बुधबार १५ चैत्र २०७९


कतारका शाही परिवार र धनाढ्यहरूकहाँ काम गर्ने महिलाको जीवन यस्तो छ

प्रकाशित मिति । २५ मंसिर, २०७९ ।

कतारमा घरेलु कामदारका रूपमा कार्यरत महिलाहरूले त्यहाँका कानुनी प्रावधानहरू परिवर्तन भएको भए पनि बिना छुट्टी प्रत्येक दिन तोकिए भन्दा अतिरिक्त समय काम गरिरहेका छन्।
दोहामा विश्वकप प्रतियोगिता हुँदै गर्दा कतारको मानवअधिकारको अवस्थाबारे अनेक कुराकानी भइरहेको छ।

कतारमा रङ्गशाला अनि होटेल निर्माणमा खटिएका आप्रवासी कामदारहरूको अवस्थाबारे धेरै लेखिएको छ, तर कतारका शासक वर्गका लागि काम गर्ने घरेलु कामदारहरूको अवस्था के छ त? बीबीसीकी लैङ्गिक तथा पहिचान मामिला सम्वाददाता मेघा मोहनले बिना छुट्टी लामो समयसम्म काम गर्न बाध्य दुई जना घरेलु कामदारसँग कुरा गरेकी छन्।

अबेर रातमा कतारका सम्भ्रान्त वर्गमा पर्ने रोजगारदाता सुत्न गएपछि मैले ग्लेडिजलाई (नाम परिवर्तन गरिएको) सम्पर्क गरेँ। छोटो अनलाइन संवादका क्रममा उनले आफूले बिहान ८ बजेदेखि साँझको ११ बजेसम्म काम गर्ने गरेको बताइन्। उनले सरसफाइको काम, खाना बनाउन सहयोग अनि बालबालिकाको रेखदेख गर्छिन्।

परिवारका सबैले खाना खाएपछि बचेको खाना आफूले खाने गरेको अनि १८ महिना अघि काम सुरु गरेयता एक दिन पनि छुट्टी नपाएको उनले बताइन्। “म्याडम रिसाहा हुनुहुन्छ,” ४० वर्ष आसपासकी फिलिपिन्सकी महिला ग्लेडिजले आफ्ना रोजगारदाताबारे भनिन्। “उहाँ हरेक दिन मलाई चिच्याएर काम लगाउनुहुन्छ।”

सन् २०२२को विश्वकप आयोजना गर्ने अधिकार प्राप्त गर्नु अघिसम्म कतारमा विदेशी कामदारहरूले आफ्नो काम परिवर्तन गर्न र रोजगारदाताको अनुमति बिना देश छोड्न पाउँदैनथे। धेरै खाडी राष्ट्रहरूमा अझै यस्तो व्यवस्था छ।

अहिले छानबिनमा रहेको कतारले सुधारका पहल गर्न थालेको छ तर ती सब सधैँ व्यवहारिक रूपमा कार्यान्वयन भने हुँदैनन्। ग्लेडिजका श्रमदाताले उनको राहदानी राखेका छन् जुन यसको एक प्रमाण हो। काम फेर्नका लागि फिर्ता मागे राहदानी प्राप्त गर्ने कुरामा उनी विश्वस्त छैनन्।

तर ग्लेडिज आफूलाई भाग्यमानी नै मान्छिन्। अन्य विदेशी घरेलु कामदार साथीहरू भन्दा फरक उनलाई आफ्नो फोन साथमा राख्न दिइएको उनी बताउँछिन्। साथै, उनी शारीरिक दुर्व्यवहारमा परेकी छैनन्। कतारमा घरेलु कामदारहरू माथि अक्सर त्यस्तो हुने गरेको उनी बताउँछिन्।

उनले अहिलेकै काम गर्न चाहनुको अर्को कारण पनि छ – यो उमेरमा थप आकर्षक रोजगारी प्राप्त गर्ने सम्भावना निकै कम रहेको उनी ठान्छिन्। मासिक रूपमा उनी १,५०० रियाल (५३,००० नेपाली रुपैयाँ भन्दा केही बढी) कमाउँछिन् र त्यो सबै घर परिवारलाई पठाउँछिन्।

