
वन निर्देशनालयको भवन निर्माणमा प्रक्रिया नपुगेको भन्दै धरान उपमहानगरले टाँस्यो सूचना
प्रकाशित मिति । २१ पुस, २०७९ ।
सुनसरी — धरान उपमहानगरपालिकाले तीनकुनेस्थित निर्माणाधीन प्रदेश १ वन निर्देशनालयको भवन अवैध रुपमा निर्माण भएको भन्दै भत्काउने चेतावनीसहित सोमबार सूचना टाँसेको छ । उक्त सूचना सोमबार निर्माणाधीन भवनबाहिर टाँसिएको हो ।
उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङको हस्ताक्षर रहेको सूचनामा भनिएको छ, ‘धरान उपमहानगर क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्दा धरान उपमहानगरपालिकाको अनिवार्य निर्माण स्वीकृति लिनुपर्ने र नक्सा पास गराएर मात्रै निर्माण गर्नुपर्ने नियम रहेको हुँदा सो नियमअन्तर्गतको कुनै पनि प्रक्रिया पूरा नगरी नियम मिचेर बनाएको देखिएकाले निर्माण कार्य तुरुन्त रोकी प्रक्रियामा आउनु होला‚ अन्यथा अवैध संरचना हटाउनुपर्ने नियमअनुसार कारबाही अघि बढाइने व्यहोरा जानकारी गराइन्छ ।’
वन निर्देशनालयको भवन वन क्षेत्रभित्र निर्माण भइरहेको छ । विराटनगरलाई प्रदेश १ को राजधानी घोषित गरेपछि वन मन्त्रालयको निर्देशनालय धरानमा राख्ने योजनाअनुसार उक्त भवन निर्माण भएको हो ।
तर‚ प्रमुख साम्पाङ र वनबीच विवाद गत भदौदेखि सुरु भएर उच्च अदालतसम्म पुगेको अवस्थामा यो पछिल्लो फन्डा सतहमा देखिएको हो । वन क्षेत्रभित्र पर्ने धरान-२० स्थित नमुना टोलमा प्रमुख साम्पाङले माया धराने साबुन उद्योग सञ्चालन गर्न खोज्दा वन डिभिजन कार्यालयले सरकारबाट भोगाधिकार प्राप्ति गरेपछि मात्र वन क्षेत्रमा उद्योग सञ्चालन गर्न सकिने जानकारी दिएको थियो ।
तर‚ वनको सुझाव अटेर गरेर आफूखुसी उद्योगका लागि भवन निर्माण गर्न डोजरले जमिन सम्याउन थालेपछि सुनसरीको वन डिभिजन कार्यालयले प्रमुख साम्पाङविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको थियो । उच्च अदालतले गत सातामात्र धरान उपमहानगरपालिका र प्रमुख साम्पाङको नाममा वन क्षेत्रमा कुनै पनि निर्माणको कम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।
उच्चको आदेश जारी भएको एकसाता नबित्दै साम्पाङले वन मन्त्रालय अन्तर्गतको करिब ९ करोडको बजेटमा निर्माण भइरहेको वन निर्देशनालयको भवनको नक्सा पास नभएको भन्दै अवैध निर्माण करार गरेपछि धरानमा दुई पक्षबीच जुहारी सुरु भएको छ ।
वन निर्देशनालयका निर्देशक रवीन्द्र महर्जनले भने, ‘अहिले हामी धरान-१३ मा भाडाको घरमा कार्यालय स्थापना गरेका छौं । प्रदेश सरकारले दिएको बजेटले १४ जिल्लाका १७ कार्यालय धरानबाट हेर्ने गरी वन निर्देशनालयको भवन निर्माण भइरहेको छ । धरानका जनतालाई वन निर्देशनालयको कार्यालय चाहिँदैन र ?’
