सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


सचिनको उपचारका लागि पैसा जुटाउँदै कलाकार, कृष्ण कँडेलले गरे ५० हजार हस्तान्तरण

प्रकाशित मिति । ९ पुस, २०७९ ।

काठमाडौ । बाल कलाकार सचिन परियारको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्।

अहिले उनको काठमाडौंस्थित टिचिङ अस्पतालको आईसीयूमा उपचार भैरहेको छ। सचिन बोल्न नसक्ने अवस्थामा रहेको उनलाई भेट्न अस्पताल पुगेका कलाकारले बताएका छन्।

आर्थिक अवस्थाका कारण उनको उपचारमा समस्या आएको उनकी आमाले बताएकी थिइन्। अहिले कलाकारहरु सचिनको उपचारका लागि आर्थिक सहयोग जुटाउन लागिपरेका छन्। सञ्चारकर्मी सहित अस्पताल पुगेका कलाकारले उनकी आमालाई आर्थिक सहयोग गर्ने वचन दिइरहेका छन्।

लाइभ दोहोरी कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले अस्पताल पुगेर सचिनकी आमालाई ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका छन्। अस्पताल पुगेका कलाकारहरूले उपचार खर्च जुटाउन पहल समेत गरिरहेका छन्।

अस्पतालमा सचिनको रेखदेख गरिरहेकी उनकी आमाले उपचारमा सघाउन अपील गरेकी छिन्। परिवारको कमजोर आर्थिक अवस्था भएका कारण उनलाई अनामनगरस्थित एक स्कूलले होस्टेलमा राखेर निशुल्क पढाउँदै आएको थियो।

अचानक बिरामी परेपछि उनलाई बिहीबार अस्पताल भर्ना गरिएको बताइएको छ।

सामाजिक सञ्जालमा भाइरल भएका सचिनले केहि समय गीत गाउनेदेखि म्यूजिक भिडिओमा अभिनय गर्ने काम गरे। तर उनी पछिल्लो समय गुमनाम जस्तै थिए।

दादाजीसँग त्यो झरिलो अपराह्न

नेपाली भाषा, वाङ्मयको पवित्र कमल–पुष्पपत्रका तरेलीमाझ केन्द्रस्थलमा विराजमान छन्– कमलमणि दीक्षित । कमलमणि स्मृति दिवस (पुस १४) को सन्दर्भमा उनको सम्झना:

नाममा के हुन्छ र ? गुलाबको फूललाई जुनै नाम दिए पनि त्यसको सुवास घट्ने होइन । सौन्दर्यमा फरक पर्ने पनि होइन,’ शेक्सपियरको नाटक ‘रोमियो एन्ड जुलिएट’ भित्रको यो संवाद विश्वचर्चित छ । तर, गुलाब भन्ने संज्ञाले स्थापित गरेको आफ्नो रङ र रूप, गुण र स्वभावलाई अरू नामले बोक्न सक्दैन ।

कमलमणि दीक्षित पनि व्यक्तिविशेषको गुण र स्वभावलाई बोक्ने एक नाम हो । नेपाली भाषा, साहित्य र वाङ्मयको एक जाज्वल्यमान मणि । त्यो मणि, जुन नेपाली वाङ्मयको पवित्र कमल पुष्पपत्रका तरेलीमाझ केन्द्रस्थलमा विराजमान छ । जस्तो नाम त्यस्तै काम । र, त्यस्तै कीर्तिमान पनि । कमलमणिको शाब्दिक अर्थ खोज्दै जाँदा उहाँ स्वयंले आफूलाई ‘लोटस ज्वेल’ भन्ने उपनाममा पनि परिचित गराउने चेष्टा गरेका थिए ।

भारतको बनारसमा अध्ययनरत छँदा त्यस नामबाट आफ्ना लेख–रचना पठाउने गरेको उहाँ स्वयं सुनाउनुहुन्थ्यो । कमलमणि भन्ने नाम जुराउँदा माता–पिताका हृदयमा ‘ॐ मणि पद्मे हुँ’ भन्ने बौद्ध मन्त्रोच्चारण विराजमान थियो होला । मलाई यस्तै लाग्न थालेको छ ।

म विज्ञानको विद्यार्थी । वनस्पतिशास्त्र मेरो विषय । समय र परिस्थितिको डोरामा अल्झिएर कमलमणि दीक्षितजस्तो साहित्यिक हस्तीको समीपमा पुग्ने अवसर मिल्यो । दादाजी एक निपुण साहित्य पारखी हुनुहुन्थ्यो । ललितपुरको श्रीदरबारटोलमा ‘हिमाल’ खबरपत्रिका परिवार तथा मदन पुरस्कार गुठी वा यलमाया केन्द्र जाँदा सबै उहाँलाई ‘दादा’ भनेर सम्बोधन गर्ने भएकाले मैले पनि ‘दादा’ भनेरै साइनो जोड्न थालें । उहाँ मभन्दा आठ वर्षले जेठो हुनुहुन्थ्यो । तर, साहित्य र वाङ्मयको क्षितिजमा जुगान्जुग जेठो ।

दादाजीसँग खीर पार्टी

खीर पार्टी त्यो पनि दादाजीसँग । वरिष्ठ पत्रकार भैरव रिसालले एक बिहान फोनमा सोध्नुभयो, ‘विशेष भेटघाट गर्ने खीर पार्टीमा सदस्य बनेर सम्मिलित हुन इच्छा कि ?’ के पार्टी, कस्तो पार्टी, के गर्नुपर्ने केही थाहा थिएन । भैरव दाइ र दादाजी भएपछि मलाई पुगिहाल्यो । सहर्ष स्वीकारेँ । मेरो कुतूहल बढ्दै थियो ।

तीन–तीन महिनामा आलोपालो सबैको घरमा जहान परिवारसँग करिब एक, डेढ घण्टा बिताउने पार्टी रहेछ । अरू सदस्यमा प्रगतिवादी नेपाली साहित्यका शिखर व्यक्तित्व श्यामप्रसाद शर्मा हुनुहुँदोरहेछ । पार्टी गर्ने पालो भने झर्रो शैलीमा झर्रो विचारका क्रान्तिकारी युगकवि केवलपुरे किसानको घरमा परेको रहेछ ।

उहाँ अस्वस्थ भएको थाहा भयो । र, पहिले कमलमणि दादाजीको घरमा भेला हुने कार्यक्रम बन्यो । अनामनगरमा भैरव दाइ र नक्साल हात्तिसारमा श्याम दाइलाई लिएर दादाजीको ठूलो भ्यान सानेपा आइपुग्यैं । हामी तीनजना दादाजीको घर पुग्यौं । खीर खाने बन्दोबस्त त्यहीँ मिलाइएको रहेछ । हाँसो र ठट्टाको माहोल सुरु भयो ।

अधिक समय दादाजीले बोल्नुभयो । त्यसमा थपथाप गर्ने काममा भैरव दाइ निपुण । श्याम दाइ हाँस्ने मात्रै, त्यो पनि खित्का छुट्ने होइन । दुई दशकभन्दा बढी भूमिगत जीवन बिताएका श्याम दाइको वाम आदर्श र स्वअनुशासनका कुरा कोट्याई कोट्याई पुष्टि हुन थाल्यो । शुद्ध गाईको दूधले बनेको खीरको थाली, बाहुन घरको स्वाद पस्कने आलु अचार र अन्य परिकार सबै रित्तिएलगत्तै केवलपुरे किसान (देवीप्रसाद पौडेल) का घरतिर लाग्यौं ।

विसं २०६८, साउन ४ गतेको झरिलो अपराह्न थियो त्यो । खुमलटारको ओरालो लागेपछि हात्तिवनबाट पूर्वतिरको मकैबारीको बीचैबीच छिचोलेर केवलपुरे निवास पुग्यौं । कविता हालेर स्वागत गर्नुभयो । पिसाबको थैली र लामो नली झुन्ड्याएर बसेका रहेछन्, तर निकै प्रसन्न मुद्रामा । लामो गफगाफ, तर आफू मुकदर्शक ।

दादाजीले ल्याउनुभएको खीर ख्वाउनुभयो । कृष्ण र सुदामाको कनिका भोजनलाई सम्झाउने माहोल बन्यो । पौडेल परिवारले पनि भव्य खाजाको तयारी गरेको रहेछ । तर, केवलपुरे किसानको स्वास्थ्य अवस्थाले भने हामी निकै चिन्तित थियौं । मेरो त पहिलो भेट । त्यही भयो मेरो अन्तिम भेट पनि ।

खीर पार्टीको सिलसिलामा कात्तिक महिनामा मेरो घर सानेपामा पार्टी जम्यो । कौसीको घमाइलो घाममा बसेर गफ चुट्ने बन्दोबस्त मिलाएको थिएँ । घाममा गफगाफ गर्दै खीर खान थाल्यौं । त्यसपछि भोगटे साँधेको अमिलो खाने बन्दोबस्त थियो । कात्तिकको पारिलो घाममा जिब्रो पड्काउँदै गफगाफ सुरु भयो ।

श्याम दाइलाई अमिलो चल्दो रहेनछ । त्यसो त उहाँलाई कौसीसम्म भर्‍याङ चढाएर लैजानु पनि मेरो सही निर्णय थिएन । गफगाफ त राम्रै चल्यो, तर खीर पार्टीमा कहिल्यै राजनीतिक कुरा उठेन वा उठाइएन । छुट्टिने बेला मेरी आमासँग भेट गरायौं । आमा ९८ वर्षको उमेर कटेर ९९ वर्षमा हुनुहुन्थ्यो । सबैलाई आशीर्वाद दिउभयो आमाले ।

त्यसबेलासम्म आमाको स्मृतिमा पुराना भजन, कीर्तन, गीत तथा उखानटुक्काहरू मुखाग्र थियो । छन्दका ती रचना सुनेर छन्दप्रेमी कमलमणि दीक्षित निकै प्रभावित हुनुभयो । कहिले र कसरी त्यो ज्ञान त्यसबखत एक महिला गृहिणीलाई प्राप्त भयो भन्ने जिज्ञासा उठाउनुभयो । जीवनको उत्तरार्द्धमा पुगेर जीवनप्रतिको आफ्नो मनस्थिति व्यक्त गर्न आमाले अधिक सुनाउने श्लोक यस्तो थियो:

रामजी की मैना, तु राम नाम कहना

यहाँ नहीं तो वहाँ रहना…

छोटासा मैना बडासा पिंजडा

निकल गई मैना, कुछ लेना न देना ।

हाम्रो प्राणपखेरुलाई ईश्वरको मैनाचरी र स्थूल शरीरलाई पिँजडाको रूपमा व्याख्या गर्दै प्राणपखेरु उडेर गएपछि लेनादेना केही बाँकी रहँदैन भन्ने सन्देश त्यसबाट दिने गर्नुहुन्थ्यो आमा । विडम्बना, केवलपुरे किसान त्यही वर्ष स्वर्गीय हुनुभयो । त्यसपछि रामजीको मैनाले श्याम दाइलाई बिदा गर्‍यो र फेरि कमलमणिको पिँजडाबाट पनि मैना उडेर गयो । हाम्रा स्मृतिमा भने उहाँहरू अझै जीवन्त हुनुहुन्छ ।

दादाजी स्वर्गीय भएपछि हाम्रो खीर पार्टी जम्ने कुरै भएन । खीर पार्टीको सम्झना कोट्याउँदा एउटा अविस्मरणीय क्षणको सन्दर्भ यहाँ जोड्नैपर्छ । विसं २०६९ को भदौमा दादाजीको घरमा पार्टी जमेको थियो । खीर पार्टीमा परिवारजन भेट्ने चलन थियो । हामीले दादाजीका अर्धांगिनी भेट्ने इच्छा गर्‍यौं । उहाँले नकार्नुभएन । भदौको विशेष तेजिलो घाम कोठाभरि छरिएको थियो । देवीजी (अञ्जना पौडेल) ओछ्यानमा निश्चल टोलाएर बस्नुभएको थियो । उज्यालो चहकिलो चेहरा । एक–दुईजना सुसारे थिए ।

त्यहाँ सुनसान सन्नाटा छाएको थियो । बिदा भएर घर फर्केपछि थाहा पायौं कि देवीजी १०/१२ वर्षदेखि अलजाइमर्स नामक मस्तिष्क रोगबाट पीडित हुनुहुन्थ्यो । अलजाइमर्स रोगले ग्रस्त भएर यत्रो समय जीवनयापन गर्नेहरूमा त्यो विश्वकै कीर्तिमानी अवस्था थियो । ‘केयर गिभर’ भएर त्यो ‘रामजी की मैना’ पाल्ने उहाँका पतिको योगदान पनि अद्वितीय मान्नुपर्ने हुन्छ । तर, परिवारइतरका सामाजिक जीवनमा दादाजीको बानी–व्यहोरा र चेहरामा कहिल्यै त्यस पीडाको आभास भेट्टाएका थिएनौं । उहाँको हँसिलो–रसिलो स्वभावभित्र त्यत्रो पीडा लुकेको रहेछ भन्ने सोही दिन मात्रै चाल पाएँ ।

सम्झनामा ‘गएकाहरू’

मेरा ससुरा शेषराज दली (विसं १९७२–२०७०) को नाममा शताब्दी स्मृति ग्रन्थ तयार गर्ने जिम्मा मेरो भागमा थियो । ग्रन्थका लागि एक स्मृति–लेख लेखिदिन दादाजीलाई अनुरोध गरें । हप्ता दिनपछि उहाँ आफ्नो लेख हातमा लिएर मेरो घर आउनुभयो । म र मेरी श्रीमतीअघि त्यो लेख वाचन गर्नुभयो । कस्तो लाग्यो भनेर शेषराजका छोरीलाई सोध्नुभयो । एकछिन आफूले भेटेको केही रमाइलो गफ पनि सुनाउनुभयो ।

‘शेषराज स्मृतिग्रन्थ २०७३’ मा त्यो प्रकाशित भयो । केही महिनापछि उहाँ मेरो घरमा आइपुगेर एउटा सानो पुस्तक उपहार दिनुभयो । शीर्षक थियो– ‘गएकाहरू’ । त्यस पुस्तकमा उहाँले स्व. शेषराज दलीको त्यही लेख समावेश गर्नुभएको रहेछ । प्रकाशित मिति थियो– असोज २०७३ । बीस जना गएकाहरूका माझ ‘देवीजी’ बारे पढ्दा अत्यन्तै भावुक भएँ म पनि । त्यहाँ भनिएको छ, ‘शनैःशनैः यो रोग कसरी बढ्दै गयो त्यो भन्न लाग्यो भने एउटा किताबै बन्छ । अहिलेलाई यत्ति मात्र भनेर अलम् गरूँ ।’

गएकाहरूबारे त्यो पुस्तक असोजमा प्रकाशित गरेर पुसको १४ गते उहाँ आफू पनि गएकाहरूसँग लाग्नुभएछ । विश्वासै लागेन । बिरामी भएको वा अस्पताल भर्ना भएको केही थाहा पाइनँ, तर पछि यति थाहा भयो– अस्पतालको भेन्टिलेटरभित्र प्राणपखेरु त्याग्नु नपरोस् भन्ने इच्छा उहाँले पहिले नै व्यक्त गरिसक्नुभएको रहेछ । कमलमणिको त्यो ‘रामजीको मैना’ उडेर गएको पनि आज ६ वर्ष पुगिसक्यो । स्मृति आइरहन्छ । श्रद्धाञ्जली दिइरहन्छौं । उहाँ ग्रहण गरिरहनुहुन्छ ।


Last Updated on: December 24th, 2022 at 3:00 pm


२६४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया