
प्रकाशित मिति । १० पुस, २०७९ ।
आज ३ ओटा पोस्ट गर्नेछु, यो पहिलो हो ।
काठमाडौ । हामीलाई संसद सम्म पुर्याउन मद्दत गर्नु हुने देश भरीका तथा विदेशमा समेत रहनु हुने सम्पुर्णमा आभार व्यक्त गर्दछौं। मलाई विश्वास गरेर सर्वाधिक मतान्तरले विजयी गराउनु हुने चितवन २ का आदरणीय मतदाता ज्युहरुलाई विशेष धन्यवाद दिन चाहन्छु। देश भरिका नागरिकका मुद्दा हाम्रो जिम्मेवारी हो। तर शुरूवात चितवन २ बाट गर्दैछु।
चितवन २ मा जे परे पनि मलाई सूचना दिनु होला। अहिलेलाई WhatsApp म्यासेज मार्फत (कल होईन) गुनासो सुचना संकलन गर्नेछु।हाम्रा अन्य प्रत्यक्ष निर्वाचित सांसदज्यु हरुले पनि आफ्ना मतदाताका लागि आफ्नो नम्बर सार्वजनिक गर्दै हुनुहुन्छ। थप २ वटा पोस्ट आजै केही समयको अन्तरालमा ।
दोस्रो:वाचापत्रमा लेखे बमोजिम संसदीय योजना तर्जुमा बोर्डको अवधारणा अघि सारेको छु। सचिवालयकालागि ५ जना (वैतनिक), विषय बिज्ञहरु १० जना ( बैठक भत्ता दिइने ) र पालिका वडा तथा टोल प्रतिनिधिहरु (अवैतनिक ) आव्हान गर्दछु। चितवन बाट प्रारम्भ गर्दै देश भरी यसै गरि काम गर्नेछौं। आउनुहोस् अब मिलेर काम गरौं। यस पछिको पोस्ट अझै अर्थ पुर्ण हुनेछ।
यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भएका ब्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इक्छुक ब्यक्तिको हामीलाई खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत CEO भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु। कति बाकसमा मात्र फर्किने?
अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त? शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो CV मलाई पठाउनु होला। म तपाईं लाई लिन आफै एयर्पोर्ट आउछु।
सरकारमा जाने नजाने छलफलमै छौं : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको परिस्थितिलाई नजिकबाट हेरिरहेको बताएका छन् ।निर्वाचन आयोगले सोमबार राखेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलका नेता समेत रहेका लामिछानेले मुद्दा सम्बोधन हुने निश्चितताका आधारमा सरकारमा जाने नजाने निर्णय गर्ने बताए ।उनले भने, ‘हाम्रो एजेण्डा सम्बोधन हुने अवस्था आया भने एउटा अवस्था होला, नभए सरकारमा जानका लागि जानुको अर्थ हुँदैन भनेर छलफलमा छौं ।’
मुलुक अनिर्णयको बन्दी बन्न नहुने उनले बताए । आफूहरुको सहभागिता विना सरकार नै नबन्ने अवस्था नरहेको, तर सहज हुनसक्ने भन्दै उनले भने, ‘हामी छलफलको क्रममा छौं र यसलाई तीव्र बनाएका छौं ।’
ओलीले रविलाई सोधे–सरकारमा जानेबारे के सोच्नु भएको छ ?
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटघाट भएको छ । शुक्रबार ओली निवास बालकोटमा गएर लामिछानेले भेट गरेका हुन् ।
भेटमा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई सरकारमा जाने या नजानेबारे जिज्ञासा राखेका थिए । भेटलाई पुष्टि गर्दै रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने, ‘समसामयिक विषयमा कुरा भए । एक अर्कालाई बुझ्ने कोशिस भयो ।’
सरकार गठनबारे कुरा उठ्दा ओलीले रविलाई सोधेका थिए, ‘सरकारमा जाने, नजानेबारे के सोच्नुभएको छ ?’लामिछानेले भने आफूहरुलाई एकल सरकार बनाउने मत प्राप्त नभएकाले आफूले त्यसबारे धेरै नसोचेको बताएका थिए । यद्यपि जसले आफ्ना मुद्दा सम्बोधन गर्छ उसलाई साथ हुनसक्ने संकेत लामिछानेले गरेका थिए ।
अदालतमा पुग्यो रवि लामिछानेको नागरिकता विवाद
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी विवाद अदालतमा प्रवेश गरेको छ ।४ मंसिरको चुनावअघि मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनमा परेको उजुरीमा निर्वाचन आयोगले कुनै निर्णय दिएको छैन । चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर संसदजाने तयारी गर्दैगर्दा उनको नागरिकताको वैधानिकतामा प्रश्न उठाउँदै बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा दुई वटा रिट दर्ता भएको छ ।रविले खारेज भएको नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा उम्मेदवारी दिएकाले निर्वाचन बदर हुनुपर्ने रिट निवेदनको माग छ ।
अधिवक्ताद्वय रविराज बसौला र नानीवावु खत्रीले दायर गरेको रिटमा नेपाल नागरिकता ऐन, २०६३ को दफा १०(१) अनुसार रवि नेपालको नागरिक नभएको दाबी गरिएको छ । उक्त दफामा नेपालको कुनै नागरिकले आफूखुसी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने व्यवस्था छ । अमेरिकाको नागरिकता लिएपछि रविको नेपाली नागरिकता स्वतः खारेज भएको रिट निवेदकहरुको दाबी छ ।सिन्धुलीका युवराज (पौडेल) सफलले पनि बुधबार नै यही विषय उठाएर रिट दिएका छन् ।
दुबै रिटमा रविले पुरानो नागरिकताका आधारमा दल खोलेर पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद र चितवन–२ बाट चुनाव जितेर बनेको सांसद पद खारेजीको माग गरिएको छ ।नागरिकता ऐन, २०६३ अनुसार, कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिएर पछि परित्याग गर्दा स्वतः नेपाली नागरिक हुँदैनन् । दफा ११ अनुसार त्यसका लागि दुईवटा शर्त पूरा गर्नुपर्छ ।
पहिलो, त्यो व्यक्ति नेपालमा आएर बसोबास गरेको हुनुपर्छ ।दोस्रो, विदेशी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्छ ।तर रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेको निस्सा पेश गरेर फेरि नेपाली नागरिकता पाउन निवेदन नदिएको रिट निवेदकको दाबी छ । निवेदनमा भनिएको छ, ‘रवि लामिछानेले ऐनको दफा ११ बमोजिम कुनै पनि कार्य गरेको नदेखिदा निज हाल नेपाली नागरिक होइनन् ।’ यो तथ्यलाई लामिछाने स्वयंले स्विकारेका छन् ।
युवराज सफलको रिटमा रविले नागरिकता ऐनका साथै नियमावलीको नियम ११ को पालना नगरेको दाबी गरिएको छ । उक्त नियममा विदेशी नागरिकता त्यागेर फेरि नेपाली नागरिक हुन चाहने व्यक्तिले निस्सासहित सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा मन्त्रालयमा निवेदन दिनुपर्ने र निवेदन दर्ता भएको दिनदेखि पुरानै नागरिकतामा रहेको विवरण सहितको प्रमाणपत्र जारी हुने उल्लेख छ ।
दुबै रिटमा रविले पुरानो नागरिकताका आधारमा दल खोलेर पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद र चितवन–२ बाट चुनाव जितेर बनेको सांसद पद खारेजीको माग गरिएको छ ।
उनलाई सांसदको हैसियतमा कुनै काम गर्न नदिनु भनी अन्तरिम आदेशको माग छ । युवराज सफलको रिटमा रविमाथि निर्वाचन कसुरमा कारबाही समेत माग गरिएको छ ।
उनीसहितको समूहले निर्वाचन आयोगमा पनि रविविरुद्ध उजुरी दिएका थिए । त्यसको स्पष्टीकरणमा रविले अमेरिकाको नागरिकता लिएको र पछि त्यागेको स्वीकारेकाले उनले विदेशको नागरिकता लिएको विषयमा विवाद छैन ।
तर आफ्नो नागरिकता नेपाल सरकारले रद्द नगरेको उनको जिकिर छ । ‘मैले आफ्नो नेपाली नागरिकता प्रमाणपत्र बैधानिक रुपमा त्यागेको थिइन । न त नेपाल सरकारले मेरो नागरिकताको प्रमाणपत्र रद्द नै गरेको छ’ रविको स्पष्टीकरणमा भनिएको छ, ‘नागरिकता त्यागको प्रक्रियामा नै नगएको अवस्थामा पुनः नागरिकता प्राप्त गर्नुपर्ने अवस्था नै नरहेको स्पष्ट पार्न चाहन्छु ।’
उनले १० फागुन २०५० सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएका थिए । अध्ययन र रोजगारीको सिलसिलामा अमेरिका पुगेका उनले २१ फेब्रुअरी २०१४ (तदनुसार ९ फागुन २०७०) मा त्यहाँको नागरिकता लिए ।
त्यसको करिव तीन वर्षपछि नेपाल फर्किएका उनी नेपालमै बसोबास गरेर सञ्चारकर्म गर्न थाले । त्यसक्रममा नागरिकता विवाद उठेपछि ४ जेठ २०७५ मा नागरिकता परित्यागका लागि काठमाडौंस्थित अमेरिकी दूतावासमा निवेदन दिए । करिव ४० दिनपछि अमेरिकी सरकार (डिपार्टमेन्ट अफ स्टेट्स) ले निवेदन स्वीकार गरेको भनी प्रतिउत्तर समेत दिएको रविले बताएका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा आगामी ६ पुसमा हुने प्रारम्भिक सुनुवाईले रविले अमेरिकी नागरिकता लिनुअघि लिएको नेपाली नागरिकता वैधानिक रहेको वा नरहेको टुंगो लगाउनुपर्नेछ ।
यदि अदालतले नागरिकता खारेज हुने व्याख्या गरेमा रविले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्दा र चितवन–२ मा मनोनयन दर्ता गर्दा पेश गरेको नागरिकताको प्रमाणपत्र अवैधानिक हुने गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।
रविले भने विदेशको नागरिकता लिएको जानकारी गराएमा मात्रै सरकारले नागरिकता रद्द वा बदर गर्न सक्छ, सम्बन्धित व्यक्तिले सूचित नगरेको अवस्थामा सरकारले नागरिकता रद्द गर्न नसक्ने दाबी गर्दै आएका छन् ।
‘न मैले आफ्नो नागरिकता परित्याग गरी पाउँ भनी कहिल्यै निवेदन दिएको थिएँ, न नेपाल सरकारले मेरो नागरिकता रद्द वा बदर गरेको छ’, निर्वाचन आयोगमा बुझाएको स्पष्टीकरणमा भनेका छन् ।
आफूले नेपाली नागरिकता परित्याग नगरेको, सरकारले खारेज पनि नगरेकाले नयाँ नागरिकताको प्रमाणपत्र लिनु नपर्ने उनको दाबी छ । ‘नेपालको कानूनले नागरिकता विहीनताको परिकल्पना समेत नगरेको हुँदा मेरो राष्ट्रियतामाथि उठाइएको प्रश्न नेपालको संविधान र प्रचलित अन्य कानूनको समेत विपरीत छ’ उनले स्पष्टीकरणमा भनेका छन् ।
गठबन्धनकै सरकार बन्छ, सहमति भोलि सार्वजनिक गर्छौं : कांग्रेस नेता कार्की
‘छलफल सकारात्मक छ । यही गठबन्धनकै सरकार बन्छ । भोलि फेरि एकपटक बसेर सहमति सार्वजनिक गर्छौं । प्रधानमन्त्री को पहिले र को पछि बन्ने भन्ने कुरा गौण हो’
काठमाडौँ — नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ सरकार गठनबारे भोलि सहमति हुने दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले गठबन्धनकै सरकार बन्ने गरी छलफल सकारात्मक भएको र भोलि सहमति सार्वजनिक गर्ने दाबी गरेका हुन् ।
उनले गठबन्धनका नेता को पहिले र को पछि प्रधानमन्त्री बन्ने भन्ने विषय गौण भएको र देशको हितमा सहमति हुने बताए ।
‘छलफल सकारात्मक छ । यही गठबन्धनकै सरकार बन्छ । भोलि फेरि एकपटक बसेर सहमति सार्वजनिक गर्छौं । प्रधानमन्त्री को पहिले र को पछि बन्ने भन्ने कुरा गौण हो,’ उनले भने,’ मूल कुरा देशको हितमा कसरी अगाडि बढ्ने भन्ने हो ।’
प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालले दाबी गरिरहेका छन् ।
पाँच दलीय बैठकमा चुनावपछिको समग्र घटनाक्रमबारे समीक्षा भएको र उक्त समीक्षाअनुसार चुनावबाट आएको जनमतलाई सम्मान गर्दै अघि बढ्ने निष्कर्ष पनि बैठकले निकालेको नेता कार्कीले बताए ।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेता सहभागी थिए ।
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । राष्ट्रपतिले आइतबार ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकारको प्रधानमन्त्रीमा दाबी गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गरेकी थिइन् ।
मंसिर ४ को निर्वाचनमा गठबन्धन सहभागी भएर कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा निर्वाचनमा गएका थिए । यी दलहरू अहिले सरकार गठनको तयारीस्वरुप निरन्तर छलफलमा छन् ।