
जन्मदर्ता, नागरिकता र शैक्षिक प्रमाणपत्रले भन्छ, ‘सन्दीपविरुद्ध उजुरी दिने किशोरी नाबालिग’
प्रकाशित मिति । २० पुस, २०७९ ।
जन्मदर्ता, नागरिकता र शैक्षिक प्रमाणपत्रले भन्छ, ‘सन्दीपविरुद्ध उजुरी दिने किशोरी नाबालिग’
राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको आरोप लगाउने किशोरी बालिग वा नाबालिग भनेर चर्चा चलिरहेको समयमा केटिएम दैनिकले किशोरीको आठ कक्षाको जिल्ला स्तरीय परीक्षाको मार्क सिट फेला पारेको छ ।
यसअगाडि नै हामीले किशोरीले जन्म दर्ता निकालेको वडाको सचिव र सोही वडाको कम्प्युटर शाखामा कार्यरत एक कर्मचारीको भनाई को आधारमा किशोरी घटना भएको समयसम्म नाबालिग रहेको समाचार लेखका थियौँ ।
सन्दीपका वकिलहरूले पीडित भनिएकी किशोरी बालिग भएको प्रमाण आफूसँग भएको बताइरहँदा केटिएम दैनिकले प्राप्त गरेको किशोरीको कक्षा आठको जिल्ला स्तरीय परीक्षाको मार्क सिटमा उनको जन्म मिति २०६२ साल जेठ १८ गते भएको उल्लेख छ । २०७४ सालमा उनी कक्षा ८ मा अध्ययनरत थिइन् ।
सन्दीपबाट आफू करणीमा परेको भनेर उजुरी दिने किशोरीको कक्षा ८ को जिल्लास्तरीय परीक्षाको मार्कसिट । यस मार्कसिट अनुसार उनको जन्ममिति २०६२ साल जेठ १८ गते गते हो । घटना हुने दिनसम्म किशोरीको उमेर १७ वर्ष दुई महिना केही दिन मात्र पुगेको छ ।
सोही अनुसार ती किशोरीले एसइई को मार्क सिट र नागरिकतामा पनि जन्म मिति २०६२ साल जेठ १८ गते रहेको उल्लेख छ ।
ती किशोरीले प्रहरी वृत्त गौशालामा भदौ २१ गते दिएको जाहेरीमा घटना भदौ ५ गते राति भएको जनाएकी छन् । घटना हुने दिनसम्म ती किशोरीको उमेर १७ वर्ष दुई महिना केही दिन पुगेको देखिन्छ ।
२०७४ को जिल्ला स्तरीय परीक्षाको मार्क सिटमा उल्लेख भएअनुसारै जन्म मिति राखेर ती किशोरीले २०७५ साल मङ्सिर १८ गते स्थानीय निकायबाट जन्म दर्ता लिएकी थिइन पछि उक्त जन्म दर्ता हराएपछि २०७९ साल असार १४ गते उनले सोही जन्म दर्ताको प्रतिलिपि निकालेकी हुन् ।
किशोरीले २०७९ साल असार १४ गते वडा कार्यालयबाट निकालेको जन्मदर्ताको प्रतिलिपि । यो प्रतिलिपी २०७५ सालमा मङ्सिर १८ गते सोही वडाबाट निकालिएको जन्मदर्ताको प्रतिलिपी हो ।
हामीले पाएको जन्म दर्ता सही हो वा होइन भनेर हामीले सोही वडाको सचिव र कम्प्युटर अपरेटरसँग उक्त जन्म दर्तामा भएको दर्ता नम्बर भिडाएर हेर्दा हामीले पाएको डकुमेन्ट सक्कल भएको पुष्टि भएको छ ।
उक्त वडाका वडा सचिव बाहिर भएकाले कम्प्युटर अपरेटसँग त्यहाँको सिस्टममा सो दर्ता नम्बरमा लेखिएको नाम र जन्म मिति हामीले पाएको कागजातसँग भिडाएर हेर्दा दुरुस्त पाइएको हो ।
कुनै पनि सरकारी कागजात हराएको खण्डमा तोकिएको शुल्क तिरेर त्यसको प्रतिलिपि निकाल्न पाइन्छ । चाहे त्यो नागरिकता होस् वा सवारी चालक अनुमति पत्र । प्रतिलिपिको अर्थ दुई वटा भन्ने होइन ।
विभिन्न सञ्चारमाध्यममा किशोरी बसाई सराई गरेर आउँदा उनको जन्ममिती २०६१ साल भएको बताइएको छ । तर हामीले प्राप्त गरेको २०७५ सालको जन्म दर्ताको प्रतिलिपि र २०७४ सालको कक्षा ८ को मार्क सिट भने फरक फरक जिल्लाबाट जारी भएका हुन् ।
त्यसैले बसाई सराइ गरेर आउनु पूर्वकै कागजातमा किशोरीको जन्म मिति २०६२ साल उल्लेख भएकाले विभिन्न सञ्चारमाध्यमहरूमा किशोरी २०६१ सालमा जन्मेको भनेर आएका समाचारहरू पुष्टि गर्ने कागजात फेला परेका छैनन् ।
किशोरीको जन्म दर्ता को प्रमाणपत्र नम्बर (२०६१) बाट सुरु भएकाले पनि कतिले उनको जन्म २०६१ सालमै भएको निराधार तर्क गरिरहेका छन् । हामीले सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग के आधारमा जन्म दर्ता प्रमाणपत्रको (दर्ता नम्बर) निर्धारण हुन्छ भनेर सोध्यौँ ।
हाम्रो प्रश्नको उत्तर दिँदै ती अधिकृतले भने, ‘जन्म दर्ता बनाउँदा सिस्टममा जन्म मिति राखेपछि दर्ता नम्बर आफैँ जेनेरेट हुन्छ ।’ गाउँपालिका प्रमुखको नाम खुलाउँदा स्थान खुल्ने हुँदा उनको नाम गोप्य राखिएको छ ।
एक वर्षको अवधिसम्म स्थानीय पञ्जिकरण अधिकारीलाई जन्म मिति सच्चाउन सक्ने अधिकार कानुनले दिएको भएता पनि २०७५ सालमा जन्म दर्ता निकालिएको हुनाले अहिले आएर सच्चाउन सकिँदैन ।
किन भइरहेको छ उमेरको विवाद?
नेपालको कानुनअनुसार १८ वर्ष भन्दा कम उमेरको किशोरीले सहमतिमै शारीरिक सम्बन्ध राखेको खण्डमा पनि उक्त सम्बन्ध बलात्कार ठहरिन्छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको बारेमा व्यवस्था गरिएको छ ।
जस अनुसार दफा २१९ मा कसैले जबर्जस्ती करणी गर्न हुँदैन भन्ने व्यवस्था गरेको छ । कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने कानुनले व्यवस्था गरेको छ ।
१८ वर्षभन्दा माथिको भएको खण्डमा कम सजाय दिलाउनको लागि यस विषयमा बहस सुरु गरिएको नाम नखुलाउने सर्तमा एक अधिवक्ताले भने ।
विश्वासको मत दिन अध्यक्ष नेपाललाई प्रधानमन्त्री दाहालको आग्रह
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई विश्वासको मत दिन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् । नेकपा (माओवादी केन्द्र) को दल कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
‘सम्माननीय प्रधानमन्त्रीज्यूले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई नेकपा (माओवादी केन्द्र) को दल कार्यालय सिंहदरबारमा भेटी सरकारलाई विश्वासको मत प्रदान गर्न आग्रह गर्नुभएको छ,’ दाहालका सहयोगी रमेश मल्लले भने ।
स्रोतका अनुसार सरकारमा एकीकृत समाजवादीको सहभागिताका बारेमा पनि दुई नेता बीचको भेटमा छलफल भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएसँगै दाहाल एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गराउन सकारात्मक छन् । अध्यक्ष नेपाललाई पनि पार्टी भित्रैबाट सरकारमा सहभागी हुनका लागि दबाब आइरहेको छ ।
अध्यक्ष नेपालले भने सरकारको नीति तथा कार्यक्रम हेरेर मात्रै सरकारमा सामेल हुने वा नहुने निर्णय गर्ने बताएका छन् । यसबारे निर्णय गर्न उनको पार्टीले यसअघि नै पार्टी सचिवालयलाई जिम्मा दिइसकेको छ ।
प्रधानमन्त्री दाहालको सरकारलाई हाल संसदमा रहेका सातवटा पार्टीले समर्थन गरेका छन् भने सरकारले संसद्मा विश्वासको मत लिन भने बाँकी छ ।
प्रधानमन्त्री दाहाललले यही पुस २६ गते संसद्मा विश्वासको मत लिने कार्यतालिका छ । त्यसअघि नै प्रधानमन्त्री दाहाल एकीकृत समाजवादीलाई पनि सरकारमा सामेल गराउन लागिपरेका छन् ।
रबीलाई यो अवस्थामा पुर्याउने यो भिडियो हेर्नुस