
मुल्यबृद्धी आकासियाे, यातायात मात्रै १७.७१ प्रतिशतले बढ्याे
प्रकाशित मिति । ५ पुस, २०७९ ।
काठमाडौ । नेपाल राष्ट्र बैंकले मुलुकको बजार महँगी ८ प्रतिशत हाराहारी रहेको जनाएको छ ।
बैंकले बिहीबार चालू आर्थिक वर्षको ४ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै कात्तिक महिनाको बजार महँगी (मुद्रास्फीति) ८.०८ प्रतिशत कायम रहेको जनाएको हो । यस्तो मुद्रास्फीति अघिल्लो वर्षको सोही अवधिमा ६.०४ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको मूल्य सूचकाङ्क १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।
यस्तै, गैर खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप–समूहको मूल्य सूचकाङ्क १७.७१ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ८.४९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरूको ८.३३ प्रतिशतले बढेको बैंकले जनाएको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.५६ प्रतिशत, तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत रहि मालमा ६.६८ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ कात्तिक महिनामा यी क्षेत्रहरूमा क्रमशः ६.१४ प्रतिशत, ५.४२ प्रतिशत, ७.१४ प्रतिशत र ५.०० प्रतिशत मुद्रास्फीति रहेको थियो ।
मेसीको करिअर पूर्ण
म्याराडोना र पेलेसँग तुलना गर्न पनि पहिला विश्वकप जित्नुपर्ने तर्क अगाडि सारिन्थ्यो, पाँचौं प्रयासमा विश्वविजेता बनेसँगै मेसीले आलोचकको मुख बन्द गरिदिएका छन्
दोहा — लियोनल मेसीलाई डिएगो म्याराडोनाको उत्तराधिकारी भनिन्छ । म्याराडोना मेसीलाई खुबै माया गर्थे । म्याराडोना अर्जेन्टिनाको प्रशिक्षक छँदा मेसीले विश्वकप २०१० खेलेका थिए । विश्वकपमा मेसीको सबैभन्दा खराब प्रदर्शन त्यही बन्यो । म्याराडोनाको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप जितेको थियो ।
त्यसलाई म्याराडोना एक्लैले जिताएको उपाधिका रूपमा पनि लिइन्छ । त्यसैले म्याराडोनालाई अर्जेन्टिनामा भगवान्कै रूपमा पुज्ने गरिन्छ । मेसी करिअर सुरु गरेको १७ वर्षपछि विश्वकप २०२२ च्याम्पियन हुँदै म्याराडोनाको असल उत्तराधिकारी साबित भएका छन् ।
म्याराडोनाले अर्जेन्टिनालाई विश्वविजेता बनाएको ३६ वर्षपछि उस्तै गरी लगभग एक्लो प्रदर्शनमै मेसीले दक्षिण अमेरिकी च्याम्पियनलाई ६.१७५ किलोग्राम सुनको ३६.८ सेन्टिमिटर अग्लो ट्रफी दिलाएका हुन् । उनको दुई गोल सहयोगमा दोहास्थित लुसेल रंगशालामा आइतबार फ्रान्सविरुद्ध ३–३ को बराबरीपछि टाइब्रेकरमा ४–२ को जित निकाल्दै अर्जेन्टिना तेस्रोपल्ट विश्वकप च्याम्पियन भयो ।
सन् २००५ डेब्यु गरेदेखि नै निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका मेसीले प्रतीक्षा गरेको सबैभन्दा ठूलो उपाधि विश्वकप नै थियो । त्यसैले हुन सक्छ, उनले कतारी राजाबाट विशेष पोसाक पहिरिएपछि व्यग्रताका साथ ट्रफीमा नजर लगाउँदै दुई हातले मुसारे । माराकाना (ब्राजिल) मा ८ वर्षअघि फाइनलमा हार्दा भने उनी उत्कृष्ट खेलाडीको गोल्डेन बल अवार्ड लिएर विजेतालाई दिइने ट्रफीतर्फ हेर्दा पनि नहेरी मञ्चबाट बाहिरिएका थिए ।
फुटबलमा सम्भव सबै प्रतियोगिता जित्ने क्रममा कतारमा आएर पूर्णता दिएपछि उनले भव्य खुसियाली मनाएका छन् । उनले परिवार, साथीभाइ, टिमका सहकर्मीसँग मञ्च, मैदान र गोलपोस्टमा झुन्डिँदै खुसी साटासाट गरे । करिअरको अन्तिम विश्वकपमा सहभागी भएको बताएका ३५ वर्षीय मेसी निर्विवाद रूपमै फुटबलका सर्वकालीन महान् खेलाडी हुन् । जम्मा ५ फिट ७ इन्च अग्ला उनको जादुयी प्रदर्शन, गोलका तथ्यांक र जितेका उपाधिले त्यसलाई पुष्टि गर्छन् ।
