शुक्रबार १० चैत्र २०७९


नर्भिकको संरचना तत्काल नभत्काउन सर्वोच्चको अल्पकालीन आदेश

प्रकाशित मिती । १० पुस, २०७९ ।

काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

काठमाडौं महानगरपालिकाले गत सोमबार २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएको थियो भने मंगलबार मेयर बालेन्द्र (बालेन) साह आफैं नर्भिक अस्पताल पुगेका थिए । त्यसपछि अस्पताल र काठमाडौं महानगरका प्राविधिकले तोकेको समयमा संरचना भत्काउने सहमति गरेका थिए ।

तर काठमाडौं महानगरपालिकाविरुद्ध बुधबार नै नर्भिक अस्पतालले दिएको रिट बुधबार नै न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भयो । उक्त इजलासले तत्काल संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिनुका साथै आगामी सोमबार अन्तरिम आदेश छलफलका लागि दुबै पक्षलाई बोलाएको छ ।

सर्वोच्चले नर्भिकको संरचना भत्काउन खोज्नुको कारणबारे लिखित जवाफ पनि माग गरेको छ । नर्भिकले भाडामा लिएको १ रोपनी ८ आना जग्गामा नक्सापास नगरी संरचना बनाएपछि महानगरपालिकाले त्यसलाई भत्काउन आग्रह गरेको हो ।

कथा सर्वेक्षण

यी कथाले भारतीय नेपालीकै कथाव्यथा बोलेका छन् । कथाका विषय हुन्– भारत बस्ने नेपालीहरुको अवस्था, जीवनसङ्घर्ष र नेपाली समुदायको आन्दोलन ।

कतिलाई लाग्छ, लेखक भनेको सम्पादक पनि हो । लेखकहरू नै कतिपय पुस्तक र पत्रपत्रिकाका सम्पादक हुने गरेका कारण पनि त्यस्तो लाग्न सक्छ । लेखन र सम्पादन उस्तैउस्तै लागे पनि, अथवा यी दुईलाई अन्तर्सम्बन्धित मानिए पनि, कार्यकौशलका दृष्टिले यी दुई फरक विषय हुन् ।

लेखनकला र सम्पादनकलाका आ–आफ्नै चरित्र छन् । कुनै सम्पादक लेखक पनि हुनसक्छ, तर कुनै लेखक सम्पादनकलामा पनि निपुण हुन्छ भन्ने छैन । कोही लेखक हुँदैमा ऊ सम्पादक हुने हैसियत राख्छ भन्ने पनि छैन किनभने कतिपय दिग्गज लेखकका सम्पादनमा निस्किएका पुस्तक/पत्रिकाको दुर्गति पनि देखिएकै छ । केही यस्ता पनि छन्, जो राम्रा लेखक भईकन सम्पादनकलामा पनि कुशल छन् ।

लेखक अविनाश श्रेष्ठ आफैंमा राम्रा सम्पादक पनि हुन् । सम्पादनमा उनले आफ्नो कलाकौशलको प्रदर्शन धेरै अगाडिदेखि गर्दै आएका छन् । झन्डै तीस वर्षअघि उनले सम्पादन गरेको ‘समकालीन साहित्य’ र दस वर्षअघि सम्पादन गरेको ‘गरिमा’ लाई अहिले पनि धेरैले सम्झिरहेका छन् ।

ती साहित्यिक पत्रिकाका अतिरिक्त उनले साहित्यिक पुस्तकहरू पनि सम्पादन गरेका छन्, जुन सम्पादन कौशलका दृष्टिले उदाहरणीय छन् । उनको सम्पादनकलाको एउटा उदाहरण हो– ‘आधुनिक भारतीय नेपाली कथा’ । सोह्र वर्षअघि साझा प्रकाशनबाट प्रकाशित यस पुस्तकको परिवर्द्धित दोस्रो संस्करण यतिवेला बुक हिल प्रकाशन संस्थाबाट प्रकाशित भएको छ ।

यो पुस्तक मूलतः आधुनिक भारतीय नेपाली कथाका प्रतिनिधि कथाहरूको सङ्ग्रह हो, तर कथाहरूको सङ्कलनका रूपमा मात्रै यो पुस्तक सीमित छैन । यसमा भारतीय नेपाली कथालेखनको विस्तृत र गहन अध्ययनसमेत गरिएको छ । कथाहरू सङ्गृहीत गरेर सामान्य भूमिका लेख्दैमा पनि सम्पादकको दायित्व पूरा हुन सक्थ्यो, तर सम्पादकले यसमा अतिरिक्त बौद्धिक योगदान गरेका छन् । आधुनिक भारतीय नेपाली कथाको लेखन, त्यसको विकास, परम्परा र प्रवृत्तिको प्राज्ञिक विवेचनाका दृष्टिले पुस्तकलाई सार्थक उपलब्धि मान्नुपर्छ ।

पुस्तकका सम्पादक भारतीय नेपाली साहित्यमा समेत सुपरिचित छन् । आफ्नो सिर्जना र सम्पादनको आरम्भदेखि अहिलेसम्म उनले त्यहाँको लेखनसँग घनिष्ठता राख्दै आएका छन् । त्यसैले उनी भारतीय नेपाली साहित्यको अध्ययनमा आधिकारिक लेखक मानिन्छन् ।

यस अर्थमा यस पुस्तकको लेखन उनका लागि तुलनात्मक रूपमा सहज बनेको पनि हुन सक्छ । तथापि, उनले अनवरत अध्ययन र अनुसन्धानबाट यो कृति तयार गरेको बताएका छन् । सम्पादनका सिलसिलामा उनले गरेको शोध र बौद्धिक श्रमलाई उनकै सम्पादकीय अभिव्यक्तिबाट पनि अनुभव गर्न सकिन्छ ।

साहित्यिक पत्रिकाको सम्पादनमा रणनीति, दृष्टिभङ्गी, समयचेतना र प्रस्तुतिकौशलको नियोजित भूमिकाको आग्रह राख्ने अविनाश श्रेष्ठ यस पुस्तकको सम्पादनका क्रममा पनि आफ्नो प्रवीणताप्रति प्रतिबद्ध देखिएका छन् । पुस्तकलाई जतिसक्दो स्तरीय बनाउने उद्देश्यले उनले चयन गरेका कथाकार, तिनका कथाहरू र कथामाथिका उनका टिप्पणीहरूबाट पनि त्यस कुराको बोध हुन्छ ।

‘आधुनिक भारतीय नेपाली कथा’ को सम्पादकीय पाटोको रूपमा प्राचीन कथादेखि आधुनिक कथाको जन्मसम्मको चर्चा गरिएको छ । सम्पादकले ऋग्वेदमा पाइने कथाका सूत्रहरूको मात्र चर्चा गरेका छैनन्, वेदहरूमार्फत प्रकट भएका ज्ञान, विज्ञान, चेतना, प्रज्ञा र मेघाको प्रकाशमा पूर्णविकसित कथाहरूको आरम्भ भएको व्याख्या पनि गरेका छन् । सम्पादकले ब्राह्मणग्रन्थ र उपनिषद्हरूलाई पूर्णविकसित कथास्वरूपका बीज मानेका छन् ।

उनले विभिन्न ठाउँ र भाषाका माध्यमबाट विकास भएका कथाहरूबारे समेत सटीक विवेचना गरेका छन् । अरबी–फारसी भाषाबाट आएका कथा, अङ्ग्रेजी भाषाको माध्यमबाट आएका प्राचीन युरोपेली कथा, युरोपमा औद्योगिक क्रान्ति एवम् नववैचारिक आन्दोलनपछि भएको नयाँ कथाको प्रारम्भको चर्चालाई पनि पुस्तकमा महत्वका साथ समेटिएको छ ।

‘आधुनिक भारतीय नेपाली कथा परम्परागत वा परिपाटीबद्ध लेखनशैलीबाट धेरै हदसम्म मुक्त भइसकेको’ विचार सम्पादकको छ । सम्पादकको अध्ययन–अनुसन्धानबाट कथालेखनमा नयाँ प्रयोगले प्रवेश पाए पनि प्रयोगशीलतालाई आत्मसात् गरेर कथामा नयाँ मोड दिने दिशामा समर्पित कथाकार भने नगण्य रहेको निष्कर्ष निकालिएको छ ।

सम्पादकले भारतीय नेपाली साहित्यमा देखिएको जातीयतावादी चेतनाको विवेचनालाई तथ्य र सन्दर्भसहित प्रस्तुत गरेका छन् । परम्परागत लेखन, नयाँ प्रयोग र नवचेतनाका सन्दर्भमा पनि पुस्तकमा चर्चा गरिएको छ । नेपाली कथाको इतिहासलाई केलाउने क्रममा काल विभाजनअनुसार कथा विकासको विवेचना गर्दै तिनका केही धाराहरूको विश्लेषण गर्ने कामसमेत सम्पादकले गरेका छन् ।

सम्पादकले आधुनिक भारतीय नेपाली कथाहरूको व्यापक र गम्भीर सर्वेक्षणपछि प्रतिनिधि कथाहरूको चयन गरेका छन् । हरेक कथाको विवेचनाका साथ समग्रतामा आधुनिक भारतीय नेपाली कथाको मूल्यनिरुपण गर्ने काम पुस्तकमा गरिएको छ । सम्पादकले जे गरेका छन्, त्यो निर्भीक भएर गरेका छन् ।

यति विघ्न जोखिमको कामलाई उनले निर्विवाद सम्पन्न गरेका छन् । यो पनि उनको सम्पादन क्षमताकै प्रतिफलजस्तो लाग्छ । भन्न त सम्पादकले ‘आफ्ना कुरा’ मा ‘खरायोको सिकारको सामल बोकेर बाघको सिकार गर्न हिँडेको रहेछु’ भनेका छन् ।

सम्पादकले सामल जेजस्तो बोकेर हिँडे पनि अन्तिममा सिकार भने बाघकै गरेका छन् । नेपालको त्रिभुवन विश्वविद्यालय र भारतको उत्तरबङ्ग विश्वविद्यालयले पन्ध्र वर्षअघि नै स्नातक र स्नातकोत्तरतहको सन्दर्भग्रन्थका रूपमा यस पुस्तकलाई समावेश गरेको यथार्थबाट पनि यसको सामयिक महत्त्वलाई बुझ्न सकिन्छ ।

आधुनिक भारतीय नेपाली कथालेखनले अहिलेसम्म एक सय वर्ष पनि पार नगरेको मानिन्छ । यद्यपि, भारतीय नेपाली लेखकहरू भारतका अनेकन् राज्य वा ठाउँमा छरिएर रहेका र तिनले आफ्नो लेखनलाई अगाडि बढाइरहेका देखिन्छन् ।

भारतीय नेपाली साहित्यका उर्वरभूमि मानिएका असम, मणिपुर, मेघालय, नागाल्यान्ड, मिजोरम, त्रिपुरा, अरुणाचल, सिक्किम, डुवर्स, दार्जिलिङ मात्र होइन, बनारस, देहरादून, कलकत्ता, गोरखपुर, सिमला, दिल्ली, पटना आदि ठाउँमा समेत नेपालीभाषी लेखकहरू सक्रिय रहेका पाइन्छन्, तर यस पुस्तकमा असम, मेघालय, सिक्किम, दार्जिलिङ, बनारस, नागाल्यान्ड र डुवर्सका कथाकारहरू मात्र समेटिएका छन् । ती ठाउँका प्रतिनिधिमूलक ४४ जना कथाकारका एक–एकवटा कथा यसमा सङ्गृहीत छन् ।

पुस्तकमा दार्जिलिङका इन्द्रबहादुर राई, अच्छा राई ‘रसिक’, लख्खीदेवी सुन्दास, असमका लीलबहादुर क्षत्री, हरिभक्त कटुवाल, डुवर्सका किताबसिंह राई, नागाल्यान्डका हरिप्रसाद ‘गोर्खा’ राई, मेघालयका भोलानाथ गुरुङ, बाराणसीका दुर्गाप्रसाद श्रेष्ठ, सिक्किमका सानु लामालगायतका कथाहरू समेटिएका छन् । पुस्तकमा सबैभन्दा बढी दार्जिलिङका कथाकारहरू छन् । छब्बीस जना कथाकारहरू दार्जिलिङकै छन् ।

असमका नौ जना कथाकारहरू सम्पादकको चयनमा परेका छन् । सिक्किमका तीन जना छन् भने डुवर्स र मेघालयका दुई–दुई जना कथाकारहरूलाई समावेश गरिएको छ । नागाल्यान्ड र बनारसका एक–एक जना कथाकार समेटिएका छन् ।

पुस्तकमा समेटिएका कथाहरूको स्तर भने समान छैन । कृतिमा कतिपय राम्रा र स्तरीय कथाहरू छन् भने केही सामान्य कथाहरू पनि छन् । सम्पादकले सकेसम्म राम्रा र स्तरीय कथालाई समेट्न खोजे पनि स्थान वा क्षेत्रविशेषको प्रतिनिधित्वका दृष्टिले राख्नैपर्ने भएकाले पनि होला केही सामान्य कथा पनि यस कृतिमा परेका छन् ।

नेपालमा समेत चर्चा र प्रसिद्धि पाएका इन्द्रबहादुर राई, लीलबहादुर क्षत्री, हरिभक्त कटुवाल, शिवकुमार राईजस्ताको चर्चा नगरौँ, त्यस्तो चर्चा र प्रसिद्धि नपाएका अरू कतिपय कथाकारका कथा पनि चर्चायोग्य देखिन्छन् । जस्तै– दार्जिलिङका नन्द हाङ्खिमको ‘छिन्जु–लमू’, वीरविक्रम गुरुङको ‘जोइटिङ्ग्रे’, कृष्णसिंह मोक्तानको ‘अज्ञात वीर’, एम.एम. गुरुङको ‘जार’, इन्द्र सुन्दासको ‘ऐते पाइलट’, डुवर्सका किरात (हायमनदास) को ‘लोग्नेको रहर’, किताबसिंह राईको ‘पहेँलो गुलाबको फूल’, असमका विष्णुलाल उपाध्यायको ‘त्यो अविस्मरणीय दिन’, लोकनाथ उपाध्याय चापागाईंको ‘साइत’, पदम ढकालको ‘यहाँ राजा को ?

शासन कसको ?’ दुर्वासा उपाध्यायको ‘रित्तो काख’, टङ्कनाथ उपाध्यायको ‘पुड्के हवलदार’, सिक्किमका सानु लामाको ‘अपराजिता’, पूर्ण राईको ‘पासाङहरूको कथा’ जस्ता राम्रा कथाहरू पुस्तकमा छन् । पुस्तकमा समेटिएका कथाहरूमध्ये कतिपयले भारतीय नेपालीकै कथाव्यथालाई समेटेका छन् । भारतमा रहेका नेपालीहरूको अवस्था, जीवनसङ्घर्ष र नेपाली समुदायको आन्दोलनलाई पनि कथाहरूमा विषयवस्तु बनाइएको छ ।

आधुनिक भारतीय नेपाली कथालेखनलाई सम्पादकले तीन चरणमा विभाजन गरेर अध्ययन गरेका छन् । सन् १९४० बाट आधुनिक भारतीय नेपाली कथालेखनको पहिलो चरण आरम्भ भएको तथ्य सम्पादकले प्रस्तुत गरेका छन् । कथालेखनको औपचारिकता पत्रिकाको प्रकाशनबाट भएको तथ्य प्रस्तुत गर्दै सम्पादकले त्यसपछिको दस वर्षको अवधिलाई ‘रूपनारायण सिंह युग’ बताएका छन् ।

कथालेखनको दोस्रो चरणलाई ‘इन्द्र सुन्दास–शिवकुमार राई युग’ मानिएको छ । तेस्रो चरणलाई ‘प्रयोग तथा नववैचारिकताको युग’ भनिएको छ । भारतीय नेपाली कथामा आधुनिकतालाई भित्र्याउनेमा रूपनारायण सिंहसँगै इन्द्र सुन्दास, शिवकुमार राईजस्ता कथाकारहरूको योगदान रहे पनि अहिले आधुनिक भारतीय नेपाली कथालेखनमा असङ्ख्य कथाकारहरूको उदय भएको चर्चा पुस्तकमा गरिएको छ ।

कथालेखनको विकासक्रमको उल्लेख गर्ने सिलसिलामा सम्पादकले स्थापित र उदीयमान, पुराना र नयाँ दुवै पुस्ताको महत्त्वका साथ चर्चा गरेका छन् । पुस्तकमा समेटिएका कथाकारहरूको जीवनी, व्यक्तित्व र कृतित्वका बारेमा समेत पुस्तकमा चर्चा गरिएको छ । यसले सम्पादकको अध्ययन–अनुसन्धानलाई आधिकारिक, प्रामाणिक र तथ्यपूर्ण बनाएको छ ।

विभिन्न लेखकबाट नेपाली साहित्यको इतिहास लेखिएको छ । कतिले आफूले लेखेको इतिहास प्रामाणिक भएको दाबी गर्दै आएका पनि छन् । तथापि, अहिलेसम्म नेपाली साहित्यको प्रामाणिक इतिहास नलेखिएको साहित्यकै कतिपय गम्भीर अध्येताहरूको बुझाइ छ ।

यस स्थितिमा अविनाश श्रेष्ठद्वारा सम्पादित ‘आधुनिक भारतीय नेपाली कथा’ नेपाली साहित्यको प्रामाणिक इतिहास लेखनका लागि समेत सन्दर्भसामग्री बनेको छ । नेपाली साहित्य र भारतीय नेपाली साहित्यलाई जोड्ने कुरामा यस पुस्तकले महत्त्वपूर्ण स्थान राख्छ । दुई देशको नेपाली साहित्यमात्र होइन, दुई देशका नेपालीभाषीको भावनालाई जोड्ने कामसमेत पुस्तकले गरेको छ ।

नेपाली कथा साहित्य र भारतीय नेपाली कथा साहित्यलाई जोडेर अध्ययन–विश्लेषण गर्न यो पुस्तक अपरिहार्य सन्दर्भग्रन्थ बनेको छ । विशेषगरी दुई देशका नेपालीभाषीको भाषा, भावना र साहित्यलाई जोड्ने सन्दर्भमा सम्पादक अविनाश श्रेष्ठको प्राज्ञिक भूमिका अर्थपूर्ण रहेको छ ।

भारतीय नेपाली कथाहरूको प्रतिनिधमूलक सङ्कलनका दृष्टिले यस किसिमको पुस्तक यसअघि प्रकाशित भएजस्तो लाग्दैन । सम्भवतः यो नै पहिलो यस्तो पुस्तक हो, जसले आधुनिक भारतीय नेपाली कथाको व्यापक अध्ययन मात्र गरेको छैन, ऐतिहासिक सर्वेक्षण नै प्रस्तुत गरेको छ ।

भारतीय नेपाली कथाहरूको अध्ययन, अनुशीलन र विमर्शका दृष्टिले पुस्तक सारगर्भित छ । विषयलाई व्यापक अर्थमा समेटेसँगै आकार–प्रकारमा समेत पुस्तक एउटा महत्त्वपूर्ण ग्रन्थको रूपमा रहेको छ ।


Last Updated on: December 25th, 2022 at 11:35 pm


तपाईको प्रतिक्रिया