
पाण्डे र चुडालबीच २२ वर्षदेखिको झगडा !
प्रकाशित मिति । ९ पुस, २०७९ ।
काठमाडौं । पछिल्लो समय काठमाडौँ महानगरपालिकाका नगरप्रहरी सई लोकनाथ चुडालले सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्ति भाइरल बनेको छ ।
महानगरका प्रमुख एसपी राजुनाथ पाण्डेविरुद्ध चुडालले अभिव्यक्ति दिएका थिए । जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो ।
महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले नगरप्रहरी प्रमुखमा एसपी पाण्डेलाई नियुक्ति गरेसँगै उनको कार्यशैलीको प्रशंसा हुँदै आएको छ ।
तर ३० वर्र्षदेखि नगरप्रहरीको रुपमा सेवा गर्दै आएका चुडालले प्रमुख एसपी नेतृत्वले अत्याचार गरेको भन्दै मंगलबार राजीनामासमेत दिए ।
एसपी पाण्डेले गरेको अत्याचार सहन नसकेर आफूले राजीनामा दिएको बताएको भिडियो भाइरल भएको हो । पाण्डे नेतृत्वले सामान्य कमजोरी हुँदा पनि ‘तँ राजिनामा दे, तँ घर गैहाल, बिसञ्चो हुँदा पनि बिदा नदिने, आफूभन्दा जुनियर कर्मचारीलाई लात हान्न लगाउने’ लगायतका अत्याचार गर्ने गरेको चुडालले बताएका थिए ।
त्यस्तै सेतो घर बनाउने बेला २ लाख ५ हजार रुपैयाँ घुस खाने कुरामा पनि नगरप्रहरी संलग्न रहेको खुलासा गरेका थिए ।
नगरप्रहरी नेतृत्वभित्र सरुवामा चलखेल, लाखौँको बार्गेनिङ, घुसखोरी तीब्र रहेको र साना कर्मचारीलाई डसेर आफू राजा बन्ने गरेको समेत चुडालले आरोप लगाएका थिए ।
“मैले राजिनामा दिइसकेँ । अरु तथ्यपरक प्रमाणहरु लिएर अब नागरिक भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निरन्तर निवेदन दर्ता गर्छु । अहिलेको मेयर–उपमेयरलाई मेरो बुताले भ्याएसम्म सहयोग गर्छु । तर दुईचारजनाको कारणले मेयर साहेब असफल हुने खतरा छ । टिप्पोणीका अंक गनेर कमिसन माग्नेहरुले बालेन शाहलाई बुझ्छ ?,” भाइरल भएको भिडियोमा उनले भनेका छन् ।
‘२२ वर्ष पहिले भएको झगडाको रिसइबी अहिले साधेँ’
२२ वर्ष अगाडि एसपी पाण्डे र आफ्नो झगडा हुँदाको रिसइबी अहिले नगरप्रहरी प्रमुख हुँदा साधेको बताएका थिए ।
“२२ वर्ष पहिले एउटा पिकनिकमा जाँदा हाम्रो झगडा भएको थियो । त्यतिबेला मैले टाउको फुटाइदिएको थिएँ । आज उहाँ नगरप्रहरी प्रमुख भएपछि त्यसबेलाको रिसइबी साँध्नुभयो । उहाँ नगरप्रहरी प्रमुख हो । मैले नमानेको कहाँ छ ?,” चुडालले भनेका छन्, “उहाँले कार्यभार सम्हालेपछि पनि तीन पटक बोलाएर तँ एउटा योद्धा होस्, काममा खट् म अन्याय हुन दिन्न भन्नुभएको थियो । मैले पनि भूमिका दिनुस् जस्तोसुकै काम गर्न पनि तयार छु भनेको थिए । तर पछि हामीलाई घुमाएर टचर हान्न थाल्नुभो ।”
तल्लो स्तरका कर्मचारीहरुको पीरमर्का नबुझ्ने, जहिले पनि काम भएन भन्ने किसिमको नेतृत्व पाउँदा नगरप्रहरीले उत्पीडन भोगिरहेको बताएका थिए ।
उनले मेयर र उपमेयरप्रति कुनै पनि असन्तुष्टि नरहेको पनि भिडियोमा स्पष्ट पारेका थिए ।
“मेयर साहेब आउनुभएको ९ महिना हुन लाग्यो । मैले पनि उहाँका हरेक काम कुराहरु सुक्ष्म ढंगले अध्ययन गर्छु । यत्तिको देशभक्त युवा कमै होलान । म मेयर साहेबको एउटा थर्डबाट प्रभाव भएर १६ घण्टा सडकमा त्यसै खटेको होइन ५३ वर्षको उमेरमा । एउटा युवा आएको छ मेरो टाउकोमा बस्ने त्यसलाई बल दिनुपर्छ भनेर लागिपरे ।
मेरो भूमिका प्रहरी संगठनमा थियो,” चुडालले भनेका छन्, “अब मेरो भूमिका बढ्न पनि सक्छ नागरिक तहमा । मैले उत्पीडनका कारण राजीनामा दिएको हो । थेग्न नसकेर । दिनभरी काम पनि गर्ने अनि अनावश्यक टचर पनि सहनुपर्ने पीडा पनि बोक्नुपर्ने त्यस्तो थेग्न सकिन्न । ३० वर्ष महानगरको सेवा गरेको हुँ ।”
नेतृत्वले भनेजस्तै आफूसँग जुनियर कर्मचारीलाई कुट्दै ल्याउने अधिकार नरहेको बताए । एसपी पाण्डेले आफूलाई ‘साइलेन्ट्ली’ टर्चर दिने गरेको पनि बताए ।
नगरप्रहरी नेतृत्वमाथि प्रश्न उठ्दा मेयर बालेन असफल हुने जोखिम रहेको पनि उनले बताएका थिए । आफू नागरिक तहबाट मेयर बालेन र उपमेयर सुनिता डंगोललाई सहयोग गर्ने बताएका छन् ।
२ लाख ५० हजार रुपैयाँ घुस एसपी राजुनाथ पाण्डेले नै खाए भनेर नभनेको चुडालले स्पष्ट पारे ।
“मैले राजुनाथ पाण्डेलाई नै दुई लाख खाए भनेर भनेको होइन । तर नगरप्रहरीमाथि ‘चार्ज’ आएको छ । यस्तो कुराहरुको अनुसन्धान हुनुपर्छ भनेको हुँ,” उनले भने ।
आरोप पुष्टि गरेर देखाऊ, ठाउँको ठाउँ राजीनामा दिन्छु : एसपी पाण्डे
चुडालले अनुशासनहीन अभिव्यक्ति दिएको भन्दै एसपी पाण्डेले जवाफ दिएका छन् ।
“चुडालले अराजक, गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । रामै्रसँग नाटक गर्न आउँदोरहेछ,” एसपी पाण्डेले भने, “सक्नुहुन्छ भने नगरप्रहरी संगठनलाई लगाएका आरोप पुष्टि गरेर देखाउनुस्, ठाउँको ठाउँ राजीनामा दिन्छु ।”
प्रहरी संगठनभित्र रहेर आफूभन्दा ठुला नगरप्रहरीको कुरा काट्ने, नटेर्ने लगायतका काम चुडालले गरेको बताए । नगरप्रहरीको नियम नमान्ने, जथाभावी गर्ने लगायतका गतिविधि चुडालले गरेको पनि पाण्डेको दाबी छ ।
“सरकारी कर्मचारीले पाउने सेवा सुविधामा कुनै पनि कमी भएको छैन । बिरामी बिदा, कर्मचारीलाई अपमान गर्ने, सुत्केरी बिदा नदिने भन्ने नै हुँदैन । अनावश्यक झमेलामा परेँ,” एसपी पाण्डेले बाह्रखरीसँग भने ।
चुडाल अहिले आफ्ना परिवारसँग काठमाडौंमै छन् । आफूले नगरप्रहरीबाट राजीनामा दिएर नागरिक तहमा गइसकेकाले धेरै टिकाटिप्पोणी नगर्ने बताए ।
“सायद मेरो राजीनामा स्वीकृत भयो होला । अहिले परिवारसँगै छु । अब यो विषयमा धेरै टिकाटिप्पणी गर्न चाहन्न,” चुडालले भने ।
घरैपिच्छे निजामती जागिरे
मुसीकोटको माछिमी गाउँमा एउटै घरबाट पाँच जनासम्म निजामती सेवामा
रुकुम पश्चिम — मुसीकोट–३ स्थित माछिमीका ८३ वर्षीय घनु खत्रीका चार छोरा र एक छोरी छन्, सबै सरकारी जागिरे हुन् । जेठा छोरा रमेश अर्थ मन्त्रालयमा सहसचिव, माइला दिलीप राजस्व उपसचिव, साइँला कृष्णमान रुकुम अदालतका कम्प्युटर अपरेटर र कान्छा दीपक राजस्वमै शाखा अधिकृत छन् । छोरी सुशीला नापी विभागमा नायब सुब्बा छिन् ।
केही वर्ष भूमिसुधार कार्यालयमा सहयोगी काम गरेका स्थानीय नदीराम खत्रीले आफ्ना ४ छोरा र २ छोरीलाई जागिर गर्दै पढाए । उनका ६ सन्तान अहिले सबै जागिरे छन् । जेठा खिमबहादुर कोष तथा लेखा नियन्त्रक भएर गतवर्ष मात्रै सेवानिवृत्त भए, माइला नयन लेखापाल, साइँला देवबहादुर र कान्छा रामबहादुर लेखा अधिकृत पदमा कार्यरत छन् ।
जेठी छोरी शारदा शिक्षिका छिन् भने कान्छी छोरी सुवर्णा नायब सुब्बा छिन् । करिब १ सय १० घरधुरी रहेको माछिमीमा अहिले सरकारी सेवामा नरहेकाको घर भेट्नै मुस्किल छ । घनु खत्रीले सदरमुकाम नजिकैको बस्ती भएकाले पढ्नुपर्छ भन्ने चेतका कारण लोकसेवामा भिडेर सरकारी जागिर खाने चलन बढेको बताए ।
‘हामीले त घाँस–दाउरा र खेती किसानी गर्यौं, तर छोराछोरीलाई पढाउनुपर्छ भन्ने थाहा पाएर स्कुल पठायौं,’ उनले भने, ‘जागिर खोज्ने क्रममा उनीहरू निजामती सेवामा कर्मचारी भए ।’
घनुका जेठा छोरा रमेश केसीले २०४६ मा लोकसेवामा लडेर नाम निकालेका थिए । जनस्वास्थ्य कार्यालय जाजरकोटमा मुखिया पदबाट जागिर सुरु गरेका खत्रीको मनमा त्यतिबेलै सबै छोराछोरीलाई आफूजस्तै सरकारी सेवामा प्रवेश गराउने सोच आएको थियो ।
रमेशले पनि सदरमुकाम नजिक भएकाले पढ्नुपर्छ भन्ने चेतनाको विकास भएकैले आफूहरू नियमित स्कुल जान पाएको र जागिरको खोजी गर्दा लोकसेवा आयोगको विज्ञापनअनुसार प्रतिस्पर्धामा भाग लिएर निजामती सेवामा प्रवेश गरेको बताउँछन् । मुखियाबाट सुरु भएको उनको सरकारी जागिरको यात्रा २०५२ मा लेखापाल, ०५५ मा शाखा अधिकृत हुँदै ०६५ सालमा उपसचिव भएर ०७२ मा सहसचिवसम्म पुग्यो ।
‘त्यो बेला गाउँमा नपढेकाहरूले खेती–किसानी गर्थे, एसएलसीसम्म पास गरेकाहरूको रुचि भने निजामतीमै हुन्थ्यो,’ उनले भने, ‘सबैले लोकसेवा पढ्न थाले र धमाधम जागिर गर्न थाले ।’ उनका अनुसार अहिले छिमेकी गाउँहरू सन्चौर, रातामाटा लगायतमा पनि घरैपिच्छे सरकारी जागिरे छन् ।
आफ्ना सन्तान विभिन्न पदमा रहेर सरकारी सेवा गरिरहेकोमा नदीराम गर्व गर्छन् । ‘त्यो बेला अहिलेजस्तो सजिलो थिएन, दिनभरि घरबारीको काम गरेर रातभरि दियालोको झर्रोमा छोराछोरीले पढे,’ उनले भने, ‘मिहिनेत गरेर सरकारी जागिरमा नाम निकाले ।’
छोराछोरी कमाउने भएपछि आफूले कार्यालय सहयोगीबाट राजीनामा दिएको उनको भनाइ छ । तत्कालीन समयमा घरखर्च टार्न सानै भए पनि सरकारी जागिर गर्नुपर्छ भन्ने मान्यताको विकास भएका कारण आफूहरू निजामती सेवामा लागेको कार्यालय सहयोगीबाट निवृत्त भएका स्थानीय रामबहादुर खड्काले बताए ।
अग्रजहरू सबैले पढेर सरकारी जागिर खानुपर्छ भन्ने भएपछि सरकारी सेवामा प्रवेश गरेको नापी विभागमा नायब सुब्बामा कार्यरत सुशीला केसी बताउँछिन् । ‘बुवाआमा खेतीपातीमै व्यस्त हुँदा घाँसदाउराका लागि उहाँहरूले गरेको जस्तो दुःख गर्न पनि नपर्ने र इज्जत पनि हुने भएर हामी सरकारी जागिरप्रति आकर्षित भयौं,’ उनले भनिन्, ‘सबैले सानो/ठूलो नभनेर सरकारी जागिर खानैपर्छ भनेपछि हामीमा स्वाभाविक दबाबका बढ्यो र गाउँभरि नै लोकसेवा तयारीको माहोल बन्यो ।’
बेलैमा जागिर खाएर देश–विदेश पुगेका कारण यहाँ शिक्षाको स्तर पनि अरु ठाउँको तुलनामा धेरै छ । यसकारण सबैका घर–आँगन सफा र चिटिक्क छन् । सरकारी सेवामा नलागेका र सेवा निवृत्त भएकाहरूलाई आँगनको फूलबारीदेखि खेतबारीको तरकारी र खाद्यान्न उत्पादनको कामले भ्याइनभ्याइ छ । सहसचिव केसीले सरकारी जागिर गरेर धनी हुने सपना देख्नेहरूले यस क्षेत्रमा हात नहाल्दा नै राम्रो हुने सुझाव दिए ।
‘इज्जत र प्रतिष्ठाका साथ देश र जनताको सेवा गर्ने हो भने सरकारी जागिर नै एउटा महत्त्वपूर्ण ठाउँ हो,’ उनले भने, ‘जागिरका क्रममा सरकारले तोकेको जिम्मेवारी र खटाएको ठाउँमा गएर प्रमुख जिल्ला अधिकारीदेखि विभिन्न महत्त्वपूर्ण पदमा बसेर सेवा गरियो, यो मेरा लागि ठूलो अवसर हो, यसबाट म र मेरो परिवार पूर्णरूपमा सन्तुष्ट छौं ।’
माछिमीकै शेरबहादुर खड्काका चार भाइ छोरा र एक छोरी गरी पाँच सन्तान छन् । जेठा छोरा भूपेन्द्र खरिदार, माइला नायब सुब्बा र साइँला रविन नेपाली सेनामा कार्यरत छन् । कान्छा छोरा र छोरी लोकसेवाको तयारी गरिरहेका छन् ।
कृषि पेसा गरिरहेका शेरबहादुरले आफ्नो चाहना अनुसार नै छोराछोरी सरकारी सेवामा लागेकामा खुसी व्यक्त गरे । मुसीकोट–३ का वडाध्यक्ष दशरथ केसीले माछिमी गाउँका प्रायः जसो लोकसेवाको प्रतिस्पर्धामार्फत सरकारी जागिरमा जोडिएको विषय सबैका लागि प्रेरणा भएको बताए । उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन र नयाँ पुस्तालाई पनि सरकारी सेवामा आबद्ध बनाउन स्थानीय सरकारले लोकसेवा तयारीमा सहयोग गर्ने योजना रहेको बताए ।
उनले भने, ‘सरकारी सेवामा यो गाउँको योगदानलाई कायम राख्न र देशमै बसेर जनताको सेवा गर्ने यो अवसरमा पछिल्लो पुस्तालाई जोड्न योजना बनाएर लाग्छौं । पूर्वशिक्षक भीमबहादुर खत्री पनि निजामती सेवा प्रवेश गरेर माछिमीले हिजोदेखि बनाएको परिचयलाई कायम राख्न जरुरी ठान्छन् । सरकारले निजामती कर्माचारीलाई समयानुकूल सेवासुविधामा वृद्धि गरेर यसप्रति आकर्षण बढाउन जरुरी रहेको उनको भनाइ छ ।