मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


श्रीमानसँग रिसोर्ट बिक्रीको विवादपछि सीता भण्डारीले मध्यरातमा रोजेको मृत्युको बाटो

पुनः प्रकाशित मिति । ३ पुस, २०७९ ।

काठमाडौ । रुपन्देही तिलोत्तमा नगरपालिका-५ की २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनको मृत्यु प्रकरणमा हालसम्म भएका अनुसन्धानबारे जानकारी दिएको हो।

पौडेल भदौ २० गते बिहान साढे ४ बजे आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको हत्या भएको भन्दै माइती पक्ष, आफन्त तथा स्थानीयले रुपन्देहीमा आन्दोलन गर्दै आएका थिए।

सीताको मृत्यु प्रकरणलाई लिएर आन्दोलन सुरू भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय बुटवलले घटनाबारे संयुक्त रुपमा अनुसन्धान थालेका थिए।

अनुसन्धान अनुसार पौडेलको मृत्यु कर्तव्यबाट नभई झुण्डिएर मृत्यु भएको देखिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बताए।

‘शव परीक्षण प्रतिवेदनमा उहाँको मृत्युको कारण आत्महत्या देखिएको छ,’ थापाले सेतोपाटीसँग भने।

अनुसन्धानका क्रममा मृतक सीता र उनका श्रीमान टिका पौडेलको मोबाइलको प्राविधिक परीक्षणसमेत गरिएको थियो। डिजिटल फरेन्सिक ल्याबमा मोबाइल परीक्षण गर्दा सीताले आफ्ना श्रीमानको नाममा आइफोनको नोट एप्लिकेसनमा सुसाइड नोट लेखेको भेटिएको थापाले बताए।

अनुसन्धान अनुसार आत्महत्या गर्नुअघि २० गते नै बिहान राति पौडेलले श्रीमानलाई करिब साढे १२ बजे सुसाइड नोट लेखेको पाइएको छ। फरेन्सिक रिपोर्टमा सीताले नेपालीमा लेखेको सुसाइड नोट प्राप्त भएको थापाले बताए।

‘सुसाइड नोटमा मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो, म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो, म बाँच्न सकिनँ भनी लेखिएको छ,’ थापाले भने, ‘मेरो सबै गरगहना मेरी आमालाई दिनु भनिएको छ।’

मोबाइलको फरेन्सिक परीक्षण हुँदा सुसाइड नोट र त्यसअघि पौडेलले श्रीमानलाई लेखेको एसएमएसहरूको परीक्षण गरिएको थापाले बताए।

‘यसरी परीक्षण गर्दा उहाँले आत्महत्याअघि लेखेको सुसाइड नोट र त्यसअघि श्रीमानलाई लेखेको एसएमएसको प्यार्टनसमेत मिलेको देखिन्छ,’ उनले भने।

भदौ २२ गते सीताका बुवा हरिप्रसाद भण्डारीले श्रीमान् टिका पौडेल, जेठाजु हरिप्रसाद पौडेल र उनकी आमाजु विष्णु पौडेलविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिएका थिए।

जाहेरी आएपछि प्रहरीले श्रीमान् टिका, जेठाजु हरिप्रसाद र आमाजु विष्णुलाई पक्राउ गरिसकेको छ। उनीहरूविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको थापाले बताए।

के थियो विवाद?

मृतक सीता र श्रीमान टिका पौडेलबीच २०७६ असोज १८ गते विवाह भएको थियो। उनीहरूका सन्तान छैनन्।

विवाह भएपछि उनीहरू दुबै पाल्पा जिल्ला धरमपानीस्थित द दरबार रिसोर्ट सञ्चालन गरी बस्दै आएका थिए।

प्रहरी उपरीक्षक मनोज केसीका अनुसार पौडेल परिवारमा सम्पत्ति बाँडफाँटबारे ६-७ महिनायता विवाद जारी थियो। रिसोर्टलाई बेच्ने मामलामा परिवारमा खटपट भइरहेको थियो।

‘श्रीमान्-श्रीमती बिक्री गर्नुपर्ने पक्षमा थिए, तर त्यस कुरालाई परिवारले इन्कार गरेको हाम्रो अनुसन्धानले देखाएको छ,’ केसीले भने, ‘सासु-ससुरा र आमाजु बिक्री गर्न नहुने अडानमा थिए। आमाजुले त्यो मामलामा श्रीमान्-श्रीमतीबीचमा फाटो ल्याउन भूमिका खेलेको देखियो।’

पटक-पटक श्रीमतीसँग यही विषयमा विवाद भइरहेकै क्रममा १९ गते पाल्पाबाट टिका बुटवल आएका थिए।

त्यसदिन जेठाजु हरिप्रसादकी छोरीको जन्मदिन थियो। जन्मदिन मनाउने क्रममा टिकाले मदिरा सेवन गरेका थिए।

सीता गत भदौ ५ गते नै आफ्नो जन्मदिन मनाउन माइत आएकी थिइन्। भदौ १९ गते सीता आफ्नो माइती घर तिलोत्तमा नगरपालिका वडा नं. ८ बाट घर फर्किएकी थिइन्।

‘जेठाजूको छोरीको आज जन्म दिन हो भनेर श्रीमान टिका पौडेलले बोलाएकोले दिउँसो २ बजे उहाँ तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्रामस्थित घरमा फर्किएको देखिन्छ,’ केसीले भने।

जन्मदिन मनाएपछि श्रीमान्-श्रीमतीबीच रिसोर्टको बिक्रीबारे पुन: विवाद भएको थियो। विवादपछि श्रीमानलाई सीताले नै सम्झाएर कोठामा लगेकी थिइन्।

अबेरसम्म मदिरा सेवन गरेपछि टिका श्रीमतीसाथ सुतेका थिए। उनी ब्युँझिँदा सीता झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

‘मदिरा सेवन गरी श्रीमतीलाई गाली गर्ने, उनको कुरा नसुन्ने जस्ता जिकिरबाट सीता दिक्क भएर आत्महत्याको बाटो रोजेको देखिएको छ,’ केसीले भने।

सीतालाई झुन्डिएको अवस्थामा देखेपछि टिकाले भान्सा कोठाबाट चक्कु ल्याएर सलको पासो काटेर शव भुइँमा झारेका थिए। त्यसपछि उनले आफन्तलाई खबर गरेका थिए।

आफन्तमार्फत प्रहरीमा खबर पुगेपछि प्रहरीले सीताको शवको मुचुल्का उठाई लुम्बिनी प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि पठाएको थियो।

पोष्टमार्टम रिपोर्ट नआउँदै पीडित परिवार, आफन्त र स्थानीयले प्रहरीले अनुसन्धानमा बेवास्ता गरेको भन्दै आन्दोलन गरेका थिए।

‘आत्महत्या गर्नुको पछाडि रिसोर्टको विवाद प्रमुख कारण छ,’ केसीले भने, ‘यो विवाद उत्कर्षमा पुगेपछि सीताले आत्महत्याको बाटो रोजेको देखिन्छ।’

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८ । सेतोपाटीबाट साभार ।

एकीकृत समाजवादी सचिवालय बैठक : वामपन्थी शक्तिलाई एकताबद्ध गर्ने

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले समान विचार भएका राजनीतिक दलसँग एकताबद्ध भएर बलियो सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्ने भएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आइतबार बसेको सचिवालय बैठकले स–सना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकजुट गर्ने निर्णय गरेको हो ।

बैठकमा सत्ता गठबन्धनलाई एकताबद्ध गरी साझा उम्मेदवारको नेतृत्वमा सरकार निर्माण गर्ने विषयमा छलफल गरिएको छ । निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको चुनावी समीक्षा, मुलुकको समसामयिक राजनीतिक अवस्था तथा आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिएको बैठकमा यही पुस ४ गते संसदीय दलको बैठक बोलाउने निर्णय भएको प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसैबीच पार्टी अध्यक्ष नेपालसँग आइतबार वामपन्थी नेता वामदेव गौतमले भेटवार्ता गरी एकताबद्ध भएर जाने विषयमा छलफल भएको छ । अध्यक्ष नेपालसँग लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि भेटवार्ता गरेको पार्टीले जनाएको छ ।


Last Updated on: December 19th, 2022 at 11:50 am


२१२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया