सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध

प्रकाशित मिति । ५ पुस, २०७९ ।

काठमाडौं । रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरुलाई सार्वजनिक रुपमा सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध लगाइएको छ। सांसद पदको शपथ नलिएसम्म सबै सांसदलाई सार्वजनिक सञ्चारमाध्यमलगायत सार्वजनिक रूपमा अभिव्यक्तिमा पार्टीले प्रतिबन्ध लगाएको हो।

सभापति लामिछानेले सांसदहरूका पछिल्ला अन्तर्वार्ता विवादित भएपछि सार्वजनिक रुपमा सञ्चारमाध्यममा बोल्न प्रतिबन्ध लगाइएको हुन् । समानुपातिक सांसद चयनमा नेतृत्वले पूर्वाग्रह राखेर आफ्ना मान्छेलाई सांसद बनाएको भन्दै विवादमा आएको सो पार्टीमा असन्तुष्टिलगायत अरू विषयमा बोल्न पनि प्रतिबन्ध लगाइएकाे छ ।

सांसद पदको सपथ नलिएसम्म सबै सांसदलाई सार्वजनिक सञ्चारमाध्यममा बोल्न पार्टीले प्रतिबन्ध लगाएको हो। अहिले नै पार्टीको आधिकारिक नीति र विचार प्रष्ट नभएको, नयाँ सरकारमा हुने भूमिका पनि नखुलिसकेको अवस्थामा मिडियामा अन्तर्वार्ता वा अन्य भनाइ नराख्न पार्टीले सांसदलाई निर्देशन दिएको हो।

पार्टीको आधिकारिक नीति र विचार प्रस्ट नभएको सो पार्टीका नेताहरूले फरक फरक विचार राख्दै आएका छन्। साथै सरकारमा सहभागी हुने विषयमा फरक फरक मत सार्वजनिक भइरहेको छ।

जाडोको कहर

स्वास्थ्यकर्मीका रूपमा ३९ वर्षअघि पुसको चिसोमा म मध्यपश्चिम पहाडी जिल्ला पुगेको थिएँ । हरेक जाडो मौसममा मलाई त्यही गाउँको सम्झना हुने गर्छ । छेत्रीहरूको बाहुल्य रहेको सो गाउँका प्रायः पुरुष मजदुरीका लागि अन्यत्र गएका थिए ।

दुई साथी र मैले बल्लबल्ल बास पाएको घरको अवस्था निकै दयनीय थियो । ससाना चार बालबालिका हामी पुग्दा अगेनामै टाँसिइरहेका थिए । तिनका हातहातमा कोदाका रोटी थिए ।

उनीहरू परालकै ओछ्यान, परालकै ओढ्नेका भरमा रात कटाउने रहेछन् । रातभरि अगेनामा धूवाँ पुतपुताइरहेको हुन्थ्यो । धूवाँले तातो हुन्छ भनेर सम्झाउँदै आमाले छोराछोरी सुताउन खोज्थिन् तर रातिको चिसोले बालबालिका सुत्न सक्दैनथे ।

रोइरहेको आवाज आइरहन्थ्यो । मध्यबेंसी तथा बेंसीमा घर–खेत हुनेहरू पहाडको टाकुराबाट जाडो छल्न झर्ने गर्थे तर यो परिवारको कतै केही थिएन ।

आज चार दशकपछि पनि यस्तो स्थितिमा परिवर्तन आएको छैन । वैदेशिक रोजगारीमा गएकाहरूले आफ्नो आर्थिक अवस्थालाई थोरै उकासे पनि धेरै परिवारको हालत यस्तै छ । जाडोबाट जोगिन पनि तिनलाई गाह्रो हुने गर्छ । आर्थिक अवस्था कमजोर भएका देशैभरिका लाखौं परिवारको जीवनमा हिउँद सुरु हुनेबित्तिकै कष्ट थपिने गर्छ ।

पहिले बस्ती नजिकका वनजंगलबाट दाउरा सहजै ल्याउन सकिन्थ्यो । अहिले धेरै ठाउँमा सामुदायिक वनले गर्दा चाहिएका बेला दाउरा पाइन्न । जाडोका लागि त महिनौंअघिदेखि दाउराको जोहो गर्नुपर्छ । जोहो गर्न नसक्ने परिवारको हालत निकै नाजुक हुन्छ । पहाड मात्र होइन, तराई–मधेशका आर्थिक रूपमा कमजोर परिवारलाई पनि जाडोबाट जोगिन मुस्किल पर्छ ।

घर निकै कमजोर हुन्छ । बर्सेनि शीतलहरमा धेरै व्यक्तिले ज्यान गुमाउने गर्छन् । विशेष गरी बालबालिका र वृद्धवृद्धालाई शीतलहरबाट जोगाउन हम्मे हुन्छ । प्रत्येक दिन मजदुरी गरेर परिवारको आवश्यकता पूरा गर्नुपर्नेहरूलाई स्याँठको परबाह नगरी काममा निस्कनुपर्ने हुन्छ, जति बेला उनीहरूका आङमा न्यानो लुगा पनि हुँदैन ।

शरीरको तापक्रम ४१.५ डिग्री सेल्सियसमाथि वा ३५ डिग्री सेल्सियसभन्दा कम हुनु घातक हुन सक्छ । एक्कासि २९ डिग्रीभन्दा कम हुन गए ‘हाइपोथालामस’ ग्रन्थिको तापक्रम नियमन प्रणाली नै असफल हुने सम्भावना हुन्छ । तापक्रम अत्यन्तै न्यून हुँदा रक्तकोषसहित मुटु, मस्तिष्क, मृगौला आदिमा रक्तप्रवाह अवरुद्ध हुन गई व्यक्तिको मृत्यु हुन सक्छ ।

चेतनाको अभावमा मानिसहरू जाडो भगाउन भन्दै रक्सी खाने गर्छन् । रक्सी निलेपछि सीधै आमाशयमै सोसिन जाँदा मानिसमा न्यानोको गलत भ्रम पैदा हुन्छ ।

रक्सीले रक्तनलीहरू फैलाउनाले रक्त प्रवाह बढ्न जाँदा न्यानोजस्तो लागे पनि चिसोमा उल्टो तापको क्षयीकरण हुन जान्छ । यसरी जाडोमा रक्सीले ‘हाइपोथालामस’ बाट सम्पादित हुने तापक्रम नियन्त्रण एवम् नियमन गर्ने स्वचालित प्रणालीलाई नै असर गर्छ । तसर्थ चिसोमा न्यानोका लागि रक्सी खाँदा झन् असर हुन्छ ।

जाडोले फोक्सो एवम् श्वास प्रणालीमा पनि असर गर्छ । त्यसैले नाक र घाँटीदेखि फोक्सोमा समेत विभिन्न संक्रामक रोग बढ्न थाल्छन् । खोकी, दम बल्झिन सक्छ । त्यसैले बिँडी, चुरोट, तम्बाकुको उपयोग झनै हानिकारक हुन्छ । दम, मधुमेह, उच्च रक्तचाप, मुटु, कलेजो, मृगौला आदिका दीर्घरोगीलाई जाडोले झनै पिरोल्ने गर्छ ।

धेरैजसो घरमा जानकारीको अभावमा जाडो भगाउन झ्यालढोका बन्द गरेर आगो बाल्ने गरिन्छ, जुन काम श्वासप्रश्वास प्रणालीका निम्ति अत्यन्त हानिकारक हुन्छ । वरिष्ठ चिकित्सक मृगेन्द्रराज पाण्डेको करिब ३० वर्ष पुरानो अनुसन्धानले यो तथ्यलाई पुष्टि गरिसकेको छ । धूमपानजस्तै भान्साको धूवाँ पनि अति हानिकारक हुन्छ भन्ने उनको निचोड छ । न्यानोका लागि झ्यालढोका बन्द गरेर आगो बाल्दा, बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन् ।

गाउँघरमा मात्र होइन, निकै प्रदूषित वातावरण भएको काठमाडौं उपत्यकामा समेत श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । बिहान हिँड्न बन्देज लगाउनुपर्ने अवस्था आएको छ । चिकित्सकहरूले जाडो महिनामा भरसक काम नपरी घरबाहिर ननिस्कन सल्लाह दिने गरेका छन् ।

पछिल्लो समय शासनसत्तामा लोकतान्त्रिक समाजवाद, कल्याणकारी राज्य व्यवस्थादेखि जनजीविकाको सुनिश्चितताको नारा दिने कम्युनिस्टहरू नै हावी हुँदै आएका छन् । उनीहरूले अपनाएको वितरण प्रणाली, नीति तथा कार्यक्रममा अत्यन्तै विपन्न परिवार तथा बालबालिका समेटिँदैनन् । न्यानो कपडा र आवासको अभावमा कठ्याङ्ग्रिन बाध्य व्यक्तिहरूको जीवनमा सुधार कसरी ल्याउन सकिन्छ ?

के नेताहरूलाई भूमिगत अवस्थामा रहँदा दूरदराजका गाउँहरूमा जाडो याममा त्यहाँका विपन्न परिवारले कति कष्ट पाउँथे भन्ने सम्झना छैन ? अहिले विभिन्न तहका सरकार क्रियाशील छन्, उनीहरूले यो मुद्दामा काम गर्नुपर्छ ।

राजनीतिक दल तथा नेताहरूले यो विषयलाई प्राथमिकतामा राख्नुपर्छ । न्यून आय भएका परिवारको आर्थिक हैसियत कसरी उकास्ने भन्नेमा पनि उत्तिकै चासो लिनुपर्छ । अनि मात्र निम्न वर्गका परिवारलाई जाडोबाट जोगाउन सकिन्छ ।


Last Updated on: December 20th, 2022 at 7:16 pm


१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया