
अर्जेन्टिनाले जितेपछि अस्पतालबाट पेलेको भावुक सन्देश
प्रकाशित मिती । ४ पुस, २०७९ ।
काठमाडौं । ब्राजिलका महान फुटबलर पेलेले अर्जेन्टिनाका लियोनल मेस्सीलाई विश्वकप जितेकोमा बधाई दिएका छन् । यससँगै उनले फाइनलमा ह्याट्रिक गरेका फ्रान्सका किलियन एमबाप्पेलाई पनि बधाई दिए ।
खेलाडीका रूपमा कीर्तिमानी तीन पटक विश्वकप जितेका पेले अहिले श्वासप्रश्वाससम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका छन् । कतारको लुसेल रंगशालामा भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले अर्जेन्टिनाले हराएपछि उनले आफ्नो सन्देश इन्स्टाग्राममा पोष्ट गरेका हुन् ।
अतिरिक्त समयमा अर्जेन्टिना र फ्रान्स ३–३ गोलको बराबरीमा रोकिएपछि सुटआउटको सहारा लिइएको थियो । लेजेन्ड पेलेले भने, ‘फुटबलले आज फेरि आफ्नो कथा रोचक ढंगले सुनायो । मेस्सीले आफ्नो पहिलो विश्वकप जितेका छन्, जसको उनी पूर्ण हकदार थिए।
मेरो प्यारो साथी एमबाप्पेले फाइनलमा चार गोल (पेनाल्टी सुटआउट सहित) गरे। हाम्रो खेलको भविष्यको लागि यो उत्कृष्ट प्रदर्शन हेर्न पाउनु कुनै उपहार भन्दा कम थिएन।
अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको हो । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।
पहिलो हाफमा निरस खेल प्रदर्शन गरेको फ्रान्स दोस्रो हाफमा खेलमा फर्कियो । तर फ्रान्सले गोल गर्ने ८० औं मिनेटसम्म कुर्न पर्यो । ८० औं मिनेटमा पेनाल्टीमा गोल गरेका केलियन एम्बाप्पेले त्यसको ९० सेकेन्डभित्र अर्को गोल गरेर खेल बराबरी गरे । निर्धारित ९० मिनेटमा दुवै टिमबाट २-२ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलियो । १०८ औं मिनेटमा मेसीले दोस्रो गोल गरेर टिमलाई फेरि अग्रता दिलाए ।
तर फ्रान्सले ११८ औं मिनेटमा अर्को पेनाल्टी पायो । जसलाई युवा स्टार एम्बाप्पेले खेर जान दिएनन् । उनले विश्वकप फाइनलमा ह्याट्रक पूरा गरे पनि उनको टिम टाइब्रेकरमा चुक्यो र लगातार दोस्रो पटक विश्वकप जित्ने सपना पूरा हुन पाएन ।
‘खेल मिलोमतो’ को उपक्रम
फुटबलको नतिजा पहिल्यै तय गर्न सकिँदैन । तर, विश्व फुटबलमा ‘खेल मिलोमतो’ का अनेक पटकथा लेखिएका छन् । र, जब ‘मिलोमतो’ को कथा लेखिन्छ तब फुटबल मर्छ ।
सिएरा लियोन विश्व फुटबलमा खासै नाम चलेको देश होइन । तर, विश्वकप सुरु हुनु ठीकअघि संसारमै त्यहाँको फुटबलबारे समाचार बन्यो । भएको के थियो भने त्यहाँको माथिल्लो डिभिजनका दुई खेलमा १ सय ८७ गोल भए । त्यस्तो पनि हुन सक्छ र ? तर, भयो ।
त्यसैले समाचार बन्यो । सिएरा लियोनको फुटबलका लागि त्यो लज्जाको समाचार थियो । त्यहाँको पहिलो डिभिजनमा बढुवाको समीकरणबीच दुई खेल एकै समय भएका रहेछन् ।
एउटा खेलमा गल्फ एफसी र कोक्विमा लेबनन तथा अर्कोमा कहुनला रेन्जर्स र लुमबेबु युनाइटेड भिडिरहेका थिए । बढुवा हुने दाउमा थिए, गल्फ र कहुनला । दुवैको अंक बराबरी थियो । दुईमध्ये को अघि हुने भन्ने निर्णय गोलअन्तरले हुन लागेको थियो ।
पहिलो हाफमा गल्फ ७–१ ले अगाडि थियो भने कहुनला २–० ले । खेल समाप्त हुँदा गल्फ ९१–१ ले विजयी रह्यो । कहुनला पनि के कम र ? उसको जित अन्तर थियो, ९५–० ।
पछि समाचार आयो, यी चारै टिममाथि कारबाही सुरु भएको छ, ‘खेल मिलोमतो’ को आरोपमा । एउटा प्रश्न यहाँनिर स्वाभाविक छ, फुटबलमा अहिलेसम्म सबैभन्दा बढी गोल भएको खेल के कस्तो थियो ? गिनिस बुक अफ वर्ल्ड रेकर्डलाई नै आधार मान्ने हो भने सन् २००२ मा माडागास्करमा भएको एक खेलमा एस एडेमाले सोल’ इमयरनेलाई १४९–० ले हराएको थियो । कुरा त्यत्तिकैमा सकिन्न, यी सबै आत्मघाती गोल थिए, विश्वासै गर्न नसकिने तरिकाले भएका ।
रेफ्रीको निर्णयको विरोध गर्न सोल’ इमयरनेका खेलाडीले आफ्नै पोस्टमा एकपछि अर्को गोल गरे । नेपाली फुटबलको इतिहासमै एकै खेलमा सय गोल भएको पाइन्छ । केही होइन, ५० वर्षअघि सहिद स्मारक लिग ‘ए’ डिभिजनका लागि भएको एक खेलमा आरसीटीले अन्नपूर्णलाई १०१–१ ले हराएको थियो । अहिलेसम्म पनि यो खेलको चर्चा दोहोर्याएर नेपाली फुटबलका हुने गर्छ । अब त यो खेलको नतिजा पनि किंवदन्तीजस्तै भइसकेको छ ।
खोज्नु मात्रै पर्छ, विश्व फुटबलमा ‘खेल मिलोमतो’ का अनेक घटना पाइन्छन् । भनिन्छ, जबसम्म फुटबल खेलिन्छ, ‘खेल मिलोमतो’ कुनै न कुनै रूपमा भइरहनेछ । भलै यो रोक्न हजार उपाय र नियम बनाइएका हुन्छन् । तर, जतिबेला ‘खेल मिलोमतो’ हुन्छ, त्यतिबेला केही मर्छ भने त्यो फुटबलै हो ।
फुटबलको नतिजा पहिले नै तय गर्न सकिने पटकथा होइन, तर जब खेलअघि नै त्यसलाई लेख्ने प्रयास हुन्छ, त्यो सर्वथा अस्वीकार्य हुन्छ । फेरि जतिबेला विश्वकप फुटबल सुरु हुन्छ, ‘खेल मिलोमतो’ बारे कुरा उठ्छ नै । फिफा यसप्रकारका तय नतिजा रोक्न असाध्यै चनाखो हुन्छ । सम्भवतः अहिलेको समय विश्वकप जत्तिको खेलमा ‘खेल मिलोमतो’ गर्नु सम्भव छैन ।
तर, कतार विश्वकपकै ठीक अघि हल्ला चलेको थियो– कतार आफैंले ‘खेल मिलोमतो’ गर्दै छ । इक्वडेरविरुद्धको खेलको नतिजा कतारको पक्षमा सुम्पिन लाखौं डलर खर्च गर्न तयार छ भन्ने गाइँगुइँ चलेको थियो, तर मैदानी खेलमा त्यस्तो भएन नै ।
र, ती हल्लै मात्रै साबित भए । तर, विश्वकपमै ‘खेल मिलोमतो’ भएको ठ्याक्कै खास घटना नभएको पनि होइन । तर, यो ‘तैं चुप मै चुप’ जस्तो खेल नतिजा थियो । घटना सन् १९८२ मा स्पनेमा भएको विश्वकपको हो । त्यसमा जुन खेलको नतिजा तयजस्तै भएको थियो, त्यसलाई त्यस प्रतियोगिताकै कलंक मानिन्छ ।
यसलाई भन्ने गरिन्छ, ‘गिजोनको अपमान’ । यो खेल गिजोनमा भएको थियो । त्यसमा पश्चिम जर्मनीले अस्ट्रियालाई १–० ले हराएको थियो । त्यो गोल खेलको सुरुआती १० मिनेटमा भएको थियो । त्यो एक गोलपछि दुवै टिमले खेल यसरी खेले कि मानौं, खेलाडीमा ज्यानै थिएन । यो नतिजापछि पश्चिम जर्मनी र अस्ट्रिया दुवै नकआउट चरणमा पुगे, त्यतिबेला समीकरण यस्तै बनेको थियो ।
यो नतिजाका कारण अल्जेरिया भने प्रतियोतिगाबाट बाहिरियो । पश्चिम जर्मनी, अस्ट्रिया र अल्जेरिया सबै समान चार अंकमा रहे । शीर्ष दुई टिम गोलअन्तरले मात्रै अगाडि रहे । त्यस अगाडि अल्जेरियाले पश्चिम जर्मनीमाथि प्रख्यात जित निकालेको थियो । पछि यो खेललाई लिएर फिफाले अनुसन्धान पनि गरेको थियो, कारबाही कसैलाई गर्न सकेन । खेललगत्तै जर्मन खेलाडी आफ्नो होटल पुग्दा केही समर्थकले तिनीहरूमाथि अण्डा फ्यालेर विरोध गरेका थिए ।
जर्मनीमा खेलको प्रत्यक्ष प्रसारण भइरहँदा कमेन्टेटरले दर्शकलाई यो खेल छाडेर अन्य कुनै कार्यक्रम हेर्नुसम्म भनेका थिए । पछि यही पश्चिम जर्मनी फाइनल पनि पुग्यो, तर इटालीसँग पराजित भयो । त्यही बेलादेखि हो, लिग चरणका अन्तिम दुई खेल एकै समय गर्नुपर्ने नियम आएको ।
ठ्याक्कै ‘खेल मिलोमतो’ भएकै हो भनेर किटान गर्न सकिने केही उदाहरण पनि छन्, त्यो पनि माथिल्लो स्तरको फुटबलमा । त्यसमध्ये एक घटना इटालीको हो भने अर्को फ्रान्सको । सन् २००६ मा युभेन्ट्सलाई ‘खेल मिलोमतो’ कै आरोपमा सिरी ‘बी’ मा झारिएको थियो । यति मात्र होइन युभेन्ट्सले सन् २००५ र २००६ मा जितेको सिरी ‘ए’ को उपाधि पनि खोसिएको थियो । युभेन्ट्सका निर्देशक लुसियानो मोगीलाई पाँच वर्ष जेल नै पठाइएको थियो ।
पूरा घटनाक्रममा १६ जनालाई दोषी मानिएको थियो । सबैलाई थाहा छ, इटालीमा माफियागिरी चल्छ । मोगीले पनि तिनै माफियाको सहयोगमा केही खेलको नतिजा तय गरेका थिए । यस काण्डलाई अहिले पनि इटालीको फुटबलकै कलंक मानिन्छ । आखिरमा युभेन्ट्स इटालीको फुटबल इतिहासकै सबैभन्दा सफल क्लब हो, तर एकाध लिग उपाधि जित्न उसका पदाधिकारीले किन ‘खेल मिलोमतो’ गरे भन्ने प्रश्नको उत्तर अहिलेसम्म कसैले दिन सकेका छैनन् ।
जसरी इटालीमा युभेन्ट्स सफल टिम हो, त्यसरी नै फ्रान्सको सबैभन्दा सफल क्लबमध्ये एक हो– मार्से । तर, उसकै नाममा पनि ‘खेल मिलोमतो’ को कलंक छ । सन् ९० तिर मार्सेले शृंखलाबद्ध ‘खेल मिलोमतो’ गरेका थिए । सन् १९८९ देखि १९९२ बीच मार्सेले फ्रान्सको माथिल्लो डिभिजनको फुटबल लिग–वान लगातार चारपल्ट जितेको थियो, प्रशिक्षक बर्नार्ड टापेको नेतृत्वमा । यसबीच उसले युरोपेली च्याम्पियन्स लिग पनि जितेको थियो ।
सबैलाई थाहा छ, युरोपेली च्याम्पियन्स लिग विश्व फुटबलका लागि के हो । यत्तिको माथिल्लो स्तरको प्रतियोगिता विश्व फुटबलमा विरलै होला, तर यही प्रतियोगिताको नतिजामा पनि कुनै समय छेडछाड भएका थिए । त्यो मार्से टिम आफैंमा निकै बलियो थियो । तर, पछि मात्रै पुष्टि भयो, टापेले केही खेल मिलोमतो गरेर जितेका थिए । त्यसैले उसले त्यो समय जितेका सबै लिग उपाधि मात्र खोसिएन, मार्सेलाई युरोपेली क्लब फुटबलमा पनि लामै समय प्रतिबन्ध लाग्यो ।
‘खेल मिलोमतो’ कै कारण पछिल्लो समय दक्षिण कोरियाको के–लिग र जापानको जे–लिग पनि चर्चामा आइरहन्छ । भनिन्छ, यी दुवै देशमा संगठित रूपमा अपराध गर्नेले लिगका खेलको नतिजा पनि आफूखुसी तय गर्ने गर्छन् । निचोड के हो भने फुटबलबाट ‘खेल मिलोमतो’ शतप्रतिशत हटाउन सकिन्न । तर, हटाउने प्रयास भने भइरहनुपर्छ । ‘खेल मिलोमतो’ ले आखिरमा मर्ने भनेको फुटबल नै हो । फुटबल मर्दा खुसी हुनेचाहिँ को होला ?