
डा. तोसीमा कार्कीलाई स्वास्थ्य मंत्री बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको तयारी
प्रकाशित मिति । १३ पुस, २०७९ ।
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउने आफ्ना मन्त्रीहरूबारे आन्तरिक तयारी सुरु गरेको छ । अन्य पार्टीहरूले गुटगत भागबण्डाका आधारमा मन्त्री सिफारिस गर्ने प्रचलन गरे पनि रास्वपाले भने सांसदहरूको विज्ञता हेरेर निर्णय लिने स्रोतले बतायो ।
७ वटा पार्टीको समर्थनमा बनेको प्रचण्ड सरकारमा कुन पार्टीलाई कति मन्त्रालय दिने भन्ने टुंगो लागिसकेको छैन । सरकारलाई समर्थन गरेकामध्ये राप्रपा र नागरिक उन्मुक्ति पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेका छन् । बाँकी ५ पार्टीलाई २५ वटा मन्त्रालय भाग लगाउनुपर्ने छ ।
५ वटा पार्टी सरकारमा सहभागी हुँदा संसदभित्र चौथो शक्तिको हैसियतमा रहेको रास्वपाले ५ वटा मन्त्रालयमा दाबी प्रस्तुत गर्ने स्रोत बताउँछ । पार्टीको रुचि ‘मालदार’ भन्दा पनि जनतासँग प्रत्यक्ष जोडिने कामकाजी मन्त्रालयमा छ । गृहपछि शिक्षा, स्वास्थ्य, उद्योग, कृषि र कानून रास्वपाले चाहेका मन्त्रालय हुन् ।
यदि ती मन्त्रालय पाएको खण्डमा पार्टीबाट को–को मन्त्री हुने भन्ने स्पष्टै छ ।‘हाम्रो पार्टीमा को वरिष्ठ को कनिष्ठ भन्ने छैन । सबैजसो युवा भएकाले उमेरको प्रश्न पनि छैन । गुट पनि मिलाउनु छैन । हामी केवल विज्ञता हेर्नेछौँ,’ स्रोतले भन्यो ।स्रोतका अनुसार स्वास्थ्य मन्त्रालय पाएको अवस्थामा डा. तोसीमा कार्कीले अवसर पाउनेछिन् ।
पेसाले आफैँ चिकित्सक रहेको, प्रत्यक्षमा लोकप्रिय मतसहित चुनाव जितेको, तथा चुनावअघि देखि नै स्वास्थ्य मन्त्रालय हाँक्ने आत्मविश्वास प्रस्तुत गरेकाले सो मन्त्रालयमा उनलाई पठाउने निधो गरिएको हो ।त्यसो त राप्रपामा प्रत्यक्ष समानुपातिकतर्फबाट पनि दुई जना चिकित्सक डा. चन्दा कार्की र डा. ढाकाकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
तर, उनीहरूको तुलनामा तोसीमाको दाबेदारी बलियो छ । उनी स्वास्थ्य मन्त्री बन्नेमा ढुक्क भएर बसेकी छन् । उनी ललितपुर ३ बाट निर्वाचित सांसद हुन् । स्वास्थ्यमा यदि राज्यमन्त्री पनि पाएको खण्डमा चन्दा र ढाकामध्ये एक जनाले अवसर पाउनेछन् ।
यदि शिक्षा मन्त्रालय पाएको खण्डमा पनि कसलाई मन्त्री बनाउने भन्नेमा रास्वपाभित्र द्विविधा छैन । स्रोतका अनुसार पार्टीले काठमाडौं ६ बाट चुनाव जितेका शिशिर खनाललाई शिक्षामा पठाइने छ । खनाल शिक्षा क्षेत्रमा लामो अनुभव संगालेका अभियन्ता भएका कारण उनी निर्विकल्प देखिएका हुन् ।
रास्वपाबाट मन्त्री बन्न सक्ने अर्की दाबेदार शोभिता गौतम हुन् । यसपालिको चुनावकी एक चर्चित उम्मेदवार शोभिता काठमाडौं २ बाट विजयी बनेकी थिइन् । यदि रास्वपाले कानून मन्त्रालय पाएको खण्डमा कानूनको विद्यार्थी भएको हिसाबले उनलाई सरकारमा पठाइने छ ।
यदि पर्यटन र संस्कृति मन्त्रालय पार्टीको भागमा आयो भने विराजभक्त श्रेष्ठ र डीपी अर्यालमध्ये एक जनाको ढोका खुल्ने छ । काठमाडौं–८ बाट विजयी श्रेष्ठ संस्कृति र सम्पदा क्षेत्रका सक्रिय अभियन्ता हुन् ।समानुपातिकबाट निर्वाचित अर्याल रास्वपाका उपसभापति हुन् ।
अनुभवी पर्यटन व्यवसायी भएको कारणले पर्यटन मन्त्रालय पाए उनको पनि दाबेदारी रहनेछ । यस्तै, सञ्चार मन्त्रालय पाएको खण्डमा शोभिता गौतम र मनिष झाले आफ्नो दाबी प्रस्तुत गर्न सक्छन् । झा समानुपातिक सांसद हुन् ।उद्योग र कृषि पाएको खण्डमा कसलाई पठाउने भन्ने चाहिँ निश्चित भइसकेको छैन ।
ती मन्त्रालयमा पनि विज्ञतालाई मानक बनाइने भएको छ । रास्वपाले आफूभित्र विज्ञता नभएका परराष्ट्र, रक्षा, वनलगायतका मन्त्रालय इच्छा देखाएको छैन ।प्रत्यक्ष चुनाव जितेकाहरूलाई प्राथमिकतामा राखिरहँदा समानुपातिकतर्फ बढीमा दुई जना मात्रै मन्त्री बन्ने देखिन्छ । पार्टीले जनजीविकासँग जोडिएका मुद्दाहरूलाई मुख्य प्राथमिकता दिएर अघि बढ्ने रणनीति लिएको छ ।
विश्वका लागि पूर्ण रूपमा खुल्दै चीन
दस दिनपछि चीन प्रवेश गर्ने विदेशीहरू क्वारेन्टिनमा बस्नु नपर्ने
बेइजिङ — कोरोना भाइरसको महामारीविरुद्ध कडा नीति अख्तियार गर्दै आएको चीन विदेशी नागरिकहरूका लागि पूर्ण रुपमा खुल्ने भएको छ । चीनले मंगलबार एक घोषणा गर्दै आफ्नो देश प्रवेश गर्ने विदेशीहरू जनवरी ८ देखि क्वारेन्टिनमा बस्नुपर्ने जनाएको हो ।
सन् २०२० को मार्चयता चीन प्रवेश गर्ने सबै यात्रुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम लगाइएको थियो । तर सुरुमा तीन साता क्वारेन्टिनमा बस्नुपर्ने नियम पछिल्लो समय पाँच दिनमा झारिएको थियो । तर जनवरी ८ देखि भने कोरोनालाई ‘ए’ वर्गको संक्रामक रोगबाट ‘बी’ वर्गमा झारिएको छ । यसको अर्थ अब यो रोगबाट संक्रमित व्यक्तिहरू क्वारन्टिनमा बस्न अनिवार्य हुने छैन ।
भाइरसको संक्रमण फैलिएसँगै ‘शून्य कोभिड नीति’ अन्तर्गत लगाइएका प्रतिबन्धहरू पछिल्लो दिनमा चीनले शृंखलाबद्ध रूपमा हटाउदै आएको छ । तर पछिल्ला दिनमा चीनका कतिपय सहरमा कोरोना संक्रमणका घटनामा तीव्र रुपमा वृद्धि भएको जनाइएको छ ।
चिनियाँ स्वास्थ्यकर्मीहरूले बढ्दो संक्रमणसँग जुध्न आफूहरूले संघर्ष गरिरहेको बताएका छन् । पछिल्ला केही सातायता कोरोनाको नयाँ सब–भेरिएन्ट ‘बीएफ–७’ तीव्र रुपमा फैलिएको र त्यसका कारण अस्पतालहरूमा भीड बढेको जनाइएको छ ।
गत साता विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनका अस्पतालहरू संक्रमितले भरिन थालेका जनाएको थियो । संगठनको आपत्कालीन विभागका प्रमुख माइकल र्यानले ‘चिनियाँ अस्पतालका सघन उपचार कक्ष (आईसीयू) भरिएका जस्तो देखिएको’ जनाएका थिए ।
डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले चीनमा बढिरहेको संक्रमण ‘चिन्ताजनक’ भएको बताउँदै संक्रमणको गम्भीरता, अस्पताल भर्ना दर र आईसीयूको आवश्यकताबारे तथ्यांक उपलब्ध गराउन चीन सरकारसँग आग्रह गरेका थिए । त्यसका साथै, खोपको प्रयोग व्यापक पार्नुपर्ने संगठनको भनाय छ ।
चीनले कोरोनाविरुद्धको आफ्नै देशमा उत्पादन गरेको खोप प्रयोग गर्दै आएको छ । तर उक्त खोप अन्य देशमा उत्पादित खोपको तुलनामा कम प्रभावकारी भएको विज्ञहरूको आशंका छ । तीन वर्षदेखि चीनले भाइरस परीक्षण र कडा लकडाउनमा जोड दिएको भए पनि त्यही रूपमा खोप लगाउने काम भने हुन सकेको छैन ।
संक्रमणदर बढेको भएपनि मृत्युदर भने नबढेको चिनियाँ अधिकारीहरूको भनाइ छ । तर चीनको सरकारी निकायले केहि दिनयता कोरोनासम्बन्धी तथ्यांक सार्वजनिक गर्न छाडेका कारण संक्रमित र ज्यान गुमाएकाहरूको संख्या थाहा हुन सकेको छैन् । गतसाता सार्वजनिक तथ्यांकमा राजधानी बेइजिङमा दैनिक ४ हजारको हाराहारीमा संक्रमित हुने गरेका जनाइएको थियो ।
आइतबारयता बेइजिङमा दैनिक ५ हजारको हाराहारीमा संक्रमित थपिएका बेलायती स्वास्थ्य तथ्यांक फर्म एयरफिनिटीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । विश्वका प्रमुख अर्थतन्त्रमध्ये कोरोनासँगै बाच्ने नीति अख्तियार गर्ने चीन पछिल्लो देश हो । करिब तीन वर्षसम्म लकडाउनमा रहेको चीनमा सीमा क्षेत्र बन्द राखिएको थियो भने संक्रमित र उनीहरूको सम्पर्कमा आएकाहरू अनिवार्य क्वारेन्टिनमा बस्नुपर्थ्यो ।
तर ‘शून्य कोभिड नीति’ ले अर्थतन्त्रमा नकारात्मक असर परेको र जनजीवन नराम्ररी प्रभावित भएको भन्दै नोभेम्बरमा चिनियाँहरूले राष्ट्रपति सी चिनफिङविरुद्ध प्रदर्शन गरेका थिए । विश्वका अधिकांश देशले ‘कोरोना सँगसँगै’ बाँच्ने नीति अख्तियार गरेपनि चीनले प्रतिबन्धहरू नहटाएपछि प्रमुख सहरहरूमा विरोध प्रदर्शन चर्केको थियो । जसका कारण चीन सरकारले डिसेम्बर ८ देखि सावधानीका विकल्पसहित प्रतिबन्धहरू हटाएको हो ।
पश्चिमी चीनको उरुम्चीमा कडा प्रतिबन्धहरू जारी रहेका बेला एक अपार्टमेन्टमा फैलिएको आगलागीमा १० जनाको ज्यान गएपछि राष्ट्रपतिविरुद्धको प्रदर्शन चर्केको थियो । उरुम्चीबाट सुरु भएको प्रदर्शन बेइजिङ, सांघाई, नान्जिङ, गोङजाउ, गोङजाउ, चोङकिङ लगायतका सहरमा फैलिएको थियो ।
कोरोनासम्बन्धी नियम परिवर्तनका विषयमा बोल्दै राष्ट्रपति सी चीनफिङले आम मानिसहरूको जनजीवन सहज पार्न र उनीहरूको ज्यान बचाउनका लागि आवश्यक कदम चाल्न आव्हान गरेका छन् । देशले नयाँ अवस्थाको सामना गरेको र त्यसप्रति थप लक्षित प्रतिक्रिया जनाउन आवश्यक रहेको राष्ट्रपति सीले बताएका चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।
तीन वर्षदेखि भाइरस परीक्षण र कडा लकडाउनमा जोड दिएका कारण चीनले भाइरसको असरलाई सफलतापूर्वक नियन्त्रणमा राख्न सफल भएको थियो । तर उक्त नियम हटाएसँगै महामारीको व्यवस्थापन गर्न भने चीनलाई निकै कठिन पर्ने देखिन्छ ।