
यस्ता छन् काठमाडौं उपत्यकाकी ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीका योजना
प्रकाशित मिति । २६ मंसिर, २०७९ ।
काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) मीरा चौधरीले महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंको प्रमुखका रूपमा कमान्ड सम्हाले दुई साता पुग्दै छ । उनले उपत्यकाको ट्राफिक जाम कम गर्न आफूले सक्दो प्रयास गर्ने बताएकी छन् ।
ट्राफिक जाम कम गर्न आफूले व्यवस्थित पार्किङस्थलमा जोड दिएको उनको भनाइ छ । “उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थलको समस्या समाधान हुनुपर्छ । यसका लागि काठमाडौंका मेयरसँग सल्लाह हुँदै छ,” उनले भनिन् ।
डीआईजी चौधरीले सार्वजनिक सवारीको भाडादर अनुगमन, यात्रु सहायता, बसपार्कजस्ता समस्या समाधानका लागि यातायात व्यवसायीसँग निरन्तर छलफल जारी रहेको बताइन् ।
“सार्वजनिक यातायात क्षेत्रमा यात्रुहरू ठगिने, दुर्व्यवहार हुनेजस्ता समस्याहरू समाधान गर्न सकिन्छ । विभिन्न निकायको समन्वयमा काम गर्दै जाने हो,” उनले भनिन् । उपत्यका ट्राफिक महाशाखाले ट्राफिक डीआईजी पाएको धेरै पछि हो ।
पार्किङ व्यवस्थापन, फुटपाथ व्यवस्थापन, सडकमा लेन अनुशासन, हर्न निषेधलाई थप कडाइ र सीसीटीभी निगरानी गर्ने चौधरीका योजना छ । “म आएको आज ९ दिन भयो । यो समयावधि सरोकारवाला निकायसँगको छलफलमै बितेको छ,” उनले भनिन्, “ट्राफिक लाइट, सीसीटीभी, ट्राफिक सहायता कक्ष, लेन सुधार, पार्किङ व्यवस्थापन, प्रविधिमैत्री ट्राफिक व्यवस्थापन जस्ता समस्याहरू समाधान गर्ने योजना छन् ।”
डीआईजी चौधरीले उपत्यकाका कतिपय सडकमा ‘वान वे’ गर्दा सवारी जाम कम हुने बताएकी छन् । ट्राफिक अधिकारीहरूले विदेशमा अन्डरपास र फ्लाइओभरको व्यवस्थाले जाम कम गरेको बताएका छन् ।
महाशाखाले ट्राफिकको व्यवहार सुधारका लागि दैनिक ४० जना ट्राफिक प्रहरीलाई आचरण व्यवहार र अनुशासन सिकाइरहेको छ । महाशाखाले एक वर्षको समयावधिमा रातो बत्ती, लेन, मापसे, पैदलयात्रु, चालक सहचालक, बस, ट्याक्सी, सर्वसाधारण गरी एकलाख ८० हजार ३३७ जनालाई सचेतना कक्षा दिएको छ ।
मेट्रोबाट प्राप्त भएका सीसीटीभी फुटेजका आधारमा एकहजार २०३ र मेट्रो सीसीटीभीबाट फिल्डमा सातहजार ४५३ जनालाई कारबाही गरिएको छ । भाडामा ठगी तथा अनियमितताविरुद्ध चेकजाँचका क्रममा १० हजार २९५ सवारी साधनलाई कारबाही गरिएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले बताए ।
ट्राफिक सचेतनालगायत कार्यक्रम गर्नका लागि विभिन्न १५ वटा निकायसँग समन्वय भइरहेको महाशाखाले जनाएको छ । डीआईजी चौधरीले हराएर भेटाइएका र कारवाहीमा परेका गरी कुल २००० सवारी साधन महाशाखामा रहेको र धनीले लिन आउन पनि आग्रह गरिन् ।
क्याम्पाचौरमा ‘तालको पानी माछीले खानी’
चितवन — लोक पप/रक शैलीका गीतहरु पस्केर दर्शक स्रोतालाई छमछमी नचाउने देशको चिरपरिचित सांगितिक समूह हो ‘नेपथ्य ब्यान्ड’ । ‘नेपथ्य’ ले आइतबार साँझ चितवन नारायणगढको क्याम्पाचौरमा कार्यक्रम सम्पन्न गरेको छ ।
दशकौं पुराना गीतहरु सुनाए पनि सबै उमेर समूहका दर्शक/स्रोताले नेपथ्यका प्रस्तुतिहरु रुचाउने गरेका छन् । त्यसैले मंसिरको चिसो साँझमा पनि क्याम्चौरको महोल निकै तातेको थियो ।
‘तालको पानी माछीले खाने, पिरीम सित, जाने कि नजाने’ मञ्चमा ‘नेपथ्य’का अमृत गुरुङ जब यो गीत गाउँदै फनफनी नाच्न थाले क्याम्पाचौर ढाकेर बसेका दर्शकहरुले पनि माछा सल्बलाएझैं गुरुङको तालमा ताल मिलाए । गायक गुरुङले ‘आकाशैबाट के उडि आयो, भेडाको उनको जस्तो’ गीतबाट प्रस्तुति सुरु गरेका थिए । उनले यो गीत गाउँदा मञ्चमा हिउँ नै परेकोझैं लाग्ने गरेर ‘स्नो इफेक्ट’ प्रयोग गरिएको थियो ।
१५ वर्ष पुरानो यो गीत सुनाएपछि गुरुङले ३० वर्ष पुरानो अर्को गीत गाए । ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’ भन्ने गीत दर्शक स्रोताले सुन्न थालेको ३० वर्ष जति भएको छ । तर यसको आकर्षण घटेको छैन । गुरुङले त्यसपछि धमाधम आफ्नो ब्यान्डका सर्वकालीन लोकप्रिय गीतहरु राख्दै गए । चितवनसँगको सम्झना पनि सुनाउँदै गए । ३० वर्षयता नारायणगढमा यो नेपथ्यको तेस्रो प्रस्तुति भएको उनले बताए । ब्यान्ड स्थापना लगत्तै नेपथ्यले सन् १९९५ मा नारायणगढमा पहिलो पटक ‘गणेश चलचित्र मन्दिर’मा कार्यक्रम गरेको रहेछ ।
तस्बिर सौजन्य : दिपित राज/ नेपालय
त्यसपछि चितवनमा दोस्रो कार्यक्रम राख्न दशकौं लाग्यो । पाँच वर्षअघि माघे संक्रान्तिका दिन नारायणी नदी किनारको चौरमा नेपथ्यको दोस्रो कार्यक्रम सम्पन्न भएको थियो । अमृत गुरुङले आफ्नो ब्यान्डका गीतहरु त सुनाए नै राल्फाली समूहका रामेश, रायनहरुले गाएको ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’ भन्ने जोशीलो गीत पस्केर देश, समाज र मानवताका लागि जुट्न जुर्मुराउन पनि आहृवान गरे ।
त्यसैगरी गुरुङले ‘रातो र चन्द्र सूर्य’ गाएर कार्यक्रमको बिट मारेका थिए । विभिन्न कारणले सडकमा दिन रात बिताउन बाध्य भएका व्यक्तिहरुलाई उद्धार गरेर सेवा, उपचार, आश्रय दिने तथा सम्भव भएमा परिवारसँग मिलन गराउने काम गर्दै आएको ‘मानव सेवा आश्रम’ सँग मिलेर नेपथ्य यो पटक देशयात्रामा निस्केको छ । मंसिर १६ गते विराटनगरबाट सुरु भएको यो यात्रा, विरगञ्ज हेटौंडा हुँदै चितवन आइपुगेको हो ।
चितवनपछि मंसिर २९ मा नेपथ्यको प्रस्तुति नेपालगञ्जमा हुने छ । त्यसपछि धनगढी, सुर्खेत, बुटवल, पोखरा हुँदै नेपथ्यले अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा पुस १६ मा काठमाडौंमा कार्यक्रम गर्ने छ । ७० सदस्यीय टोली लिएर अगाडि बढेको नेपथ्यले गर्ने कार्यक्रमबाट हुने आम्दानी मानव सेवा आश्रमको देशका विभिन्न क्षेत्रमा रहेका आश्रयस्थलहरु सञ्चालन गर्न खर्च गर्ने योजना रहेको छ ।
गण्डकीका तीन विधेयक निष्क्रिय
कास्की — गण्डकी प्रदेश सरकारको पहिलो कार्यकालमा बनेका तीनवटा विधेयक निष्क्रिय भएका छन् । यसअघिको गण्डकी प्रदेशसभामा सहमति नजुट्दा उक्त विधेयक प्रक्रियामा आएका थिएनन् ।
गण्डकी प्रदेशसभा सचिवालयका अनुसार ‘गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘केही गण्डकी प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक’ र ‘प्रदेश कृषि व्यवसाय प्रवर्द्धन ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक’ गरी ३ वटा विधेयक सभाको कार्यकाल सकिएसँगै निष्क्रिय बनेका छन् ।
गण्डकी प्रदेशसभा सचिवालयमा दर्ता भएका ६२ वटा विधेयकमध्ये ५९ वटा विधेयक प्रदेशसभा बैठकबाट पारित भइसकेका छन् । उक्त विधेयक प्रमाणीकरण भएर पनि कार्यान्वयन भइसकेको संसद् सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । ‘अघिल्लो सदनमा छलफल नभएका यी विधेयक अब निष्क्रिय भए,’ उनले भने, ‘अब नयाँ सरकारले आवश्यकताअनुसार विधेयक पुनः ल्याउनुपर्छ ।’
उनले सांसदको व्यस्तताका कारण विधेयकमाथि छलफल नहुँदा पारित हुन नसकेको बताए । आमसञ्चार विधेयक २०७७ चैत १८ मा संसद् सचिवालयमा दर्ता भएको थियो । यस्तै, केही प्रदेश ऐन संशोधन विधेयक २०७८ चैत २० र कृषि व्यवसायसम्बन्धी विधेयक २०७९ साउन १६ मा दर्ता भएका थिए । उक्त विधेयकहरू प्रदेशसभा सचिवालयमा सैद्धान्तिक छलफलपश्चात् दफावार छलफलका लािग विधायन समितिमा लगिसकेको संसद् सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले बताएका छन् ।
पोखरा–३ नदीपुरमा रहेको गण्डकी प्रदेशसभामा नयाँ सांसदका लागि ‘रेड कार्पेट’ बिछ्याइएको छ । प्रदेशसभाको भवन रंगरोगन, मर्मतसँगै सरसफाइ गर्न यतिबेला यहाँका कर्मचारीलाई भ्याइनभ्याइ छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणाम आएसँगै संसद् भवन सजावट गर्न थालिएको हो ।
प्रदेशसभा सचिवालयमा दलको कार्यालय, सभामुख, उपसभामुख, सत्तापक्ष दलका नेता, विपक्षी दलका नेता र मुख्यमन्त्रीको कार्यकक्ष र सचिवालयमा टेबल, कुर्सी, सोफा राख्ने, कार्पेट बिछ्याउने र भित्तामा रङरोगनको काम भइरहेको संसद् सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।
६० सदस्यीय प्रदेशसभामा ३६ प्रत्यक्ष र २४ समानुपातिक सिट रहेका छन् । यहाँ कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ ९, एमालेले प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ १० गरी २२ सिट जितेको छ । सरकार गठनमा निर्णायक देखिएको माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ गरी ८ सिट जितेको छ । पहिलो र दोस्रो दल भएका कांग्रेस र एमालेले सरकार निर्माण गर्न चाहेमा नेकपा माओवादी निर्णायक देखिन्छ ।
मनाङ २ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेसँगै समाजवादीले एक सिट बनाउन सफल भएको छ । चौथो दलका रूपमा उदाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फ २ सिट पाएको छ ।
सचिव पोखरेलले सचिवालयले सांसदलाई स्वागत गर्न र संसद् भवन मर्मत गर्नेदेखि बैठक सञ्चालन गर्ने, सांसदको कार्यालय व्यवस्थापनको काम भइरहेको बताउँदै सांसदलाई दिने सवारी पनि मर्मत गरी राखिएको बताए । नयाँ सांसदको स्वागतदेखि पहिलो बैठकको विशेष तयारी भइरहेको उनको भनाइ छ ।