घरेलु कामदारहरूको अधिकार

सन् २०२१मा कतारको प्लानीङ्ग एन्ड स्टयाटीस्टीक्स अथोरीटीले तयार पारेको तथ्याङ्क अनुसार कतारमा १६०,००० को हाराहारीमा घरेलु कामदार छन्

सन् २०१७मा कतारले घरेलु श्रमिकहरूसँग सम्बन्धित कानुन ल्यायो जसले सैद्धान्तिक रूपमा काम गर्ने समय दिनको १० घण्टामा सीमित गर्‍यो। उक्त कानुनी व्यवस्थाले हप्तामा एक दिन छुट्टी अनि पारिश्रमिक पाउने गरी छुट्टीको व्यवस्था गरेको छ

सन् २०२०मा न्यूनतम पारिश्रमिकको व्यवस्था गरियो र कामदारहरूलाई आफ्नो रोजगारी परिवर्तन वा अनुमति बिनै देश छाड्न पाउने व्यवस्था ल्याइयो

तर मानव अधिकारबादी संस्था एमनेस्टी इन्टरन्याशनलका अनुसार यी कानुन सधैँ पालना गरिँदैनन् र अत्यन्त धेरै काम, आरामको कमी, दूर्वयवाहार अनि अमानवीय व्यवहार कायम नै छन्

विदेशमा कार्यरत फिलिपिन्सका नागरिकहरूलाई सहयोग गरिरहेको संस्था माइग्रान्ट इन्टरन्याशनलकी जोअन्ना कोन्सेपसीअन परिवारका लागि कमाउनु पर्ने बाध्यताका कारण कैयौँ कामको खराब अवस्थाबारे चुप लागेर बस्न बाध्य रहेकी बताँउछिन्।

तर जब खाडी राज्यहरूमा उनीहरू स्वतन्त्र रूपमा कुरा गर्न पर्याप्त आत्मविश्वास बटुल्छन्, उनी भन्छिन्, उनीहरूले अक्सर गम्भीर दुर्व्यवहारबारे उल्लेख गर्छन्। एक जना महिलाले रिसाएका बेला उनका रोजगारदाताले ट्वाइलेटको बेसिनमा टाउको हालिदिने अनि खाना र पानी पनि नदिने गरेको बताइन्।

maid collage illustration

एल्थीया (नाम परिवर्तन गरिएको)ले कतारमा घरेलु कामदारका रूपमा आफ्नो जीवन फरक रूपमा चित्रण गरेकी छन्।

अल थानी शाही परिवारको घरमा काम गर्ने उनले भूमिगत तलामा पुगेर बीबीसीलाई भिडिओ कल गरिन्। हँसिली अनि उत्साहित देखिने उनले मालिक्नीले आफूलाई आईफोन र फिलिपिन्समा उनले खरिद गर्न नसक्ने लुगा, गहना अनि जुत्ता दिएको बताइन्।

ग्लेडीज जस्तै आफ्नो घरमा खान-लाउन गाह्रो भएका कारण उनी पनि कामका लागि कतार आएकी हुन्। हामीले कुरा गर्दै गर्दा एल्थीयासँगै बस्ने फिलिपिन्सका अरू घरेलु कामदारहरू पनि फोनमा जोडिए।

उनीहरूको आफ्नै सुत्ने कोठा अनि भान्सा छ। यो महत्त्वपूर्ण कुरा हो। एल्थीयाले टिकटक र फेसबुकमा अन्य घरेलु श्रमिकहरूले खानाका लागि भीख मागिरहेको, आफूलाई उद्धार गर्न अनुरोध गरिरहेको देखेकी छन्। उनीहरू एल्थीया जस्तो भाग्यमानी छैनन्।

”म त्यस्ता भिडिओ अनलाइन देखिरहेकी हुन्छु जसकारण आफू निकै भाग्यमानी रहेको महसुस गर्छु,” उनले थपिन्।

”मलाई प्रत्येक दिन काल्पनिक कथा जस्तै महसुस हुन्छ।”

उनको दैनिकी प्राय जसो बिहानको ६:३० बजे सुरु हुन्छ। पहिलो काम परिवारका सदस्यहरूको नास्ता तयार गर्नु हुन्छ। उनीहरूले नास्ता खाए पछि एल्थीयाको पालो आउँछ। त्यसपछि सरसफाइ सुरु हुन्छ र पुनः बिहानीको खानाको तयारी गरिन्छ।

”यो सजिलो काम हो किनभने हामी धेरै जना छौँ,” उनले भनिन्।

घरेलु कामदारहरूले आफ्नै फ्ल्याटमा ३ देखि ६ बजेसम्म आराम गर्न पाउँछन्। त्यसपछि रातिको खानपानको प्रबन्ध सुरु हुन्छ। खाना खुवाएपछि एल्थीयाको त्यस दिनको काम सकिन्छ र उनले चाहेको अवस्थामा घर बाहिर निस्कन पाउँछिन्।

त्यस्ता कामदार भर्ना गर्ने कम्पनीकी एक महिला मेरी ग्रेस मोराल्स

तस्बिरको क्याप्शन, मेरी ग्रेस मोराल्स: कतारी शाही कामदारहरू ऊर्जावान र सुन्दरी हुनुपर्छ

शाही परिवारले उनको राहदानी राखेको छैन। तर एल्थीयाले सातै दिन काम गर्छिन्। रोजगारदाताले दिन चाहेको अवस्थामा बाहेक कतारको कानुनले सुनिश्चित गरेको बिदा उनले पाएकी छैनन्। यो उनको परिवारका लागि महत्त्वपूर्ण आर्थिक सहायताका लागि उनले चुकाएको मूल्य हो।

खाडी राष्ट्रका भीआइपीहरूकहाँ फिलिपिन्सका कामदारहरू पठाउने मनिलास्थित मेरी ग्रेस मोराल्स दरबारमा काम गर्न पाउनु ”लोभलाग्दो” अवसर रहेको बताउँछिन्।

“यसका धेरै फाइदा छन्। परिवार उदार छ,” उनी भन्छिन्। र, घरमा कामदारहरूले सामना गर्नु पर्ने कठिनाइहरू झल्काउने टिप्पणीबारे उनी थप्छिन्: ”उनीहरू (केटीहरू) दरबारमा पुगेपछि मोटाउँछन्। उनीहरूलाई राम्रोसँग खुवाइन्छ।”तर शाही परिवारका केही विशेष आवश्यकताहरू रहने उनले खुलाइन्।

”कतारी शाही परिवारका लागि काम गर्न पठाइएका महिलाहरू २४ देखि ३५ वर्षका छन् र निकै सुन्दर छन्,” मोराल्सले भनिन्।

व्यस्त दिनचर्या सम्हाल्नका लागि कतारको शाही परिवारलाई अत्यन्तै फुर्तिला अनि स्वस्थ व्यक्तिहरूको आवश्यकता रहने हुँदा उनीहरूको उमेर कम रहन आवश्यक रहेको उनी बताउँछिन्। “र आवेदकहरू सुन्दर हुनुपर्छ – धेरै सुन्दर,” उनी दोहोर्‍याउँछिन्।

तर माइग्रान्ट इन्टरन्याशनलकी जोअन्ना कोन्सेपसीअनलाई एल्थीयाको कथामाथि सन्देह छ।

कतारमै रहेर त्यति शक्तिशाली परिवारसँग काम गर्दै गर्दा वास्तविकता के हो थाहा पाउने सम्भावना कम हुने उनको बुझाइ छ।

शाही परिवारका लागि काम गरेका केहीले देश छाडेपछि गुनासो गरेका छन्। सन् २०१९मा तीन जना ब्रिटिश अनि अमेरिकी श्रमिकहरूले (अङ्गरक्षक, निजी प्रशिक्षक अनि शिक्षक) अमिरकी बहिनी र उनका श्रीमानमाथि थप पारिश्रमिक बिनै अतिरिक्त समय काम गर्न लगाइएको आरोप लगाउँदै मुद्दा दायर गरेका थिए।

तर उक्त परिवारले आरोपहरू अस्वीकार गर्‍यो र न्यूयोर्कमा कागजात पेस गरिएकाले कूटनीतिक उन्मुक्तिको दाबी गर्‍यो।

आईएलओले “चुनौती” रहेको भए पनि न्यूनतम पारिश्रमिक, हप्ताको एक दिन बिदा, बिरामी बिदा र अतिरिक्त समय काम गरे बापत भत्ता सुनिश्चित गर्ने नयाँ नियमहरू लागू गर्न कतारसँग काम गरिरहेको बताएको छ। शाही दरबारमा रहेकी एल्थीया लामो समय काम गर्नुपरेको भए पनि आफू खुसी रहेको बताउँछिन्।

सुत्ने बेला उनी आफ्ना परिवार सदस्यमध्ये कसैलाई म्यासेज गर्छिन्। बेला बेला उनलाई न्यास्रो लाग्छ। कथामा सुनेको जस्तो काल्पनिक दरबार आखिर उनको घर होइन।

तर यो काम उनका लागि अत्यन्तै महत्त्वपूर्ण आम्दानीको स्रोत हो। ”यो काम बिना म मेरो परिवारलाई कहिल्यै सहयोग गर्न सक्दिन थिएँ,” उनले थपिन्।

बीबीसीले कतारको शाही परिवार अनि लन्डनस्थित कतारको दूतावाससँग प्रतिक्रिया मागेको थियो जसको जवाफ भने प्राप्त हुन सकेन।

चित्रहरू मार्टा क्लवे रजेसी

नेपालले आफूलाई सन्तुलित बनाउन सक्नुपर्छ : नेदरल्यान्ड्स

‘नेपाल भारत र चीन जस्ता दुई ठूला मुलुकहरूको बीचमा छ । नेपालले सन्तुलित रुपमा आफूलाई लैजान सक्नुपर्छ’

काठमाडौँ — नेपालका लागि नेदरल्यान्ड्सका गैरआवासीय राजदूत मार्टेन भान डेन बर्गले श्रीलंकाले हम्बनटोटा बन्दरगाह निर्माण गर्दा लिएको ऋण समयमै चीनलाई तिर्न नसक्दा चिनियाँलाई नै उक्त बन्दरगाह लिजमा दिनु परेको र त्यसले मुलुकको सार्वभौमिकतामा असर परेको बताएका छन् ।

‘चीनलाई ऋण तिर्न नसकेपछि श्रीलंकाले आफ्नो बन्दरगाह ९९ वर्षको लागि लिजमा दिनुपर्‍यो । जसले गर्दा श्रीलंकाको सार्वभौमिकतामा असर पनि परेको छ,’ राजदूत डेन बर्गले भने ।

उनले मंगलबार इस्टिच्युट फर इन्ट्रिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले आयोजना गरेको ‘भूमण्डलीकरण, भूराजनीति र विकासशील देशहरू : चुनौती र अबको बाटो’ शीर्षकको छलफल कार्यक्रममा आफ्नो विचार प्रस्तुत गरेका थिए ।

उनले विश्वव्यापी आर्थिक बजारमा देशहरूले स्वतन्त्र रुपमा निर्णय लिन गाह्रो पर्ने पनि बताए । उनी नेपाल र भुटानका लागि गैरआवासीय तथा भारतका लागि आवासीय राजदूत हुन् ।

उनले सन् २००८ मा अमेरिकामा भएको आर्थिक बन्दीपछि यूरोप हुदै विश्वभर फैलिएको बताए । राजदूत डेन बर्गले नेपालले औद्योगिक उत्पादन क्षेत्रमा भन्दा पनि सेवा क्षेत्रमा आफूलाई अघि बढाउनु पर्ने सल्लाह दिए । ‘नेपालमा समुद्रिक बन्दरगाह छैनन्, जसले गर्दा प्रतिस्पर्धात्मक विश्वमा यहाँ उत्पादन भएका वस्तुहरू अन्य मुलुकहरूमा उत्पादन भएको तुलनामा सुपथ मूल्यमा नमिल्न सक्छ,’ उनले भने ।

राजदूत डेन बर्गले आफ्नो मुलुक नेदरल्यान्ड्स र नेपाल जस्ता मुलुकहरूको लागि बहुपक्षीय संस्थाहरू आवश्यक रहेको बताए । ‘नेपाल भारत र चीन जस्ता दुई ठूला मुलुकहरूको बीचमा छ । नेपालले सन्तुलित रुपमा आफूलाई लैजान सक्नुपर्छ,’ उनले भने ।


Last Updated on: December 13th, 2022 at 9:01 pm


तपाईको प्रतिक्रिया