भवनको नक्सापासबारे पूरा गर्नुपर्ने प्रक्रिया वन निर्देशनालयले गर्ने उनले बताए । उनले आफूहरूले धरान उपमहानगरपालिकाको ऐन नियमलाई अटेर नगरेको बताए । उनले भने, ‘सामान्यतया चारकिल्ला भएको र नम्बरी जग्गामा घर वा भवन बनाउँदा स्क्वायरफुटअनुसार तोकिएको शुल्क तिरेर स्थानीय तहमा नक्सा पास गरिन्छ ।
तर‚ हाम्रो त चारकिल्ला पनि छैन । नम्बरी पनि परेन । धनीपुर्जा पनि छैन । ऐलानी पर्ती पनि होइन । विशुद्ध वनभित्र पर्ने भएकाले वनकै निर्देशनालयको डिजाइनअनुसार भवन निर्माण भइरहेको छ । अब कसरी र कुन प्रक्रिया अपनाएर नक्सा पास गर्नुपर्ने हो त्यो सबै गर्न तयार छौं ।’ उनले भवन निर्माण अन्तिम चरणमा पुगेको बताए ।
उक्त भवन बहुवर्षीय योजनाअन्तर्गत दुई वर्षअघि नै टेन्डर आह्वान गरेर निर्माण भएको निर्देशक महर्जनले बताए । विगतमा ३० को दशकदेखि ५० को दशकसम्ममा धरानमा रहेका आधा दर्जनभन्दा बढी क्षेत्रीय स्तरका र आधा दर्जन जिल्ला र अञ्चलस्तरीय सरकारी कार्यालयहरू अन्यत्र सारिएका थिए । सारिएका ती सरकारी कार्यालयका भर्पाइका रुपमा संघीय संरचनाअनुसार धरानले वन निर्देशनालयमात्र पाएको बेला यो अर्को विवाद निस्किएको हो ।
वन विभागका एक वरिष्ठ अधिकृतले भने, ‘धरानमा वन निर्देशनालयको कार्यालय आवश्यक छैन भनेर धरान उपमहानगरपालिकाका मेयर साम्पाङले भन्छन् भने हामी अर्को जिल्लामा पनि जान सक्छौं । सरकारी वनको क्षेत्रमा निर्माण भइरहेको वन निर्देशनालयको भवन अवैध भएकाले हटाउ भन्नुको तात्पर्य के हो ? वनले मुद्दा लगायो भन्दैमा ‘इगो’ साँध्न नहुने हो जनप्रतिनिधि भएर ।’
उनले माया धराने साबुन उद्योग वन क्षेत्रमा सञ्चालन गर्न जमिन अतिक्रमण गर्ने प्रमुख साम्पाङको ठाउँमा कुनै सर्वसाधारण भएको भए यतिबेला जेल परिसकेका हुन्थे तर जनप्रतिनिधि साम्पाङको मानमनितो राख्दै उच्च अदालतमा मुद्दा मात्र दायर भएको पनि बताए ।
फिक्सिङ र बेटिङको जालो
‘जुन टिमले फिक्सिङ, बेटिङ र स्पट फिक्सिङ गर्छ, त्यो टोली हार्नका लागि खेल्छ, नेपाल टी–२० लिगमा कुन–कुन टोली हार्नका लागि खेलेका छन्, त्यो नाङ्गो आँखाले नै हेर्न सकिन्छ,’ क्यानकै एक सदस्य भन्छन्, ‘१–२ टोलीबाहेक अन्य सेभेन थ्री स्पोर्ट्सकै वरिपरिका हुन् ।’
काठमाडौँ — नेपाल टी–२० लिगका खेलमा ‘म्याच फिक्सिङ र स्पट फिक्सिङ’ जस्तो गम्भीर आरोप लागे पनि नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई भ्रामक र मिथ्या सूचनामात्र भएको जनाएको छ । तर, पारिश्रमिक नपाएको तथा म्याच फिक्सिङ, स्पट फिक्सिङ र बेटिङका कारण नेपाल टी–२० लिग बदनाम बनेको छ ।
यी आरोपका बावजुद नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यान भने आफ्नो बचाउमा उभिएको छ । यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सचिव प्रशान्तविक्रम मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा बुधबार क्यानले भनेको छ, ‘नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी फैलाइएको यस्ता गतिविधि अन्त्य गर्न नेपाल क्रिकेट संघ प्रतिबद्धता जनाउँछ । म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको नेपाल टी–२० लिगको एन्टी करप्सन युनिट (एसीयु) मा उजुरी बुझाउन संघ विनम्र अनुरोध गर्दछ ।’
नेपाली टी–२० लिगमा कमेन्ट्री गरिरहेका सचिन तिमल्सिनाले अघिल्लो दिन सार्वजनिक रूपमा नै ‘स्पट बेटिङ’ भएको दाबी गर्दै आफू कमेन्ट्री टोलीबाट अलग भएको जनाएका थिए । काठमाडौं नाइट्सको नेतृत्व गरिरहेका नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले समेत आफ्नो टोलीका एक खेलाडीलाई सट्टेबाजले प्रस्ताव गरेको खुलासा गरेका थिए । ‘हाम्रो टिमको एकजना खेलाडीलाई सट्टेबाजले प्रस्ताव राखेको थियो । नियमअनुसार नै हामीले त्यो एसीयूलाई रिपोर्ट गरेका थियौं,’ ज्ञानेन्द्रले भनेका थिए ।
सचिन र ज्ञानेन्द्र दुवै नेपाल टी–२० लिगका एक हिस्सा हुन् । सचिनले कमेन्ट्री दौरान जे देखे त्यसमा आफ्नो खुला भनाइ राखे । केही विदेशी टोलीका खेलाडी र नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका अलराउन्डरले टी–२० लिगमा स्पट बेटिङ गरेको जनाउँदै उनले ‘भ्रष्टचारी र सट्टेबाजको हातमा’ यो लिग रहेको भनी शंकामात्र होइन ठोकुवा नै गरेका छन् । आफ्नो टोलीमाथि आपराधिक प्रस्ताव आएपछि ज्ञानेन्द्रले पनि एसीयूमा रिपोर्ट गरिसकेको विषयलाई उजागर गरिसकेका छन् ।
पूर्वकप्तान पारस खड्काले नेपाल टी–२० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको जनाएका थिए । पारस, सचिन र ज्ञानेन्द्रको यस्ता गम्भीर आरोप र दाबीमा छानबिन गरेर अगाडि बढ्नुपर्नेमा उल्टै भ्रामक र मिथ्या सूचना भनेर विज्ञप्तिबाजी गर्नु क्यानको हदैसम्मको लज्जाजनक कार्य हो । यस्ता गम्भीर प्रकारको फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित पेस गर्न भन्दै क्यान जिम्मेवारीबाट पछि हटेको भनी आलोचना सुरु भएको छ ।
क्यानले नेपाल टी–२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई कमर्सियल एन्ड स्ट्रेजेटिक पार्टनर बनाएर भित्र्याए पनि सुरुदेखि नै सम्पूर्ण जिम्मेवारी उसैलाई सुम्पँदै क्यान आफू ‘अतिथि’ को भूमिकामा बस्दा स्पट फिक्सिङ र बेटिङको जालो सल्बलाएको खेलाडीहरू स्वयं बताउँछन् ।
‘खेलाडी तथा अफिसियललाई सट्टेबाजले बेटिङ र स्पट फिक्सिङका लागि प्रस्ताव गर्नु अहिले सामान्य जस्तै हो, त्यो विषय एसीयूमा रिपोर्ट गरेपछि उसैले हेर्छ,’ नेपाल टी–२० लिगमा सहभागी एक खेलाडी भने, ‘यो लिगमा त भारतीय पक्ष सबै जस्तो सट्टेबाज हुन्, उनीहरू हरेक टिमका खेलाडी तथा अफिसियललाई खुलम खुला बेटिङ र स्पट फिक्सिङका लागि प्रस्ताव गरिरहेका हुन्छन् ।’
स्रोतका अनुसार नेपाल टी–२० लिगका क्रममा ७–८ नेपाली खेलाडीले आफूलाई सट्टबाजले बेटिङ र स्पट फिक्सिङका लागि प्रस्ताव गरेको उजुरी एसीयूमा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट नेपाल टी–२० लिगको एसीयू प्रमुखका रूपमा वीर सिंह आएका छन् । खेलाडीको उजुरी र आफैंले दर्जनौं विदेशी खेलाडीमाथि गरेको छानबिनका आधारमा सम्भवतः सिंहलाई यसले सबैभन्दा व्यस्त प्रतियोगिता बनाएको छ ।
कमेन्टेटर सचिनले पोखरा एभेन्जर्सका पाकिस्तानी खेलाडी अमिर हमजाले एक खेलको अन्तिम ओभरमा ३ वटा नो–बल फालेर खेललाई प्रभावित पारेको आरोप लगाएका थिए । हमजाले डिसेम्बर ३० मा फारवेस्ट युनाइटेडसँगको खेलको इनिङ्सको अन्तिम ओभरमा ३ नो–बल र एउटा वाइड बल फालेका थिए । पहिलो ४ बलमा १८ रन दिएका हमजाले अन्तिम दुई बलमा रशिद खान र प्रकाश जैसीको विकेट लिएका थिए ।
फारवेस्टले करण केसी, विराटनगर सुपर किंग्सले रोहित पौडेल र जनकपुर रोयल्सले सोमपाल कामीलाई ‘मार्की’ खेलाडीको रूपमा लिएको थियो । यी तीनै नेपाली क्रिकेटमा जमेका खेलाडी हुन् । तर, यी तीनैको स्थानमा विदेशी खेलाडीलाई कप्तान बनाइएको थियो । यही निर्णयसँगै नै नेपाल टी–२० लिगमा फिक्सिङको गन्ध आएको नेपाली खेलाडीहरू सुनाउँछन् ।
करणको स्थानमा हसमतुल्लाह साहिदीलाई कप्तान बनाइएको थियो । साहिदी अफगानिस्तानको टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय कप्तान पनि भएकाले यसलाई सहज लिन सकिन्छ । तर नेपालका कप्तान रोहितको स्थानमा विराटनगरले एन्ड्रे म्याकार्थी र सोमपालको स्थानमा वेस्ट इन्डिजका ट्रेभोन ग्रिफिथलाई दिइएको जिम्मेवारीका हिसाबमा उनीहरूको प्रदर्शन निकै कमजोर देखिन्छ । रोहित नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । जबकि म्याकार्थीको नाममा दुई एकदिवसीय अन्तर्राष्ट्रिय र एक ट्वान्टी–२० अन्तर्राष्ट्रियमात्र रहेको छ ।
वर्ष २०२२ मा सोमपाल एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने सूचीमा ओमानका विलाल खानभन्दा मात्र पछाडि रहेर दोस्रो स्थानमा रहे । उनले आफ्नो कप्तानीमा धनगढी प्रिमियर लिग र एभरेस्ट प्रिमियर लिगमा विजेता बनाएका थिए । तर उनको स्थानमा केवल २१ प्रथम श्रेणीको खेल खेलेका ग्रिफिथलाई जनकपुर रोयल्सले कप्तानी जिम्मेवारी दिएको थियो ।
‘कप्तानी नपाउँदा नराम्रो अनुभव भएको थियो । तर यो निर्णय व्यवस्थापन र टिम मालिकको हो । हामीले त्यसमा केही गर्नै मिल्दैन । यो मेरो हातको कुरा पनि भएन,’ रोहितले अघिल्लो दिन भनेका थिए । उनले आफ्नो टोलीको केही विदेशी खेलाडीले स्वाभाविक खेल नखेलेको भन्दै क्यानमा सरोकारवालालाई गुनासो पनि गरेका थिए । पछिल्लो दुई खेलमा उनलाई विराटनगरको कप्तान बनाइएको छ ।
जनकपुरका भारतीय प्रशिक्षक उमेश पटवाल र विराटनगरबाट खेलेको जिम्वाबेका अलराउन्डर सिकन्दर राजा सुरुआती खेलपछि प्रतियोगिता छाडेर फर्किएका थिए । उनीहरूको प्रस्थानलाई पारिश्रमिक नपाएको तथा बेटिङका घटनासँग जोडिएर हेरिएको छ । त्यसयता विदेशी खेलाडी तथा अफिसियलको घर फर्किने लर्को छ । केही विदेशी खेलाडीले पारिश्रमिकभन्दा पनि आफूलाई घर फर्किने फ्लाइट टिकट चाहिएको भन्दै दुखेसो गरिरहेका छन् ।
‘जुन टिमले फिक्सिङ, बेटिङ र स्पट फिक्सिङ गर्छ, त्यो टोली हार्नका लागि खेल्छ, नेपाल टी–२० लिगमा कुन–कुन टोली हार्नका लागि खेलेका छन्, त्यो नाङ्गो आँखाले नै हेर्न सकिन्छ,’ क्यानकै एक सदस्यले भने, ‘१–२ टोलीबाहेक अन्य सेभेन थ्री स्पोर्ट्सकै वरिपरिका हुन् । फिक्सिङ र बेटिङको उजुरीपछि एसीयूका टोलीले ती टोलीका व्यवस्थापकलाई डग आउटमै जान रोकेको थियो । बेटिङबाट आउने रकमले प्रतियोगिता सञ्चालन गर्ने दाउमा रहेका भारतीय आयोजक त्यसपछि भागेको देखिन्छ ।’