
वन निर्देशनालयको भवन निर्माणमा प्रक्रिया नपुगेको भन्दै धरान उपमहानगरले टाँस्यो सूचना
सुनसरी — धरान उपमहानगरपालिकाले तीनकुनेस्थित निर्माणाधीन प्रदेश १ वन निर्देशनालयको भवन अवैध रुपमा निर्माण भएको भन्दै भत्काउने चेतावनीसहित सोमबार सूचना टाँसेको छ । उक्त सूचना सोमबार निर्माणाधीन भवनबाहिर टाँसिएको हो ।
उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङको हस्ताक्षर रहेको सूचनामा भनिएको छ, ‘धरान उपमहानगर क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्दा धरान उपमहानगरपालिकाको अनिवार्य निर्माण स्वीकृति लिनुपर्ने र नक्सा पास गराएर मात्रै निर्माण गर्नुपर्ने नियम रहेको हुँदा सो नियमअन्तर्गतको कुनै पनि प्रक्रिया पूरा नगरी नियम मिचेर बनाएको देखिएकाले निर्माण कार्य तुरुन्त रोकी प्रक्रियामा आउनु होला‚ अन्यथा अवैध संरचना हटाउनुपर्ने नियमअनुसार कारबाही अघि बढाइने व्यहोरा जानकारी गराइन्छ ।’
वन निर्देशनालयको भवन वन क्षेत्रभित्र निर्माण भइरहेको छ । विराटनगरलाई प्रदेश १ को राजधानी घोषित गरेपछि वन मन्त्रालयको निर्देशनालय धरानमा राख्ने योजनाअनुसार उक्त भवन निर्माण भएको हो ।
तर‚ प्रमुख साम्पाङ र वनबीच विवाद गत भदौदेखि सुरु भएर उच्च अदालतसम्म पुगेको अवस्थामा यो पछिल्लो फन्डा सतहमा देखिएको हो । वन क्षेत्रभित्र पर्ने धरान-२० स्थित नमुना टोलमा प्रमुख साम्पाङले माया धराने साबुन उद्योग सञ्चालन गर्न खोज्दा वन डिभिजन कार्यालयले सरकारबाट भोगाधिकार प्राप्ति गरेपछि मात्र वन क्षेत्रमा उद्योग सञ्चालन गर्न सकिने जानकारी दिएको थियो ।
तर‚ वनको सुझाव अटेर गरेर आफूखुसी उद्योगका लागि भवन निर्माण गर्न डोजरले जमिन सम्याउन थालेपछि सुनसरीको वन डिभिजन कार्यालयले प्रमुख साम्पाङविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको थियो । उच्च अदालतले गत सातामात्र धरान उपमहानगरपालिका र प्रमुख साम्पाङको नाममा वन क्षेत्रमा कुनै पनि निर्माणको कम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।
उच्चको आदेश जारी भएको एकसाता नबित्दै साम्पाङले वन मन्त्रालय अन्तर्गतको करिब ९ करोडको बजेटमा निर्माण भइरहेको वन निर्देशनालयको भवनको नक्सा पास नभएको भन्दै अवैध निर्माण करार गरेपछि धरानमा दुई पक्षबीच जुहारी सुरु भएको छ ।
वन निर्देशनालयका निर्देशक रवीन्द्र महर्जनले भने, ‘अहिले हामी धरान-१३ मा भाडाको घरमा कार्यालय स्थापना गरेका छौं । प्रदेश सरकारले दिएको बजेटले १४ जिल्लाका १७ कार्यालय धरानबाट हेर्ने गरी वन निर्देशनालयको भवन निर्माण भइरहेको छ । धरानका जनतालाई वन निर्देशनालयको कार्यालय चाहिँदैन र ?’
भवनको नक्सापासबारे पूरा गर्नुपर्ने प्रक्रिया वन निर्देशनालयले गर्ने उनले बताए । उनले आफूहरूले धरान उपमहानगरपालिकाको ऐन नियमलाई अटेर नगरेको बताए । उनले भने, ‘सामान्यतया चारकिल्ला भएको र नम्बरी जग्गामा घर वा भवन बनाउँदा स्क्वायरफुटअनुसार तोकिएको शुल्क तिरेर स्थानीय तहमा नक्सा पास गरिन्छ ।
तर‚ हाम्रो त चारकिल्ला पनि छैन । नम्बरी पनि परेन । धनीपुर्जा पनि छैन । ऐलानी पर्ती पनि होइन । विशुद्ध वनभित्र पर्ने भएकाले वनकै निर्देशनालयको डिजाइनअनुसार भवन निर्माण भइरहेको छ । अब कसरी र कुन प्रक्रिया अपनाएर नक्सा पास गर्नुपर्ने हो त्यो सबै गर्न तयार छौं ।’ उनले भवन निर्माण अन्तिम चरणमा पुगेको बताए ।
उक्त भवन बहुवर्षीय योजनाअन्तर्गत दुई वर्षअघि नै टेन्डर आह्वान गरेर निर्माण भएको निर्देशक महर्जनले बताए । विगतमा ३० को दशकदेखि ५० को दशकसम्ममा धरानमा रहेका आधा दर्जनभन्दा बढी क्षेत्रीय स्तरका र आधा दर्जन जिल्ला र अञ्चलस्तरीय सरकारी कार्यालयहरू अन्यत्र सारिएका थिए । सारिएका ती सरकारी कार्यालयका भर्पाइका रुपमा संघीय संरचनाअनुसार धरानले वन निर्देशनालयमात्र पाएको बेला यो अर्को विवाद निस्किएको हो ।
वन विभागका एक वरिष्ठ अधिकृतले भने, ‘धरानमा वन निर्देशनालयको कार्यालय आवश्यक छैन भनेर धरान उपमहानगरपालिकाका मेयर साम्पाङले भन्छन् भने हामी अर्को जिल्लामा पनि जान सक्छौं । सरकारी वनको क्षेत्रमा निर्माण भइरहेको वन निर्देशनालयको भवन अवैध भएकाले हटाउ भन्नुको तात्पर्य के हो ? वनले मुद्दा लगायो भन्दैमा ‘इगो’ साँध्न नहुने हो जनप्रतिनिधि भएर ।’
उनले माया धराने साबुन उद्योग वन क्षेत्रमा सञ्चालन गर्न जमिन अतिक्रमण गर्ने प्रमुख साम्पाङको ठाउँमा कुनै सर्वसाधारण भएको भए यतिबेला जेल परिसकेका हुन्थे तर जनप्रतिनिधि साम्पाङको मानमनितो राख्दै उच्च अदालतमा मुद्दा मात्र दायर भएको पनि बताए ।
बुस्टर डोजका लागि छैन खोप
विज्ञ भन्छन्– ‘अहिलेकै अवस्थामा १५ लाखभन्दा बढी मात्रा खोप मगाउन आवश्यक’
काठमाडौँ — कोभिडको बुस्टर डोज लगाउन एक महिला राजधानीका केही अस्पताल चहारेपछि अन्त्यमा वीर अस्पताल पुगिन् । त्यहाँ पनि बुस्टर डोज सकिएकाले उनले पाइनन् । अस्पतालले दुई–तीन सातामा पुनः सम्पर्क गर्न भन्दै उनलाई फर्काइदियो ।
‘हिजोअस्ति नै सरकारले नयाँ भेरिएन्ट आएकाले सबैलाई बुस्टर खोप लगाउन आग्रह गरेको थियो,’ उनले भनिन्, ‘त्यहीअनुसार अस्पतालका खोप केन्द्र पुगे पनि पाइएन । सरकारले खोप व्यवस्था गरेर मात्र लगाउन आउनु भन्ने सन्देश दिनुपर्ने हैन र ?’
छिमेकी मुलुकमा कोभिडको जोखिम बढेसँगै नेपालमा पनि सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । अनिवार्य मास्क लगाउनुका साथै सबै स्वास्थ्य मापदण्ड लागू गर्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै जारी गरेको छ । तर, छिमेकी मुलुकमा देखिएको ओमिक्रोनको नयाँ सब–भेरिएन्ट ‘बीएफ.७’ को त्रास बढे पनि बुस्टर डोज लगाउन स्वास्थ्य केन्द्र पुग्ने यत्तिकै फर्किनुपरेको छ ।
‘बुधबार सय जनाभन्दा बढीलाई खोप नभएकै कारण फिर्ता पठाउनुपर्यो,’ वीर अस्पतालका कोभिड खोप संयोजक महादेव पन्तले भने, ‘अहिले बुस्टर लगाउन मिल्ने खोप नेपालमै छैन ।’ जनवरीको दोस्रो सातासम्म आउन सक्ने उनको भनाइ छ । वीरमा बुधबार ६५ जनालाई भेरोसेल खोप लगाइएको थियो ।
यसमध्ये केहीलाई पहिलो, केहीलाई दोस्रो र केहीलाई बुस्टर लगाइएको हो । पन्तका अनुसार हाल फाइजर, कोभिसिल्ड, जोनसेन खोप लगाएकाहरूका लागि बुस्टर खोप उपलब्ध छैन । ‘पूर्ण मात्रामा भेरोसेल लिएकालाई मात्र बुस्टरका रूपमा भेरोसेल वा अन्य खोप लगाउन मिल्छ तर अन्य खोप लिएकाले बुस्टरमा भेरोसेल लगाउन मिल्दैन,’ उनले भने ।
कोभिडको सम्भावित नयाँ लहरबाट त्रसित हुनेहरू र विदेश जान लागेकाहरूले बुस्टर लगाउन आए हाल खोप नपाउने स्थिति छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा समेत पछिल्लो १२ दिनदेखि भेरोसेलबाहेक अन्य खोप नरहेको चिफ कन्सल्टेन्ट फिजिसियन डा. विमल चालिसेले बताए ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार हाल वयस्कका लागि चिनियाँ खोप भेरोसेलबाहेक अन्य खोप नेपालमा छैन । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि बुस्टर डोजका रूपमा उपयोग गर्न सकिने करिब ५ लाख मात्रा फाइजर खोप भने स्टकमा छ । यस्तै, चीनको सिनोभ्याक खोप करिब ४० लाख मात्रा भए पनि हालसम्म यो खोप बुस्टरका लागि विश्व स्वास्थ्य संगठनबाट प्रस्तावित गरिएको छैन ।
१२ वर्षमाथिका लागि उपयुक्त मानिएको र नयाँ भेरिएन्टमा पनि काम लाग्ने बाइभेलेन्ट खोप १५ लाख मात्रा कोभ्याक्समार्फत ल्याउने प्रक्रिया धेरै अघि सुरु गरे पनि अनुमतिका लागि औषधि व्यवस्था विभागको निर्णय पर्खिरहेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले बताए ।
उक्त खोप नयाँ भेरिएन्ट ‘बीए.५’ मा समेत प्रभावकारी देखिएको छ । ‘वयस्कलाई दिइने खोप प्रदेश, जिल्लातिर गइसकेकाले हाल उपलब्ध छैन,’ उनले भने, ‘हामीसँग चीनमा उत्पादित सिनोभ्याक खोप भए पनि डब्लूएचओले बुस्टर खोपका लागि प्रयोग गर्ने अनुमति दिइसकेको छैन ।’ अहिलेको अवस्थामा १५ लाखभन्दा बढी मात्रा खोप मगाउनु जरुरी रहेको उनले बताए ।
धुलिखेल अस्पतालको जिनोमिक ल्याब प्रमुख डा. राजीव श्रेष्ठ भने प्राथमिक खोप जुनसुकै लगाए पनि उच्च प्रभावकारी देखिएका जुनसुकै खोप बुस्टरका रूपमा लगाउन सकिने बताउँछन् । ‘यसअघि पूर्ण मात्रा जुनसुकै खोप लिए पनि बुस्टरका रूपमा फाइजर, मोडर्ना, एस्ट्राजेनेका आदि लिन सकिन्छ,’ उनले भने । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बुधबार एन्टिजेन र पीसीआर गरी ३ सय ८४ नमुना परीक्षण गर्दा कुनैमा संक्रमण देखिएन । मन्त्रालयले बुधबारको तथ्यांक सार्वजनिक गरेको छैन ।
मंगलबार १ हजार ४ सय ३२ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको थियो । हाल सक्रिय संक्रमित १६ जना छन् । हालसम्म कुल जनसंख्याको ७६.५ प्रतिशत अर्थात् २ करोड २३ लाख २४ हजार ९ सय ३३ जनाले पूर्ण र ७९.५ प्रतिशत अर्थात् २ करोड ३२ लाख ८ हजार ४ सय ८३ जनाले एक मात्रा खोप लिएका छन् । बुस्टर डोज लगाउनेको संख्या ७९ लाख ७२ हजार ७ सय ९१ छ ।