यसलाई विश्वकपको उपाधिले पूर्णता दिएको छ । उनले जित्न नसकेको उपाधि विश्वकप मात्रै थियो । उनलाई म्याराडोना र ब्राजिली लिजेन्ड पेलेसँग तुलना गर्न पनि पहिला विश्वकप जित्नुपर्ने तर्क अगाडि सारिन्थ्यो । पाँचौं प्रयासमा विश्वविजेता बनेपछि मेसीले सबै आलोचकको मुख बन्द गरिदिएका छन् । इंग्ल्यान्डबाट खेल्दै विश्वकप १९८६ का सर्वाधिक गोलकर्ता बनेका ग्यारी लिनेकरले भने, ‘मेरो जीवनको सबैभन्दा उत्कृष्ट खेलाडी मेसी नै हुन् । उनको तुलना अरूसँग हुनै सक्दैन । विश्वकप च्याम्पियन पनि भएका छन् । अब उनलाई प्रश्न गर्ने कुनै ठाउँ छैन ।’
मेसी पछ्याउँदै फाइनल हेर्न लुसेल आइपुगेका झापाका अनुशील थापाले भने, ‘मेसी संसारकै सर्वोत्कृष्ट खेलाडी हुन् । उनको सबैभन्दा ठूलो उपलब्धिमा प्रत्यक्षदर्शी हुन पाउँदा निकै खुसी लागेको छ ।’ फाइनल हेर्न नेपालबाट अरू पनि थुप्रै दर्शक आएका थिए । सेवास्टिन भेरोन, कार्लोस टेभेज, जाभियर मास्केरानो, सर्जियो अगुइरोजस्ता उत्कृष्ट खेलाडीको साथ नभए पनि मेसीको नेतृत्वमा औसत टिम विश्वविजेता बन्यो ।
यसक्रममा ७ गोल गरेका उनी गोल्डेन बुटको होडमा फाइनलमा ह्याट्रिक गरेका फ्रान्सका फरवार्ड केलियन एमबाप्पेभन्दा एक गोलले पछाडि रहे । तीन असिस्ट पनि गरेका मेसीले उत्कृष्ट खेलाडीको गोल्डेन बल अवार्ड दोस्रोपल्ट हात पारे । म्याराडोनापछि प्रतियोगितामा २० भन्दा बढी गोलका अवसर सिर्जना गर्ने पहिलो खेलाडी भएका उनी पाँच संस्करणमा असिस्ट (गोलका लागि फाइनल पास) गर्ने पहिलो हुन् ।
मेसी विश्वकपमा २१ गोल (१३ गोल र ८ असिस्ट) मा संलग्न हुने पहिलो खेलाडी बने । विश्वकपमा सबैभन्दा बढी २६ खेल खेलेको रेकर्ड पनि मेसीकै नाममा भयो । मेसीले करिअरमा एउटै वर्ष (२०२२) सबैभन्दा बढी १८ गोल गरेको पनि यसैपालि हो । यसमा उनले १० खेलमात्रै खेलेका छन् ।
यसअघि उनले एउटै वर्ष १२ गोल (सन् २०१२) भन्दा बढी गरेका थिएनन् । एउटै संस्करणको सबै तह (समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र फाइनल) मा गोल गर्ने एक्लो खेलाडी पनि भए । उनले सातमध्ये ४ गोल पेनाल्टीमा गरे । पोल्यान्डविरुद्ध उनको पेनाल्टी गोलकिपर स्कुजनीले रोकेका थिए । खासमा दोस्रो खेलमा मेक्सिकोविरुद्ध उनले गरेको लोभलाग्दो गोल नै प्रतियोगितामा अर्जेन्टिनाको पुनरागमन थियो ।
वर्षका उत्कृष्ट खेलाडीको अवार्ड बालोन डी’अर कीर्तिमानी सातपल्ट जितेका मेसीले क्लब फुटबलमा के मात्रै जितेका छैनन् ? यूईएफए च्याम्पियन्स लिग चारपल्ट, ला लिगा १० पल्ट, फ्रान्सको लिग वान एकपल्ट, क्लब विश्वकप तीनपल्ट जितेका छन् । राष्ट्रिय टिमबाट पहिलो उपाधिका रूपमा गत वर्ष कोपा अमेरिका जितेका थिए । उनको करिअरको ४२ औं उपाधि हो विश्वकप । सबैभन्दा बढी उपाधि जित्नेमा उनी ब्राजिलका डानी अल्भेस (४३ उपाधि) को नजिक पुगेका छन् ।
सन् १९७८ देखि नियमित रूपमा विश्वकपमा सहभागी अर्जेन्टिनी पत्रकार एजेक्वेल मुरले भने, ‘फुटबल निकै लोकप्रिय थियो र त्यसै बेला हामीले पहिलोपल्ट विश्वकप (१९७८) जितेका थियौं । देशमा निरंकुश शासन रहेका बेला हात पारेको भिन्न उपलब्धि थियो त्यो । तर, सबै सामान्य रह्यो । १९८६ मा विश्वकप जित्दा प्रजातन्त्र आइसकेको थियो । त्यतिबला टिमभन्दा ठूलो नाम म्याराडोना थियो ।
उपाधि नजितेको भए इंग्ल्यान्डविरुद्ध हातले गरेको गोलको पनि खास चर्चा हुने थिएन । यो (२०२२) सबैभन्दा बढी खुसियाली मनाइएको विश्वकप हो । मेसीप्रतिको माया हो । मेसी फुटबलका प्रतीक हुन् । ३६ वर्षपछि जितेको विश्वकपलाई निकै मन पराइएको छ, सबै शान्त भएका छन् । टिम सबैको प्यारो भएको छ । एउटाका लागि जितेको हो र सबैका लागि जितेको पनि हो ।’