
विबाह गर्न ठिक्क परेका सलिनमान बनियाँ, प्रेमिका विदेश उडेपछि बिहे नै रोकियो
प्रकाशित मिति । ४ पुस, २०७९ ।
काठमाडौँ । ए मेरो हजुर २ र ‘यात्रा’ फिल्ममा काम गरेपछि नायक सलिनमान बनियाँको चर्चा फिल्मी क्षेत्रमा चुलियो ।हत्तपत्त फिल्ममा साइन नगर्ने सलिन पछिल्ला दिनमा कामका कारण भन्दा पनि प्रेम र विबाहका कारण मिडियामा छाउन थालेका छन् ।
सलिन र उनकी प्रेमिमका अस्प्रिना जिन्हाको बिहेको खबर बेला बेलामा चर्चामा आउन थालेको छ । बुधबार नायक सलोन बस्नेतको बिहे पार्टीमा पुगेका सलिनले २ बर्ष बिहे नहुने बताएपछि कारण खोज्दै जाँदा उनकी प्रेमीका बिदेश उडेपछि विबाह तत्कालका लागि रोकिएको रहस्य बाहिर आयो ।
सलिनले प्रेमिका अस्प्रिना अध्ययनका लागि विदेश उडेपछि बिहेको सोच तत्काल स्थगीत भएको बताएका हुन् । सलिनका अनुसार, अस्प्रिना अध्ययनका लागि सिंगापुरमा छिन् । उनी मेकअप सम्बन्धी कोर्स गर्न गएका कारण केही समयका लागि विबाह रोकिएको रहस्य खोले ।
सलिन र उनकी प्रेमिका अस्प्रिनाबिच इन्गेजमेन्ट भैसकेको खबर पनि सार्वजनिक भएको थियो । सलिन पछिल्ला दिनमा अभिनयमा सक्रिय छैनन् ।
सलिनले भने–‘अब म चलचित्र क्षेत्रमा निरन्त लाग्छु । कुनै राम्रो कथाका लागि केही समय पखाई हुनसक्छ । तर, चलचित्र क्षेत्र नै छाड्छु भन्ने सोच अब ममा विकसित हुनेछैन ।’ सलिनले चलचित्र ‘यात्रा’ले दर्शकलाई मनोरञ्जन मात्र नदिएर केही सामाजिक सन्देश पनि दिने स्पष्ट पारे ।
उनले, प्रेमिकासँग चाडै बिहे गर्ने पनि फ्यानलाई जानकारी दिएका छन् । यस्तै, एक फ्यानले अब ड्रेसअप परिवर्तन गर्नुहोस् भनेर आग्रह गर्दा उनी भन्छन–‘चलचित्रको पर्दामा मैले ड्रेसअप परिवर्तन गर्नुपर्ने भूमिका आयो भने म गर्छु । तर, अरु समयमा म आफूलाई सहज हुने पहिरन लगाउँछु ।’
‘शेरबहादुरजी स्वयं ‘सेल्फ एक्जिट प्लान’मा आउनुपर्छ’
‘अन्तर्राष्ट्रिय शक्तिलाई अनुकूल भयो, अब चलखेल हुनेवाला छ’
‘शेरबहादुरजीसँग सबैले सोध्नुपर्यो : तपाईं छैटौं पटक प्रधानमन्त्री हुने हो भने तपाईंको ‘ब्लुप्रिन्ट’ के हो ? राष्ट्रिय एजेन्डा के हो ? कांग्रेसलाई पुनरुत्थान गर्ने ब्लुप्रिन्ट के हो ?’
‘सबैलाई सत्ता चाहिएको छ, सबैलाई मन्त्री पद चाहिएको होला, प्रधानमन्त्री पनि आलोपालो चाहिएको छ । यो भागबन्डा र गुटबन्दीले देश बर्बाद भयो भने फेरि त्यही बाटोमा जाने ?’
