
क्रोएसियाका प्रशिक्षकले मेस्सीको प्रशंसा गर्दै भने : मेस्सी संसारकै उत्कृष्ट खेलाडी भएको र क्रोएसियाविरूद्ध नसोचेको खेल खेले
प्रकाशित मिति । २८ मंसिर, २०७९ ।
काठमाडौ । क्रोएसियाका प्रशिक्षक जलाट्को डालिकले अर्जेन्टिनाका स्टार फरवार्ड लिओनल संसारकै उत्कृष्ट खेलाडी भएको र क्रोएसियाविरूद्ध डरलाग्दो खेल खेलेको बताएका छन्। तर, उनले फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने व्यक्तिगत अभियानमा रहेको मेस्सीलाई रोक्न सकेनन् ।
मेस्सीले मंगलबार पेनाल्टीमार्फत गोल गरी टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि जुलियन अल्भारेको दुई गोलका लागि जादुयी मुभ बनाए ।
तर, लुसेल रंगशालामा मेस्सी एकमात्र प्रतिष्ठित खेलाडी थिएनन् । निश्चित रुपमा थुप्रै मानिसहरुले क्रोएसियाका सर्वश्रेष्ठ मानिएका मोड्रिचलाई सर्वश्रेष्ठ मिडफिल्डरको स्थान दिएका छन् । उनी रियल मड्रिडलाई पाँचपल्ट च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिकामा थिए । उनले सन् २०१८ मा बालोन डी’ओर अवार्डसमेत जितेका थिए ।
कतारमा उनको प्रदर्शनबाट प्रमाणित हुन्छ कि गोलका लागि निर्णायक पास दिन उनी अझै पनि सक्षम छन् । उनी सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा आफ्नो देशका लागि अन्तिम हतियारका रुपमा राष्ट्रिय टिमबाट खेल्न सक्छन् । रियल मड्रिडले उनीबाट थप उपाधिको अपेक्षा पनि गर्न सक्छ ।
‘शायद यो हाम्रो एउटा पुस्ताका लागि अन्तिम विश्वकप हुनसक्छ । उनीहरुमध्ये केहि खेलाडी यस्ता उमेरका छन् जो सन् २०२६ को विश्वकप खेल्न असमर्थ हुनसक्छन् । हामी पर्ख र हेरको अवस्थामा हुनेछौं,’ प्रशिक्षक जलाट्को डालिकले भने, ‘मेरो विचारमा हाम्रा धेरैजसो खेलाडीको करिअर २०२४ को युरोपछि समाप्त हुनेछ ।
फ्रान्सलाई रोक्ला मोरक्कोले ?
दोहा — कतारमा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनल पुगेको पहिलो अफ्रिकी टिम मोरक्कोले फाइनलमा स्थान बनाउने होडमा बुधबार डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग अल बायत रंगशालामा प्रतिस्पर्धा गर्दै छ ।
एसियाले पहिलोपल्ट दुई दशकअघि विश्वकप आयोजना गर्दा दक्षिण कोरिया र टर्की अनपेक्षित रूपमा सेमिफाइनल पुगेका थिए । खाडी क्षेत्रमा पहिलोपल्ट विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना हुँदा मोरक्कोले त्यस्तै गरेको छ । उसलाई फाइनलसम्म पुग्ने अवसर छ । त्यसका लागि अहिलेसम्म सबैभन्दा राम्रो खेल पस्किरहेको फ्रान्सलाई पराजित गर्नु अनिवार्य छ ।
कतारी समाज र संस्कृतिमा मिल्दोजुल्दो भएकाले मोरक्कोलाई खाडीका स्थानीय दर्शकको साथ पनि छ । ‘हामीले केही शीर्ष टिमहरूलाई परािजत गरेका छौं । यो नकआउट खेल हो र यहाँ चाहना, प्रतिवद्धता र दर्शकको समर्थन छ भने जित्न सकिन्छ,’ मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले भने, ‘अब अगाडि बढेपछि धेरै कठिन खेल हुन्छ नै ।
हामी विश्वकै उत्कृष्ट खेलाडीहरूको विश्व विजेता टिमविरुद्ध खेल्दै छौं । निकै राम्रा प्रशिक्षक (डिडियर डेसच्याम्प) पनि छन् । सम्भवत् उनी विश्वकै सबैभन्दा उत्कृष्ट पनि हुन् । हामी उत्कृष्ट खेल्दै आश्चर्य देखाउन चाहन्छौं । जितका लागि भोकाएका छौं । हाम्रा लागि सेमिफाइनल नै पर्याफ्त होइन । अझै अगािड बढ्न चाहन्छौं । सपना पूरा गर्न नजिक पुगेका छौं र यसैमा केन्द्रित भएर मिहिनेत जारी राख्ने छौं ।’
मोरक्कोका सेन्टरब्याक नाएफ अगुर्ड र रोमेन साइस चोटका कारण खेल्नेमा शंका छ । त्यसैले उत्तर अफ्रिकी टिमलाई केलियन एमबाप्पेको गति, पेनाल्टी क्षेत्रमा खतरनाक ओलिभर जिरुड, प्लेमेकर एन्टोइन ग्रिजमनका सटिक पासलाई रोक्न सजिलो हुने छैन । मोरक्कोको टिम पनि युरोपेली लिगका खेलाडीले भरिएको छ । तर, व्यक्तिगत कौशलका आधारमा फ्रान्सेली टिमसँग मोरक्कोलाई दाँज्न मिल्दैन ।
एमबाप्पेले यो विश्वकपमा सर्वाधिक ५ गोल गरेका छन् भने फ्रान्सकै कीर्तिमानी जिरुडले ४ गोल गरेका छन् । प्रशिक्षक डेसच्याम्पले खेलाडीहरूले क्षमताअनुसार प्रदर्शन गरेमा फाइनल पुग्न गाह्रो नहुने बताएका छन् ।
‘लेस ब्लुज’ ६० वर्षयता उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने अभियानमा छ । ब्राजिलले सन् १९५८ मा च्याम्पियन भएपछि १९६२ मा उपाधि जोगाएको थियो । त्यसयता कुनै पनि टिमले उपाधि रक्षा गर्न सकेको छैन । च्याम्पियन भएको टिम अर्को संस्करणको सेमिफाइनल पुगेको पनि २४ वर्षयता यसैपालि हो, जुन काम फ्रान्सले गर्यो ।
एउटा टिमको रूपमा निकै राम्रो र संगठित खेल प्रदर्शन गरिरहेको ‘एटलस लायन्स’ पनि युरोप र दक्षिण अमेरिकाबाहिरको फाइनल खेल्ने पहिलो टिमको रूपमा इतिहास बनाउन चाहन्छ । फ्रान्सले मोरक्कोसँग विगतमा खेलेका ५ खेलमा हार बेहोरेको छैन । टोलीले तीन जित र दुई बराबरी नतिजा निकालेको छ । ती सबै खेल मैत्रीपूर्ण वा साना प्रतियोगिताका हुन् । पछिल्लोपल्ट सन् २००७ मा स्टाड डे फ्रान्समा भएको यी दुईको भेट २–२ मा टुंगिएको थियो ।
मोरक्को सन् १९८६ मा अन्तिम १६ मा पुगेयता पहिलोपल्ट नकआउटमा प्रवेश गरेको हो । यसबीचका चार संस्करणमा उसको चुनौती समूह चरणमै सकिएको थियो ।
फ्रान्सले विश्वकपमा छपल्ट सेमिफाइनल खेलिसकेको छ । सुरुका तीन सेमिफाइनल हारेको थियो । उसलाई १९५८ मा ब्राजिलले ५–२ र दुईपल्ट पश्चिम जर्मनीले ३–३ को बराबरीपछि टाइब्रकेरमा ५–४ (१९८२) र २–० (१९८६) मा हराएको थियो । तर, फ्रान्सले पछिल्ला तीन सेमिफाइनल जितेको छ । त्यसक्रममा उसले घरेलु भूमिमा क्रोएसियालाई २–१ (१९९८), पोर्चुगललाई १–० (२००६) र बेल्जियमलाई १–० (२००८) ले पराजित गरेको थियो ।
चार वर्षअघि उपविजेता क्रोएसियासँग गोलरहित खेल्दै २२ औं संस्करणको सुरुआत गरेको मोरक्कोले बलियो बेल्जियमलाई २–० र क्यानडालाई २–१ ले हराएर समूहमा शीर्षस्थानमा हासिल गरेको थियो । त्यसपछि मोरक्कोले युरोपेली महारथीहरू स्पेनलाई टाइब्रकेरमा ३–० र क्वाटरफाइनलमा पोर्चुगललाई १–० ले पन्छाएर इतिहास रच्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।
७ तथ्य
विश्वकपमा पछिल्ला ९ सहभागितामा फ्रान्सले छैटौंपल्ट सेमिफाइनलमा खेल्न लागेको हो ।
ब्राजिल (सन् १९९८) पछि विश्वकपको अन्तिम चारमा पुगेको पहिलो डिफेन्डिङ च्याम्पियन फ्रान्स नै हो ।
फ्रान्सले विश्वकपको नकआउट चरणमा पछिल्ला १७ खेलमध्ये १५ खेल (पेनाल्टी सुटआउटसहित) जितेको छ ।
फ्रान्सले विश्वकपको नकआउट चरणमा पछिल्ला ६ खेलमा शतप्रतिशत जित हासिल गरेको छ ।
मोरक्को युरोप वा दक्षिण अमेरिकाबाहिरबाट विश्वकपको सेमिफाइनल पुग्ने तेस्रो टिम हो । यसअघि अमेरिका (सन् १९३०) र दक्षिण कोरिया (२००२) ले अन्तिम चारको यात्रा गरेका थिए ।
मोरक्को विश्वकपको सेमिफाइनलमा खेल्ने २५ औं देश हुँदै छ । कतार संस्करणमा सेमिफाइनल पुग्ने चार टिममध्ये नयाँ टिम मोरक्को मात्रै हो ।
मोरक्को विश्वकपमा पछिल्ला ६ खेलमा अपराजित छ । त्यसमा उसले तीन जित र तीन बराबरी खेलेको छ । विश्वकपमा यो नै उसको सबैभन्दा राम्रो अपराजित यात्रा हो ।