
सचिन परियार अवस्था नाजुक, कृष्ण कँडेल देखि रबिन पुग्दा चिनेनन् सचिनले (भिडियो सहित)
प्रकाशित मिति । ९ पुस, २०७९ ।
काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि बालगायक सचिन परियार अस्पताल भर्ना भएका छन् । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएको छैन ।
केही समय नेपाली लोकदोहोरीदेखि टेलिसिरियलसम्म निक्कै प्रयोग भएका सचिन केहीसमय यता कतै देखिएका छैनन्। हाल उनी निक्कै बिरामी रहेको खबर सार्वजनिक भएको हो ।
गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भए। उनलाई म्युजिक भिडिओदेखि टेलिफिल्ममा खेलाउनेको लाइन नै लाग्यो। पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। सचिन युट्युबमा मात्रै होइन ‘टिकटक’मा पनि हिट थिए।
सचिनको स्वरमा चलेका कलाकारले पनि लिप्सिङ दिए। टिकटक बनाए। उनलाई टेलिभिजन कार्यक्रममा निम्त्याइयो। म्युजिक भिडिओमा सचिनलाई खेलाउने होडबाजीजस्तै थियो।
चलेका कलाकारले पनि उनीसँग कम्मर मर्काए। सचिनलाई लिएर बनाइएका म्युजिक भिडिओहरू युट्युब ट्रेन्डिङको अग्रपंक्तिमा देखिन्थे। अहिले सचिनको नाम सबै तिरबाट हराएको छ। सामाजिक सञ्जालमा भेटिन छोडेका छन्।
उनै सचिन अहिले अस्पतालको बेडमा भेटिएका छन्। बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन्। सचिन बिरामी भएको थाहा पाएपछि रविन लामिछानेले सचिनको अवस्था गम्भिर भएको बताएका छन्।
उनी भन्छन् ‘भर्खरै अस्पताल पुगेका साथिहरु र बाबुको आमालाई सोध्दा सचिन बाबुको अवस्था जटिल छ भन्ने बुझियो। टिचिङ्ग अस्पतालको आइसीयूमा उपचाररत सचिन बाबुको थप उपचार, खर्च अभावका कारण रोकिन सक्ने खतरा भएकाले माया गर्ने सबै जनाले बाबुको लागि भगबान सङ्ग प्रार्थना सहित सकेको सहयोग गरिदिनु हुन अनुरोध छ।’
कान्तिपुर अभिलेखालय
एउटा नाटक साँच्चैको
सानैदेखि अभिनय र संगीत मन पर्थ्यो । नौ कक्षा पढ्दैदेखि कविता लेख्थें, वाचन गर्थें । तर, अभिनय, संगीत मन परे पनि त्यस क्षेत्रमा मलाई हात समाएर डोहोर्याउने कोही थिएन । विसं २०३७ ।
म त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर बहुमुखी क्याम्पसमा बोटनी विषयमा एमएस्सी पढ्दै थिएँ, प्रथम वर्षमा । त्यतिबेला उपत्यकाका विभिन्न क्याम्पसहरू मिलेर ‘अन्तरक्याम्पस नेपालभाषा साहित्य सम्मेलन’ आयोजना गर्थे ।
क्याम्पसमा नेवाः विद्यार्थीको छुट्टै समूह पनि हुन्थ्यो, जसलाई पाःलाः भनिन्थ्यो । कीर्तिपुर बहुमुखी क्याम्पसमा ‘गं’ साहित्य पाःलाः थियो । त्यस वर्ष साहित्य सम्मेलन गर्ने पालो कीर्तिपुर क्याम्पसको सोही साहित्य पाःलाःलाई परेको रहेछ । र, प्रज्ञा भवनमा एउटा सांस्कृतिक कार्यक्रम गर्ने निधो भएछ । त्यो सांस्कृतिक कार्यक्रम साहित्य सम्मेलनको आर्थिक संकलनका लागि गरिएको थियो ।
त्यसमा गीत, नृत्य, सितारवादन, प्रहसनसँगै एउटा एकांकी नाटक पनि समावेश गर्ने तय भयो । मभन्दा दुई वर्ष सिनियर जुलोजीका विद्यार्थी प्रकाश वज्राचार्यको लेखन र निर्देशन रहेको ‘फ्वगिं गुथि’ (मगन्ते गुठी) नामक ख्यालः (प्रहसन) मा छोटो भूमिका खेल्ने मौका पाएँ मैले । प्रहसनमा आँखा नदेख्ने, बोल्न नसक्ने, हिँड्न नसक्ने र एक कुप्रो गरी चार पात्रको मुख्य भूमिका थियो । एक बटुवाको भूमिकामा म थिएँ ।
प्रहसनमा यी चार पात्र बाटामा मागिरहेका हुन्छन् । मचाहिँ तरकारी किनेर घर फर्किरहेको हुन्छु । मलाई देखेर बोल्न नसक्ने पात्रले ‘भोक लाग्यो’ भनी हातले इसारा गर्छ । म पर्स खोलेर एक मोहरको सिक्का तिनीहरूको कचौरामा फालिदिन्छु ।
मैले सिक्का दिएपछि आँखा नदेख्ने र बोल्न नसक्ने पात्र एकआपसमा कुरा गर्न थाल्छन् । म छक्क पर्दै गाली गर्न थाल्छु, ‘अन्धोले मोहर कसरी देख्यो ? लाटाले कसरी बोल्यो हँ ? ए कुहिएका मगन्तेहरू, युवा भएर पनि यसरी अन्धो र लाटो भई मागेर खान लाज लाग्दैन ?’
तर, मेरो गाली सुनेर उनीहरू लजाउँदैनन् । बरु ‘ए.. मय्जु, ए..ए..’ भन्दै मलाई जिस्क्याउन आउँछन् । म वास्तै नगरी अगाडि बढ्छु ।
नाटकमा यो मेरो पहिलो अवसर थियो । त्यस सांस्कृतिक कार्यक्रमपछि उठेको पैसाले ‘अन्तरक्याम्पस नेपालभाषा साहित्य सम्मेलन’ भव्य रूपले सफल भयो ।
त्यतिबेला क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसका नेवाः विद्यार्थीहरूले ‘सँझ्याः साहित्य पाःलाः’ सञ्चालन गरेका थिए । त्यस साहित्य पाःलाःले हरेक वर्ष अन्तरक्याम्पस एकांकी नाटक प्रतियोगिता आयोजना गर्दै आइरहेको थियो । त्यसमा पनि एउटा नाटकमा खेल्ने अवसर मलाई प्राप्त भयो । मभन्दा दुई वर्ष सिनियर बोटनीका विद्यार्थी दिनेश भुजूको नाटकमा एउटी बूढी आमाको भूमिका मलाई दिइएको थियो ।
त्यतिबेला म २२ वर्षकी थिएँ । भूमिका ७० वर्षकी बूढीको थियो । प्रज्ञा भवनको मेकअप रूपमा स्वयम्भुरत्न वज्राचार्य र नीलम ताम्राकारले ममाथि यति मेकअप गरे कि ऐना हेर्दा म आफैं झसंग भएँ । २२ वर्षकी युवती एकाएक ७० वर्षकी बूढीमा रूपान्तरण हुँदा म त तर्सेर उफ्रिहालेछु । मेकअप रुमबाट निस्कँदा मेरो काया बदलिइसकेको थियो । म वृद्धामा फेरिएकी थिएँ । ऐनामा आफ्नै अनुहार हेरेर आत्तिएकी थिएँ । त्यो कायाकल्पपछि मस्तिष्कमा अनेक तरंग आए, गए ।
आफ्नो रूप हेरेर म रोऊँ कि हाँसूँ ?
त्यस नाटकको नाम थियो ‘छगू प्याखं धाथेंगु’ (एउटा नाटक साँच्चैको) । कलाकारहरू थिए दिनेश भुजू, गौरीशंकर मानन्धर, प्रकाश वज्राचार्य, सुरेन्द्र माथेमा, शशि राजवंशी, विश्वलक्ष्मी मानन्धर, रमेश शाक्य र म । त्यो एक किसिमको दर्शकै अलमल्याउने प्रयोगवादी नाटक थियो । नाटकको विषय थियो, एउटा नाटकको तयारी ।
मञ्चमा एउटा नाटक देखाउने तयारी भइरहेको हुन्छ । नाटक देखाउने समय भइसकेको हुन्छ । तर, तयारी सकिएको हुँदैन । त्यो भद्रगोल देखाउनु नै नाटकको विषयवस्तु थियो ।
२०–२२ मिनेट जति लामो नाटकमा मेरो उपस्थिति अन्दाजी ५/६ मिनेटको थियो । नाटक सफलतापूर्वक मञ्चन भयो । नाटक सकेपछि मेकअप रुम जाने करिडोरमा पुग्दा मजस्तै बूढी आमाको रोल गर्ने अरू दुई कलाकार पनि भेटिए । तीन जना नक्कली बूढीहरू एकै ठाउँ भेट हुँदा तीनै जना निकै हाँस्यौँ ।
अन्य दुई ‘बूढी’ हरूमा पद्मकन्या क्याम्पसको प्रस्तुति रहेको पद्मरत्न तुलाधरद्वारा लिखित ‘ग्वय्दाँ’ (निमन्त्रणा) नाटकमा खेल्ने रामेश्वरी वज्राचार्य थिइन्, अर्की पाटन संयुक्त क्याम्पसको प्रस्तुति रहेको दुर्गालाल श्रेष्ठद्वारा लिखित ‘न्हूगु छेँया भमचा’ (नयाँ घरकी दुलही) नाटकमा खेल्ने अनिता वज्राचार्य ।
मेकअप उतारिसकेपछि एक जना मान्छे (नाम बिर्सें) हाम्रो नाटकको नाम लिँदै मछेउ आए, ‘बूढी आमाको रोल गर्ने को हो ?’ ती मान्छे मलाई देखेर छक्क परे । उनको कल्पनामा म एक बूढी मान्छे नै हुँ भन्ने रहेछ । तर, म त थिएँ भर्खरकी तरुनी युवती ।
उनले भने, ‘हेंऽऽ बूढी आमै त तरुनी पो रहेछ । बूढी आमाको रोल छोटो भए पनि नाटकलाई स्वाट्टै उचालेको छ । तपाईंको ठूलो स्वरले सबैको ध्यान तान्यो । तपाईंलाई साँच्चै ‘नासःद्यः’ (कलाका देवता) कै आशीर्वाद परेको रैछ । बेस्ट एक्स्ट्रेसको पुरस्कार तपाईंलाई पर्ने सम्भावना छ है ।’
नाटकमा देखाइएझैं त्यो समय महिलाले नाटक खेल्नु राम्रो मानिन्नथ्यो । घर फर्किंदा बाटामा क्याम्पसकै एक महिला साथीले व्यंग्य गरिन्, ‘तिमीले जस्तै मैले नाटक खेलेको भए मेरी आमाले मेरो खुट्टै भाँच्नुहुन्थ्यो ।’
पुरानो विचारकी साथीको कुरा सुनेर दिक्क लाग्यो । घरमा त मलाई पनि आमाले ‘नाटक खेल्ने ?’ भनेर गाली गर्नुभएको थियो । गाली बेवास्ता गर्दै मैले आमालाई जवाफ फर्काएकी थिएँ, ‘मलाई मन पर्ने भएकाले खेलेको !’
वास्तवमा नेवार समाजमा त्यस बेलासम्म गीत गाउने, नाच्ने, नाटक/फिल्म खेल्ने कलाकार बिग्रिन्छन् वा बिग्रेका हुन्छन् भन्ने मान्यता थियो । तर, त्यो मान्यता छोरा होइन छोरीमाथि मात्रै लागू हुन्थ्यो ।
बिग्रने, सप्रने त मान्छेकै हातमा हुन्छ । पहिले आफू सतर्क हुनुपर्छ भन्ने सोच्थें म । म अलि विद्रोही स्वभावकी पनि थिएँ । नाटक खेल्न घर–परिवारमै एक खाले विद्रोह गर्नुपरेको थियो । र, गरेकी थिएँ ।
दुई दिनको त्यस नाटक प्रतियोगितामा जम्मा सात नाटक मञ्चन भएका थिए । हाम्रो कीर्तिपुर बहुमुखी क्याम्पसको ‘गं साहित्य पाःलाः’ ले प्रस्तुत गरेको नाटकले प्रथम पुरस्कार प्राप्त गर्यो । हाम्रो नाटकले मञ्चन भइन्जेल दर्शकदीर्घाबाट ताली पाएको पायै थियो । हाम्रो नाटक हिट होइन, सुपरहिट भएको थियो । त्यस नाटकले उत्कृष्ट निर्देशन र उत्कृष्ट लेखनको समेत पुरस्कार पाएको थियो ।
मञ्चमा पुरस्कार ग्रहण गरेर फर्कंदै गर्दा निर्णायक मण्डलका सदस्य, चर्चित नाटककार प्रचण्ड मल्लले मेरो कुममा हात राख्दै भन्नुभयो, ‘तिम्रो अभिनय राम्रो छ । स्वर पनि राम्रो । कमान्डिङ भ्वाइस रहेछ, कलाकार हुन चाहिने स्वर । तर, नाटकमा तिम्रो रोल छोटो भएकाले बेस्ट एक्स्ट्रेसको नोमिनेसनमा मात्रै पर्यो । तिमीलाई कलाकार हुने इच्छा छ भने हाम्रो नाटक विभागमा स्वागत छ ।’
म फेरि अघिल्लो दिनजस्तै उत्साहित भएँ । खुसी भएर उहाँलाई जवाफ दिएको थिएँ, ‘एमएस्सी पढ्दै छु, जाँच आउन लाग्यो । हजुरलाई भेट्न म पछि आउँछु ।’
केही वर्षपछि अर्को एउटा नाटकमा खेलेँ । तर, त्यसमा मेरो भूमिका मञ्चमा जानुनपर्ने खालको थियो । मञ्चमा एक्लो कलाकार थिए, पुष्कर माथेमा । उनीसँग नेपथ्यमा बसेर फोन संवाद गर्ने भूमिका थियो मेरो । त्यो पनि प्रयोगवादी नाटकै थियो ।
त्यसपछि २०४२ सालतिर अशेष मल्लको लेखन, निर्देशनमा नेपाली भाषाको रेडियो नाटक ‘अर्को जन्म’ मा मुख्य भूमिकामा खेलेँ ।
एमएस्सी पास भएपछि लोकसेवा जाँचका लागि व्यस्त भएँ । प्रज्ञा भवनको नाटक विभागमा कलाकार बन्न जाने कि आफू पढेकै विषयमा जागिर खान जाने ? मनमा अन्तर्द्वन्द्व थियो । स्थायी सरकारी जागिर पाएपछि म प्रचण्ड मल्लसँग भेट्न गइनँ । त्यसपछि रंगमञ्च सम्झनामा मात्रै रह्यो । लेखन भने जारी रह्यो ।
त्यस समय नेपालभाषामा पनि भिडियो फिल्म र टेलिफिल्म बन्न सुरु भइसकेको थियो । हाम्रो सुपरहिट नाटक सम्झनेहरूले मलाई एक–दुई फिल्म खेल्ने अफर पनि गरे । तर, रोल भने हिरोइनकी आमा वा कहिले हिरोकी आमा । म त तरुनी युवती थिएँ, त्यसैले आमाको रोल चित्तै बुझेन । कलाकार भएपछि जुन रोलमा पनि खेल्नुपर्छ भन्ने बुद्धि त्यतिबेला आएकै थिएन ।
जब अफिसबाट रिटायर्ड हुन लागेँ तब भने अभिनय गर्ने मेरो इच्छा एकदमैसँग बौरिएर आयो । नाटक होस् वा फिल्म, आमाको रोल होस् वा अरू कुनै, मलाई अफर आएका जे भूमिका पनि खेल्छु भनी स्वीकार गरेँ । मैले आफैं लेखेको, निर्माण गरेको दुईवटा नेपालभाषाका सर्ट फिल्म खेलें । अहिले ‘बौद्धबदान’ भन्ने टेलिसिरियल खेल्दै छु । ‘मां’, ‘झीगु कर्म’, ‘जातः’ (फिल्म) र सत्यमोहन जोशीलिखित ‘वैद्यबाः’ (टेलिसिरियल) मा पनि आबद्ध छु ।
रोल जस्तो होस् (पोजिटिभ वा नेगेटिभ, सानो वा ठूलो) त्यसलाई भगवान्को प्रसाद ठानेर स्वीकार गर्नेछु । जीवनको उत्तरार्द्धमा मलाई ‘अभिनय किन गरिनँ’ भन्ने पश्चात्ताप छैन । बरु झन् धेरै नाटक, फिल्ममा काम गर्ने रहर छ ।
(मानन्धर नेपालभाषाको पहिलो उपन्यास ‘शैली’ लेख्ने महिला उपन्यासकार हुन् ।)