
‘होटलमा आगो दन्किरह्यो, भाइलाई ४ घन्टासम्म भिडिओमा आत्मबल दिइराख्यौं, उद्धार भएन’ (भिडिओ)
प्रकाशित मिति । १६ पुस, २०७९ ।
काठमाडौ । थाइल्यान्डको सिमानामा रहेको कम्बोडियाको पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा, बिर्तामोडका निराकर पाण्डेले ज्यान गुमाएका छन्।
निराकार थाइल्यान्डबाट घुम्न भनेर कम्बोडिया पुगेका थिए। उनी होटलको १२ औं तल्लामा बसेका थिए। आगलागी भएपछि होटलबाट बाहिर निस्कने खोजे पनि उनी असमर्थ भएका थिए।
आगलागी भएर होटलमा थुनिएका बेला निराकारसँग उनका दाजु निरज पाण्डे र परिवारका सदस्यहरूले ४ घन्टा भिडिओ कलमा कुराकानी गरे।
दाजु निरजका अनुसार निराकर दुई महिनाअघि, नोभेम्बर ७ तारिखमा थाइल्यान्ड गएका थिए। त्यहाँबाट घुम्नका लागि कम्बोडिया पुगेका थिए। कान्छा भाइ निराजनको बिहेपछि निराकर थाइल्यान्ड गएका थिए।
निरजले भने, ‘कम्बोडियाको होटलमा भएको आगलागीमा फसेको थाहा भएपछि राती ११ बजे म, मेरी श्रीमती र आमा काठमाडौंको सुकेधारामा उसको परिवार बसिरहेको ठाउँमा पुग्यौं।’
त्यसपछि निराकारसँग लगातार भिडिओ कलमा कुराकानी भएको र आफूहरूले उसलाई उद्धार हुने भन्दै सुरक्षित रहन भनिरहेको निरजले बताए।
‘भाइको नाबालक छोरा शुभार्जन र श्रीमती शशिकला लोहनी काठमाडौं बस्छन्,’ निरजले भने, ‘हुँदाहुँदै राति १२ बजेदेखि नेपाली समय बिहान ४ बजेर २६ मिनेटसम्म कुरा भयो। हामीले उसलाई धुवाँ आउँछ भनेर ढोकामा कपडा खाँद्नू, पर्यटकीय क्षेत्र भएकाले चाँडै उद्धार हुन्छ भनिरह्यौं। तर भएन।’
निराकारले होटलको १२ औं तलाबाट तलको दृश्य मोबाइलमा देखाएका थिए। भिडिओमा हेर्दा तल एम्बुलेन्स देखिन्थ्यो। प्रहरी र सर्वसाधारणको भीड थियो। तर दमकलले तीन तलाभन्दा माथिको आगोमा पानी हाल्न नसकेको निरजले बताए।
‘उद्धार टोली पर्खिँदा पर्खिँदै पूरै भवनमा आगो लाग्यो,’ निरजले भने।
आगलागी भएको चार घन्टासम्म पनि निराकारको उद्धार हुन नसकेकामा निरज दुखी छन्। उनका अनुसार उक्त भवनमा सन् २०१९ मा पनि आगो लागेको थियो। निराजनले आगो लागेपछि नियन्त्रणमा आउला भन्ने सोचेका थिए। त्यसैले आगलागी सुरू भएको डेढ घन्टापछि मात्र परिवारलाई खबर गरेका थिए।
निरज र परिवारले यताबाट कपडाहरू बाँधेर ढोकामा राख्नु भनिरहे। निराकारले ‘सक्दो कोशिस गर्दैछु’ भन्दै उद्धारका निम्ति पर्खिरहे। उद्धार हुने कुनै अवस्था नदेखेपछि भने निराकार निराश भएर भिडिओमा कुराकानी गर्न थाले।
यो पनि पढ्नुहोस्ः आगो लागिरहेको क्यासिनोको १२ तलाबाट लाइभ भिडिओमा छोरालाई भने- बाबा अलवेज लभ्स यू, राम्रो मान्छे बन्नू
निरजले भने, ‘मेरो परिवारलाई सक्दो माया गरिदिनुहोला, हेरिदिनुहोला भन्ने भिडिओको क्लिपहरू पठायो। मैले उसलाई प्रेरणा दिइरहन कान्छो भाइको बिहेका बेला सबै जना भएको भिडिओको क्लिपहरू पठाएँ। तर त्यो भिडिओ क्लिपको नोटिफिकेसनमा अझै ‘सिन’ भएन।’
आगोको घेरामा फसेका निराकरले उद्धार हुने आश नदेखेपछि होटलको १२ औं तलाबाट हाम फाले। दाजु निरजले कम्बोडियाको मिडियामा प्रकाशित भएको एउटा फोटो भेटेका छन्।
‘होटलको झ्यालमा एक हातमा टर्चलाइट र अर्कोमा मोबाइल बोकेको र झोला भिरेको फोटो छ,’ निरजले भने, ‘विदेशबाट बाकसमा लास आउँछ भन्ने सुनेका थियौं। आफ्नै परिवारमा यस्तो घटना भयो।’
भाइले अन्तिम समयमा भनेका कुरा निरजको दिमाग फनफनी घुमिरहेको छ— आमालाई हेर्नू, परिवारलाई हेर्नू, मेरो बालख छोराको ख्याल गरिदिनू ल।
भिडिओ कुराकानी हुँदै गर्दा बीचबीचमा नेटवर्क टुट्थ्यो। त्यो बेला निराकारले आफ्ना छोराका लागि भनेर भिडिओ क्लिप खिचेर पठाएका थिए।
ती भिडिओ क्लिपमा साइरनको आवाज सुन्न सकिन्छ। उनी बोल्दै गर्दा कोठामा धुवाँ भरिएको पनि देखिन्छ।
निरजका अनुसार निराकारले केही साथीहरूलाई पनि सम्पर्क गरेका रहेछन्। उनले साथीहरूलाई आफूलाई केही भए, आफ्नो लास नेपाल पठाइदिन भनेका थिए।
‘अब भाइ फर्केर आउँदैन, उसको बालख छोरालाई कसरी के भन्ने भइरहेको छ,’ निरजले भने।
निराकारका दाजु निरजसँग गरिएको भिडिओ कुराकानीः
अहिलेको गठबन्धन लामो समय टिक्दैन : कांग्रेस नेता पौडेल
डुम्रे — नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले हालै गठन भएको गठबन्धनको सरकार लामो समय नटिक्ने टिप्पणी गरेका छन् ।
तनहुँको बन्दीपुर गाउँपालिका–६ खहरेटारस्थित मिलीजुली युवा क्लबको पाँचौँ वार्षिकोत्सवमा शुक्रबार आयोजित तमु ल्होसार सांस्कृतिक कार्यक्रम तथा खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, ‘भागबन्डा र विगतमा भएको धोकाले यो गठबन्धन लामो समय टिक्न सक्ने अवस्था छैन । अहिले जति तडकभडक गरिए पनि दीर्घकालका लागि यो गठबन्धन टिक्दैन ।’
मुलुकमा राजनीतिक स्थिरता र सुशासन कायम गर्न सदैव लडिरहने उनले बताए । ‘हामी प्रतिपक्षमा बसेर पनि राजनीतिक स्थिरता र सुशासनका निम्ति सदैव लड्नेछौं,’ नेता पौडेलले भने । उनले राष्ट्रिय सहमतिको आवश्यकता औँल्याउँदै भने, ‘देशलाई सहमतिको आवश्यक छ । राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न नेताले हिम्मत गर्नुपर्छ ।’