मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन गृहमन्त्री र प्रधानमन्त्रीबीच छलफल

प्रकाशित मिति । १६ पुस, २०७९ ।

१६ पुस, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन प्रधानमन्त्रीसँग छलफल गरेका छन् ।

आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन भन्दै छलफल चलाएका हुन् ।

हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ ।

साथै भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

तराईमा शीत लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवस्यक तयारी गर्ने विषयमा पनि छलफ भएको छ ।

भेटका क्रममा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रालयसँग समन्वय गरी काम अघि बढाउने बताएका छन् ।

पूर्वी पहाडमा जोधाहा वाहन

बेलायती कम्पनीका ७० वर्ष पुराना ल्यान्डरोभर गाडी अझै पनि चल्दै 

धनकुटा — उनी घुम्ती र साँघुरा मोडहरूसँग परिचित छन् । पूर्वका पहाडी जिल्लाहरूका कुनाकाप्चा चहारेका महालक्ष्मी नगरको जितपुरका ३९ वर्षीय भूपाल पौडेलले ल्यान्डरोभर गाडीको स्टेरिङ समाएको डेढ दशक भयो । भीरपहरा, उकालीओराली, लेकबेंसीमा ल्यान्डरोभरभरि यात्रु हालेर कुदाउनु उनको दिनचर्या हो । 

१५ वर्षअघि उनले १२ लाखमा ल्यान्डरोभर किनेका थिए । चार वर्ष चलाएर त्यसलाई बेचे । उनले ३० लाखमा सोही कम्पनीको अर्को गाडी किने । पहाडको अप्ठेरो बाटोमा ७० डिग्री कोल्टे पर्दा पनि उनी आत्तिँदैनन् । बरु अनुभवले सम्हालिएर बाटो पार लगाउँछन् । उनी भन्छन्, ‘ट्र्याक्टर चल्ने सामान्य बाटोमा ल्यान्डरोभर कुदाउन सजिलै हुन्छ ।’

पहाडी बाटा सजिला छैनन् । वर्षामा हिलो, हिउँदमा कतै धूलो कतै हिउँ । कुनै बाटो यस्ता छन् माथि हेर्दा टोपी झर्छ र तल नियाल्दा मुटु काप्छ । तीनजुरे–मिल्के–जलजले क्षेत्रमा हरेक वर्ष गुराँस फुलेको हेर्दै बाटो काटेको अनुभवदेखि हिउँ पर्दा चिप्लेटी खेल्न र रमाउन पुग्ने पर्यटक ओसारेकोसम्म उनलाई अनुभव छ । कहिलेकाहीं त गाडी हाँक्दाहाँक्दै यस्तो अवस्था आउँछ, उनलाई कति ट्रिप गरियो भन्ने पनि ख्याल हुन्न ।

धनकुटाका गजेन्द्र श्रेष्ठले पनि ल्यान्डरोभर चलाएको १७ वर्ष बितिसक्यो । ११ लाखमा सहरमै घडेरी किन्न सकिने बेला उनले पैसा गाडीमा हाले । सुरुमा किनेको ल्यान्डरोभरको वान–टेन ब्रान्ड ९ वर्ष चलाएपछि बेचे । त्यसपछि सोही कम्पनीको फोर्थ ह्यान्ड डिफेन्डर ३०० मोडल किनेर ८ वर्षयता निरन्तर कुदाइरहेका छन् । उनले चलाइरहेको गाडी ३४ वर्षअघि अर्थात् सन् १९८८ बेलायतबाट नेपाल भित्रिएको लटको हो । उक्त गाडी उनीअघि तीन जनाले किनबेच गरिसकेका थिए ।

धनकुटावासीले आफ्नो जिल्लामा आएको पहिलो गाडी देखेकै ल्यान्डरोभर हो । पहाड फोरेर सडकको ट्र्याक खुल्दै जाँदा बेलायतमा निर्मित बलियो इन्जिन भएका यी गाडी धनकुटा आइपुगेका हुन् । बेलायत सरकारको सहयोगमा सञ्चालित पाख्रिबास कृषि अनुसन्धान केन्द्रले पहिलो पटक जिल्लामा गाडी ल्याएको थियो ।

धनकुटा बजारबाट ग्रामीण क्षेत्रतर्फ जाँदै गरेको ल्यान्डरोभर । तस्बिर : कान्तिपुर

धरान–धनकुटा सडक निर्माणसँगै बेलायती गाडी जिल्लाका अन्य विदेशी आयोजनाहरूले पनि पहिलो रोजाइमा राखे । ग्राउन्ड क्लियरेन्स उच्च हुनु, उकालोमा तान्ने शक्तिशाली र फलामको बलियो बनोटसँगै जस्तोसुकै अप्ठ्यारो बाटोमा पनि चलाउन सकिने विशेषता यसको कारण थियो ।

बेलायत सरकारको सहयोगमा २०३६ देखि कोसी राजमार्गको धरान–धनकुटा सडक निर्माण सुरु भएपछि थप गाडी भित्रिए । राजमार्ग अनुगमन र अवलोकन गर्न विदेशीहरू ल्यान्डरोभरकै गाडी चढेर जिल्ला आउँथे । २०५५ मा पाख्रिबास कृषि केन्द्र नेपाल सरकारलाई हस्तान्तरण गरिएपछि यस मातहतमा रहेका सबै गाडीसमेत जिल्लामै रहे ।

केन्द्रमा अहिले पनि ३ वटा ल्यान्डरोभर गाडी छन् । जसमध्ये एउटा पिकअप राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई दिइएको केन्द्र प्रमुख डा. गोविन्द तिम्सिनाले बताए । ‘वर्षौं पुराना ल्यान्डरोभर अझै प्रयोगमा छन्,’ म २२ वर्षदेखि केन्द्रमा उनी भन्छन्, ‘यति बलियो गाडी छन् कि हाम्रा अप्ठ्यारा बाटामा अरू गाडी फस्छन्, निकाल्न हम्मे पर्छ तर ल्यान्डरोभर सजिलै गुडेका छन् ।’

एक दशकअघिसम्म धनकुटाको लेगुवा भएर पुगिने संखुवासभाको अक्कर भीरमा सडक कच्ची मात्र थियो । माथि आँखाले भ्याएसम्म देखिने अग्लो भीर, तल अरुण नदी नियाल्दा आगन्तुकलाई रिंगटा छुट्थ्यो । अक्कर भीरलाई पूर्वको सबैभन्दा अप्ठेरो मार्गका रूपमा चित्रण गरिन्छ । त्यहाँ अरू गाडी चल्ने कल्पना टाढाको कुरा हुन्थ्यो ।

त्यसैले ल्यान्डरोभरले सहज यात्रा दिन्थ्यो यात्रुलाई । लेगुवाबाट अक्कर भीर छिचोल्दै तुम्लिङटार, खाँदबारी, दिङ्लालगायत उत्तरी लेकाली बस्ती पुगिन्थ्यो । त्यहाँ पनि अरू गाडीभन्दा पहिलो रोजाइ ल्यान्डरोभर बन्थ्यो ।

०७० मा सरकारले २० वर्ष पुराना गाडी चल्न नदिने भनेपछि पहाडमा चलिरहेका पुराना ल्यान्डरोभर निसानामा परे, जुन दशकौं पुराना थिए । लाखौं खर्चिएर किनेका ती गाडी थन्क्याउनुभन्दा धेरैले कबाडीको भाउमा बिक्री गरेको बताउँछन् चालक भूपाल पौडेल । ०७० मा बेचेको ७० वर्ष पुरानो एउटा वान–टेन गाडीको अवस्थाको साक्षी उनी आफैं छन् ।

सिधुवाका पदम भट्टराईले उक्त गाडी कबाडीका रूपमा बिक्री गरेको उनी सुनाउँछन् । जुन गाडी पौडेल स्वयंले ०६४ मा भट्टराईलाई बेचेका थिए । त्यसबेला १० लाखसम्म सहजै बिक्री गर्न सकिने गाडीलाई आधा मूल्यमा पार्टपुर्जा बिक्री गर्न बाध्य भए । त्यो बेला बेच्नुको बाध्यता गाडीको वार्षिक कर नै ७० हजार रुपैयाँ तिर्नुपर्ने भएको थियो ।

नेपाल सरकारले जब २० वर्ष पुराना गाडीमा रोक लगाउन थाल्यो, तब भारत तथा जापानमा बनेका गाडी ह्वात्तै भित्रिए । ल्यान्डरोभर पहाडका लागि उपयुक्त भए पनि निकै महँगो भएकाले विकल्पमा भारतीय कम्पनी महिन्द्राको बोलेरो र टाटाको सुमो पहाडी सडकमा देखिन थाले । सरकारी कार्यालय र आयोजनाहरूका जापानिज टोयटा र ल्यान्डक्रुजर पनि पूर्वी पहाडी सडकमा आए । सडक सञ्जाल बढेसँगै अन्य मोडलका गाडीले सहरबजार र गाउँबस्ती जोड्न थाले ।

२० वर्ष पुराना गाडीमा सरकारले चार वर्षसम्म रोक लगाउँदाको अवधि कच्ची सडक रहेका दुर्गम पहाडसम्म अरू गाडी पुग्न गाह्रो भयो । गाडीहरू ल्यान्डरोभरका तुलनामा ल्यान्डरोभर होचो र कच्ची सडकमा सहज रूपमा गुड्न नसक्ने देखिएपछि माग बलियो गाडीकै भयो । सर्वसाधारणले सहज यात्राका लागि ल्यान्डरोभर वान–टेन उपयुक्त हुने माग गर्न थाले ।

पुराना मर्मत गरेर पनि ल्यान्डरोभर फेरि चल्न थालेको चालक गजेन्द्र श्रेष्ठ सम्झन्छन् । ‘भर्खर ट्र्याक खुलेका सडकमा जहाँ ल्यान्डरोभर कुदाउँदा केही हुँदैनथ्यो, नयाँ गाडी ३/४ वर्षमै थोत्रो भइजाने रहेछन्,’ उनी भन्छन्, ‘पार्टपुर्जा र मर्मतको खर्च धेरै भएर पनि जसोतसो ल्यान्डरोभर नै ठीक भन्नेमा गाडीधनी पुगेका थिए । ल्यान्डरोभरको गियर बक्स, चेचिस दह्रो र आल्मुनियमको पाताबाट बनेकाले असाध्यै टिकाउ हुन्छ ।’

चार दशअघिका तुलनामा पूर्वका धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, इलाम, पाँचथर र ताप्लेजुङमा सडक सञ्जाल विस्तारित छ । धेरै ठाउँ जहाँको ट्र्याक ल्यान्डरोभरले छिचोले, अरू गाडी पनि सहजै पुग्न सक्ने भइसकेका छन् । तैपनि ल्यान्डरोभरको आकर्षण कम भइसकेको छैन । १० वर्षदेखि टाटा सुमो किनेर चलाउँदै आएका धनकुटा–४ का मोहन पोखरेल भन्छन्, ‘पहाडी बाटोलाई बलियो गाडी चाहिन्छ । आकर्षणले लगानी जुटाउन सकिँदैन, ल्यान्डरोभर किनेर हाल्न सकिन्न । त्यसैले इन्डियन गाडी भित्रिएका हुन् ।’

२९ वर्षदेखि चालकको पेसा गरिरहेका गुणराज दाहालले ल्यान्डरोभरबाहेक अरू गाडी चलाएका छैनन् । चार वर्ष धरानमा एक जनाको निजी ल्यान्डरोभर कुदाएका उनी ०५५ देखि पाख्रिबास कृषि अनुसन्धान केन्द्रमा छन् । बेलायती परियोजनाको प्रत्यक्ष निगरानीमा सञ्चालित केन्द्र नेपाल सरकारलाई हस्तान्तरण गरिए पनि पनि ल्यान्डरोभर अझै छँदै छन् । दाहाल भन्छन्, ‘म ल्यान्डरोभर लिएर पूर्वका सबैजसो जिल्ला पुगेको छु ।’

उनका अनुसार ०५५ मा विदेशी संस्थाको नामबाट सरकारी नम्बर बनाउँदा अनुसन्धान केन्द्रमा रहेका गाडीको मूल्य १९ हजार पाउन्ड कायम गरिएको थियो । ‘अरू गाडीभन्दा आकाश जमिनकै फरक हुन्छ ल्यान्डरोभर,’ उनी भन्छन्, ‘यो पहाडकै राजा हो राजा ।’

०५१ देखि निरन्तर १४ वर्ष विभिन्न विदेशी परियोजनाका ल्यान्डरोभर चलाएका धनकुटा–४ देब्रेबासका रोहित दाहाल ‘अफ रोड’को राजाको उपमा दिन्छन् उक्त गाडीलाई । बेलायतद्वारा सञ्चालित कोसी पहाडी क्षेत्र ग्रामीण विकास कार्यक्रम (खार्डेप) ले जिल्लामा ल्यान्डरोभर ब्रान्डकै गाडी भित्र्याएको थियो । उक्त परियोजनामा १० वर्ष सुपरभाइजर पदमा काम गरेका उद्धव वाग्लेका अनुसार ०३४ सालमा भित्रिएको संस्थाले कोसी पहाडी जिल्लामा काम गर्थ्यो ।

धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभामा कार्य क्षेत्र रहेको संस्थाले गाउँ–गाउँसम्म सामाजिक, कृषि, खाद्य सुरक्षा, पशुपालन र त्यसका समस्या तथा अनुसन्धानका सवालमा काम गर्थ्यो । धनकुटा–हिले सडक खार्डेपले निर्माण गरेको हो । त्यसैबेला ल्यान्डरोभर वान–टेन गाडी जिल्लामा भित्र्याइएको थियो ।

७ वर्षसम्म खार्डेपले काम गर्दा बेलायतबाटै गाडी धनकुटामा ल्याइएको वाग्ले बताउँछन् । ‘०४१ सालपछि पुनः खार्डेपले (के १, के २ र के ३) तीन चरणमा थप कार्यक्रम गर्‍यो । त्यसपछि बेलायत सरकारको परियोजना कोसी भेज र एलएलफीले पनि एक दशकसम्म काम गरे,’ उनी सुनाउँछन्, ‘त्यसबेलासम्म धनकुटाका ग्रामीण क्षेत्रसम्म कच्ची सडकको पहुँच पुगिसकेको थियो ।’

परियोजनाको अवधि सकिएपछि उसले प्रयोग गर्ने गाडी लिलामी गरियो । त्यसपछि कतिपय गाडी सरकारी कार्यालय र व्यक्तिको नाममा पुगे । धनकुटामा अझै पनि जिल्ला वन कार्यालय, भूसंरक्षण कार्यालय, सिँचाइ डिभिजन लगायतले ल्यान्डरोभर नै प्रयोग गर्छन् ।

धरानस्थित घोपा क्याम्पले पनि प्रयोग गरेका ल्यान्डरोभर लिलामीपछि व्यक्तिको हातमा पुगे । सामान्यतः ८ जना यात्रु क्षमताको ल्यान्डरोभर धनकुटा मात्रै होइन पूर्वका तेह्रथुम, संखुवासभा, भोजपुर, पाँचथर, इलाम, ताप्लेजुङ, खोटाङ लगायतका जिल्लामा सामान्य कच्ची सडकमा गुडिरहेको देख्न सकिन्छ । चालक दाहाल अन्य कम्पनीका गाडीभन्दा अग्लो र बलिया भएकैले यी गाडी अहिले पनि चल्तीमा रहेको सुनाए ।

पूर्वका अधिकांश ल्याण्डरोभर गाडी मर्मतका लागि धरान रमेश शाक्यको ग्यारेजमा पुग्छन् । उनका अनुसार नेपालमा चलिरहेका यी गाडी २५ सय सीसीका छन् । ४०–५० वर्ष पुराना गाडीको ट्यांकीमा रोटर पम्प हुन्थे । त्यसैबाट गाडीको इन्जिनमा इन्धन इन्जिनमा पुग्छ । सन् १९८८ पछि आएका गाडीमा रोटरपम्पको विकल्पमा सेन्सरबाट प्रविधि छ । धरान–धनकुटामा चल्ने पुराना धेरैजसो गाडी पछिल्लो समय आफूले नदेखेको उनको भनाई छ ।

पूर्वी पहाड धनकुटा, ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर लगायत जिल्लामा सबैभन्दा बढी अप्ठ्यारा कच्ची बाटोमा चल्ने गाडी ल्याण्डरोभर छन् । ल्याण्ड रोभर पार्ट्सका विक्रेता समेश शाक्य भन्छन् ‘थोत्रिएर थन्किन लागेका गाडी पनि कम्तीमा १५ लाख रुपैयाँमा किनबेच हुन्छन् ।’

बेलायती कम्पनी रोभरले सन् १९४८ अप्रिल ३० मा ल्यान्डरोभर जब विधिवत् बजारमा उतारेको थियो, भनिएको थियो, ‘यो त्यस्तो ठाउँमा कुदाउन मिल्ने गाडी हो जहाँ सडक सजिलो छैन ।’ कच्ची र भर्खरै ट्र्याक खोलिएका सडकमा कुदाउनकै लागि यो गाडीको मोडल बलियो बनाइएको थियो ।

कम्पनी किनबेच र मोडल पविर्तनको ७४ वर्ष लामो समयावधि पार गरेको ल्यान्डरोभर उत्पादक कम्पनी अहिले संसारकै महँगा मोडल निर्मातामा पर्छ । यसले उत्पादन गर्ने रेन्जरोभर अब इलेक्ट्रिक मोडलमा पुगिसकेको छ । नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापा भन्छन्, ‘तीन वर्षदेखि नेपालमा ल्यान्डरोभरका गाडी आयात बन्द छ । पार्टपुर्जा पाउलान्, सर्भिसिङ सेवा छ तर नयाँ गाडी नेपाली शोरुममा पाइँदैन ।’

दुई दशकदेखि ल्यान्डरोभर गाडीको पार्टपुर्जा बिक्री गर्दै आएका धरानका समेश शाक्य भन्छन्, ‘गाडी बलियो र राम्रो तान भएकैले पहाडी सडकमा कुदाउन रोजाइमा परेको हो ।’ उनका अनुसार ल्यान्डरोभरका मोडमा धेरै परिवर्तनहरू भएका छन् । पूर्वी पहाडी जिल्लामा चल्ने गाडीहरू धेरैजसो तीन/चार दशक पुराना छन् ।

धेरैजसो पार्टपुर्जा बेलायतबाटै आयात गरिन्छ, जसले गर्दा महँगो पर्छन् । कतिपय पार्टपुर्जा भने थाइल्यान्ड, मलेसिया, कोरियाबाट पनि मगाइने गरेको उनले बताए । ‘पूर्वका ल्यान्डरोभरको आयु खोतल्ने हो भने सन् १९४८ मा बनेका कतिपय ल्यान्डरोभर पनि अझै चल्दै छन्,’ उनले भने, ‘पहाडमा हिउँदमा जसोतसो अरू गाडी चल्छन्, वर्षायाममा ल्यान्डरोभरको विकल्प छैन । त्यसैले महँगो भए पनि ल्यान्डरोभर चलिरहेका हुन् ।’ पहाडी क्षेत्रमा गाडी हालेका धेरैजसो सवारीधनीले ल्यान्डरोभर त्यहीकारण हटाउन नसकेको उनले सुनाए ।

उनका अनुसार अरू गाडीको सकअप ७ सयमा पाइन्छ, ल्यान्डरोभरमा लाग्नेको ७ हजारभन्दा बढी पर्छ । इन्डियन गाडीको क्वायल १५ सय पर्छ भने ल्यान्डरोभरको २५ हजार रुपैयाँ पर्छ । सामान्य गाडीको बुस (रबडको एक प्रकारको पार्टस्) फेर्न ५ देखि ६ हजार रुपैयाँ पर्छ, ल्यान्डरोभरको अढाई लाख रुपैयाँ पर्छ । अरू गाडीको इन्जिन बनाउन ३५ देखि ४० हजार पर्छ भने ल्यान्डरोभरको अढाई लाख रुपैयाँ खर्चिनुपर्छ ।

‘गाडी महँगो, पार्टपुर्जा त झन् महँगोमा अरूको तुलना नै हुँदैन । तर ल्यान्डरोभर अरू गाडी जसरी हत्तपत्त बिग्रिँदैन,’ कृषि अनुसन्धानका चालक गुणराज दाहाल भन्छन्, ‘गाडीमा फोरह्वील लगाउनुपर्दा ल्यान्डरोभरलाई चाहिँदैन । दिनरात कुदाउँदा पनि अरू गाडीमा जस्तो थकाइ लाग्दैन ।’

०७४ सालमा पुरानो गाडी भन्दै ल्यान्डरोभरलाई सरकारले सञ्चालनमा रोक लगाएको थियो । तर, पहाडी सडकका लागि उपयुक्त ल्यान्डरोभरको विकल्प नभएको गुनासो चुलियो । चालक गजेन्द्र श्रेष्ठ भन्छन्, ‘विकल्प नभएपछि ल्यान्डरोभर पुरानो भएर पनि सडकबाट नहटेको हो ।’

सरकारले निर्णय फिर्ता लिएसँगै उक्त गाडी पहाडमा उकालीओराली गर्दै छ । सवारीधनीहरू यातायात व्यवस्था कार्यालयले अन्य गाडीको तुलनामा वार्षिक कर बढी लिने गरेको गुनासो गर्छन् । चालक तेजकुमार श्रेष्ठ भन्छन्, ‘बिमा र वार्षिक कर गरेर एक पटकमा १ लाखभन्दा बढी तिर्नुपर्छ । गाडी किनबेच गर्न पास हुँदैन । हामीलाई विकल्पमा नयाँ बलियो गाडी छैन । पुराना ल्यान्डरोभर बाध्यताले कुदाउनुपरेको छ ।’


Last Updated on: December 31st, 2022 at 10:44 am


११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया