
जीपी-उषा डिभोर्समा कार्यान्वयन नभएको अदालतको फैसला : सम्पत्ति चार भाग, ऋण आधा-आधा
प्रकाशित मिति । १ पुस, २०७९ ।
काठमाडौं । पूर्वमिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सीना कुनै बेला ग्ल्यामर दुनियाँका ‘आइडल कपल’ मानिन्थे । हरेक भ्यालेन्टाइन डेमा सञ्चारमाध्यमहरुमा उनीहरुको खोजी हुन्थ्यो र उनीहरु आफ्नो प्रेमिल सम्बन्धको वर्णन गर्दै एक-अर्काको प्रशंसा गरेर थाक्दैनथे ।
तर, अब त्यो इतिहास भयो । सम्बन्धमा तिक्तता आएसँगै यो जोडी केही वर्षदेखि अलग भएको छ । औपचारिक सम्वन्धविच्छेद चाहीँ यसै वर्षको जेठ २६ मा भएको हो ।
तर, कागजी डिभोर्स भए पनि यो जोडीको व्यवहार अझै मिलिसकेको छैन । उषाले जीपीबाट अहिलेसम्म एक रुपैयाँ पनि अंश नपाएको गुनासो गरेकी छन् । उषासँगको वैवाहिक सम्वन्धमा कानूनतः पूर्णविराम लगाएको ६ महिनाभित्रै जीपीले अर्को विवाह गरेका छन् ।
उनले गत १९ गते आफ्नी प्रेमिकालाई दुलही बनाएर भित्र्याएका हुन् । सम्वन्धविच्छेदपछि पनि जीपी र उषा लोकन्थलीमा रहेको एउटै घरमा बस्दै आएका थिए भने अहिले नयाँ श्रीमतीलाई पनि जीपीले त्यही घरमा भित्र्याएका छन् ।
उषा घरको दोस्रो फ्ल्याटमा एक छोरा र एक छोरीसित बस्छिन् । तेस्रो फ्ल्याटमा जीपी आफ्नी नयाँ दुलहीसँग बसिरहेका छन् । घरको भूईंतल्ला चाहीँ भाडामा दिइएको छ । जीपीसँग सम्वन्धविच्छेका लागि उषाले २०७६ साल असार ११ गते जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गरेकी थिइन् ।
उक्त मुद्दाको निवेदनमा उनले श्रीमानले आफूलाई रक्सी खाएर कुट’पिट तथा गालीग’लौज गर्ने गरेको आरोप लगाएकी छन् । साथै, मानसिक तनाव दिएर कोठाबाट निकालेको तथा खानलाउन समेत नदिएर वैवाहिक जीवन सुखमय हुन सक्ने अवस्था नभएपछि सम्वन्धविच्छेदको विकल्प नरहेको उनको फिरादपत्रमा उल्लेख छ ।
उषाले विपक्षी श्रीमान गणेशप्रसाद तिमल्सिना (जिपी तिमल्सिना) तथा आफूहरुका एक छोरा र एक छोरी गरी चार अंशियार भएकाले सम्पूर्ण सम्पत्ति चार भाग लगाएर आफूलाई एक भाग दिन निवेदनमा माग गरेकी थिइन् । साथै, छोराछोरीको संरक्षण एवम् पालन पोषणको जिम्मेवारी श्रीमानले लिनुपर्ने तथा आफूले समय-समयमा भेटघाट गर्न एवम् आर्थिक हैसियत अनुसार सहयोग गर्न पाउनुपर्ने उनको माग थियो ।
यता, जिपीले अदालतमा प्रत्यूत्तर पेश गर्दै आफूमाथि पत्नीले लगाएका आरोपहरु झूटा र कपोलकल्पित भन्दै अस्वीकार गरेका थिए । यद्यपि, सम्वन्धविच्छेदका लागि भने उनको मञ्जुरी थियो । नाबालक छोराछोरीको जिम्मेवारी लिन पनि उनी तयार थिए ।
उनले विभिन्न व्यक्ति तथा संस्थाबाट घरपरिवार र पेशा सञ्चालनका लागि लिएको ऋणमध्ये श्रीमती र आफूलाई आधा–आधा भाग लगाउनुपर्ने तथा कुल सम्पत्तिलाई ४ भाग लगाएर १ भाग श्रीमतीलाई दिन तयार रहेको अदालत समक्ष बताएका थिए ।
अदालतले सुरुमा उक्त मुद्दालाई मेलमिलापको प्रक्रियाबाट समाधान गर्न सुझाउँदै एक महिनाको समयावधि दिएर मेलमिलाप केन्द्रमा पठाइदिएको थियो । तर, मेलमिलाप हुन नसकेपछि डिभोर्स गराइदिएको हो ।
अदालतले आ–आफ्नो जिम्माको सम्पत्तिको फाँटवारी मुद्दासाथै पेश गर्न २०७८ साल मंसिर १ गते आदेश दिएको थियो । तर, बादी उषाले तारेख गुजारेकी थिइन् । यद्यपि, प्रतिवादीले पनि सम्पत्ति चार भाग लगाएर सम्वन्धविच्छेद गर्न मञ्जुरी दिएकाले तारेख गुजारेकै कारणले मात्र मुद्दा ढिसमिस गर्नु नपर्ने निस्कर्षमा अदालत पुगेको थियो ।
अदालतले भक्तपुरको मध्यपुर थिमी वडा नम्बर १६ मा रहेको गणेशप्रसाद तिमल्सिेनाको नाममा रहेको घर–जग्गा (त्यसबेला एक करोड मूल्यको) लाई चार भाग लगाउन फैसलामा आदेश दिएको थियो । त्यसको एक भाग उषाले पाउने थिइन् ।
साथै, जीपीले सञ्चालन गरेको प्रमोटर्स नेपाल र उषाले सञ्चालन गरेको स्टाइलिस कलेक्सन (बुटिक) आआफूले नै निरन्तरता दिनेगरी भागबण्डा गर्न नपर्ने फैसलामा उल्लेख छ । जिपी र उषाले चढेका गाडीहरु पनि आआफैंले पाउने गरी अदालतले त्यसमा पनि कुनै बण्डा आवश्यक नरहेको अदालतले बताएको छ ।
अदालतको फैसलाअनुसार जीपीले सञ्चालन गरेको प्रमोटर्स नेपाल फर्मले लिएको ऋणमध्ये ९४ लाख २४ हजारभन्दा बढी सिद्धार्थ बैंक लिमिटेडमा त्यसबेला तिर्न बाँकी थियो । दुवैको सम्वन्ध सुमधुर भएका बखत २०७१ चैत १० गते लिएको कर्जाको उपयोग उनीहरु दुवैले गरेको भन्दै तिर्न बाँकी कर्जाको साँवा–ब्याजबाट दुई भागको एक भाग दुवैले व्यहोर्नुपर्ने अदालतको ठहर थियो ।
आधा-आधा भाग लगाइएको यस्तो ऋण रकम तत्कालीन समयमा ३५ लाखभन्दा बढी थियो । तर, प्रमोटर्स नेपालका नाममा सिद्धार्थ बैंकबाट लिएको ५० लाख रुपैयाँ २०७५ साल मंसिरमा आपसी मनमुटाव भएपश्चात लिएको भन्दै त्यसको उपभोग उषाले गर्न नपाएको ठहरका साथ अदालतले त्यो कर्जाको दायित्व उनले बहन गर्नु नपर्ने जनाएको छ ।
यसैगरी जीपीले कार खरिदका लागि लिएको ऋणबाट तिर्न बाँकी ७ लाख ८० हजार रुपैयाँ पनि भागबण्डा गर्नु नपर्ने फैसलामा उल्लेख छ । तर, यो फैसलामा जिपीले चित्त बुझाएनन् । उनले फैसला उपर उच्च अदालतमा पुनरावेदन गरेका छन् । त्यही पुनरावेदनको बहानामा आफूलाई अहिलेसम्म अंश नदिएको उषाको आरोप छ ।
अंश नपाएका कारण उनी श्रीमानकै घरमा बस्दै आएकी हुन् । अहिले उनीहरुका १७ वर्षीया छोरी र ८ वर्षिया छोरा उषासँग बस्छन् । सन् २००० मा मिस नेपाल बनेकी उषा र जीपीबीच तीन वर्ष लामो प्रेम सम्वन्ध भएको थियो । सन् २००३ मा उनीहरुले विहे गरेका हुन् ।
श्रीमानसँग सम्वन्धविच्छेदको उ’जुरी दिएपछि उषाले विभिन्न मिडियाहरुलाई अन्तरवार्ता दिएर आफू अन्यायमा परेको बताइरहेकी थिइन् । उनले १७ वर्षसम्म आफूले घरेलु हिंसा सहनुपरेको गुनासो गरेकी थिइन् ।
श्रीलंकाली मानवशास्त्री गुनरत्नेलाई ‘मुढेठा’
चितवन — ‘मुढेठा’ चितवनका थारुहरूले आफूले मान सम्मान गर्नु पर्ने व्यक्तिहरुलाई शिरमा बाँधिदिने सेतो कपडाको फेटा हो । पूर्वी चितवनको बछौलीमा रहेको थारु साँस्कृतिक संग्रहालयको प्रांगणमा मंगलबार थारु अगुवाले अर्जुन गुनरत्नेको शिरमा सेतो मुढेठा बाँधेर सम्मान दर्शाए । श्रीलंकन मूलका गुनरत्ने हाल अमेरिका निवासी हुन् । तर नेपालका थारु समुदायका लागि उनले ठूलो गुन लगाएका छन् ।
‘त्यही कारणले हामीले उनलाई थारु शैलीमा सम्मान गरेको हो,’ कार्यक्रम आयोजक संस्था थारु कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले भने । गुनेरत्नु मानवशास्त्री हुन् । सन् १९६१ को जुनमा जन्मेका गुनरत्ने सन् १९८९ मा चितवन आएका थिए । अमेरिकाको सिकागो विश्वविद्यालयमा पढ्दै गरेका उनी आफ्नो विद्यावारिधिको सोधका लागि त्यो बेला नेपाल आएका थिए ।
‘श्रीलंका र नेपाल धेरै फरक छैन । भगवान बुद्ध जन्मेको देश भएका कारण म नेपाल आउन घुम्न चाहन्थे । त्यसैले मैले पीएचडीको अध्ययनका लागि नेपालको संस्कृति रोज्ने निर्णय लिएको थिएँ,’ सम्मान कार्यक्रममा गुनरत्नेले सुनाए । नेपालका बारेमा बुझ्दै जाँदा हिमाल र त्यहाँका मान्छेका बारेमा धेरै लेखेको र तराई र त्यहाँका मान्छेका बारेमा कमै लेखेको भेटाएको उनले बताए ।
‘थारु नेपालको तराईमा बस्छन् । तराईको जनसंख्याको महत्त्वपूर्ण हिस्सा थारुहरूको रहेछ । उनी आदिवासी हुन् । तराईका हरेक जिल्लामा भेटिन्छन् । तर बाहिरका मानिसहरूलाई तिनीहरुको बारेमा थोरै जानकारी थियो ।
त्यसैले आदिवासीको अध्ययनमा केही योगदान पुगोस भनेर थारुबारे सोध गरेको हुँ,’ उनले भने । उनले सोधपत्र मात्रै तयार गरेनन् त्यसैका आधारमा पुस्तक र लेख पनि तयार पार्दै गए ।
‘मेनी टङ्स वान पिपुल, द मेकिङ अफ थारु आइडेन्टिटी इन नेपाल’ उनले लेखेको महत्त्वपूर्ण पुस्तक हो । ‘यही पुस्तकका आधारमा नेपालका थारुको पहिचान विश्वव्यापी भएको हो,’ सभापति ललित चौधरीले भने । चितवन, सप्तरी, कैलाली र दाङका थारु समुदायमा अर्जुनले सोध गरेका थिए ।
भारतको चम्पारणसम्म पनि सोधका लागि पुगेका र चितवनमा गुनरत्नेको सहयोगी रहेका सत्यनारायण चौधरीले बताए । ‘तराईका विभिन्न भागका थारु भाषा र रीतिरिवाज फरक फरक रहेछ । उनीहरुले फरक भाषा र रिवाज भएकासँग पनि बिहे नगरेको भेटियो । तर ३० वर्षअघि विराटनगरमा भएको थारु कल्याणकारिणी सभाको सम्मेलनमा मेचीदेखि महाकालीसम्मका थारु एकै हुन् भन्ने सुनेँ,’ गुनरत्नेले भने ।
आफूलाई थारुहरू कसरी एकजुट भए भन्नेबारे पनि अनुसन्धान गरेको गुनरत्ने बताउँछन् । ‘थारुहरुलाई नेपालको विकासले एकै बनायो । पुरानो जमानामा चितवनबाट दाङ जानभन्दा भारतका सहर पुग्न सजिलो थियो । मलेरिया निर्मूल भएर सडक र विद्यालय बन्यो । र विभिन्न जिल्लाका थारु एकअर्काका सम्पर्कमा आए । यसरी उनी एकताबद्ध भए,’ गुनरत्नेले भने ।
उनीसँगको भेट स्मरण गर्दै सत्यनारायण भन्छन्, ‘पहिलो पटक देख्दा हाउभाउ ब्रिटिसको जस्तो थियो तर वर्ण एसियालीको जस्तो लाग्थ्यो । म त्यतिबेला रामपुरमा कृषिमा स्नातक पढ्दै थिए । हाम्रो टिचर फणीन्द्र थापाले उहाँलाई ल्याएर आउनु भएको थियो । नाम सुनेपछि नेपाली जस्तै लागि हाल्यो नि । यसरी हाम्रो परिचय भयो, अध्ययन अगाडि बढ्यो ।’
आफ्नो समुदायको सोधखोज गर्नेलाई उचित सम्मान दिनका लागि कार्यक्रम आयोजना गरेको चितवनका थारु अगुवा बासु चौधरीले बताए । ‘हामी उहाँलाई सम्मान गरेर शिक्षित व्यक्तिको संसार कति फराकिलो हुन्छ भन्ने देखाउन बुझाउन पनि चाहेका हौं ।
श्रींलकामा जन्मेर पढ्नेलाई अमेरिकासम्म पुगेको व्यक्तिले आज चितवनमा सम्मान पाएको छ । शिक्षा र सोधखोजले व्यक्तिलाई महान बनाउँछ भन्ने सन्देश हामी दिन चाहन्छौं,’ उनले भने ।
गुनरत्ने अमेरिकाको म्याकालेस्टर कलेजमा मानवशास्त्रका प्राध्यापक हुन् । सुरुमा कोलम्बो विश्वविद्यालयका कानुनका विद्यार्थी रहेका गुनरत्नेले सिकागो विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका हुन् । त्यसपछि उनले श्रीलंका र नेपालका वातावरणीय मुद्दामा विभिन्न अनुसन्धान गरेका छन् ।