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि राजनीतिक दलहरू सरकार गठनको संघारमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० भित्र सरकार गठनका लागि आह्वान गरिसकेकी छन् । सरकार गठनको यो समयसीमा सकिएलगत्तै भण्डारीको उत्तराधिकारीको खोजीमा राजनीतिक दलहरू लाग्नेछन् । तर, राष्ट्रपति को बन्ने भन्ने चासो सर्वत्र भइसकेको छ ।
मंसिर ४ को निर्वाचनले प्रतिनिधिसभामा कुनै पनि दल वा गठबन्धनलाई बहुमत दिएन । त्यसैले अबको सरकार कसको बन्ने भन्ने चासोका साथ हेरिएको छ । निर्क्यौल भइसकेको छैन कि को प्रधानमन्त्रीको पदमा पुग्नेछ र कुन गठबन्धनले सरकार बनाउने छ ।
प्रतिनिधिसभा र प्रदेशसभामा ठूलो दल बनेको कांग्रेस अब कसरी अगाडि बढ्छ भन्ने चासोका साथ हेरिएको छ भने उत्तिकै चासोका साथ दोस्रो बनेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले कस्तो दाउ चाल्छन् भन्नेतिर पनि छ । कांग्रेस र एमालेका केही नेताहरू भने संसद्का पहिलो र दोस्रो दल मिलेर स्थायित्वको सन्देश दिनुपर्छ भन्ने लबिङमा छन् । सरकार गठन र राष्ट्रपति चयनसम्म अन्तर्राष्ट्रिय चासो पनि बढेको भन्ने कुरा सार्वजनिक भइरहको छ ।
निर्वाचनले दिएको परिणाम, सरकार गठन र राष्ट्रपति चयनसम्मको सन्दर्भमा कांग्रेस नेता तथा भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायसँग ईकान्तिपुरका जयसिंह महराले गरेको कुराकानी :
निर्वाचनबाट आएको परिणामले सरकार गठनका लागि कस्तो दृश्य देखाएको छ ?
दलहरू नमिलिकन उपाय भएन । जनताले आफ्नो अभिमत दिइसके । यो अभिमत बुझ्ने हो भने ठूला दललाई ठूलो संकेत हो, खासगरी कांग्रेस र एमालेका लागि । हामीले गठबन्धन र उनीहरूले तालमेल जे भने पनि अहं दुवैमा थियो, यति जित्छु र हराउँछु भन्ने । त्यो रहेन भन्ने परिणामले देखायो ।
संविधानमा समानुपातिक निर्वाचन प्रणाली स्वीकार गरिसकेपछि यो परिदृश्य सबैले भनेका थिए । नेपालमा कहिले पनि बहुमतको सरकार बन्दैन भन्दा नेताहरूले गठबन्धन गरे भइहाल्छ भनेका थिए । नागरिक सर्वोच्चता, गोप्य मतदान, राजनीतिक मूल्य, मान्यताका कुराहरूलाई पन्छाएर हाम्रो निर्णयमा कार्यकर्ता, जनताबाट मत ट्रान्सफर हुन्छ, सिद्धान्त र आदर्श भन्नलाई मात्रै हो जसले जता भोट हाले पनि हाल्न सकिन्छ, हाल्नुपर्छ भन्ने थियो तर भएन ।
अबको सरकार कांग्रेस र एमाले मिलेर गठन गर्नुपर्छ भन्ने यो निर्वाचनको सन्देश हो ?
