
अर्थलाई प्रचण्डको अर्को निर्देशन– मोबाइल ल्याउँदा अझै समस्या भएको गुनासो आयो, तत्काल मिलाउनू
प्रकाशित मिति । १९ पुस, २०७९ ।
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल सहजरूपमा ल्याउन पाउने व्यवस्था लागू गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएका छन् । उनले मंगलवार अर्थमन्त्रालयलाई उक्त व्यवस्था लागू गर्ने वातावरण बनाउन अर्थलाई निर्देशन दिएका हुन् ।
मंगलवार विदेशबाट आएका एक नेपालीले दुईवटा मोबाइल ल्याउँदा एउटामा भन्सार तिर्नुपर्ने भन्दै विमानस्थलमा रोकेका थिए । उक्त समाचार लोकान्तरले प्रकाशन गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयले विदेशबाट फर्किदा अतिरिक्त मोबाइल ल्याउन पाउने विषयमा जनस्तरबाट चासो राखिएको बताउँदै अतिरिक्त मोबाइल ल्याउनका लागि कुनै नीतिगत तथा कानूनी अड्चन रहेमा त्यसको सहजीकरण गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।
प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको छ । रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’
यसअघि प्रधानमन्त्री प्रचण्डले मोबाइलमा एमडीएमएस प्रणाली लागू नगर्न र विदेशबाट फर्किने नेपालीले अतिरिक्त मोबाइल ल्याउँदा भन्सार लाग्ने व्यवस्था लागू नगर्न निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीले निर्देशन दिँदा पनि कानूनी व्यवस्था नगरिएकाे भन्दै विमानस्थलमा कर्मचारीहरूले अतिरिक्त मोबाइलको भन्सार लिँदै आएका थिए ।
तपाईंको मोबाइल वैध हो कि अवैध? यसरी थाहा पाउनुहोस्
लामो समयदेखि लागू गर्ने भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को अन्ततः सफ्ट लञ्च भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक कार्यक्रम गर्दै यो प्रणालीको सुरूआत घोषणा गरेको हो।
यो प्रणाली लागू भएसँगै अब अवैध रूपमा आयात भएका मोबाइलहरू प्राधिकरणले ब्लक गर्नेछ। प्राधिकरणले मोबाइल आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न एमडिएमएस प्रणाली लागू गरेको हो।
प्राधिकरणका अनुसार आज (भदौ ३० २०७९) सम्म जुनसुकै तरिकाले भित्रिएका सबै फोनलाई ‘ह्वाइट लिस्ट’ मा राखिएको छ। अर्थात् ती मोबाइल एमडिएमएस प्रणालीमा दर्ता भइसकेका छन्। यिनलाई फेरि लगेर दर्ता गरिराख्नु पर्दैन।
तर भोलिदेखि भन्सार छलेर, गैरकानुनी वा अवैध रूपमा भित्र्याइएका मोबाइल ब्लक गरिनेछ।
ब्लक गर्नुअघि प्राधिकरणले त्यस्ता मोबाइललाई दर्ता गर्न १५ दिन समय दिएको छ। दर्ताका लागि सूचना पनि पठाउँछ। तोकिएको समयभित्र फोन एमडिएमएसमा रजिस्टर नगरे स्वतः ब्लक गरिने व्यवस्था मिलाइएको छ।
एमडिएमएस प्रणालीबारे हामीलाई थप जानकारी मोबाइल फोन आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राले दिएका छन्।
वैध र अवैध तरिकाले भित्रिएको फोन भनेको कस्तो हो?
सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनहरू जुन सरकारी मान्यता प्राप्त वितरकहरूले बजार पुर्याउँछन्, ती वैध हुन्। यसलाई कानुनी रूपमा भित्र्याइएको समेत भन्न मिल्छ।
वैध रूपमा भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा रजिस्टर गरिएको हुन्छ। रजिस्टर गरिएको फोन हराएमा प्रहरीहरूलाई फोन ट्र्याक गर्न पनि सहज हुन्छ।
गैरकानुनी रूपमा भित्र्याएका फोनहरू अवैध हुन्। यस्ता मोबाइलको आइएमइआई नम्बर प्राधिकरणमा रजिस्टर हुँदैन। चोरीपैठारी गरी, लुकाएर, भन्सार छलेर ल्याइएका फोनलाई अवैध भन्न सकिन्छ।
आइएमइआई नम्बर भनेको के हो? यो कसरी पत्ता लगाउने?
