मंगलबार १४ चैत्र २०७९


भट्टाभट लाइसेन्स खारेज गर्न थालियो, बेलैमा हुनुस् सचेत !

प्रकाशित मिति । २० पुस, २०७९ ।

काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिरमा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियमहरू पाँचपटकभन्दा बढी उल्लंघन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

निलम्बनका लागि पठाइएका सबैभन्दा धेरै कारवाहीमा एकजना ४४ पटक, ३५ पटक कारवाही एकजना, २४ पटक परेका तीनजना, १४ पटक परेका एकजना, १२ पटक परेका सातजना, सातपटक परेका दुईजना र ६ पटक कारवाहीमा परेका ४५ जना गरी ६० जना छन् ।

उनीहरुले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको ट्राफिक विभागले जनाएको छ । ट्राफिक नियम उल्लघंन गरिरहने चालकहरुबाटै सवारी दुर्घटना भएको तथ्यांकले समेत देखाएको छ ।

गाडीको प्रदूषण जाँचका लागि छड्के गर्दै वातावरण विभाग, फेल भए एक लाखसम्म जरिवाना

वातावरण विभागले आजदेखि गाडीको प्रदूषण जाँचपासमा कडाइ गर्ने भएको छ । यसअघि छड्के जाँचमा मापदण्डभन्दा धेरै प्रदूषण फ्याँकेको पाइए मर्मत गरेर प्रदूषण जाँचपास गराउन निर्देशन दिइँदै आइएको थियो ।

तर, आजदेखि वातावरण संरक्षण ऐन ०७६ को दफा ४१ को उपदफा २ मा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म जरिवाना हुने वातावरण विभागका प्रवक्ता शंकर पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रदूषण मापन गर्ने यन्त्रसहित वातावरण विभाग, महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले छड्के जाँच गर्नेछन् ।

मन्त्रालय बाँडफाँट र प्रदेश नेतृत्वबारे छलफल गर्न खुमलटारमा ओली

काठमाडौँ — मन्त्रालय बाँडफाँट र प्रदेशको नेतृत्वलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् ।

मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको बाँडफाँट, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको टुंगो लगाउने विषयबारे छलफल गर्न अध्यक्ष ओली प्रधानमन्त्री दाहालको निजी निवास खुमलटार पुगेका हुन् ।

पछिल्लो पटक दाहालसहित असन्तुष्ट रहेका नेताहरूले जारी गरेको १९ पृष्ठको आरोपपत्र फिर्ता लिन भन्दै २०७७ पुस ४ गते अध्यक्ष ओली दाहाल निवास खुमलटार पुगेका थिए ।

अर्थमन्त्रीले गरिहाल्नुपर्ने कार्यहरू

सरकारको आय र व्ययबीचको सन्तुलन बिग्रिएको, वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव भएको, यसअघिका अर्थमन्त्री जनार्दन शर्माले नीतिगत भ्रष्टाचारलाई चरमचुलीमा पुर्‍याएको, मूल्यवृद्धि अकासिएको र निजी क्षेत्रको आत्मविश्वास गुमेका बेला अर्थतन्त्रको बागडोर एमाले उपाध्यक्ष विष्णु पौडेलले सम्हालेका छन् ।

केही आन्तरिक र केही बाह्य कारणले संकटोन्मुख अवस्थामा पुगेको अर्थतन्त्र सुधार्नु समग्र सरकारकै मुख्य चुनौती हो । यसका निम्ति उपप्रधान तथा अर्थमन्त्री पौडेलले तत्कालै संयमपूर्वक केही कठोर कार्य थाल्न अपरिहार्य छ । अर्थतन्त्रको कोरा विषयमा गहिरो ज्ञान नराखे पनि धैर्यपूर्वक अरूका कुरा सुन्न सक्ने क्षमता भएका पौडेलले विषयविज्ञहरूसित अधिकतम विमर्श गरी तत्काल मुख्य पाँच क्षेत्रमा अघि बढ्नु उपयुक्त देखिन्छ ।

पहिलो त, राष्ट्र बैंकसँग अर्थ मन्त्रालयको सम्बन्ध सुधार गर्नुपर्छ । अघिल्ला अर्थमन्त्री शर्माले राष्ट्र बैंकको स्वायत्तता खोस्ने प्रयास गरेका थिए । स्वायत्त निकाय राष्ट्र बैंकलाई अर्थ मन्त्रालयकै शाखाजसरी चलाउन खोजेका थिए । अमेरिकाबाट शंकास्पद रूपमा पृथ्वी शाहको खातामा आएको रकम फुकुवा नगरेकामा शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई बरखास्त गर्ने प्रयास गरे ।

सर्वोच्च अदालतले अधिकारीको पदबहाली गरिदिएपछि राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको सम्बन्ध सुमधुर भएन, जसबाट राष्ट्र बैंकका नीति एकातिर अनि अर्थका अर्कैतिर भए । त्यसले अर्थतन्त्रलाई थप ओरालो लगायो । यसर्थ अर्थमन्त्री पौडेल राष्ट्र बैंकको स्वायत्ततालाई उकास्दै गभर्नर तथा त्यहाँका अधिकारीहरूसँग संस्थागत समन्वय गरी अघि बढ्नुपर्छ ।

दोस्रो, आयव्ययको सन्तुलन तथा सार्वजनिक खर्च कटौती गर्नेमा उनले जोड दिनुपर्छ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले राजस्व संकलन ३१ प्रतिशतले बढाउने लक्ष्य लिएको थियो । तर पाँच महिनासम्ममा गत आर्थिक वर्षको तुलनामा राजस्व २० प्रतिशत कम उठ्यो । राजस्व संकलन निरन्तर घटेपछि त्यसले चालु खर्च धान्न छाडेको छ । त्यसकारण मन्त्री पौडेलले राजस्व र खर्चबीचको सन्तुलन मिलाउन जरुरी छ । त्यसका लागि दुई उपाय छन् ।

पहिलो, सार्वजनिक खर्च कटौती गर्ने । यो महसुस गरी पहिलो मन्त्रिपरिषद् बैठकले नै सांकेतिक रूपमा सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने र यसै वर्षदेखि भएको तलब वृद्धि मन्त्रीहरूले नलिने लगायतका निर्णय गरेको छ, जुन सकारात्मक छ । तर सार्वजनिक खर्च कटौती यतिले मात्रै पुग्दैन, नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारद्वारा गठित सार्वजनिक खर्च पुनरवलोकन आयोगको सुझाव अक्षरशः पालना गर्ने गरी अर्थमन्त्री पौडेल अघि बढ्नुपर्छ ।

राजस्व वृद्धि र खर्च कटौती दुवैका लागि पौडेलले गर्नुपर्ने तेस्रो काम हो— अर्थ मन्त्रालय र मातहतका निकाय तथा कर्मचारीको शुद्धीकरण । पछिल्लो समय अनौपचारिक अर्थतन्त्र मौलाएको छ । खास गरी न्यून बिजकीकरण, हुन्डी, भन्सार तथा कर छलीका धेरै विवरण सार्वजनिक भइसकेका छन्; कतिपयमा यसअघिका अर्थमन्त्रीकै संलग्नता देखिन्छ । निश्चित व्यापारिक घरानालाई अनुकूल हुने गरी बजेटमार्फत नै करका दर हेरफेर; बिचौलियाको संलग्नतामा धितोपत्र ब्रोकर, स्टक एक्सचेन्ज, वस्तु विनिमय बजार, बिमा कम्पनी लगायत विभिन्न क्षेत्रको लाइसेन्स वितरणका काम भएका छन् । केही हुनै बाँकी छन् ।

पदीय जिम्मेवारी बिर्सेर शर्माको इसारामा त्यस्ता काम गर्ने कर्मचारी तथा मातहतका निकायको शुद्धीकरण गर्दा मात्रै नवनियुक्त अर्थमन्त्री पौडेलले परिणाम हात पार्न सक्छन् । यसका लागि उनले विवादास्पद पृष्ठभूमिका कर्मचारीलाई कारबाहीको दायरामा ल्याएर कुशल नेतृत्वलाई विभागीय जिम्मेवारी दिन आवश्यक छ ।

चौथो, पुँजीगत खर्च बढाउन र तरलता अभाव सुधार्न पौडेलले उत्तिकै ध्यान दिनुपर्छ । पाँच महिनामा पुँजीगत खर्च जम्मा १० प्रतिशत मात्रै भएको छ । पछिल्ला दुई वर्षदेखि बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह ठप्प पारेका छन् । कर्जा नपाएकै कारण निर्माणाधीन पूर्वाधार, जलविद्युत् लगायत आयोजना प्रभावित छन् भने लागत बढेको छ ।

पछिल्ला महिना व्यक्त प्रतिबद्धता अनुरूप विदेशी लगानी नआउने मात्र होइन, पुराना विदेशी लगानी पनि फिर्ता भएको अवस्था छ । अध्ययन र भ्रमणका लागि धेरैभन्दा धेरै विदेशी मुद्रा बाहिरिएको छ । वैदेशिक ऋण तथा अनुदान पनि उल्लेख्य आएको छैन, दातृ निकायको नेपालप्रतिको विश्वास क्रमशः घटिरहेको छ । रणनीतिक हिसाबले अर्थमन्त्री पौडेलले यी समस्या सुधार्दै पुँजीगत खर्च बढाएर तरलता अभाव कम गर्नुपर्छ ।

तरलता अभाव कम गरेसँगै निजी क्षेत्रको आत्मविश्वास बढ्नेछ । त्यसकारण उनले गर्नुपर्ने पाँचौं काम हो- निजी क्षेत्रसँगको आत्मविश्वास बढाउनु । अकासिएको ब्याजदर घटाउन र गत कात्तिक १ देखि राष्ट्र बैंकले लागू गरेको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन स्थगनको माग गर्दै केही उद्योगी–व्यवसायी आन्दोलनमा छन् । अर्थमन्त्रीमा पौडेलले नियुक्त भएलगत्तै आन्दोलनरत पक्षलाई वार्तामा आउन

आह्वान गरिसकेका छन् । निजी क्षेत्रका उचित मागको सम्बोधन अर्थमन्त्री पौडेलले गरिदिनुपर्छ, जसले उनीहरूको आत्मविश्वास बढाउनेछ । माग सम्बोधन गर्ने नाममा अघिल्ला मन्त्री शर्माले सुरुआत गरेको ‘एउटालाई पक्षपोषण र अर्कोलाई निषेध’ को नीतिको भने उनले अन्त्य गर्नुपर्छ ।

यसअघि दुई कार्यकाल अर्थ मन्त्रालयको नेतृत्व सम्हालिसकेका पौडेलसित निजी क्षेत्रले अथाह आशा राखेको देखिन्छ । तर उनीसँग जादुको छडी पक्कै छैन । त्यसमाथि कोभिड संक्रमणपछि विश्व अर्थतन्त्रमै समस्या देखिइरहेको छ, जसबाट नेपाल अछुतो छैन । उपभोक्ताको क्रयक्षमता घटेको छ, मूल्यवृद्धिको मार उस्तै छ ।

सरकारी सेवाप्रवाह लथालिंग नै छ । आम सर्वसाधारणको दैनिक जीविकामा सहजता ल्याउने आर्थिक नीति अघि सार्नु अर्थमन्त्रीको मुख्य काम हो । यसका लागि व्यक्ति वा पार्टीगत स्वार्थभन्दा माथि उठेर काम गर्नु आजको आवश्यकता हो । अर्थमन्त्री पौडेल मात्रै होइन, समग्र सरकारकै ध्याउन्न आम सर्वसाधारणको जीविका सहज तुल्याउने अवस्था सृजना गर्नेमा हुनुपर्छ ।

लिभरपुललाई ब्रेन्टफोर्डको धक्का

लन्डन — इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा प्रवेश गर्ने लिभरपुलको योजनामा ब्रेन्टफोर्डले सोमबार ठूलो धक्का दिएको छ । इंग्लिस प्रिमियर लिगको खेलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ ले हराएको हो । योर्गन क्लोपको लिभरपुलले पूरा खेल अवधिमा गरेको प्रदर्शन औसत मात्र रह्यो ।

यो सिजन लिभरपुलले लिगमा २३ अंक गुमाइसकेको छ । कम्युनिटी स्टेडियममा भएको खेलमा ब्रेन्टफोर्ड पहिलो हाफमा दुई गोलले अगाडि रह्यो । इब्राहिम कोनाटेले आत्मघाती गोल गरेपछि योने विसाले दोस्रो गोल थपे ।

एलेक्स अक्सलेड–च्याम्बरलिनले लिभरपुलका लागि एक गोल फर्काए पनि ब्रायन एमबेमोले ब्रेन्टफोर्डका लागि तेस्रो गोल थपे । लिभरपुल २८ अंकमा छैटौं स्थानमा रह्यो । ब्रेन्फोर्डले भने आफ्नो स्थिति सुधार गर्दै २६ अंकसहित सातौं स्थानमा उक्लेको छ ।

हेर्नुहोस भिडियो


Last Updated on: January 4th, 2023 at 9:21 am


तपाईको प्रतिक्रिया