सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


राप्रपालाई सरकारमा जान हतारो छैन : अध्यक्ष लिङ्देन

अनुमतिबिना दूतावासका कार्यक्रममा नजान सांसदलाई निर्देशन

प्रकाशित मिति । पुस ४, २०७९ ।

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन् । सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन् ।

आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने लिङ्देनको भनाइ छ । उनले आफूहरु मन्त्री खानका लागि कसैको घर नधाउने स्पष्ट पारे । अध्यक्ष लिङदेनले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गर्ने बताए ।

‘सरकार निर्माणको प्रक्रिया शुरु भएको छ । राष्ट्रपतिबाट आह्वान भएको छ । हामी बैठक बसेर आधिकारिक धारणा पनि बनाउँछौँ । कोही पनि हाम्रो साथीहरुले आत्तिनुपर्दैन । नेतृत्वले गल्ती गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि यो चिन्ता लिनुपर्दैन । हामी सोचि, विचारी निर्णय गर्छौ । अहिले न हामीलाई सरकारमा जान हतारो छ । न सरकारमा नजाने भनेर हामीले कसम खाएरै आएका छौँ ।

के गर्दा उपयुक्त हुन्छ । के गर्दा हाम्रो मान्यताहरु स्थापित हुन सक्छन् । के गर्दा देश र जनताको अवस्थामा परिवर्तन ल्याउन सकिन्छ । त्यो सोचेर, विचार गरेर हामी निर्णय गर्छौ । हामी मन्त्री खानको लागि कसैको घर धाउँदैनौँ । कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ । हामीले सरकारमा गएर, नगएर पनि अरु कसैलाई समर्थन गर्नुपर्‍यो भने कारणसहित गर्छौं । कारणसहित जान्छौँ । त्यसमा तपाईहरु सबै ढुक्क रहन आग्रह गर्छु,’ उनले भने ।

अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा सुरु भएको समेत बताए । उनले आगामी दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने बताए । उनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणाम बाट आफू सन्तुष्ट नभएको उल्लेख गरे ।

अध्यक्ष लिङ्देनले नवनिर्वाचित सांसदहरूलाई विदेशी दूतावासहरुले कार्यक्रमहरुमा बोलाएमा पार्टीको अनुमतिबिना नजान निर्देशन दिए । दूतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न आग्रह गरेका हुन् । सांसदहरुलाई अनुशासन र मर्यादामा बस्न निर्देशन दिँदै उनले भने, ‘अब तपाईहरुलाई कहिलेकाहीँ अन्तर्वार्तामा बोलाउँछन् । कहिले कुनै विदेशी दूतावासहरूले कार्डहरु पठाइराख्छ ।

ए मलाई फलाना दूतावासले बोलाएको छ भनेर खुरुर कुँदेर गएर त्यहाँ रक्सी खानेले रक्सी खाने मासु खान पाउनेले मासु खान कुदिहाल्नु हुन्न । पार्टीलाई सोधेर जानुपर्छ । हिजोअस्ति तपाईं व्यक्तिगत रुपमा जहाँ जानुहुन्थ्यो, जहाँ नाच्नुहुन्थ्यो केही छैन । तर अहिले केही मर्यादाहरु, केही जिम्मेवारीहरु छन् अब ।’

हाम्रा एजेन्डा सम्बोधन गर्ने प्रतिबद्धता आए सरकारमा जान्छौँ : लामिछाने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन-२ का प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफ्ना एजेन्डा सम्बोधन गर्ने प्रतिबद्धता आए सरकारमा जाने बताएका छन् ।

सोमबार निर्वाचन आयोगद्वारा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले जनजीविकाका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता आए सरकारमा जान सक्ने बताएका हुन् ।

लामिछानेले भने, ‘हामीले उठाएका एजेन्डा सम्बोधन हुन सक्ने प्रतिबद्धता आएमा हामी सरकारमा जान सक्छौँ । नत्र सरकारमा जानका लागि मात्र सरकारमै जान्नौँ ।’

सोमबार नै रास्वपा संसदीय दलको नेतामा चयन भएका लामिछानेले आफूहरूबिना पनि सरकार बन्ने तर मुलुकलाई अनिर्णयको बन्दी बन्न नदिने बताए । उनले अगाडि भने, ‘हामीबिना सरकार नै नबन्ने भन्ने त होइन । तर सरकार बन्न सहज हुन्छ भन्ने हो । अहिले हामीले स्थितिलाई नियालिरहेका छौँ । हामीले चुनावी वाचापत्रमा उठाएका एजेन्डा र जनजीविकाका सवालमा मुद्दा मिले सहकार्य हुन सक्छ ।’

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी छन् । उनले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी हुन् ।

संविधानको धारा-७६ को उपधारा-१ अनुसार कुनै दलको बहुमत नपुगेपछि राष्ट्रपति भण्डारीले उपधारा-२ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकी हुन् । त्यसका लागि पुस १० गते साँझ ५ बजेसम्मको म्याद दिइएको छ ।

नेकपा एसको संसदीय दलको नेतामा माधव नेपाल

काठमाडौँ — नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव कुमार नेपाल चयन भएका छन् । सोमबार बसेको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले चयन गरेको हो ।

यस्तै उपनेतामा राजेन्द्र पाण्डे छानिएका छन् । संसदीय दलको प्रमुख सचेतकमा उपमहासचिव प्रकाश ज्वाला चुनिएका छन् ।यस क्रममा उक्त पार्टीका नवनिर्वाचित सांसदहरूले एकआपसमा बधाइ साटासाट गरेका थिए । तीनकुनेस्थित पार्टी कार्यालयमा अध्यक्ष नेपाल, झलनाथ खनाल लगायत नेताहरूले निर्वाचित सांसदहरूलाई माला लगाइदिएका थिए । यसैबीच सोमबारको बैठकले संसदीय दलको विधानमा संशोधन गर्नुपर्ने भएमा सुझाव दिन सांसदहरूलाई आग्रह गरेको कार्यालय सचिव गंगालाल तुलाधरले इकान्तिपुरलाई बताए ।


Last Updated on: December 19th, 2022 at 6:24 pm


४४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया