मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


काठमाडौंको फोहोर लैजाने सडक मुड्खु-तीनपिप्ले धमाधम कालोपत्र गरिँदै

प्रकाशित मिति । ८ पुस, २०७९ ।

काठमाडौँ — काठमाडौं–बालाजु–रानीपौवा खण्डको मुड्खु–तीनपिप्ले सडकमा धमाधम कालोपत्र गर्न थालिएको छ । यहीं सडक खण्ड हुँदै काठमाडाैंको फोहोर सिसडोल लैजाने गरिएको छ ।

सडकका कारण उपत्यकाको फोहोर विसर्जनमा समस्या भएपछि ‘फास्ट ट्रयाक’मा काम सक्न भन्दै उक्त खण्डको कालोपत्र थालिएको हो । चार महिनाभित्र काम सक्नेगरी बालाजु–रानीपौवा सडकअन्तर्गत मुड्खु–तीनपिप्ले खण्ड कालोपत्र गर्न असोजमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार माघ २६ भित्र काम सकिइसक्नुपर्नेछ । तोकिएको समयभित्र काम नसकिए ठेक्काको म्याद थप नहुने सडक विभागले जनाएको छ । ठेक्का कमलजित–ड्रागन जेभीले पाएको हो ।

ठेक्का लागेको रकम १५ करोड रुपैयाँ छ । अर्थ मन्त्रालयबाट १० करोड रुपैयाँ रकमान्तर भएर आएपछि काम अघि बढेको बालाजु–रानीपौवा–त्रिशूली सडक विस्तार आयोजनाले जनाएको छ । थप रकम पनि रकमान्तरमार्फत नै आउने आयोजना प्रमुख गौतम श्रेष्ठले बताए । शुक्रबारबाट यो खण्डमा कालोपत्र गर्न सुरु गरिएको हो ।

‘पहिलो दिन १६ सय मिटर सडक कालोपत्र गरिसक्ने छौं,’ आयोजना प्रमुख श्रेष्ठले भने, ‘तोकिएकै समय माघभित्र सक्नेगरी नै काम भइरहेको छ ।’ सवारी आवागमन नरोकी काम गरिरहेको उनको भनाइ छ । ‘पहिलो चरणमा एक लेन सडक कालोपत्र गर्ने र दोस्रो चरणमा थप लेन कालोपत्र गरिने छ,’ उनले भने, ‘गाडीको आवागमन बन्द नगरी काम गरेका कारण एकैपटक दुई लेन सडक कालोपत्र गर्न सकिएन ।’

बालाजु–रानीपौवा सडक टुक्र्याएर ५ किलोमिटर दूरी सडक स्तरोन्नति गर्ने भन्दै ठेक्का गरिएको हो । बालाजु–रानीपौवा १७.१० किलोमिटर सडक स्तरोन्नतिका लागि आठ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयूक्त ठेक्का लिए पनि काम हुन सकेको थिएन । सात पटक म्याद थप्दा पनि आयोजनामा प्रगति नभएपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत असार ५ मा ठेक्का तोडेको थियो ।

ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले गत भदौ ८ मा तीन वर्षका लागि कालोसूचीमा राखी सकेको छ । बाँकी १२ किलोमिटर खण्डको लागत अनुमान तयारी भइरहेको आयोजनाले जनाएको छ ।

रानीपौवा–त्रिशूली खण्डको पनि ठेक्का तोडिसकिएको छ । पटकपटक म्याद थप्दा पनि प्रगति नभएपछि ठेक्का तोडिएको हो, जसको ठेक्का दिनेशचन्द्र आर अग्रवालसँग नागार्जुन–कोसी एन्ड न्यौपाने कम्पनी जेभीले लिएको हो । यस कम्पनीलाई तीन वर्षसम्म नयाँ ठेक्का नपाउने गरी गत साउनमा कालोसूचीमा राखिएको हो ।

जुन खण्डको दूरी ३४.१८ किलोमिटर छ । सडक विभागका अनुसार रानीपौवा–त्रिशूली खण्डमा सुरुदेखि नै काममा प्रगति थिएन । दुवै खण्डको लागत अनुमान तयार पारेर बजेटको सुनिश्चितता गरी ठेक्का आह्वान गरिने आयोजनालो जनाएको छ ।

‘नेपाली भाषा–साहित्य अस्तित्वको संकटमा’

गण्डकी — अर्थशास्त्री अच्युत वाग्लेले नेपाल लिटरेचर फेस्टिभलको विद्वत् प्रवचनमा भने, ‘बेहिचकिचाहट भन्नैपर्छ, नेपाली भाषा र सार्थक नेपाली साहित्य दुवै अस्तित्वको चरम संकटमा छन् ।’ साहित्यकै मेलामा नेपाली साहित्यकै अस्तित्व मेटिन लागेको विरोधाभासतर्फ उनले इंगित गरे ।

‘लोकगीतका देउडा, कौडा, हुड्का, टप्पा अथवा रोधी र ख्यालीका गेडीबीचको फरक खुट्याउन अहिलेको कति प्रतिशत सुपठित भनिएको युवा पुस्ता सक्षम होला र चासो राख्ला ?’ उनको प्रश्न थियो, ‘सारंगी गितारबाट प्रभावित वाद्ययन्त्र हो कि पूर्णतः मौलिक हो ? नेपाली संस्कृति र सभ्यताका यी तत्त्वहरूमाथि वर्तमान र भविष्यको पुस्ताले गर्व गरेको छ कि बेवास्ता ?’ यी प्रश्न राख्दै गर्दा नेपाली साहित्यको औचित्य पनि क्षयोन्मुख रहेको उनको चिन्ता थियो ।

नेपालको वर्तमान शिक्षा प्रणालीले अंग्रेजी भाषामा हुने अध्ययन अध्यापनलाई गुणस्तरीयको मानक मानेपछि अहिलेको अवस्था सिर्जित भएको उनको धारणा थियो ।

बिहीबारबाट पोखरामा सुरु फेस्टिभलमा वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा विद्वत् प्रवचन राखेका थिए । जसमा उनले नेपाली साहित्य, संस्कृति, समाज, सपना–सम्भावना, सहरीकरण, समृद्धिलगायतबारे धारणा राखेका थिए ।

फेस्टिभलको पहिलो दिन ‘घरबाट स्कुलसम्म’ शीर्षकमा मीनाक्षी दाहाल र दिनकर नेपाल सवालजवाफ गरे । दाहालले एकै विद्यालयमा पनि वर्गअनुसार कक्षाकोठामा शिक्षा लिनुपरेको अवस्था रहेको उजागर गरिन् ।

यसरी विद्यालयले नै वर्गीय उत्पादन गरिरहेको उनको दाबी थियो । विद्यालयले नै विभेद र वर्गीकरण गरिरहेको भन्दै उनले त्यसतर्फ नियामक निकायले ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् ।

फेस्टिभलमै वरिष्ठ संगीतकार गोपाल योञ्जनका गीतको प्रस्तुति राखिएको थियो । कवि नवराज पराजुलीले योञ्जनका कृति वाचन गरेका थिए भने उज्ज्वल सागर, बानिका प्रधानलगायतले योञ्जनका गीत गाए ।

सोही कार्यक्रममा योञ्जनका गीत संग्रह ‘गोपालय’ सार्वजनिक गरियो । फेस्टिभलको शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराका लागि यो दुर्लभ अवसर भएको बताए ।


Last Updated on: December 23rd, 2022 at 5:35 pm


२५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया