मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन

प्रकाशित मिति । ३ पुस, २०७९ ।

काठमाडौ । बिहीबार रातको ठिक १२ बजेको थियो। कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए। कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो। नागरिक निद्रामा मस्त थिए।

यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी कालीगण्डकी नदीमा ओर्ले। दिनभर आफ्नै गतिमा बगेको कालीगण्डकीलाई रातमा बिथोलिन खोजिन्छ। कालीगण्डकी सभ्यता, कालीगण्डकी डाइभर्सन र चुरे अहिले जोडतोडले उठेको विषय हो। अन्य स्थानमा कालीगण्डकी दोहन रोकिए पनि पर्वत र बागलुङ खण्डमा दोहनले मध्यरातमा निरन्तरता पाइरहेको छ।

सोही रात कालीगण्डकी सभ्यता बचाउन अभियानकर्मी आरके अदिप्त गिरीसहितका युवा, पत्रकार तथा अधिकारर्मीसहितको टोली कालीगण्डकी दोहनको अवलोकन गर्न कालीगण्डकीमाथिको पुलमा पुगेको थियो। कालीगण्डकी नदीको अवैध दोहन गर्न पुगेका जेसिभी, दायाँबायाँ हेरालु र वारिपारि सुराकीहरु परिचालन गरिएको थियो।

लाग्छ उनीहरु नेपाल प्रहरीभन्दा बढी क्षमतामा दोहनको सुरक्षा गरेका थिए। राजाको बगरमा भएको दोहन त एक उदाहरण मात्रै हो। लस्ती बगर, दम्मुवाखोला, कालाखोला बगर, मालढुङ्गाको वारिपारि बगर र जलजलाका अधिकांश स्थनामा रातभर नदी दोहन हुने गरेको छ।

राज्यले ठेक्का लगाएको समयमा दिउँसै अवैध उत्खनन गर्ने कालीगण्डकी दोहनकर्ताहरु ठेक्का नलगाएको बर्खाको समयमा मध्यरातमा कालीगण्डकी लुटिरहेका छन्। कालीगण्डकीको छातीमा दोहनकर्ताले रातभर रजाइँ गरेको श्रव्यदृश्यसमेत मध्यरातमा अवलोकनका लागि पुगेको उक्त कालीगण्डकी बचाऊ अभियान टोलीले कैद गरेको छ।

रातको १२ बजेदेखि २ बजेसम्म राजाको बगरमा कालीगण्डकी दोहन हुन्छ, भोलिपल्ट दोहनबाट निकालिएको बालुवा बिक्री गरिन्छ। दोहनकै समयमा धवलागिरिको साविक सदरमुकाम रहेको बागलुङ बजारबाट कालिका मन्दिरसम्म प्रहरीको गस्ती भइरहेको हुन्छ भने दोहन गरिरहेको नजिकै मालढुङ्गामा प्रहरीसमेत भए पनि उनीहरु मौन बस्ने गरेका छन्।

कालीगण्डकीलाई लुटेर खान पल्केका विरुद्ध कालीगण्डकी बचाऊ अभियानको निरन्तर खबरदारी हुने कालीगण्डकी बचाऊ अभियानका मुख्य अभियानकर्मी तथा प्राकृतिक विषयमा पत्रकारिता गर्ने गिरीले बताए।

‘हामीले निरन्तर नदी दोहनको विषयमा आवाज उठाइरहेका छौँ, केही स्थानमा सकरात्मकरूपमा दोहन रोकिएको अवस्था छ, तर पर्वत खण्डमा नदी दोहन रोक्न सकिएको छैन, प्रहरीले २४सै घण्टा नदी दोहनको अनुगमन गरेको बताएको छ तर रातको १२ बजे नदीमा स्काभेटर लगाइन्छ, हामीले साङ्केतिकरूपमा रातको १ बजे बत्ती बालेर दोहनस्थलमा विरोध जनाएका छौँ”

गिरीले भने, ‘यसमा बागलुङ, म्याग्दीसहित अन्य जिल्लाका युवा तथा पत्रकारको समेत साथ र सहयोग छ, हाम्रो अभियान अझै सशक्त बन्दै जानेछ।’ असार १ देखि भदौ १५ सम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने गण्डकी प्रदेशको कानून भए पनि राज्यसत्ताको मिलेमतोमा मध्यरातमा कालीगण्डकी दोहन भइरहेको प्रत्यक्षदर्शी अधिकारकर्मी तथा अधिवक्ता राम शर्माले बताए।

नेपालकै पुरानो सभ्यतामध्येको एक कालीगण्डकी सभ्यता पछिल्लो समय लोप हुने खतरा रहेकाले विश्वमै एक मात्र शालिग्राम पाइने नदीको संरक्षण हुनुपर्ने जनस्तरबाटै आवाज उठ्न थालेको छ। पर्वत प्रहरीले २४सै घण्टा नदी किनारामा प्रहरी खटाइएको दाबी गर्दै आएको छ। प्रहरीले २४सै घण्टा दोहन नियन्त्रणमा लिनका लागि प्रहरी खटाएको र केही मात्रमा दोहन नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।

