
यी हुन सगै शाखा अधिकृत बन्न सफल गरिब आमाबुबाका दुई छोरीहरु
प्रकाशित मिती । २४ मंसिर, २०७९ ।
काठमाडौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरका दुई दिदीबहिनीले शाखा अधिकृतमा नाम निकालेका छन्। २७ वर्षीया पार्वती भट्ट र उनकी बहिनी २५ वर्षीया बसन्ती भट्ट एकैपल्ट शाखा अधिकृतमा उत्तीर्ण भएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दिदीबहिनीले शाखा अधिकृतको नियुक्ति पत्र र पदस्थापनाको पत्र बुझेका छन्। लामो मेहनतपछि पहिलो प्रयासमै दिदीबहिनी सँगै अधिकृत बन्न पाउँदा निकै खुसी छन्।
शाखा अधिकृतको नियुक्ति बुझेका पार्वती र बसन्ती अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै हाजिर भएका छन्। उनीहरुको पारिवारिक अवस्था सामान्य छ। पार्वती र बसन्तीका दुई दाजु र दुई दिदी छन्। उनका जेठो दाइ जीवन भट्ट अपाङ्गता अधिकारकर्मी हुन् भने अर्का दाजु पुष्पराज भट्ट ‘डिभी लटरी’ परेर अमेरिकामा छन्।
जेठी दिदी जयन्ती भट्ट माध्यमिक तहको शिक्षक सेवा आयोगको जाँच पास गरेर शिक्षक छिन्। उनी अहिले महेन्द्रनगर उच्च माध्यमिक विद्यालय साधारण मा कार्यरत छिन्। माइली दिदी विष्ना स्नातकोत्तर सकेर शिक्षक सेवा आयोगको तयारी गरिरहेकी छिन्। पार्वती साँहिली हुन् भने बसन्ती कान्छी।
खरिदारदेखि अधिकृत – पार्वती र बसन्तीले खरिदार सरह पदमा नाम निकालेर निजामती सेवामा पाइला टेकेका थिए। वि।सं। २०५१ सालमा जन्मिएकी पार्वती १९ वर्षको उमेरमा नै सरकारी सेवामा प्रवेश गरेकी थिइन्। स्नातक अध्ययन गर्दै गर्दा उनले वि.सं. २०७२ सालमा विविध सेवा अन्तर्गत खरिदार सरह सहायक महिला विकास निरीक्षकमा नाम निकालिन्।
पार्वतीले वि।सं। २०७१ मा सरकारी सेवामा जान प्रयास गरेकी थिइन्। त्यस बेला प्रशासनतर्फ खरिदारमा आवेदन दिएकी उनी वैकल्पिकमा परिन्। घरमा थाहा नदिएरै उनले आवेदन दिएकी थिइन्। वैकल्पिकको सूचीमा पार्वतीको नाम देखेपछि मात्रै घरमा थाहा भएको थियो। १८ वर्षको उमेरमै घरमा नभनी फाराम भरेकी थिएँ, वैकल्पिकमा नाम आयो,’ पार्वतीले नेपालखबरसँग भनिन्, ‘पछि मात्रै घरमा थाहा भएको थियो।
वैकल्पिकमा नाम आएपछि गर्न सक्छु भनेर मेरो आत्मविश्वास बढ्दै गयो।’ त्यसको एक वर्षपछि २०७२ मा प्रशासनतर्फ खरिदार र विविध सेवातर्फ सहायक महिला विकास निरीक्षकमा लडेकी थिइन्। यस पटक पार्वती सहायक महिला विकास निरीक्षकमा उत्तीर्ण भइन्। र, प्रशासनतर्फ खरिदारमा भने उनी वैकल्पिकमा परिन्।
सहायक महिला विकास निरीक्षकमा नाम निकालेकी पार्वतीलाई कञ्चनपुर महिला तथा बालबालिका कार्यालयमा खटाइएको थियो। वि।सं। २०७४ सालमा समायोजन भएर स्थानीय तहमा गएकी उनी कञ्चनपुरकै दोधाराचाँदनी नगरपालिकामा खटिइन्। वि।सं। २०७६ मा स्थानीय तहको सुब्बा सरह विविधतर्फ ५ औँ सहायकस्तर महिला विकास निरीक्षकमा नाम निकालेकी पार्वती बेलौरी नगरपालिकामा पदस्थापन भएकी थिइन्।
वि।सं। २०५३ सालमा जन्मिएकी बहिनी बसन्ती पनि २३ वर्षको उमेरमा सरकारी सेवामा प्रवेश गरेकी थिइन्। उनले वि।सं। २०७६ मा स्थानीय तहमा प्रशासनतर्फ सहायक स्तर ५ औँ तहमा नाम निकालिन्। र, बेलौरी नगरपालिकामा वडा सचिवको जिम्मेवारी पाएकी थिइन्।
पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव
अस्ट्रेलिया — पश्चिम अस्ट्रेलियाको पर्यटकीय सहर पर्थमा नेपाल महोत्सव सम्पन्न भएको छ । नेपाली कलासंस्कृति, परम्परा र पर्यटन प्रवर्द्धन गर्नका लागि पर्थको मुख्य क्षेत्र फरेस्ट चेसमा ४ वर्षपछि आयोजना गरिएको थियो ।
महोत्सवमा विहानै सयौंको संख्यामा सहभागी नेपालीले सुरु गरेको प्रभातफेरिमा नेपालीमात्र नभएर अस्ट्रेलियालीका स्थानीय बासिन्दाले समेत सहभागिता जनाएका थिए । उनीहरुले महोत्सव, नेपालका बारेमा चासो र उत्साहमात्र ब्यक्त गरेनन् कि ताली बजाएर समेत स्वागत गरेका थिए । प्रभातफेरिलाई सुरक्षाकर्मीले स्कर्टिङ गर्दै सुरक्षा प्रदान गरेका थिए ।
नेपाली परम्परागत पोशाक, विभिन्न झाँकी, कलासंस्कृति झल्काउने पहिचान सहितको प्रभातफेरीले पश्चिम अस्ट्रेलियाको राजधानी पर्थलाई शनिबार सानो नेपालकै रुपमा परिवर्तन गरिदिएको थियो ।
प्रवासी नेपालीको संगठन एनआरएनएले गर्ने यस कार्यक्रमले नेपालमा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने मात्र नभएर अस्ट्रेलियामा नेपालीको पहिचानलाई अझ सुदृढ र सबल बनाउन भूमिका खेलिरहेको आयोजकको भनाइ छ । आयोजक समितिका संयोजक दीपक बस्नेतले नेपाली दोस्रो पुस्ता बढिरहेका कारण कार्यक्रमले उनीहरुलाई आफ्नो कलासंस्कृति र परम्परालाई नजिकबाट चिन्न र बुझ्न यस्तो कार्यक्रमले सहयोग पुर्याउने सुनाए । कार्यक्रममा नेपालीमात्र नभएर उल्लेख्य रुपमा विदेशीको समेत सहभागिता रहेको थियो ।
यस महोत्सवलाई सफल बनाउन यहाँका सबै नेपाली समुदाय मात्र नभएर काउन्सिल, स्थानीय सरकार अस्ट्रेलियाली नेताहरुकै महत्वपूर्ण साथ रहेको आयोजक संस्थाका डेपुटी युथ कोअर्डिनेटर उत्तम अधिकारीले सुनाए । कार्यक्रममा नेपाली खाना, व्यवसायका साथै नेपाली पर्यटकीय जानकारीसहितका स्टलहरु राखिएका थिए ।
कार्यक्रममा पश्चिम अस्ट्रेलियाका डेपुटी प्रिमियर, अस्ट्रेलियाका लागि नेपाली राजदूत, पर्थका मेयर, एनआरएनएका प्रतिनिधिका साथै विभिन्न संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
महोत्सव सफल बनाउन स्थानीय काउन्सिल र राज्य सरकारले समेत प्रवर्द्धन र प्रचारप्रसारमा सहयोग पुर्याएको थियो । करिब एक महिना अघिदेखि नै सहरको मुख्य भागमा काउन्सिलले प्रचारप्रसारका लागि बोर्ड राखिदिएको थियो भने गाडीहरुमा समेत प्रचार सामाग्री राखेर सुरु गरिएको थियो ।
महोत्सवमा स्थानीय सांगितिक ब्याण्ड, कलाकारका साथै दीपक बज्राचार्य, रीदम ब्याण्ड र कलाकार सन्दीप क्षेत्रीले प्रस्तुति दिएका थिए ।