समानुपातिक निर्वाचन प्रणालीको संविधानका अवयवलाई नसुधार्ने हो भने झनझन देश पराधिन हुने भयो । हाम्रो अर्थतन्त्रदेखिको धरातल कमजोर हुँदै गयो । यसको उद्देश्य नै त्यै रहेछ भन्ने अब त बुझ्नुपर्यो । त्यसलाई सुधार्ने हो भने संविधान संशोधन, सुशासनसम्मको स्पष्ट मार्गचित्र ल्याउनुपर्छ । लोकतन्त्रको प्राण भनेको नैतिकता, मूल्य, मान्यता, आदर्श हो । त्यो स्खलित हुँदै शून्य तहमा पुर्यायौं ।
हामीले अझै पनि सच्याउने हो भने केही बाटा छन् । त्यसका लागि हाम्रा नभएर राम्रा, चुनाव जितेर संसद्मा आएका क्षमतावान मान्छेहरूलाई भागबन्डाभन्दा माथि उठेर राष्ट्रिय स्वार्थ र एजेन्डाको राम्रोसँग परिभाषित गरेर संविधान संशोधन सम्मको लागि कांग्रेस-एमालेले नै आँट्नुपर्छ । त्यसको विकल्प छैन । हैन, २०५१ सालको जुन त्रिशंकु संसद्को अवस्था थियो त्यसको पराकाष्टामा जाने हो भने त खेद हुने वाला छ ।
संविधान संशोधन निर्वाचन प्रणालीलाई लिएर मात्रै कि अरु विषयमा पनि भन्न खोज्नुभएको हो ?
त्यसमा धेरै कुराहरू आउँछ, सुशासनका कुरा पनि छन् । शक्ति पृथकीकरणको अवस्था हेर्दा आज न्यायपालिका, कार्यपालिका, विधायिकाको अवस्था चिन्ताजनक छ । हामी रोबोटजस्ता भयौं । सबै क्षेत्रमा हामी परनिर्भर भयौं । कुशासन, भ्रष्टाचार बढेको बढ्यै छ । हामीसँगैका मुलुक कहाँ पुगे ? युवाहरूले देशप्रति आशा जगाउन सकेका छैनन् । ऋण बढेको बढ्यै छ । यी सबैमा सुधार गर्ने हो ।
फेरि राम्रो कुरा के छ भने हामी (कांग्रेस र एमाले) मिल्दाखेरि संविधानसभाबाट संविधान बनायौं । पहिलो संविधानसभा त असफल नै भयो । दोस्रो संविधानसभाबाट संविधान जारी गर्न दलहरूले आँट गरे । तर धेरै ढिला भइसकेको थियो । धेरै किसिमका नचाहेका एजेन्डाहरूले जरो गाडिसकेका थिए । हामी बाध्य भएर त्यो पास गर्यौं । त्यसैको परिणाम आज भोग्दै छौं । चुच्चे नक्साका लागि पार्टीहरू एक भए, संसद् एक भयो, एउटा प्रस्ताव बन्यो र पास भयो ।
अहिले सबैका आ-आफ्ना एजेन्डा छन् । गुटबन्दी र भागबण्डाले निष्प्राण लोकतन्त्रको पराकाष्टामा आउने संसद्मा जाने वाला छ ।
तपाईं आबद्ध पार्टीको सभापति सरकार प्रमुख हुनुहुन्छ र गठबन्धनको सबैभन्दा ठूलो नेता पनि उहाँ नै हुनुहुन्छ । अव्यवस्था भयो भने त पार्टीहरूको पनि दोष होला नि ?
पार्टीको नेता, निर्णयकर्ता र हामी सबैको दोष हो त्यो त । नैतिक रूपले म पनि त्यसबाट विमुख हुन सक्दैन । चेतना त हुनुपर्यो, ठीक भइरहेको छैन भन्ने लाग्छ भने मानवमात्र यस्तो प्राणी हो जो सुध्रिन सक्छ र सुधार्न सक्छ । तर अर्ती-उपदेशले होइन, आफ्नो संकल्प, इच्छाशक्ति र कार्यान्वयनको दृढताले । त्यसको सर्वथा अभाव देखिएको छ ।
चुनावपछि कांग्रेसमा विभिन्न समूहरू देखिएका छन् । सभापति र महामन्त्रीहरू आ-आफ्ना किसिमले अगाडि बढिरहेका छन् । पार्टीभित्रको यो राजनीतिलाई कसरी हेरिराख्नुभएको छ ?
समष्टिमा हेर्नुपर्ने हुन्छ । सभापतिको विधानअनुसारको भूमिका हुन्छ । नैतिक रूपले जो-जो जिम्मेवार छन्, उनीहरूले जिम्मेवारी लिनुपर्छ । प्रत्यक्ष र समानुपातिकको टिकट बाँड्दा र सूचीलाई अन्तिम रूप दिँदा विवाद देखियो । फेरि मिलेमतो देखियो । त्यो सहमतिले नैतिक रूपमा विमुख हुन त मिल्दैन । सरसरती हेर्दा कांग्रेसले चुनावबाट २३ को संख्यालाई ५७ पुर्यायौं भन्न सकिन्छ तर समानुपातिकमा जुन किसिमको ह्रास भएको छ, कार्यकर्तामा निराशा छ । तैपनि, कांग्रेस र एमालेले समय छँदै नचेत्ने हो भने ठूलो क्षति त यी पार्टीहरूलाई भयो र अब पनि हुनेवाला छ ।
सभापतिको निर्णयलाई महामन्त्रीहरूले साथ दिँदा कांग्रेसको जनमत खस्क्यो भन्न खोज्नुभएको ?
त्यो त पार्टीको निर्णय हो नि । पार्टीको निर्णयमा सबै संलग्न छन् । मजस्ता हजारौं कार्यकर्ताले विमति राख्न सक्छन्, नैतिक आधार छ । तर, निर्णय लिनेहरूको नैतिक जिम्मेवारी छ ।
कांग्रेस एक्लै चुनाव लडेको भए अहिलेको भन्दा राम्रो मतपरिणाम आउँथ्यो भन्ने तपाईहरूको धारणा हो ?
प्रस्ट आउँथ्यो । स्वाभिमान, लोकप्रिय मत बढ्थ्यो । अहिले मान्छे मत हाल्न गएनन्, हालेकाले पनि ‘नेगेटिभ भोटिङ’ गरे । मतदातामा भोट गर्न जाने जागर भएन । गठबन्धनको कुनै अर्थ छैन भनेजसरी उम्मेदवारी दिइयो । त्यस्तो अवस्थामा मिडियाबाट यो गठबन्धन पाँच वर्ष कायम राख्छौं भन्नुपर्ने अवस्था आयो । तर, अहिले त्यो अनुशासन छ ? त्यो छनक देख्नुहुन्छ ? सबैलाई सत्ता चाहिएको छ, सबैलाई मन्त्री पद चाहिएको होला, प्रधानमन्त्री पनि आलोपालो चाहिएको छ । यो भागबन्डा र गुटबन्दीले देश बर्बाद भयो भने फेरि त्यही बाटोमा जाने ? कति समयमा, कुन रूपमा देशलाई दुर्घटनामा पुर्याउने भन्नेमा नजानुस् भन्ने आग्रह हो ।
अहिले पार्टीका घोषणापत्रको कुनै अर्थ छ ? जनतालाई ठग्ने, देखाउने कुरा भयो । अब कस्तो सरकार बन्ला ? कतिवटा दलको बन्ला ? त्यसले कसरी आफ्नो पार्टी र गठबन्धनलाई व्यवस्थापन गर्ला ? यो त झन् बढी चुनौतीको विषय भयो । प्रस्ट भन्दा २०५१ सालको दृष्य पुनरावृत्ति हुने भयो ।
चुनावपछि कांग्रेसका महामन्त्री गगन थापा मुलुकको नेतृत्व लिन्छु भनेर अगाडि बढिरहनुभएको छ, उहाँको तयारीलाई कसरी हेर्नुभएको छ ?
हाम्रो पनि राय त्यही हो । प्रदीप गिरि हामीमाझ हुनुहुन्न, तीन-चार वर्ष पहिलेदेखि नै हामीबीच छलफल हुन्थ्यो । उपदेश होइन, स्वेच्छिक अवकासको योजना आफैंले अगाडि सार्नुपर्छ भनेर मैले पार्टीको चुनावमा भाग लिएन । गिरिको स्वास्थ्यले साथ दिएन । आफू गर्न सकिन्छ तर अरुलाई त भन्ने मात्रै हो । युवा पुस्ताहरूले दाबी गर्न त पाए तर संसदीय लोकतन्त्र भनेको ‘हेड काउन्ट’ हो ।
टिकट बाँड्ने शेरबहादुरजी, पार्टीमा उहाँको पकड, चुनाव जितेर आउने सांसदमा पनि उहाँको पकड । एकजना व्यक्तिले चुनौती दिँदा त बुझ्ने कुरा हुन्थ्यो र आशा पनि हुन्थ्यो । अहिले फेरि ५-७ जनाको उम्मेदवारी हुने ? यसले त जसरी कांग्रेस सभापतिको निर्वाचनमा प्रतिस्पर्धाको धेरै चर्चा चल्यो तर अर्थ रहेन र प्रतिस्पर्धी उतै गएर मिले । अब त्यस्तै हुने हो कि भन्ने आशंका छ । किनभने गगनजी वा अरु कसैले जति दाबेदारी दिए पनि टुंगिने त हेडकाउन्टमा हो । त्यसको लागि तयारी छैन ।
त्यसकारण ‘सेल्फ एक्जिट प्लान’मा स्वयं शेरबहादुरजी नै आउनुपर्छ । पाँच पटक प्रधानमन्त्री भइहाले अब केका लागि हुने हुँ ? भन्नुपर्छ । दलहरूलाई समेटेर लानुपर्ने, राष्ट्रिय स्वार्थ, सुशासनदेखि संविधान संशोधनसम्मका कुरा गर्ने हो भने उहाँको भूमिका होला । होइन नेतृत्व लिने हो भने यसले त जनतामा निराशा बढ्ने हो ।
गगन थापा जुन समूहबाट महामन्त्री बन्नुभयो अहिले कांग्रेस संसदीय दलका नेतामा उम्मेदवार बन्ने क्रममा रहँदा त्यो समूहका नेता डा. शेखर कोइराला नै त्यो पदमा दाबी गरिरहनुभएको छ, कहाँनेर मिलेन ?
यो पटक्कै मिलेन । हामीले आदर गर्ने रामचन्द्र दाइले त्यसै उम्मेदवारी घोषणा गरिदिनुभयो । उहाँको उम्मेदवारी त यिनीहरूले भन्नुपर्थ्यो नि ! हिजो चुनावको बेला (महाधिवेशनमा पार्टी सभापति)मा जे भए पनि अहिले त कुराकानी हुनुपर्थ्यो । उहाँको नामको प्रस्ताव अरुले गर्नुपर्थ्यो तर उहाँ आफैले भन्नुभयो ।
त्यस्तै, शशांक र शेखर डाक्सापको कुरा भयो । प्रकाशमानजीको कुरा पनि सुन्छु । चर्चा गर्न त पाइयो तर ‘हेड-काउन्ट’मा त अत्यन्त अपरिपक्व कुरा हो । शेरबहादुरजीसँग यी सबैले सोध्नुपर्यो, तपाईं छैटौं पटक हुने हो भने तपाईंको ‘ब्लुप्रिन्ट’ के हो ? राष्ट्रिय एजेन्डा के हो ? कांग्रेसलाई पुनरुत्थान गर्ने ब्लुप्रिन्ट के हो ? र, त्यसमा तपाईंको घटक दलहरूको समर्थन हुन्छ कि हुन्न ? तपाईंले मात्रै चाहेर मात्रै हुन्न । सुशासन भएन र भ्रष्टाचार बढ्यो भने त बदनाम कांग्रेस नै हुने हो ।
अहिलेको निर्वाचनबाट आएका कांग्रेस सांसदहरूले आफ्नो विवेक प्रयोग गरेर पुस्तान्तरण गर्लान् भन्ने अपेक्षा गर्न सकिन्छ ?
म त्यसमा निराश छु । गुटबन्दी र भागबन्डाबाट मुक्त नभएसम्म त्यो परिणामको आश गर्नु बेकार छ । संसद्को नेताको चुनाव गोप्य हुन्छ । त्यो मतदानमा सार्वभौम संसद्मा पुगिसकेको मानिसले गुटबन्दी र भागबन्डाभन्दा आफूलाई माथि सम्झने हो भने बल्ल त्यसको सुरुवात हुन्छ ।
कांग्रेसको आन्तरिक विवादका कारणले गठबन्धनलाई प्राप्त हुनुपर्ने परिणाममा असर पर्यो भनिएको छ, यो पक्षलाई कसरी लिनुभएको छ ?
लोकतन्त्रको सुन्दर पक्ष भनेको विचारहरूलाई संयोजन गर्न सक्नुपर्ने हो । जो-जो अगाडि बस्नुभयो निजात्मक स्वार्थ र आफू कसरी सुरक्षित हुने भन्ने रह्यो ।
यो चुनावबाट राष्ट्रिय स्वतन्त्र, जनमत र नागरिक उन्मुक्ति पार्टीहरूको उदय र राप्रपाको राष्ट्रिय मान्यता प्राप्तिलाई कसरी विश्लेषण गर्नुभएको छ ?
जनताको ठूला दलप्रतिको अनिच्छा र वितृष्णाकै परिणाम हो । कांग्रेस र एमालेको लोकप्रिय मत खस्केको छ । नत्र यति छोटो समयमा बिनाकुनै एजेन्डा प्रयास विस्फोट भएको छ । खासगरी नागरिक उन्मुक्ति, राष्ट्रिय स्वतन्त्र पार्टीको उदय त विस्फोट हो । राप्रपाको त एक किसिमको लिगेसी थियो ।
कहिले घट्ने र कहिले बढ्ने थियो । एजेन्डा पनि थिए । तर राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको त दर्शन, सिद्धान्त, आदर्श, कार्यक्रम, सांगठनिक आधार, व्यक्तित्व केही नभएर पनि विस्फोट भयो । तर यसबाट नेताहरूले केही बुझेजस्तो लाग्दैन ।
राष्ट्रपति चयनको विषयलाई लिएर विभिन्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूले चलखेल गरिरहेका छन् भन्ने कुरा सार्वजनिक भएका छन् । मुलुकको प्रमुख संवैधानिक पदलाई लिएर बाह्य शक्तिहरूको चासो छ भन्ने सार्वजनिक भएको विषयलाई कसरी हेर्नुभएको छ ?
विगतको संसद्मा राष्ट्रपति र सभामुखको भूमिकाको महत्व देख्यौं । हामीले मात्रै होइन विदेशीले पनि देखे । उनीहरूको स्वार्थ त छ । जति हामी कमजोर र विभाजित हुन्छौं त्यति उनीहरूको स्वार्थ प्रबल हुँदै जान्छ । यो संविधान बनाउँदाको बेलादेखि नै उनीहरूको लगानी र सोचले बल्ल मूर्त रुप लिँदैछ । यसमा उनीहरूको रुचि हुनु स्वाभाविक छ । नेताहरूले कहाँ-कहाँ चुक्यौ र अब नचुकौं भनेर राष्ट्रिय हितमा संकल्प गरे भने त केही परिणाम आउँला होइन भने जे विदेशीले चाहन्छन् त्यही हुने हो । विदेशीले जति सक्छन् त्यति गर्छन् ।