
रबीको ‘द लिडर’: सहभागीको पैसा पनि फिर्ता भएन, कार्यक्रम पनि ‘कोल्याप्स’ भयो
प्रकाशित मिति । १ पुस, २०७९ ।
रामेछापको गोकुलगंगा घर भएका गेली शेर्पाले जुन २१ तारिखमा फेसबुकमा एउटा स्टाटस लेखे । उनले स्टाटसमा रबी लामिछानेले ‘ल लिडर’ नामक ‘टेलिभिजन शो’ मार्फत नेता खोज्ने भनेर आफैँ नेता बनेको भनेर कटाक्ष गरेका छन् ।
यति मात्रै होइन शेर्पाले आफूहरुले रबीले घोषणा गरेको ल लिडर कार्यक्रममा स्वतःस्फुर्त रुपमा गरेको सहयोग खेर गएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘द लिडर भन्ने कार्यक्रम घोषणा गरेर म लिडर भईदिने रबी जी ? हामी हजारौं लाखौं युवाहरुले हजार तिरेर फाराम भरेको करोडौं पैसा खोई ?’
त्यस्तै, असार २ गते कैलालीको जानकी गाउँपालिका घर भएका आदित्य न्यौपानेले पनि ‘द लिडर’ नामक कार्यक्रमका लागि आफूले पनि १ हजार तिरेको तर उक्त कार्यक्रम आजसम्म सञ्चालनमा नआएको उल्लेख गरेका छन् ।
‘आजभन्दा करिब दुई वर्ष अगाडि रबी लामिछाने न्युज २४ मा छँदै द लिडर कार्यक्रम गर्ने भनेर उद्घोष गर्नुभयो । सोहीअनुसार मैले आफ्नो नाम रजिस्टर गरेँ, तर १००० रूपैयाँ तिर्नुपर्न रैछ, त्यो नि गरेँ । आजसम्म उक्त कार्यक्रम सञ्चालनमा आएको छैन। रबी लामिछानेले ग्यालेक्सी फोरके नि छाड्नुभएछ । ग्यालेक्सी फोरकेमा फोन गर्दा हामीलाई केही थाहा छैन भन्नुभयो’ न्यौपानेले लेखेका छन् ।
अदित्यले आफ्नो रजिस्ट्रेसन नम्बर नै उल्लेख गरेका छन् । उनले आफ्नो रजिस्ट्रेसन नम्बर ३०४७१ भएको र आफूभन्दा पछाडी पनि हजारौँले नाम दर्ता गराएको उल्लेख गरेका छन् ।
उनले रबी लामिछानेले चलाखी गरेर फाराम भरेर शुल्क बुझाउनेहरुलाई कुनै प्रमाण नदिई केवल रजिष्ट्रेशन नम्बर मात्रै दिएको बताएका छन् ।
रबीको द लिडरका लागि लाखौँ युवाले स्वतःस्फुर्त रुपमा १ हजार तिरेर फराम भरेका थिए । यस्तो संख्या करिब २ लाखको हाराहारीमा रहेको त्यस्तै फाराम भरेका रामेछापका गेली शेर्पा बताउँछन् ।
यदि उक्त कार्यक्रममा १ लाख जना मात्रै युवाले १ हजार तिरेर फाराम भरेको भएपनि १० करोड रुपैयाँ संकलन भएको छ । तर, त्यसको हिसाब देखाईएको छैन ।
के थियो रबीले घोषणा गरेको ‘द लिडर’ कार्यक्रम ?
२०७६ मंसिर २६ गते ‘द लिडर’ कार्यक्रम घोषणा गर्दै रबीले भिजन भएका र परिपक्व व्यक्तिलाई लिडर बनाउने र यसका लागि ७ प्रदेशका विभिन्न स्थान र विदेशमा समेत अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाडौँमा ल्याएर प्रतिस्पर्धा गराएर लिडर जन्माउने बताएका थिए ।
विजेतालाई काठमाडौँमा अपार्टमेन्ट, गाडी र २० लाख नगद दिने भनिएको थियो । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र हालै विवेकशील साझा पार्टीबाट राजीनामा दिएर बसेका रवीन्द्र मिश्र निर्णायक तोकिएका थिए ।
यो शो न्युज २४ टेलिभिजन, रमाइलो टिभी र गुन्द्रुक एपबाट प्रशारण हुने उल्लेख गरिएको थियो ।
यो कार्यक्रमको उत्पादक थियो एस.आर.बि.एन. मिडिया । यसका प्रमुख कार्यकारी हुन् विपिन कुमार आचार्य । अचार्य रबीकै समूहका व्यक्ति हुन् । रबीले न्युज २४ छोडेर ग्यालेक्सी तिर लागेपछि आचार्य पनि रबीकै पछिपछि लागे । अहिले उनी ग्यालेक्सीमा क्रियटिभ डाइरेक्टर छन् ।
रबीको अनुहार हेरेर हजारौँले फाराम भरेर शुल्क तिरेको भएपनि यस विषयमा रबी लामिछानेले भने आफू केवल प्रस्तोता मात्रै भएको र आफूलाई अरु थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
‘म त कार्यक्रम सञ्चालक हुँ, त्यसैले मलाई कति जनाले रजिष्ट्रेसन गर्नुभयो, कति पैसा संकलन भयो, कतिले फिर्ता लिए, कतिले लिन बाँकी छ केही थाहा छैन’ रबीले भने ।
भूतपूर्व गोर्खाका मागबारे बेलायतसँग तेस्रो वार्ता, पेन्सन र वेलफेयरमाथि छलफल
लन्डन — भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा तेस्रो चरणको वार्ता भएको छ । बिहीबार बिहान र दिउँसो गरी दुई सत्रमा झन्डै ५ घण्टा भएको वार्ता सकारात्मक दिशातर्फ अगाडि बढेको भूतपूर्व गोर्खाहरुले बताएका छन् ।
लन्डनस्थित नेपाली राजदूतावास र संयुक्त अधिराज्य (यूके) को रक्षा मन्त्रालय एवं भूतपूर्व गोर्खाका प्रतिनिधिबीच प्राविधिक स्तरको तेस्रो चरणमा त्रिपक्षीय वार्ता भएको हो ।
उक्त वार्ताको बिहानी सत्रमा भूतपूर्व गोर्खाहरुको औषधि उपचार, शिक्षा, रोजगारीलगायत अन्य कल्याणकारी विषय (वेलफेयर) र दिवा सत्रमा अघिल्लो चरणमा बाँकी रहेका पेन्सनसम्बन्धी विषयमा विस्तृत छलफल भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
वार्तामा नेपाली पक्षले उठाएका माग सम्बन्धमा रक्षा मन्त्रालयका पदाधिकारीहरुले सूक्ष्म रूपमा चासो राखी आगामी दिनमा थप छलफलका लागि आफूहरू तयार रहेको बताएको वार्तामा सहभागी दूतावासका द्वितीय सचिव रामबाबु नेपालले जनाए । ‘बेलायती प्रतिनिधिले दूतावास र गोर्खाहरुका कुरा राम्ररी सुनेपछि अर्को वार्तामा थप अध्ययन गरी आउँछौँ भनेका छन्,’ नेपालले कान्तिपुरसँग भने ।
अर्को वार्ता मितिबारे आफ्नो सरकारी संयन्त्रमार्फत छिट्टै जानकारी गराउने सहमति भएको पनि नेपालले जानकारी दिए । भूतपूर्व गोर्खाहरुका तर्फबाट मध्यस्तकर्ता मेजर रिटायर्ड जुदबहादुर गुरुङले वेलफेयर र पेन्सनका विषयमा महत्त्वपूर्ण छलफल भएको जनाए ।
यसपटकको वार्तामा नेपालबाटै भर्चुअल सहभागिता जनाएका गुरुङले वार्ता सकारात्मक दिशातर्फ बढेको जनाउँदै बेलायती अधिकारीहरुले पेन्सन ‘नीति’ परिवर्तनका लागि थप अध्ययन गर्नुपर्ने भए पनि ‘नीति कार्यान्वयन’ पक्षका केही कमजोरी भए सच्याउन कुनै समस्या नरहेको बताएका उल्लेख गरे ।
उक्त छलफलमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका सैनिक सहचारी महासेनानी रत्नबहादुर गोदार र द्वितीय सचिव रामबाबु नेपाल सहभागी थिए भने बेलायत सरकारका तर्फबाट रक्षा मन्त्रालय एवं सो अन्तर्गत विभिन्न निकायका पदाधिकारीहरु थिए ।
भूतपूर्व गोर्खाहरुका तर्फबाट अवकासप्राप्त तीनजना गोर्खा मेजर जुदबहादुर गुरुङ, टिकेन्द्रदल देवान र उदयबहादुर गुरुङ एवं केशबहादुर गुरुङ तथा धर्मबहादुर तामाङ सहभागी थिए । भूतपूर्व गोर्खाहरुले गोरा सैनिक सरह समान पेन्सन र अन्य सेवा सुविधा पाउनुपर्ने अडानसहित लामो समयदेखि आन्दोलन गरिरहेका छन् ।