सिम प्रयोग हुने हरेक उपकरणमा १५ अंकको आइएमइआई नम्बर हुन्छ। यो नम्बर एकअर्कासँग मिल्दैन। मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ।
वैध रूपमा भित्रिएका सबै फोन बजार पुग्नुअगावै तिनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता भएको हुन्छ।
हाल प्रयोगमा आएका मोबाइल एमडिएमएसमा दर्ता छ कि छैन भन्ने कसरी थाहा पाउने?
प्राधिकरणले हाल नेपालभर प्रयोगमा आएका र भित्रिएका सबै फोनहरूलाई ह्वाइटलिस्टमा राखेको छ। यसको अर्थ यी सबै वैध भए। तपाईंको फोन रजिस्टर भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर हेर्न सकिन्छ।
नयाँ फोन किन्नुअघि उक्त फोन एमडिएमएसमा रजिस्टर भएको वा नभएको कसरी पत्ता लगाउने?
यसको लागि पनि एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर हेर्न सकिन्छ। किन्न लागेको फोनको आइएमइआई नम्बर राखेर जाँच गर्न सकिन्छ।
मोबाइल फोनको बट्टामा एमपिआइए (मोबाइल फोन इम्पोर्ट्स एसोसिएसन) को स्टिकर हुन्छ जसमा बाहिरै आइएमइआई नम्बर हुन्छ। नभएको खण्डमा थप सचेत भई आइएमइआई नम्बर जाँचेर गरेर मात्रै किन्नुहोस्।
कतिपय मानिसले विदेशमा आफूले चलाइरहेको फोन नेपाल फर्किँदा सँगै ल्याउँछन्। विदेशबाट नयै फोन पनि ल्याइन्छ। यसरी भित्रिएका फोन चाहिँ के हुन्?
विदेशबाट नेपाल फर्केका वा आउने व्यक्तिले चलाइरहेको फोन नेपालमा चल्ने/नचल्ने वा त्यसलाई कसरी रजिस्टर गर्ने भन्नेबारे प्राधिकरण र अर्थ मन्त्रालयबीच समन्वय गर्ने कुरा छ। त्यसरी व्यक्तिगत प्रयोग गरिरहेको फोन नेपाल आएर प्रयोग गर्न नपाउने भन्ने हुँदैन। वा बाहिरबाट मोबाइल उपहार नै पठाउन पाइँदैन भन्ने नियम पनि लागू गर्न मिल्दैन।
त्यसैले यस विषयमा सेवाग्राहीहरूलाई कसरी मोबाइल रजिस्टर गर्ने भन्ने विषयमा छिट्टै जानकारी गराइने छ।
एमडिएमएस लागू भए के हुन्छ?
एमडिएमएस लागू भएसँगै राज्य, व्यवसायी र समग्र सबैलाई फाइदा गर्छ। पहिलो कुरा भनेको एमडिएमएसमा दर्ता भएका फोनहरू ट्र्याक गर्न सजिलो हुन्छ। तपाईंको फोन हराएमा वा चोरी भएमा फोन ट्र्याक गर्न सकिन्छ। साथै त्यसलाई केही समयका लागि निष्क्रिय समेत गर्न मिल्छ। यसो हुँदा प्रहरीहरूलाई हराएको फोन भेट्टाउन मद्दत मिल्छ।
अर्को भनेको राज्यमा भन्सार छल गरी ल्याइने प्रवृत्ति वा कार्य नियन्त्रण हुन्छ। भन्सार तिरेर मात्रै मोबाइल भित्र्याउने भनेपछि भन्सार महसुल बढ्छ। यसले गर्दा सरकारको राजस्व वृद्धिमा मद्दत पुग्नेछ। हाल मोबाइल आयातकर्ताले १३ प्रतिशत भ्याट र ५ प्रतिशत अन्तः शुल्क बुझाउनुपर्ने हुन्छ।
सन् २०२१ मा करिब ५५ अर्ब बराबरको मोबाइल सेट आयात भएको छ। तीमध्ये ३८ अर्ब बराबरको मोबाइल वैध रूपमा आयात भएका छन् भने १७ अर्ब बरबारको मोबाइल अवैध रूपमा भित्रिएका छन्। यस्तोमा अवैध रूपमा मोबाइल भित्रने संख्या नियन्त्रण हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ।