिम्बले प्रष्ट पार्थ्यो । सपना प्रेम र राजनीतिको समिश्रणमा भनिएको फिल्मको कथाले दर्शकको मन हुँडल्यो । तर यही फिल्ममार्फत कोटा प्रणालीलाई घुमाउरो शैलीमा प्रहार गर्ने फिल्मकर्मीको नियतमाथि भने फिल्म वृतमा ठूलो बहस छेड्यो ।

दोख

१० वर्षसम्म चलेको माओवादी सशस्त्र द्वन्द्वको प्रभावमा परेकाहरुको सन्तुलित कथा समेटिएको फिल्म हो ‘दोख’ । रंगकर्मी एवं निर्देशक अनुप बराल निर्देशित यो फिल्म बन्न लामो समय लाग्यो । युद्धको असरमा केन्द्रित यो फिल्मले युद्धकै कथा त भन्दैन । तर तर युद्धको पृष्ठभूमिमा लेखिएको फिल्मले युद्धले बनाएका घाउहरू समेट्छ । जुन घाउ खतका रुपमा अझै बाँकी छन् ।

माओवादी युद्धको समयमा दुई पक्षबीच पिल्सिएका जनता, उनीहरूको मनस्थिति र बाँच्ने संघर्ष फिल्ममा देखाइएको छ । नेपाली समाजले भोगेको एउटा यस्तो कालखण्डको यथार्थ चित्रण गरिएको यस फिल्ममा पात्रहरू समाजबाट टप्पक्क टिपिएका देखिन्छ भने ठेट संवाद दर्शकलाई फिल्मसँग जोड्ने बलियो कडी बन्यो ।

फिल्ममा थुप्रो चरित्रलाई उत्तिकै स्थान दिन खोज्दा एउटै गतिमा फिल्म नहिँडेको आभास हुन्छ । युद्ध र फुटबलको कथालाई समानन्तर ढंगले लैजान नसक्दा फिल्मको केन्द्रीय द्वन्द्व अलमलमा पर्छ । चुथ्रे विवादले दुई गाउँबीच फुटबल प्रतिस्पर्धा आयोजनाको घोषणा त हुन्छ ।

तर फिल्मको कथा युद्धतिर बढी ढल्किँदा मध्यान्तरसम्म फुटबलको प्रसंग हराएको हो कि भन्ने पनि लाग्छ । यी कमजोरीका बावजुद पटकथा, निर्देशन अनि प्राविधिक पक्षको तालमेलले फिल्मलाई सुन्दर बनाएको थियो ।

चिसो एस्ट्रे

दीन्स पाल्पाली निर्देशित फिल्म ‘चिसो एस्ट्रे’मा कथा थिएन तर प्रस्तुतिकरण थियो भन्दा फरक पर्दैन । फर्मुला फिल्मको नियम तोड्दै नयाँ प्रयोग गरिएको यो फिल्म कवितात्मक संवाद, रंगहरूको कलात्मक संयोजन, सुन्दर फ्रेममा कैद गरिएका दृश्य एवं नौलो कथ्य शैलीले भरिएको थियो । तर कवि भूपी शेरचनको कविता ‘चिसो एस्ट्रे’मा आधारित यो फिल्ममा खासै कथा भने थिएन ।

काठमाडौंमा सपना लिएर आइपुगेका पात्रहरुले शहरसँगको अन्तरघुलनमा आफ्नो विश्वास, निर्दोषपना अनि मान्यतासँगै चुकाएका मूल्यमा फिल्मको कथा केन्द्रित छ । जीवन चलाउनका लागि काठमाडौंमाख ट्याक्सी हाँक्दै आएका पात्रसँग भेटिने पात्रहरु अनि एउटा समयपछि छुटिँदै जाने सम्बन्धहरु फिल्ममा समेटिएको छ ।

यो फिल्ममा आँखा जुध्दा ‘आँखा तर्‍यो’ भनेर निहुँ खोज्ने युवा उमेर, उम्लिएको रगतको मात, जवानीको जोश अनि हराएको होस देखाउँछ । सहरका गल्लीहरूमा भेटिने मदन, ज्याकी, रोनी र शालीनताको कथाले दर्शकलाई बाँधेर राख्छ । दिव्यको गहकिलो स्वरमा कथा वाचन । कविताको लयमा बग्ने संवाद अनि कलाकारहरूको बेजोडको अभिनय फिल्मको सबैभन्दा बलियो पक्ष बन्यो तर कथा नहुँदा खल्लो स्वाद पस्कियो ।

पानी फोटो

द्वन्द्वमा हराएको छोराको आसमा पर्खिरहेको एउटा जोडीको आसा, छटपटी अनि पीडाको मिश्रण समेटिएको छ फिल्म ‘पानी फोटो’मा । खगेन्द्र लामिछाने निर्देशित यस फिल्ममा अभिनयका गुरु अनुप बराल र मेनुका प्रधानले आफ्ना छोराको आसमा बिताएको क्षणलाई निकै मार्मिक ढंगमा देखाइएको छ ।

द्वन्द्वको समयमा हराएकाहरुको पर्खाइ मात्रै होइन पर्खेकाहरुले खोज्नलाई गरेको संघर्ष, गर्ने यात्राहरु फिल्ममा प्रस्तुत छ । त्यस्तै प्रेमीकै पर्खाइमा रहेका कयौं प्रेमिकाहरुको आशाका रुपमा राधा(मलिका महत) पात्रलाई पनि देखाइएको छ । द्वन्द्वमा हराइएका, लखेटिएका, बेपत्ता पारिएका पात्रहरु फिल्ममा देखिन्छन् । द्वन्द्वकै प्रभावमा लेखिएको यो फिल्मले भन्ने हृदयस्पर्धी कथाले अझै द्वन्द्वमा हराएका आफन्त, इष्टमित्रले गरेको पर्खाइको झल्को दिन्छ ।

चिसो मान्छे

कोभिडको सेटिङमा तयार भएको ‘चिसो मान्छे’ले आफ्नो पतिको शवलाई बाजुरासम्म पुर्‍याउन गरिएको यात्राको कथा भन्छ । कोभिडकालमा कतार पुगेका छोराको शव लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका बाबु(देशभक्त खनाल) र पत्नी(स्वस्तिमा खड्का)को दृश्यबाट फिल्म अगाडि बढ्छ । शव लिएर बाजुरा पुग्दै गर्दा त्यही पत्नीमा देखिने परिवर्तनमा कथा केन्द्रित छ ।

उनी आफ्नो पतिको शवलाई लिएर किन चिसो छिन्, दुईको सम्बन्ध आखिर कसरी चिसो बन्यो भन्नेतर्फ जब फिल्मको कथा खुल्दै जान्छ दर्शकको ध्यान पनि तान्दै जान्छ । पतिको शवलाई बाजुरासम्म पुर्‍याउँदा आफूलाई चिनेकी एक महिला पात्रको कथा ‘चिसो मान्छे’मा बेजोडले देखाइउको छ । पटकथामा केही कमजोरी भेटिए पनि पुरुष निर्देशक दीपेन्द्र के खनालले महिलाका विषयवस्तु, मनोविज्ञानलाई यसरी पर्दामा पस्कन खोज्नु पनि प्रशंसाको विषय हो ।

राधा

सुवर्ण थापा निर्देशित ‘राधा’ प्रदर्शनमा आएका यी फरक धारका फिल्महरुमध्येमा सो पाउनकै लागि धेरै संघर्ष गर्नुपरेको फिल्मको अग्रपंक्तिमा पर्‍यो । हराएको पतिलाई खोज्न एउटी पत्नीले गर्ने संघर्ष, त्याग र आसाको कथा ‘राधा’मा प्रस्तुत छ । फिल्मको प्रमुख पात्र हुन् राधा(श्रृष्टी श्रेष्ठ) । आफ्नो पतिलाई खोज्न राधाले गर्ने हर प्रयास, चाल्ने हर कदमलाई सशक्त दृश्यभाषामार्फत राधामा देखाइएको छ । लामो समयपछि फिल्म निर्माणमा फर्किएका सुवर्णलाई भने ‘राधा’ले निरुत्साहित पार्‍यो । प्रदर्शनको केही दिनमै फिल्म हलबाट निकाल्नु परेको थियो ।

यससँगै अन्य कतिपय सर्ट फिल्महरू अन्तर्राष्ट्रिय मञ्चहरूमा जाने अवसर पाए । र तिनले राम्रो प्रशंसा पनि पाए । यसबीचमा केही नयाँ फिल्मकर्मीका कामले फिल्म क्षेत्रमा उत्साह थपेका छन् ।


Last Updated on: January 5th, 2023 at 4:01 pm


तपाईको प्रतिक्रिया