शुक्रबार १० चैत्र २०७९


बिहे गर्न वर वा वधू चाहियो ? आयो ‘पञ्चेबाजा’ एप

प्रकाशित मिति । २८ मंसिर, २०७९ ।

२८ मंसिर, काठमाडौं । बिवाहका लागि तपाई केटा वा केटीको खोजीमा हुनुहुन्छ ? तपाईले खोजे जस्तो वर वा वधू नपाएर हैरानी पाइरहनु भएको छ ? यदि यसो हो भने अब तपाईले तनाब लिनु पर्ने छैन ।

घरमै बसीबसी पनि उपयुक्त वर वा वधू खोज्न सक्नुहुनेछ । हाफफूल टेक्नोलोजीले बिवाहका लागि केटा वा केटी खोज्न सहयोग होस भन्ने हेतुले ‘पञ्चेबाजा’ एप ल्याएको छ । यस एपबाट तपाईले आफ्ना छोराछोरी वा अन्य कोही आफन्तका लागि कस्तो वर वा वधू खोज्न चाहानु भएको सोहीअनुसार खोज्न सक्नुहुनेछ ।

यदि तपाई आफैंपनि केटा वा केटीको खोजीमा हुनुहुन्छ भने यो एपकै माध्यमबाट खोज्न सक्नुहुनेछ । विश्वमा यस प्रकारका धेरै एपहरु प्रयोग हुने गरेका छन् । नेपालमा पनि केहि अमेरिकन डेटिङ एप टिन्डर, भारतीय एप साथी लगायतका एपहरु प्रयोग हुने गरेका छन् ।

तर यि एपहरु भन्दा पनि थप परिस्कृत र उपयोगी एप हाफफूलले ल्याएको हो । गत दशैंअघि औपचारिक रुपमा सार्वजनिक गरिएको यस एपबाट भने डेटिङमात्रै होइन, जीवन साथी नै खोज्न सकिने छ । आफूले चाहेजस्तो वर वा वधू खोज्न सहज बनाउने उद्देश्यले नै एप ल्याइएको कम्पनीका संस्थापक/सञ्चालक सन्दिप पौड्याल बताउँछन् ।

यो एपले बिवाह गर्न केटालाई केटी र केटीलाई केटा खोजिदिन भूमिका खेल्नेछ । नेपाली सामान्य अर्थमा भन्नुपर्दा यसले लमीको काम गरिदिने सञ्चालक पौड्याल बताउँछन् । ‘अहिले ३ किसिमको विहे हुन्छ, एउटा मागी विवाह (एरेञ्ज), अर्को लभ म्यारिज र फेसबुक म्यारिज’ उनी भन्छन्, ‘फेसबुकबाटै चिनजान भएर बिवाह हुन थालिसक्यो, यो त फेसबुक भन्दा धेरै उपयोगी हुन्छ ।’

फेसबुकमा आफूलाई यस्तो मान्छे चाहियो भनेर खोज्न नसकिने तर यसबाट भने सकिने उनले बताए । अर्कोतर्फ फेसबुकमा नक्कली खाता बनाएर झुक्काउने कामहरु पनि हुन्छन् । तर यहाँ भने फेक अकाउन्ट बनाएर झुक्याउने सम्भावना कम रहेको पौड्याल बताउँछन् ।

कसरी प्रयोग गर्ने ?

यो एप एन्ड्रोइड मोवाइल र आइफोन दुबैमा उपलब्ध रहेको छ । प्लेस्टोर वा एप स्टोरमा गएर ‘पञ्चेबाजा’ एप डाउनलोड गरिसकेपछि तपाईले आफ्नो पोफाइल बनाउन सक्नु हुनेछ ।

तस्वीरसहितको प्रोफाइल बनाएपछि तपाईले चाहेको पार्टनर जुन समुदायको, कति शैक्षिक योग्यता भएको र जागिरे वा विदेशको पीआर भएको कस्तो चाहानुहुन्छ त्यो सूचनाहरु पनि उल्लेख गर्नुपर्नेछ ।

फेक प्रोफाइल नबोस भनेर अरु फोटो पछि सेल्फी फोटो पनि एपले अपलोड गर्नुस् भन्नेछ । सेल्फी र अन्य फोटो मिलेन भने एपले ‘रातो’ संकेत गर्नेछ । जसलाई शंस्कास्पद मान्न सकिनेछ । सेल्फी’ र अन्य तस्वीरहरु मिलेकेा अवस्थामा भने यो फेक होइन भनेर ‘हरियो’ चिन्ह देखिनेछ । झुक्याउनका लागि प्रोफाइल बनाउनबाट यसले रोक्नछ । भविष्यमा अझ धेरै सुरक्षा सतर्कता बनाउने कम्पनीको तयारीछ ।

प्रोफाइल बनिसकेपछि तपाईंले चाहेको सम्भावित को-को हुनुहुन्छ, उनीहरुलाई देखाउनेछ । मानौं, तपाइर्ंले काठमाडौं बस्ने इन्जिनियर चाहिएको छ भने सोही अनुसारको विवरण भर्नु पर्नेछ ।

त्यसपछि त्यहाँ भएका काठमाडौं बस्ने सबै इन्जिनियर देखाउनेछ । तपाईले चोहेको र उसले चाहेको कत्तिको मिल्यो भन्ने पनि देखाउँछ । त्यो हेरेर केहि आफू कम्परमाइज पनि गर्न सकिन्छ । कुन क्षेत्रमा रहेकेा मान्छे चाहियो त्यो राखेपछि त्यहीँ क्षेत्रको मान्छेमात्रै तपाईका लागि देखाउँछ । केटी खोजेको हो भने केटीमात्रै र केटा खोजेको हो भने केटामात्रै देखाउँछ ।

अहिले एपमा मात्रै रहेको र केहि महिनाभित्रै यसलाई वेवमा पनि उपलब्ध गराउने कम्पनीको तयारी छ । पछिल्लो समय प्रविधिको प्रयोग बढ्दै गएको छ । इन्टरनेटको पहुँच पनि गाउँगाउँमा पुगिसकेकाले यो यो एप नेपालीहरु माझ लोकप्रीय हुन सक्ने कम्पनीको अनुमान छ ।

डाउनलोडका लागि

गुगल प्ले: https://bit.ly/3kffe1Z

एपल स्टोर: https://apple.co/35iSBUl

पुनर्निर्माण ढिलाइले घटे विद्यार्थी

भूकम्पअघि १४ हजारभन्दा बढी विद्यार्थी हुने त्रिचन्द्र क्याम्पसमा अहिले करिब १० हजार मात्रै

काठमाडौँ — त्रिविको ६२ आंगिकमध्ये ललितकला विषयको पढाइ काठमाडौंको ललितकला क्याम्पसमा मात्र हुन्छ । क्याम्पसको वेबसाइटमा ठेगाना भोटाहिटी, काठमाडौं उल्लेख छ । तर, भोटाहिटीमा पठनपाठन बन्द भएको सात वर्ष भयो । २०७२ को भूकम्पले क्याम्पस ध्वस्त भएपछि साविक ठाउँमा नयाँ भवन बनिरहेको छ । संरचना निर्माण नसकिँदा ललितकला पढ्ने आकांक्षा राखेका विद्यार्थी निराश छन् ।

ओखलढुंगाबाट ललितकला विषयमा स्नातक पढ्न आएकी गौरिशा राई त्यस्तै एक पात्र हुन् । ‘क्याम्पसको वेबसाइट हेरेर बीएफए (ब्याचलर अफ फाइन आर्टस्) को फाराम भर्न भोटाहिटी पुग्यौं, तर त्यहाँ बन्दै गरेको भवनमात्र पायौं,’ उनले भनिन्, ‘सोधीखोजी गर्दा कीर्तिपुरमा छ भन्ने थाहा भयो ।’ ललितकला क्याम्पसले बीएफएको नयाँ भर्नाका निम्ति प्रवेश परीक्षा फाराम खुलाएको थियो । फाराम भर्ने म्याद मंसिर २५ सम्म भएकाले कतिपय विद्यार्थी छुटेका छन् ।

भूकम्पपछि ललितकला क्याम्पस कीर्तिपुरस्थित त्रिवि हातामा सारिएको छ । क्याम्पस प्रमुख रमेश पोखरेल कीर्तिपुरमै पनि दर्जनभन्दा बढी ठाउँमा सर्नुपरेको बताउँछन् । ‘भोटाहिटीबाट कीर्तिपुर आएपछि टहरा, खेलकुद हल, सेडा हल, गान्धी भवन हुँदै महिला छात्रावास भवनसम्म सर्दासर्दै हैरान भएका छौं, ठाउँको टुंगो नहुँदा बीएफए कक्षा सञ्चालनमा अवरोध भयो,’ उनले भने ।

त्रिवि कार्यकारी परिषद्देखि मन्त्रिपरिषद्सम्म धाएर सरकारको लगानीमा भवन निर्माण भइरहेको उनले जनाए । भोटाहिटीस्थित साविक १ रोपनी १२ आना त्रिविको जग्गामा २०७४/७५ बाट क्याम्पस भवन निर्माण थालिएको हो । चारवर्षे बीएफएमा अहिले ६ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

यस्तै, १०५ वर्ष पुरानो त्रिचन्द्र बहुमुखी क्याम्पस घण्टाघर भवन ध्वस्त भएपछि विद्यार्थीको चाप घटेको छ । भवन जीर्ण भएपछि रानीपोखरीतर्फका पुराना भवन संरचनाका एउटै कक्षमा दुई–तीन वटा विभाग खाँदेर राखेको क्याम्पस प्रमुख सुनील अधिकारी बताउँछन् । ‘भवन संरचनाको अभावमा विभिन्न विभागीय कार्यालय एउटै कोठामा खाँदेर राख्ने गरेका छौं,’ उनले भने, ‘कक्षाकोठाको अभावमा चाहे जति विद्यार्थी भर्ना गर्न पाएका छैनौं ।

जति भर्ना लिन्छौं एउटै कोठामा आलोपालो गरी पढाउने गरेका छौं ।’ भूकम्पअघि १४ हजारभन्दा बढी विद्यार्थी हुन्थे भने अहिले करिब दस हजार मात्रै छन् । क्याम्पस प्रमुख अधिकारीले भारतीय एक्जिम बैंकको सहयोगमा क्याम्पस भवन रेट्रोफिटको सम्झौता भएको बताए । ‘४० करोड रुपैयाँको टेन्डर सम्झौता भएको छ, घण्टाघर टावरसहित रेट्रोफिटिङ र पुनर्निर्माणको सम्झौता भर्खर भएको छ,’ उनले भने ।

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको अवस्था पनि उस्तै छ । यहाँ व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर तहको पठनपाठन हुन्छ । क्याम्पस रहेको भवन मीनशमशेरको सय वर्षभन्दा पुरानो दरबार हो । यो भवन भूकम्पपछि प्रयोगमा छैन । एक्जिम बैंकको सहयोगमा रेट्रोफिट नभई पुनर्निर्माण गर्न नक्सा पास भएको सहायक क्याम्पस प्रमुख पुष्पराज ओझाले बताए ।

त्यसका निम्ति करिब ९७ करोड लागत स्टिमेट भएको छ । क्याम्पसले आफ्नो लगानीमा एउटा भवन निर्माण गरी पठनपाठन सञ्चालन गरेको हो । ‘भवन संरचनाको अभावमा धेरै कार्यक्रम एकै ठाउँ गर्नुपर्ने अवस्था छ,’ सहायक क्याम्पस प्रमुख ओझाले भने, ‘ठाउँ साँघुरो भएकैले विद्यार्थी भर्ना संख्या घट्दो छ । संरचना चाँडो बनेको भए सजिलो हुने थियो ।’

त्रिविका यी तीन आंगिक क्याम्पस उदाहरण मात्र हुन् । उपत्यका र बाहिरका गरी दर्जनौं आंगिक क्याम्पस भवन भूकम्पपछि पुनर्निर्माण हुन सकेका छैनन् । रजिस्ट्रार पेशल दाहालले भारतको एक्जिम बैंकसँग त्रिविका ३८ वटा भवन संरचना निर्माण सम्झौता भएको छ । ‘भूकम्प गएपछि सरकारको पहल भएर पनि एक्जिम बैंकसित ज्यादै ढिलो सम्झौता प्रक्रिया अघि बढ्यो,’ उनले कान्तिपुरसँग भने, ‘अहिले डाइरेक्ट पुनर्निर्माण हुने क्याम्पससँगै सम्झौता गरेर निर्माण प्रक्रिया अघि बढाउने नीति छ । केही क्याम्पससँग डीपीआरसहित सम्झौता भएको छ ।’

सन् २०१६ मा एक्जिम बैंकले १६ अर्ब रुपैयाँ लागतमा त्रिविका विभिन्न संरचना निर्माण गर्ने सम्झौता गरेको हो । त्यसमा त्रिवि प्रेस र दोलखाको जिरी प्राविधिक शिक्षालयसमेत रहेका छन् । शिक्षा मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना निर्देशक डिल्लाराम लुइँटेलका अनुसार संरचना निर्माणका लागि नक्सा र स्टिमेटमाथि दुई–तीन चरणमा छलफल भएको छ ।

‘निर्धारित संरचना निर्माणका निम्ति प्रायः सबैको नक्सा बनिसकेको छ, पुनर्निर्माण प्राधिकरण खारेज भएपछि केन्द्रीय आयोजनाले समन्वय गर्दै आएको हो,’ उनले भने, ‘अबको दुई महिनाभित्र सबैको नक्सा र स्टिमेट फाइनल हुनेछ ।’ सम्झौताअनुसार १६ अर्ब रुपैयाँ लागतले नपुग्ने उनी बताउँछन् । ‘सन् २०१६ देखि २०२२ सम्म आइपुग्दा भर्खर नक्सा बन्दै छ,’ आयोजना निर्देशक लुइँटेलले भने, ‘स्टिमेट भएपछि बढ्ने रकम एक्जिम बैंकले स्वीकृत गरेपछि मात्र निर्माण प्रक्रिया अघि बढ्छ । तर रकम अपुग हुने देखिन्छ ।’

केन्द्रीय आयोजनाले नक्सा र लागत स्टिमेट फाइनल गरेपछि आयोजनाले शिक्षा मन्त्रालयमा पेस गर्छ । शिक्षाले अर्थ मन्त्रालय पठाउँछ । अर्थले नेपालस्थित भारतीय दूतावास र दूतावासले एक्जिम बैंकमा पेस गर्छ । उक्त बैंकले बजेट लागत स्वीकृत गरेपछि दूतावासमार्फत अर्थ मन्त्रालय हुँदै शिक्षा मन्त्रालय र त्यसपछि मात्र केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा रकम आइपुग्छ । ‘सम्झौता प्रक्रिया ज्यादै लम्बेतान भएकाले त्रिविका नयाँ संरचना निर्माणका निम्ति अझै केही वर्ष लाग्ने देखिन्छ,’ आयोजना निर्देशक लुइँटेलले भने ।


Last Updated on: December 14th, 2022 at 9:14 am


तपाईको प्रतिक्रिया