
निर्मलालाई न्याय माग्न फेरि काठमाडौं
प्रकाशित मिति । १५ पुस, २०७९ ।
काठमाडौं — निर्मला कुर्मीे बेपत्ता प्रकरणको छानबिन र दोषीलाई कारबाहीको माग गर्दै बाँकेका महिला फेरि काठमाडौं आइपुगेका छन् । संघर्षपूर्ण सडक आन्दोलन र अनशनपछि सरकारी छानबिन समिति, नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोसमेतले अनुसन्धान गरे पनि पीडितले न्याय पाउने अवस्था नबनेको उनीहरूको गुनासो छ । महिला अधिकारकर्मी रुबी खानको नेतृत्वमा १४ महिलाले बिहीबार काठमाडौंको माइतीघरमा धर्ना सुरु गरेका छन् ।
अधिकारकर्मी खानले सरकारले पहिले सहमति भएबमोजिम दोषीलाई कारबाहीको दायरामा ल्याउन नसकेको बताइन् ।
‘सरकारसँग सहमति भयो तर दोषीलाई कारबाही भएन । सरकारी छानबिन समितिको प्रतिवेदनसमेत कार्यान्वयन भएन,’ उनले भनिन्, ‘जो मुख्य दोषी हो, अब ऊ प्रदेश संसद् छिर्दै छ । एउटा हत्याराले सजाय पाउनुपर्छ भन्ने हामीचाहिँ पाइलैपिच्छे असुरक्षित जीवन बाँचिरहेका छौं ।’ उनले दोषीले सजाय पाउने अवस्था नभएसम्म आन्दोलनबाट पछि नहट्ने बताइन् ।
नेपालगन्ज उपमहानगरपालिका–१७ परस्परकी निर्मलाका श्रीमान् ०६६ सालमा बिते । त्यसपछि उनी दुई छोराको आडमा बस्दै आएकी थिइन् । श्रीमान् बितेपछि निर्मलाको घर र साढे चार बिघा जमिन हडप्न गिरोह सक्रिय बनेको थियो । ०६६ मंसिरमा १० दिनको अन्तरमै उनका दुई छोरा १८ वर्षे रामसागर र १४ वर्षे सुरेशको शंकास्पद मृत्यु भयो ।
त्यसबारे न उजुरी पर्यो, न छानबिन । बरु संविधानसभा सदस्यसमेत भइसकेका छिमेकी बादशाह कुर्मीले उनको जग्गाको कागज र नागरिकता लिएर सम्पत्ति हडप्ने प्रपञ्च रचे । निर्मलाले ०६८ असोज ३० मा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिइन् ।
०७५ पछि निर्मला नै बेपत्ता भइन् । गाउँले र महिला अधिकारकर्मीले खोजी गर्दा प्रहरीले निर्मलाको ०७६ चैत १४ मा भारतमा मृत्यु भएको शंकास्पद सूचना दिने गरेको थियो ।
अधिकारकर्मी खान छिमेकी बादशाह कुर्मीले नै सम्पत्ति हडप्न निर्मलाको अपहरण र शरीर बन्धक बनाई हत्या गरेको बताउँछिन् । गत वर्ष बनेको सरकारी छानबिन समितिले पनि बादशाहसहित आठ जनामाथि अनुसन्धान गर्न सिफारिस गरेको छ । त्यही आधारमा प्रहरीले कुर्मीसहित ८ जनाविरुद्ध जिल्ला जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।
‘त्यति ठूलो संघर्षपछि सरकारले छानबिन गर्यो, प्रहरीले जाहेरी पनि दर्ता गर्यो,’ अधिकारकर्मी खान भन्छिन्, ‘तर प्रहरीले कारबाही अघि बढाएन, बादशाह कुर्मी पक्राउ परेको छैनन्, प्रहरीले उनलाई हाजिरी जमानीमा छोडेको देखाउँछ । उल्टै न्यायको माग गर्ने हामीमाथि बादशाहले धाकधम्की गर्न थालेको छ ।’
बादशाहले राजनीतिक शक्तिको आडमा मुद्दा रफादफा गर्ने प्रयास गरेको उनको आरोप छ । खान भन्छिन्, ‘अब निर्मलाको न्यायका लागि न्यायिक आयोग गठन हुनुपर्छ । अनुसन्धानका नाममा प्रमाण नष्ट गर्ने प्रहरीहरूमाथि कारबाही हुनुपर्छ ।’
प्रहरीले बादशाहको प्रभावमा परेर मुद्दालाई अदालतमा पुर्याउन नचाहेको उनको भनाइ छ । ‘तेस्रो पटक संघर्ष गर्न सडकमा आएका छौं, न्याय सुनिश्चित नभएसम्म आन्दोलन गरिरहन्छौं,’ उनले भनिन् ।
निर्मलाको न्यायका लागि उनीहरू बाँकेबाट पैदल हिँडेका २० दिनपछि २० असोज ०७८ मा काठमाडौं आइपुगेका थिए । त्यस बेला उनीहरूले माइतीघरमा धर्ना दिए, अनशन बसे र चौतर्फी दबाब बनाए ।
१२ दिनपछि सहमति भयो, गृह मन्त्रालयले सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति बनायो, छानबिन सुरु भयो । समितिले कात्तिक १४ मा प्रतिवेदन दियो ।
प्रहरीले अनुसन्धान अघि बढायो । धर्नामा बसेका उनीहरू न्याय पाउने आशाले जिल्ला फर्किए । तर, प्रहरीले अनुसन्धान थालेपछि मुद्दा अदालती प्रक्रियामै प्रवेश गरेन । त्यस बेला आरोपित बनाइएका सबैलाई ‘प्रमाण संकलनको काम भइरहेको’ भन्दै प्रहरीले सामान्य हाजिरी जमानतमा छाडिदियो ।
उनीहरूले दोस्रोपटकको संघर्ष सुरु गरे । त्यस बेला रुबीको अनशन र महिलाको धर्ना ४३ दिनसम्म चल्यो । घटनाको अनुसन्धान सीआईबीले गर्ने भएपछि उनीहरूले आन्दोलन रोके ।
तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले जाहेरीकर्ता र आन्दोलनमा सहभागी हुनेहरूको जीवन रक्षा सरकारले गर्ने र अन्य प्रशासनिक समस्यामा सरकारले सहजीकरण गरिदिने सहमति गरेका थिए । तर, त्यो सहमति लागू नभएको उनीहरूको भनाइ छ ।
चुनावपछि फेरिएको राजनीतिक समीकरणले अधिकारकर्मीमा न्यायको आशा पलाएको छ । ‘रवि लामिछाने सर गृहमन्त्री बन्नुभएको छ, हिजो उहाँले नै यसबारे टेलिभिजनमा बोल्नुभएको थियो, उहाँलाई सबै थाहा छ,’ रुबीले भनिन्, ‘अब पहल हुन्छ भन्ने आशा लिएर आएका छौं ।’
मुख्य दोषीको आरोप लागेका बादशाह कुर्मी कांग्रेसका नेता हुन् । उनी बाँके–३ (२) बाट प्रदेशसभा सदस्य जितेका छन् । समितिको प्रतिवेदनबमोजिम कुर्मीसहित रमेश थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, कुँवर बबनसिंह ठकुरी, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंहमाथि अनुसन्धान भइरहेको छ ।
ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको निधन
काठमाडौँ — ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा निधन भएको हो । अल्बर्ट आइन्स्टाइन अस्पतालले उनको सबै अंगले काम गर्न नसकेको जनाएको अन्तर्राष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् । उनले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए ।
चारपटक विश्वकप खेलेका उनले ६ दशकभन्दा बढी फुटबल खेलाडीको रुपमा बिताए । उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् ।
उनी तीनपल्ट विश्वकप जित्ने एक्लो खेलाडी हुन् । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।
गल्लीको ल्याम्पपोस्ट फुटाउने त्यो केटो
पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट गुज्रिरहेका थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
उनकी छोरी केलीले आफ्ना बुबाको स्वास्थ स्थितिबारे सामाजिक सञ्जालबाट जानकारी दिइरहेकी थिइन् ।
पेले फुटबलका सर्वकालीन महान् नायक
उनी आफूलाई फुटबलकै लागि जन्मिएको बताउने गर्थे । उनको निधनमा संसारभरका फुटबलप्रेमीहरुले शोक व्यक्त गरेका छन् ।