
जनचाहनाविपरीत टुँडिखेलमा भूमिगत पार्किङ बन्दैन : उपमेयर डंगोल
पुस १८, २०७९
काठमाडौँ — काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनचाहनाविपरीत टुँडिखेलमा भूमिगत पार्किङ नबनाइने बताएकी छिन् । सोमबार ‘अकुपाई टुँडिखेल अभियान’ले टुँडिखेलमा भूमिगत पार्किङ नबनाउन मागसहित बुझाएको ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले स्थानीयवासीको सुझावबिना कुनै काम अघि नबढाइने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
धरहरा, काठमाडौं प्लाजालगायतमा सञ्चालन हुने भूमिगत पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नरहेको बताइन् । टुँडिखेल ऐतिहासिक एवं सांस्कृतिक हिसाबले महत्त्वपूर्ण रहेकाले संरक्षण गर्नुको विकल्प नभएको उनको भनाइ छ ।
‘सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्छ । आवश्यक्ता हो कि होइन भन्नेबारेमा अध्ययन भइरहेको हो, त्यसपछि बनाउने नबनाउने कुरा त बाँकी नै छ । धरहरा, काठमाडौं प्लाजालगायतमा सञ्चालन हुने अण्डरग्राउन्ड पार्किङले सबै समस्या समाधान गर्छ भने नयाँ संरचना बनाउनै पर्दैन । जनताको चाहनाविपरीत कुनै पनि निर्माण काम हुनु हुँदैन । सर्वसाधारणको सुझावबिना महानगरले कुनै काम गर्नेछैन,’ उनले भनिन् ।
नगर विकास कोषलाई सम्भाव्यता अध्ययन गर्ने जिम्मेवारी महानगरले दिएको बताउँदै उक्त अध्ययनपछि डीपीआर गर्न आवश्यक हुने वा नहुने निर्धारण गर्ने डंगोलले बताइन् । ‘प्रि-फिजिबिलिटी अध्ययनका लागि महानगरले टीडीएफ (टाउन डेभलप्मेन्ट फन्ड) लाई जिम्मेवारी दिएको छ । त्यसपछि डीपीआर गर्ने वा नगर्ने भन्नेबारे निर्णय हुन्छ । डीपीआरपछि पनि बनाउने वा नबनाउने निर्णय हुन्छ । जनभावनाविपरीत कुनै पनि काम हुन दिँदैनौं, ‘ उनको भनाइ छ ।
गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेन्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने निर्णय गरेको थियो । अहिले महानगरपालिकाको उक्त निर्णयलाई लिएर विवाद हुँदै आएको छ ।
वातावरण संरक्षण र बालबालिका
गत मंसिरमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘सेभ द चिल्ड्रेन’ ले काठमाडौंका चार र काभ्रेको एक विद्यालयका विद्यार्थीहरूका लागि जलवायु परिवर्तन विषयमा कार्यशला सञ्चालन गरेको थियो । यो संस्थाले म्यानमार, बोलिभिया, नेपाल, भुटानजस्ता विकासोन्मुख देशका बालबालिकाका लागि वातावरण सम्बन्धी विभिन्न कार्यक्रम गर्ने गर्छ । जलवायु परिवर्तनले बालबालिकामा पारेको असर तथा यसबाट जोगिने उपायका बारे विद्यार्थीहरूबाटै सुझाव लिने गर्छ ।
मंसिरको भेलामा १२ देखि १४ वर्ष उमेर समूहका विद्यार्थीहरूले जलवायु परिवर्तन सम्बन्धी उठाएका कतिपय कुरा साह्रै घतलाग्दा थिए । पहिलेपहिले हजुरबुबा–हजुरआमाले खोलाकै पानी पिउनुहुन्थ्यो, पानी सफा थियो । तर अहिले स्वच्छ पानी दूषित भएको छ । अहिलेका बालबालिकाले पहिलेजस्तो स्वच्छ वतावारण पाएका छैनन् । दूषित वातावरणले स्वास्थ्यमा पुर्याएको असरको जिम्मेवारी कसले लिने ? उनीहरूले वातावरण संरक्षणका लागि गरेको यस्तो सबाल निकै जायज थियो । यही रफ्तारमा वातावरण विनाश भइरहे अबका दिनमा कति डरलाग्दो अवस्था आउँछ भनेर सोधेका थिए ।
वातावरण प्रदूषण बढाउने एउटा मुख्य स्रोत प्लास्टिकको झोला पनि हो । सामान किन्दा प्लास्टिकको झोलामै राखिन्छ । प्लास्टिकको झोला छुट्टै पनि बिक्री हुन्छ । बढ्दो प्रयोगका कारण नेपालका सडकदेखि सदनसम्म, गाउँदेखि सहरसम्म जताततै प्लास्टिक भेटिन्छन् ।
कार्यशालामा विद्यार्थीहरूले प्लास्टिकले नदीनाला, चौतारी, बाटाघाटा फोहोर भएको मात्र औंल्याएनन् । उनीहरूले यसबाट हुने प्रदूषण कम गर्न सुझावसमेत दिए । सरकारले प्लास्टिकको उत्पादनलाई बन्द गरिदिने हो भने यसको विकल्प आफैं निस्कन्छ । विद्यार्थीहरू भन्छन्, ‘सबैका घरमा भएका पुराना लुगा मिलाएर सिलाए जति पनि कपडाको झोला बनाउन सकिन्छ ।
ती बलिया, टिकाउ तथा प्रदूषणरहित हुन्छन् । बजारमा तरकारी किन्न जाँदा पसलेले सामान जोखेपछि सबै सामान एउटै कपडाको झोलामा हालेर सजिलै ल्याउन सकिन्छ । चिनी, दालजस्ता खाद्यान्न किन्न पनि तीनवटा जति सानासाना कपडाका झोला भए पुगिहाल्छ ।
आफैंले कपडाको झोला बनाउन नसक्नेका लागि पसलमा पनि पातला बलिया कपडाको झोला सजिलै किन्ने व्यवस्था गर्न सकिन्छ । प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्न एकदमै सजिलो छ ।’ उनीहरूबाट आएको यस्तो सुझाव मननयोग्य थियो । यस्ता विषयमा सरकारमा रहेका जिम्मेवार व्यक्तिहरूले बेलैमा सोच्नुपर्छ ।
जलवायु परिवर्तनको मुख्य कारण इन्धनको प्रयोग घटाउनतर्फ पनि विद्यार्थीहरूले चासो देखाए । उनीहरूले यस सम्बन्धमा दिएका सुझावहरू पनि उत्तिकै मननयोग्य थिए । नजिकको दूरीका लागि हिँडेर वा साइकलमा आउजाउ गर्न सकिन्छ । मोटरसाइकल चढ्नैपर्छ भन्ने छैन ।
लामो दूरीका लागि ठूला सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा धेरै यात्रु एउटै गाडीमा अटाउने हुँदा इन्धनको खपत कम हुन्छ । यसले प्रदूषण पनि घटाउँछ । काठमाडौंजस्ता ठूलो सहरमा हुने घण्टौंको ट्राफिक जामसमेत कम गर्न सकिन्छ । विद्यालय/कलेजका बस तथा पुराना सार्वजनिक सवारीसाधनहरू बेलाबेला मर्मत–सम्भार गर्दा पनि प्रदूषणमा धेरै कमी ल्याउन सकिन्छ ।
तर, सम्बन्धित निकायले यसतर्फ त्यति ध्यान दिएका छैनन् । सडकमा धूवाँको मुस्लो फाल्ने सवारीसाधन गुडिरहे पनि, त्यसको नियन्त्रणका लागि पहल भएको छैन । न त तिनलाई कारबाही नै हुन्छ । यस्ता सवारीसाधनबाट कर बढी असुल्ने, ट्राफिक प्रहरीले चेकजाँच गर्ने गरे पनि खासै कडाइ गरेको छैन । अर्कातिर कर बढी तिराउनु मात्र पनि समस्याको समाधान होइन ।
धेरै पुराना सवारीसाधन चल्न नदिनु वा अवस्था हेरी मर्मत सम्भार गरेर मात्रै चलाउन दिन सकिन्छ । सबभन्दा उत्तम तरिका हो- विद्युतीय साधनलाई प्रोत्साहन । अब सरकारले इन्धनका विकल्पमा विद्युत्को प्रयोगलाई बढाउनैपर्छ । विद्युतीय सवारीसाधनको संख्या बढाउन आवश्यक सुधार गर्नुपर्छ ।
यसबाहेक सो कार्यक्रममा विद्यार्थीहरूले घरबाट निस्कने फोहोरको व्यवस्थापनका उपाय सुझाए । उनीहरू भन्छन्, ‘हामीले पुस्तकमा पढ्ने कुरालाई सजिलै प्रयोगमा ल्याउन सकिन्छ । तर त्यसका लागि सबै जना मिलेर अघि बढ्नुपर्छ । घरभित्रबाट निस्कने फोहोरलाई सबैभन्दा पहिले कुहिने र नकुहिने गरी छुट्याउन सकिन्छ । नकुहिने बोटल, टिन, प्लास्टिकका बाल्टी लगायतलाई सजिलै घरबाटै बिक्री गर्न सकिन्छ । कुहिने सामान छुट्याएर मल बनाई बगैंचा तथा करेसाबारीमा हाल्न सकिन्छ ।’
यस्तो कुराको पालनाका लागि विद्यालयले पनि उत्तिकै भूमिका खेल्नुपर्छ । फोहोर व्यवस्थापनका लागि चेतनामूलक कामको जिम्मा विद्यालयले पनि लिनुपर्छ । घरबाट उत्पन्न भएको फोहोरलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्ने हो र यस विषयमा सबै सचेत हुने हो भने फोहोर व्यवस्थापनको काम असम्भव देखिँदैन । यसरी काठमाडौं महानगर मात्र होइन देशैभरिको फोहोरको व्यवस्थापन गर्न सकिन्छ ।
प्रत्येक स्थानीय तह यो विषयमा गम्भीर हुने र आम नागरिकलाई सचेत बनाउने हो भने फोहोर व्यवस्थापन सहजै हुन सक्छ । घरमै फोहोरलाई कम गरियो भने त्यसलाई फाल्नका लागि सरकारले अरू भूमि प्रयोग गर्नुपर्दैन । वातावरण प्रदूषण पनि रोकिन्छ ।
घरबाट निस्कने फोहोरको व्यवस्थापनका लागि सरकारले गरिरहेको अतिरिक्त खर्च पनि जोगिन्छ । अहिले सरकारले कुहिने फोहोर छुट्याउनका लागि धेरै फोहोर उत्पादन गर्ने घर तथा कार्यालयलाई चार हजार रुपैयाँ पर्ने कम्पोस्ट बिन पन्ध्र सयमै उपलब्ध गराउने घोषणा गरेको छ । यसले केही मात्रामा भए पनि कुहिने फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने विश्वास गरिएको छ । साथै नकुहिने फोहोर व्यवस्थापनका लागि प्लास्टिकको प्रयोग बन्द गर्नु अति जरुरी छ । यसका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न ढिला भइसकेको छ ।