‘म पर्वत आएको एक महिना भयो, दोहन पूर्णरूपमा रोक्ने हाम्रो नीति छ, अहिले पनि किनारामै सवारीसहित प्रहरी परिचालन भएको छ, रातभर दोहन भइरहने राजाको बगरबाट दोहनमा सहभागीलाई पक्राउ गरी जरिवाना तिराएका छौँ, पुनः सोही स्थानमा दोहन भइरहेको गुनासो छ’, बुढाथोकीले भने,

‘हामीलाई दोहन भइरहेको समेत सही सूचना आवश्यक छ, राति बत्ती निभाएर दोहन गर्दा कतिपय स्थानमा प्रहरीले नदेखेको समेत हुनसक्छ, यसरी नै नागरिकस्तरबाट दबाब सिर्जना भए कालीगण्डकी बचाउन सम्भव छ।’ यसैगरी नदीको दोहन भइरहने हो भने कालीगण्डकी सभ्यता र यस वरपर रहेका मठ, मन्दिर र देवालयको अस्तित्व सङ्कटमा पर्ने कालीगण्डकी बचाऔँ अभियानमा सक्रिय रुपेस सापकोटाले बताए। रासस

टाइब्रेकरमा अर्जेन्टिना विश्व च्याम्पियन

काठमाडौँ — नाटकीय फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै विश्वकप २०२२ को उपाधि जितेको छ । निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा टुंगेपछि खेल पेनाल्टीमा गएको हो । टाइब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे ।

फ्रान्सका लागि केयलिन एमबाप्पे र कोलो मुनीले मात्र गोल गरे । किङ्सली कोमन र चोमेनीले गोल गर्न सकेनन् । रोमाञ्चक खेलमा फ्रान्सले दुईपल्ट आफू पछाडि रहेको स्थिति उल्टाएको थियो । फ्रान्सका लागि एमबाप्पेले पेनाल्टीबाट १ सय १८ औं मिनेटमा तेस्रो गोल गरे र यो उनको ह्याट्रिक रह्यो ।

त्यसको ठीक अगाडि मेसीले १ सय नवौं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३–२ को अग्रता दिलाएका थिए । फ्रान्सले दोस्रो हाफको अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेपछि फाइनल अतिरिक्त समयमा गएको थियो । पूरा ९० मिनेटको नाटकीय खेल समाप्त खेल २–२ को रोमाञ्चक बराबरीमा रहेको थियो ।

अर्जेन्टिनाका लागि लियोनल मेसीले २३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । त्यसपछि एन्जेल डि मारियाले ३६ औं मिनेटमा दोस्रो गोल थपेका थिए । फ्रान्सका लागि एमबाप्पेले ८० औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । त्यसलगत्तै ८१ औं मिनेटमा एमबापेले दोस्रो गोल थपेका थिए ।

एकीकृत समाजवादी सचिवालय बैठक : वामपन्थी शक्तिलाई एकताबद्ध गर्ने

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले समान विचार भएका राजनीतिक दलसँग एकताबद्ध भएर बलियो सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्ने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आइतबार बसेको सचिवालय बैठकले स–सना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकजुट गर्ने निर्णय गरेको हो ।

बैठकमा सत्ता गठबन्धनलाई एकताबद्ध गरी साझा उम्मेदवारको नेतृत्वमा सरकार निर्माण गर्ने विषयमा छलफल गरिएको छ । निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको चुनावी समीक्षा, मुलुकको समसामयिक राजनीतिक अवस्था तथा आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिएको बैठकमा यही पुस ४ गते संसदीय दलको बैठक बोलाउने निर्णय भएको प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसैबीच पार्टी अध्यक्ष नेपालसँग आइतबार वामपन्थी नेता वामदेव गौतमले भेटवार्ता गरी एकताबद्ध भएर जाने विषयमा छलफल भएको छ । अध्यक्ष नेपालसँग लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि भेटवार्ता गरेको पार्टीले जनाएको छ ।

जनमतका अध्यक्ष सिके राउत बने संसदीय दलको नेता

काठमाडौँ — राष्ट्रिय जनमत पार्टीले संसदीय दलको नेतामा अध्यक्ष चन्द्रकान्त(सीके) राउतलाई नै संसदीय दलको नेता चुनेको छ । बुद्धनगरस्थित पार्टी कार्यालयमा आइतबार बसेको बैठकले अध्यक्ष राउतलाई नै सर्वसम्मत पार्टीको संसदीय दलको नेता चयन गरेको हो ।

प्रत्यक्षमा आफूमात्रै जितेका राउतको जनमत पार्टीले समानुपातिकमा भने पाँच सिट जितेको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले बहुमत ल्याउन नसकेको अवस्थामा जनमत निर्णायक बनेर सरकारमा जाने तयारीमा छ ।

महासचिव चन्दन राउतले पार्टीको संसदीय दलको नेतामा अध्यक्ष सीके राउतलाई सर्वसम्मत चयन गरेको बताए । ‘हाम्रो दलको नेता उहाँ नै हो । उहाँको विकल्प हुने कुरै भएन,’ उनले, ‘आज प्रक्रिया पुर्‍याएर उहाँलाई जिम्मेवारी दिइएको हो ।’


Last Updated on: December 19th, 2022 at 1:37 pm


७१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया