
म आफ्नै बुबाबाट बला:त्कृत भए, भन्दै लाइभमा आएर यसरी भक्कानो छोडर रोइन उर्फी जाबेद,भनिन् त्यो समय म कोठाबाट बाहिर भाग्न पनि पाइन!
प्रकाशित मिति । १६ पुस, २०७९ ।
एजेन्सी । म आफ्नै बुबाबाट बला:त्कृत भए भन्दै लाइभमा आएर यसरी भक्कानो छोडर रोइन उर्फी जाबेद,भनिन् त्यो समय म कोठाबाट बाहिर भाग्न पनि पाइन इन्टरनेट सेन्सेसन उर्फी जावेद सधैं आफ्नो कपडा र आफ्नो बयान को लागी चर्चा मा रहने गरेकि छिन्।
कहिले काँही कपडा लाई लिएर ट्रोलर्सको निशानामा पनि आउने गरेकि छिन् तर उनले यस्ता कुरालाई वास्ता नगरि अघि बढ्ने गरेकी छिन् । बोल्ड स्टाइलमा बस्ने उर्फीले बोल्ड ड्रेसमा एकपछि अर्को गर्दै आफ्ना तस्बिर र भिडियोसेयर गरिरहेकी छिन् तर बिन्दा समा बस्ने उर्फी जावेदको बाल्यकाल निकै कठिन भएको छ जसको खुलासा उनले आफैंले एक अन्तर्वार्तामा गरेकी छिन् ।
आरजे सिद्धार्थ काननलाई दिएको एक अन्तर्वार्तामा उर्फी जावेदले आफ्ना बुवाले आफूलाई शारीरिक र मानसिक यातना दिने गरेको खुलासा गरेका थिए। अन्तर्वार्तामा उनले आफ्नो बाल्यकाल निकै कठिन भएको बताईन् । उनी डिप्रेसन र मानसिक यातनाबाट गुज्रिएकी छिन् ।
उर्फीले भनिन्, जब म ११ कक्षामा थिए , मेरो एउटा साथीले मेरो तस्बिर एडल्ट साइटमा अपलोड गरेछ । त्यतिबेला उनको परिवार र आफन्तले उनलाई गलत ठाने र साथ दिएनन् ।उनले बोल्ने मौका पनि पाईनन् ।
त्यसबेला म दोषी ठहरिएँ ।उनको परिवार र आफन्तले मलाई लुकेर पोर्नस्टारको रुपमा काम गर्छु भन्ने लागेको थियो ।’उनले थप बताइन्, ‘दुःखको घडीमा साथ दिनुको सट्टा मेरो परिवारले मलाई अपराधी ठाने ।
मलाई बोल्न पनि दिइएन । उर्फीले आफ्ना बुवाले आफुलाई धेरै वर्षसम्म यातना दिएको पनि खुलासा गरेकी छिन् । बुवाले उनलाई शारीरिक र मानसिक यातना दिए । अभद्र कुरा बोल्थे । मेरो नाम पनि याद थिएन । मानिसहरूले मेरो बारेमा नराम्रो कुरा गर्थे।
मैले जुन कुराबाट गुज्रिरहेको छु त्यसबाट कुनै केटीले गुज्रनु हुँदैन।बुवाले पनि ममाथि आरोप लगाए । मलाई केही बोल्न दिइएन । उनको यातना मात्र सहनु पर्यो । मलाई भनिएको थियो कि निर्णय लिने अधिकार केटीहरूलाई छैन,
पुरुषले मात्र निर्णय गर्छन्। त्यसपछि उनी आफ्ना दुई बहिनीसँग बुबाको घरबाट भागिन् । पछि उर्फीका बुवाले पनि आमालाई छोडे । यसपछि उर्फीका बुवाले दोस्रो विवाह गरे, त्यसपछि परिवारको जिम्मेवारी उर्फी र उनका दिदीबहिनीको काँधमा आएको थियो ।
काठमाडौंमा फुलेको नीलकुरिन्जी
यथार्थ र स्वैरकल्पनाको फ्युजनमा बुनिएको ‘एक्लो’ मा गाउँबाट काठमाडौं पस्ने धेरैजसोले आफूलाई भेट्टाउन सक्छन् । कथाको गहिराइमा पुग्न सायद कथासित कहीं कतै जोडिनुपर्छ भन्ने लेखकीय आग्रह पनि छँदै छ ।
अझ खुलस्त भन्दा, बुद्धिसागरले उत्पातै उपन्यास लेखेछन् भनेर होइन, सामाजिक सञ्जालमा आइरहेका शृंखलाबद्ध वन्दना र आलोचनाका कारण पाठकीय चौचौलाई थाम्न नसकी ‘एक्लो’ पढ्न एक्लिएको थिएँ । पढ्दापढ्दै कताकता डोपोमिन हार्मोन ह्वात्तै बढेजस्तो लाग्यो । काठमाडौंको विस्मयकारी कथा अनि बुद्धिसागरको मनोहारी र कौतुकमय गद्यको प्रभाव वा ठाउँठाउँमा परेका आप्त वचनले हुरुक्कै पारेर नै होला ।
सात वर्षपछिको उपन्यासमा पनि बुद्धिसागरले आफैंलाई वा आफ्नै छायाछविलाई मुख्यपात्र बनाएका छन् । निजी संस्मरणलाई उपन्यास बनाउने धन्दा छाडेका छैनन् । तर, मैले बुद्धिसागरसँग आफ्नाबाहेक कुनै कथा छैनन् भनेर गर्जनेभन्दा पनि बुद्धिसागरले अरूका कथालाई भाउ दिँदैनन् भनेर चित्त बुझाएँ । यस्तो लाग्यो, उनले हाम्रै रुचिलाई सम्मान गरेका हुन् । हामीले यस्तै कथालाई पटकपटक मन पराइदियौं त उनी किन नहौसिऊन् ?
नेपाली साहित्यको हकमा ‘बुद्धिसागर वन्दना’ लेखौं वा ‘बुद्धिसागर आलोचना’, पुरस्कार दिऊँ वा नदिऊँ, त्यसले केही फरक नपर्ने लेखक हुन् उनी । समीक्षा लेखे पनि सेलेब्रिटी, नलेखे पनि बेस्ट सेलर । त्यसैकारण अरू र बुद्धिसागरबीच संयोजक चिह्न र विश्लेष चिह्नजत्ति फरक भइसकेको छ । हिजोआज प्रायः पुस्तक वार्तामा हेर्नुस् त– कहीं न कहीं ‘कर्नाली ब्लुज’ घुसेकै हुन्छ ।
पक्कै पनि भीमकाय छ, ‘एक्लो’ (४९४) । यो ‘कर्नाली ब्लुज’ (४२३ पृष्ठ) भन्दा मोटो छ । तर ‘फिरफिरे’ (५८३) भन्दा पातलै छ । सिने व्याकरणमा डिटेलिङ भनिने शैलीमा लेख्ने बुद्धिसागर यस अर्थमा संयमित भएकै रहेछन् । उनका १३ वर्षका तीन उपन्यासमध्ये यो छरितो छ र केही गतिलो पनि ।
एक मामुली मानिसको काठमाडौं–कथा हो, ‘एक्लो’ । मुख्यपात्र सिरी नितान्त एक्लो छ । घट्टेकुलो, मैतीदेवी, अनामनगर, प्रदर्शनी मार्ग, ठमेल, सिनामंगल सेरोफेरोमा उसको कोही छैन । आफूभित्र उर्लिरहेको आँधी देखाउन पनि कोही छैन । साथी बनाउन पनि सकेको छैन । उसको संसारमा सिर्फ ऊ र उसको छाया छन् । सहरमा ऊजस्ता एक्लाएक्ला मिलेर भीड बन्छ, ऊजस्ताको मौनता जोडिएर कोलाहल बन्छ । बस् ।
ऊ कति भयानक एक्लो छ भने आफू फेला नपर्ने गरी हराइहाले पनि खोजिहिँड्ने कोही छैन । उसले भनेको छ, ‘सहरमा एक्लो हुनुको अर्थ रहेछ– आफू हराउनु तर कसैले पनि नखोज्नु । आफ्नो नाम काढेर बोलाउने कोही नहुनु । भ्रमको संसारबाट बाहिर तानिदिने कोही नहुनु ।’
कुनै महत्त्वाकांक्षी मुकाममा पुग्ने सपना नपालेको २१ वर्षे ठिटो सिरी घट्टेकुलोमा डेरा गरेर एकलकाँटे जीवन बिताइरहेको छ । उसको जीवनको पनि कुनै टुंगो छैन । घुसघुसे, निमुखा वा आउटसाइडरजस्तो भएर पाँच वर्ष बितायो । तर, पाँच वर्षसम्म पनि आईए पार लगाउन सकेको छैन । बाबुले टिटी पठाइदिए कि भनेर हरेक महिना पुतलीसडकको राष्ट्रिय वाणिज्य बैंकको मोटो ढड्डा पल्टाउन पुग्छ ।
सिरीले गाउँ छाडेको छ, तर सहरिया बनेको छैन । उसको एककोठे उदास संसारमा दस ब्यान्डको कालो रेडियोले झंकार ल्याइदिएको छ । रेडियोको सातौं ब्यान्डमा एक युवक र युवतीको फोन संवाद सुन्ने लतमा परेको छ । अर्थिङ भएर रेडियोमा आउने त्यो फोन संवादमा फ्रेन्च भाषा सिकेकी समीरा अनि उसको आर्किटेक्ट ब्यायफ्रेन्ड नीललाई पर्खिरहनु उसको काम भएको छ ।
दिनभरि रेडियो सुनेर बस्ने एक ‘फ्रस्टेसनको देउता’ सिरी बिस्तारै युवतीको शब्द र सासमा कामुकित हुँदै जान्छ । आवाज एडिक्सनमा फसेको सिरी यसरी सम्झिन्छ, ‘जब ऊ नीलसित प्रेमका कुरा गर्थी, उसको आवाजको रफ्तार धीमा हुन्थ्यो, जसलाई म आकाशबाट झरिरहेको चराको प्वाँखसित तुलना गर्थें, ढलपलाउँदै ढलपलाउँदै धरतीमा झरिरहेको, एकदमै हलुका ।’ सातौं ब्यान्ड उपन्यासको गमक मात्र होइन, आत्मा नै हो ।
केटो भन्छ– साइको । केटी भन्छे– मलाई यस्तै साइकी मन पर्छ ।
साँच्चै भन्ने हो ‘एक्लो’ सिरीजस्ता थुप्रै डेरावालहरूको साझा कथा हो । धनकुटाबाट आएर काठमाडौंमा नाइट ट्याक्सी चलाउने सूर्यबहादुर, फिल्मको रिलको डब्बा मोटरसाइकलको सिटमा बाँधेर १५ मिनेटको समयसीमाभित्र एउटा हलदेखि अर्को हलसम्म स्पिडले पुर्याउने आदि, अश्लील पुस्तकहरू चोरेर छाप्ने धन्दा गरिरहेको टोप आदि इत्यादि ।
‘एक्लो’ ले माओवादी द्वन्द्वको कठोर कालखण्डलाई पनि महत्त्व दिएको छ । खासगरी २०५६ देखि २०६२/२०६३ सम्मको पृष्ठभूमिमा यसको कथानक उभिएको छ । राज्य र विद्रोही पक्षको जोर बन्दुकको छायामा सर्वसाधारणको जिन्दगी कति कष्टकर थियो भन्ने छनक यसले देखाउँछ । विद्रोहीले टेलिफोन टावर ढालेपछि गाउँका मानिसहरू बेखबर बाँचेका छन् । स्कुलमै दोहोरो भिडन्त छ । गस्तीमा असर गर्छ भनेर सिरीको बाले मुरली बजाउन पाएको छैन । हिँडडुल मुस्किल छ । आर्मी–पुलिस नै ब्यारेकबाट भागेका छन् ।
सिरी आफूलाई पढ्न बसेको विद्यार्थी भन्छ । तर, न पढेको देखिन्छ, न त कलेज गएको । पुलिसलाई कसैले चुक्ली लगाइदेला भनेर भयभीत छ । ट्याक्सी ड्राइभर सूर्यबहादुरले धम्काएको छ, ‘तिमी माओवादी हौ कि भन्ने शंका लागेको छ मलाई । यसरी वर्षौं कोही त्यत्तिकै काठमाडौंमा बस्न सक्दैन ! केही रहस्य त पक्कै छ ।’
उपन्यासमा आईए कटाउन नसकेको अर्को लक्का जवान पनि छ, टोप । ऊ काठमाडौंमा आफ्नै बर्कतले बाँचेको छ । तर, सिरी आईए पास गरेर बीए पढेको नक्कली रवाफमा छ । उसले टोपलाई मात्र होइन, बाबुआमालाई समेत त्यसरी नै ढाँटेको छ । वास्तविक कुरा थाहा पाए खर्चपानी बन्द होला भनेर भित्रभित्रै आतंकित छ । कान्छा बाबुले काठमाडौं आउँदा बीए पास गरेको भन्ठानेर ‘आरामै हुनुहुन्छ छोरा’ भन्दै ढोगेको छ । ‘सात पुस्तालाई धन्य बनाइदिनुभयो’ भन्छ ।
टोपले सिरीलाई एक रातको कथा, जवानीको ज्वाला, प्यासी जवानीमार्का पुस्तक लेखिदिन बैना मारेको छ । त्यो काम स्वीकार नगरेपछि प्रुफ पढ्ने काम मिलाएको छ । टोप अश्लील पुस्तक पाइरेसी गरेबापत जेल पुगेको छ । जानुकासँग छुटानामपछि अश्लील किताबको धन्दा छाडेर गेरुवस्त्रमा गीता बेचिरहेको छ ।
यो मात्र होइन, भाषा मिलाउने काम गर्ने सिरी नै मुख्यपात्र भएको उपन्यासमा भाषिक एकरूपता पाउन नसक्नु पनि परिहासै हो । कथावस्तुका लहराले धेरै विषय छोएका छन् । दरबार हत्याकाण्डजस्तो मुटु कोक्याउने घटना पनि उपन्यासको क्यानभासमा समेटिएको छ । विद्यार्थी राजनीति अर्को विद्रूप पाटो हो । राजाको प्रत्यक्ष शासन मात्र होइन, गाउँबाट सहर पस्ने लस्करका कारण फस्टाएको जग्गा दलाली, लोडसेडिङ आदि विषय पनि छन् ।
दैलोमा आठ हजारको जुत्ता फेला पारेको अनि डिल्लीबजार उकालोमा नोटको बिटो भेटेको, घरबेटीले महिनौं कोठा खाली गरेको कुरा कतिपयलाई अस्वाभाविक लाग्छ । तर, आख्यान भनेकै यस्तै कल्पनाशीलताको जोडकोण त हो । भएका कुरा नै खोज्ने हो भने आख्यान किन पढ्ने ? उपन्यासकारले भनेजस्तै कथाको संसार बेग्लै हो, जहाँ घाम र जून एकैचोटि झुल्किन सक्छन् ।
यस्ता बिरलाकोटि घटनाले आख्यान पठनको उत्साह बढाउँछ । तर, त्यो विश्वसनीय हुनैपर्छ । पाठकले पत्याएन भने लेखक सफल मानिँदैन । पत्रकारका समाचार/फिचर, इतिहासका ठेली, एनजीओ आईएनजीका रिपोर्ट, समाजशास्त्रीका थेसिस, प्रहरीका घटना/मुचुल्का आदिमा अक्सरः भएकै कुरा हुन्छन् । तिनलाई त्यति रुचिसाथ कमै पढिन्छ । नोटको बिटो र इँटा रङको जुत्ता भाग्यमानीले भेट्ने त हो नि ।
बुद्धिसागरको उपन्यासमा संयोगहरूको शृंखला लामै हुन्छ । पाँच महिना खर्चपानी रोकिएको सिरीलाई आमा, दाइ र बा एकले अर्कालाई थाहा नदिई सुटुक्क सोच्दै नसोचेको पैसा एकैचोटि पठाउँछन् । ‘एक्लो’ भनिएको उसले फुर्ती पनि लडाउँछ, ‘म सहरमा ‘एक्लो’ हुँला । तर संसारमा ‘एक्लो’ छैन । यो सहरको जुन बाटो हिँडेर गए पनि त्यसको टुप्पो मेरै आँगनमा जोडिन्छ ।’ साथी प्रकाशको मृत्युपछि आदि मोहिनीलाई अपनाउँछ ।
यथार्थ र स्वैरकल्पनाको फ्युजनमा बुनिएको यो उपन्यासमा गाउँबाट काठमाडौं पस्ने धेरैजसोले आफूलाई भेट्टाउन सक्छन् । कथाको गहिराइमा पुग्न सायद कथासित कहीँ कतै जोडिनुपर्छ भन्ने लेखकीय आग्रह पनि छँदै छ । काठमाडौंमा घरधनी पनि उत्तिकै समस्यामा छन् । छोरा अमेरिका भासिएपछि घरबेटी बाआमा एक्लिएका छन् । स्लिपिङ ट्याब्लेट खाएर सुत्नुपरेको छ ।
अझ छोराले अम्रिकाने केटीसँग घरजम गरेपछि भगवान् नमिल्नेसित कसरी घरजम हुन्छ भन्दै निराश भएका छन् । तर, उपन्यासमा ‘शोकाकुल’ देखिन्छन् । छोराले विधर्मीसँग विवाह गर्दा आक्रोशित त होलान्, विस्मित वा स्तब्धित होलान् तर शोकाकुल कसरी हुन्छन् ? यसलाई भाषागत विचलन भन्नैपर्छ । छोराको बिहेको ४५ औं दिनको प्रसंग पनि आएको छ । शोकमा पो पैतालिसौं पुण्यतिथि होला । विवाहको कसरी ? यस्ता बाङ्गा प्रश्न बुद्धिसागरलाई गर्न नसकिने होइन ।
एउटा प्रसंगमा कान्छा बाले भनेको छ, ‘दाइको जीवन सार्थक भयो । तपाईंजस्तो असल छोरा पाउनुभयो । दाइको वैकुण्ठबास हुन्छ । म खुसी भएँ, अब म गाउँमा हाम्रो छोरा काठमाडौंमा जागिरे भा’छन् भनेर ढ्वाङ फुक्दै हिँड्छु ।’ यी संवाद पढ्दा लाग्छ, सिरीका बाले जिन्दगीबाट अवकाश लिइसकेछन् । तर, लगत्तै अर्को पृष्ठमा तिनै बाले फोन गर्छन् । जिउँदै मानिसको प्रसंगमा वैकुण्ठबासको प्रसंग आउनु अलिक असावधानी नै हो ।
आफ्नो कथालाई एकछिन पर छाडिदिने हो भने बुद्धिसागर गाउँको कथाबाट सहर छिरेका छन् । बाल्यकालीन भुइँ छाडेर वयस्क भएका छन् । कर्नाली ब्लुजमा कालीकोटदेखि जुम्लासम्म थिए, फिरफिरेमा नेपालगन्जमा थिए । अहिले काठमाडौंमै रत्तिएका छन् । फिरफिरेमा बोक्सी, धामी, झाँक्रीका चमत्कारी प्रसंग थिए । अहिले बिजुलीको पोलमा बाँदरसरि चढ्ने भूत अनि ट्याक्सी ड्राइभर–किचकन्नी सम्भोग अनि अग्निज्वाला माताको शरणमा पुगेका छन् । यस्ता तिलस्मी कहानी उपन्यासमै त सुहाउँछन् ।
उपन्यास विषयवस्तुका हिसाबले औसत छ । मुख्यपात्रका हिसाबले सामान्य छ । सिरीको सहरी अन्तर्वृत्तान्त जो कसैले भोगेको हुन सक्छ । तर, यसको काव्यिक जीउडालले उपन्यास भव्य हुन गएको छ । काव्यको चमक असाधारण हुन गएको छ । कुनै पनि घटनालाई विम्बका माध्यमले बताउने उनको शिल्प सदैव स्वागतयोग्य छ । यसले आख्यानमा नवीन रंग थपेको छ ।
हुन त ‘एक्लो’ विवरणात्मक शैलीको उपन्यास हो । तर, हरेक अनुच्छेदको मोहक वर्णनले लम्बेतान अनुभूति हुँदैन । ओभर डिटेलिङ त्यतिखेर लाग्ने हो, जतिखेर औपन्यासिक बहाव खण्डित हुन्छ । बुद्धिसागरमा उपन्यास टुंग्याउने कुनै पनि हतारो देखिँदैन ।
काव्यको सहाराबिना साहित्यको कुनै पनि विधा सग्लो उभिन सक्दैन । साहित्यको धुकधुकी मापन काव्यबाटै हुन्छ । भाषाको तन्नेरीपन काव्यमै झल्किन्छ । काव्यवैभव यो उपन्यासको कडी हो । भाषिक लालित्य र शौष्ठव, निखुरोपनका दृष्टिले यसलाई उम्दा उपन्यास भन्नुपर्छ । नवसिकुवाहरूले यसबाट धेरथोर औपन्यासिक कलाको भेउ पाउन सक्छन् । यो गद्यमा लेखिएको महाकाव्यजस्तै छ । आखिर कुनै सुन्दरीलाई दस जनाले विभिन्न पक्षबाट हेर्लान् । तर, सारमा सुन्दरी नै मान्छन् ।
कतिपय उपन्यासलाई जीवन, जीवनपद्धति र समयको तस्बिर मान्छन् । यो फगत तस्बिर शैलीको उपन्यास होइन, यसमा सूक्ष्म शैली मिसिएको छ । यसमा निकट इतिहासका डोबहरू छन् । सामाजिक यथार्थकै कलागत अभिव्यक्ति भेटिन्छन् । तर, प्राविधिक रूपमा यसलाई कुन वाद, विचार वा सिद्धान्तको स्कुलमा भर्ती गराउने भन्ने संकटचाहिँ छ ।
मान्यता पछ्याएर मात्र होइन, स्वयं मान्यता बन्न पनि सक्छ साहित्य । विचार, सिद्धान्त र आदर्श फलाक्ने पपुलर लेखक हुन सम्भव पनि छैन । सधैंभरि वाद र घोषणापत्रमै अलमलिनेले साहित्य नलेखेकै जाती । मान्यता पछ्याउने मात्र होइन, स्वयं मान्यता बन्न पनि सक्छ साहित्य ।
यो उपन्यास चलनचल्तीका सबै स्कुलमा झल्याकझुलुक पुगे पनि मार्क्सवादी मापोमा भने पक्कै दरिँदैन । किनभने मुख्य पात्र वा सहायक पात्रहरूले खराब भनिएका पक्षसँग न संघर्ष गरेका छन्, न त सम्झौता । तर, सुन्दर संसार र मधुर जीवनको खोजी अवश्य छ । उपन्यास भनिएकाले ‘एक्लो’ लाई बुद्धिसागरको अर्को आत्मकथा त भन्न मिलेन । तर, यो आत्मकथाभन्दा पर पुगेको पनि छैन ।
पाठकले जेजति आलोचना गरेका छन्, त्यो पनि लेखककै आर्जन हो । हरेक पुस्तकमा लेखक आन्तरिक रूपमा परिष्कृत र समृद्ध नै भएको हुन्छ । तर, पाठकको अपेक्षा त्योभन्दा बढ्ता हुन जाँदा कहिलेकाहीँ र्याङठ्याङ मिल्दैन । उपन्यासकारले जति दिन्छ, पाठकले त्यति नै पाउने हो । पाठकले खोजेजति पाउनचाहिँ आफैं उपन्यास लेख्नुपर्छ ।
त्यसो त पुरस्कृत वा बेस्ट सेलर नै सबभन्दा गतिलो हो भन्ने भ्रममा कतिपय लेखकहरू हुन्छन् । त्यसबाट उनीहरूको प्रतिभा कुण्ठित हुन्छ । त्यसैले लेखकको अहंकार, दम्भको गुरुता र दोष औंल्याएर लेखकलाई हलुका बनाइदिने जिम्मेवारी समीक्षकहरूको हुन्छ ।
‘एक्लो’ पढ्दा ध्रुवचन्द्र गौतमको ‘डापी’ अनि पर्ल एस बकको ‘द गुड अर्थ’ लाई पनि बिर्सन सकिँदैन । ‘द गुड अर्थ’ मा वाङलुङले बन्जर खेतमा आफूलाई रचेजसरी सिरीले काठमाडौं सहरमा आफूलाई उमार्न खोजिरहेको छ । नीलकुरिन्जीको प्रसंग पटकपटक आउँछ उपन्यासमा । १२ वर्षमा एकपटक फुल्ने नीलो पहाडी फूलजस्तै लाग्छ, ‘एक्लो’ मा सिरी । ऊ थाकेको छ, तर हारेको छैन ।
उपन्यासमा भव्य सुखान्त छ । सिरीले मोबाइल र १४ इन्चको रंगीन टीभी किनेको छ । दोहोरो जागिर पाएको छ । बाबुले दसैंमा घर आइज भनेका छन् । सिनामंगलतिर डेरा सरेको छ । सात वर्षपछि फेरि आईए भर्ना भएको छ । फेरि पनि गेसपेपर र गाइडबुक किनेको छ । यसमा प्रवीणता प्रमाणपत्र तह त फेजआउट भइसक्यो भन्न नपाई । किनभने उपन्यासमा यस्तो धेरै चल्छ ।
उसकी समीरा फ्रान्स जान लागेकी छे, नील उदास छ । समिरा भनिरहेकी छे, ‘म गएकोमा दुःखी हुने मामु र तिमी छौ । मामुलाई छोरी चाहिएको, तिमीलाई गर्लफ्रेन्ड । तर, मैले अहिलेसम्म यस्तो मान्छे कमाएकी रैनछु, जो म गएकामा खुसी होस् ।’
अब बिदाइ पार्टी हुनेवाला छ । कली क्याफेको परशुराममार्फत पार्टीको भेन्यु पत्ता लगाएर सिरी झम्सिखेलको झिँगु क्याफेतिर लम्केको छ । सिरीले आवाजकी डिजाइनर समीरालाई भेट्छ कि भेट्दैन ? त्यो थाहा पाउन उपन्यास नै पढ्नुहोला ।